रातारात सोलार गायब
काठमाडौं । काठमाडौं महानगरपालिकाले सांस्कृतिक र धार्मिक क्षेत्रका लागि ल्याएको सोलार केही व्यक्तिहरू मिलेर गायब पारिएको छ । गत भदौमा चीनको ल्हासा नगरपालिकाले भाइचारा सम्बन्धका आधारमा महानगरलाई पठाएको सोलार प्यानल निर्धारित स्थानमा जडान नगर्दै गायब पारिएको हो ।
सो कार्यमा महानगर प्रशासन शाखाका प्रमुख रामप्रसाद पौडेल संलग्न भएको महानगरका एक कर्मचारीले बताए । सो सोलार प्यानल लिन पौडेल आफैं ल्हासा पुगेका थिए । यसअघि हरेक पटक विदेशबाट अनुदानस्वरूप सामान आउँदा दिने निकायले सामानको मूल्य, किसिम र परिमाणसमेत खुलाएर चिठीसमेत दिने र सोही आधारमा जिन्सी शाखाबाट जिन्सी सम्पत्तिस्वरूप सामान बाँध्ने गरिन्छ । तर, पौडेलले आफैंले बुझेर ल्याएको सो सामानबापतको पत्र भने उनले गायब पारेकाले उनको नियतमाथि शंका गर्न थालिएको छ । सामानको परिमाण खुल्ने प्रज्ञापनपत्र वा भन्सार छुटका कुनै पनि कागजात महानगरमा दाखिला नगरिएकाले अझै ती सोलार प्यानल महानगरको जिन्सी शाखामा अनौपचारिक रूपमा दाखिला गर्न नसकिएको बताइन्छ । दुई वटा ठूला कन्टेनरलाई ४ लाख भाडा बुझाएर सामान लिन ल्हासा लगिएको थियो । तर, फर्केर आउँदा पौडेलले भने जम्मा
९८ वटा सोलार प्यानल मात्र आफूले ल्हासा नगरपालिकाबाट बुझी ल्याएको भन्दै महानगरको लेटरप्याडमा पत्र लेखी महानगरअन्तर्गतका विभिन्न शाखाहरूमा जानकारी गराएका थिए । जिन्सीको नियमअनुसार, त्यसरी बनाइएको पत्रका आधारमा सामान बुझ्न मिल्दैन । त्यसैले अहिलेसम्म ती सामान जिन्सी प्रमुखले औपचारिक रूपमा बुझेका छैनन् ।
ती प्यानलहरू विभिन्न व्यक्तिका घरभित्र भेटिन थालेपछि त्यतिमात्र संख्यामा आएको भन्ने कुरामा आशंका बढेको छ । पौडेलले घट्टेकुलोस्थित आफ्नो घर अगाडिको ब्याडमिन्टन कोर्टका लागि गोप्य रूपमा आठ थान सोलार प्यानल दिएको भन्दै विवाद भएको छ ।
सार्वजनिक जग्गा मिचेर बनाइएको सो कोर्टमा दिनका लागि नभई ल्हासा नगरले महानगरको ऐतिहासिक तथा धार्मिक क्षेत्रका लागि भने दिएको थियो । त्यति मात्र होइन, त्यस्ता प्यानल पौडेलका आफन्तका घरतिर समेत राखिएको भन्दै महानगरका कर्मचारीले गुनासो गरेका छन् । तर, पौडेलले भने यस्ता विषय समाचार नबन्ने भन्दै ती सामान दाखिला नभइसके पनि दाखिलाको प्रक्रियामा रहेको बताए । सार्वजनिक स्थान जहाँ पनि दिन मिल्ने भएकाले घट्टेकुलोमा ब्याडमिन्टन कोर्टलाई दिइएको बताए ।
बदनामलाई भौतिकको जिम्मा यसैबीच, प्रमुख कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारले विवादास्पद र भ्रष्ट कर्मचारी डा. उत्तरकुमार रेग्मीलाई भौतिक विकास विभागमा सरुवा गर्ने तयारी गरेको बुझिएको छ । ०६६ सालमा यूएनडीपीले महानगरका नक्शा आधुनिकीकरणका लागि दिएको अटोमेसन सामानमध्ये १५ लाखभन्दा बढीको सामान हिनामिना गर्ने रेग्मीलाई अहिले भौतिकमा लैजाने तयारी गरिएको हो । डेढ करोड मूल्य बराबरको सामान आएको बेलामा उनले १५ लाख रुपियाँ बराबरको अटोमेसन मेसिन भने बाहिरबाहिरै बेची खाएकाले जिन्सीमा बुझाउन सकेका थिएनन् । हालका जिन्सी प्रमुख सरस्वती पोखरेलले पटक–पटक ताकेता गर्दा पनि रेग्मीले सामान बुझाएका थिएनन् । त्यस्ता विवादास्पद व्यक्ति महानगरको आकर्षक परियोजना मनोहरा जग्गा एकीकरण आयोजनामा गएकामा अहिले त्योभन्दा आकर्षक भौतिक विकास विभागमा आउन लागेका हुन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply