कांग्रेस–एमाओवादीबीच समझदारी !

काठमाडौं । सत्ता सत्तासाझेदार दलको सम्बन्ध प्रतिपक्षी दलसँग भन्दा पक्कै राम्रो हुनुपर्ने हो । तर, पछिल्लो समयमा सत्ताको नेतृत्व गरेको कांग्रेसले साझेदार एमालेसँग सम्बन्ध टाढा बनाउँदै लगेको छ भने प्रतिपक्षी दल एमाओवादीसँग हिमचिम बढाएको छ ।
एमाओवादीसहितको ३० दलीय मोर्चाले फागुन १६ मा खुलामञ्चमा विरोध सभा गरेयता मात्र प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छुट्टाछुट्टै र एक चरणमा सामूहिक भेटघाट तथा कुराकानी भएको छ । ती भेटघाट र छलफलमा सत्ता समीकरण परिवर्तनसम्मका कुराकानीहरू भएको रिपोर्ट एमाले नेतृत्वसमक्ष पुगेको छ । अचम्मको कुरा, संकटको निकासका बारेमा यसबीचमा दुई सत्तारुढ दलको नेतृत्वका बीचमा भने एकपटक पनि कुराकानी भएको छैन ।
उता एमाले अध्यक्ष केपी ओलीले यसबारेमा अहिले टिप्पणी नगर्ने बताउनुभएको छ । बुधबारसँग अध्यक्ष ओलीले भन्नुभयो– ‘म अहिले यसबारे टिप्पणी गर्दिनँ । अलि सञ्चो छैन । घरमै आराम गरिरहेको छु ।’
अरू त अरू पहिले–पहिले विपक्षी मोर्चालाई वार्तामा बोलाउनुअघि एमालेसँग कुराकानी गरेर संयुक्त रूपमा बोलाउने गरिएकोमा अहिले प्रधानमन्त्री कोइरालाले एमालेलाई मतलब नै गर्न छाडेका छन् । प्रधानमन्त्री कोइरालाले आफ्नो तर्फबाट विपक्षी मोर्चालाई दुई पटक वार्तामा आउन आह्वान गर्दा पनि एमालेसँग सल्लाह नगर्दा चिसो बढेको छ ।
पछिल्लो समयमा विकसित भएका यस्ता खालका भेटघाट र सम्बन्धले विस्तारै कांग्रेस र एमाओवादीलाई नजिक्याएको र एमाले प्रतिपक्षतिर धेकेलिँदै गएको विश्लेषण राजनीतिक वृत्तमा गर्न थालिएको छ । त्यसो त एमाओवादीसहितको विपक्षी मोर्चा संविधान निर्माणमा इमानदार नदेखिएपछि एमालेकै जोडबलमा अघि बढाइएको संविधान निर्माणको प्रक्रिया रोकेर त्यसलाई फेरि अगाडि बढाउन कांग्रेस तत्पर नदेखिएपछि एमाले कांग्रेसप्रति सशंकित बनेकै थियो । जसको परिणाम अघिल्लो हप्ता बसेको एमालेको स्थायी कमिटीको बैठकमा पनि सरकारमा सहभागिताबारे प्रश्न उठेको थियो । संविधान निर्माणको प्रक्रिया अघि नबढाइए सरकारमा सहभागिताबारे सोच्न सकिने विषयमा छलफल चलेको थियो ।
१२ बुँदे समझदारीका बेलादेखि नै कांग्रेसभित्रको एउटा पंक्ति, एमाओवादीभित्रको एउटा पंक्ति र भारतको एउटा पक्ष कांग्रेस–एमालेको सहकार्य हुन नदिने पक्षमा रहेको बताइन्छ । तर, लोकतान्त्रिक शक्ति मिलेर मात्र एमाओवादी जस्तो अतिवादी शक्तिलाई रूपान्तरण गर्न सकिने जबर्जस्त आवश्यकताले कांग्रेस–एमालेलाई एक ठाउँमा ल्याएको एमाले सचिव योगेश भट्टराईको
बुझाइ छ । उनले भने– ‘संसदीय अभ्यासमा प्रमुख दुई राजनीतिक पार्टी सत्तामा बस्नु शक्ति सन्तुलन र नियन्त्रणका हिसाबले पनि ठीक छैन । देशमा भ्रष्टाचार, दण्डहीनता बढेको भनेर प्रधानमन्त्री आफैंले भनेका बेला एमाओवादी जस्तो कमजोर प्रतिपक्षले सरकारको स्वेच्छाचारिता नियन्त्रण गर्न सक्दैन तर यो संविधान बनाउन कालखण्ड भएकाले समीकरण निर्माण भएको हो ।’
अहिले एमालेभित्र कांग्रेससँगको सम्बन्ध फलदायी भएन भन्ने कुरा चर्कोसँग उठेको छ । एमालेबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री वामदेव गौतमले पनि पार्टी मुखपत्र ‘नवयुग’ सँगको कुराकानीमा आफूहरूले ज्यादा खुम्चिएर काम गर्नुपरेको बताएका छन् । सचिव योगेश भट्टराईले पनि ‘कांग्रेससँगको सहयात्रा घाटाको व्यापार’ भनेर सार्वजनिक रूपमै भनेका छन् ।
त्यस्तै, कांग्रेसभित्र पनि एमालेसँगको गठबन्धन फलदायी भएन भन्ने आवाज उठेको छ । केही हप्ताअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री कोइरालाको सबैभन्दा धेरै आलोचना नै यसैमा भएको थियो । त्यो भएर पनि कांग्रेस अहिले एमालेलाई छाडेर एमाओवादीसहित मधेसी मोर्चालाई साथमा लिएर जाने पक्षमा रहेको बताइन्छ ।
एमाले प्रतिपक्षमा बसे पनि एमाओवादीले जस्तो वितण्डा मच्चाएर संविधान निर्माणमा बाधा गर्दैन भन्ने विज्ञान कांग्रेसभित्रका केही वुद्विजीवी भनिनेहरूले प्रधानमन्त्री कोइरालालाई पढाएको बताइन्छ । खासगरी प्रदीप गिरी, नरहरि आचार्य, गगन थापादेखि लिएर अमरेशकुमार सिंहसम्मको लाइन यही भएको बताइन्छ ।
एमाओवादीमा भने एमालेलाई प्रतिपक्षमा धकेलेर कांग्रेस–एमाओवादीबीच सहकार्य बढाउने लाइनको नेतृत्व बाबुराम भट्टराईले गरेका छन् । उनले मुख्य झगडिया कांग्रेस र माओवादी नै हुन् त्यसैले यिनीहरूबीचको मित्रता आवश्यक छ भन्दै एमालेको भूमिकालाई निस्तेज पार्न खोजेका छन् । भर्खरै भारत भ्रमण गरेर फर्केका उनले त्यहाँ रहँदा पनि यही लाइनमा कुरा राखेको बताइन्छ । भारतीय संस्थापन पक्षले अहिले एमालेको नेतृत्वलाई नरुचाउनुको कारण ऊ पनि अहिले कांग्रेस–माओवादीबीचको गठबन्धन बनेर सरकार बनोस् भन्ने पक्षमा रहेको बताइन्छ ।
हिजोदेखि नै ‘एमालेलाई देखाउनुपर्छ’ कांग्रेसभित्रको एउटा जमात अहिले पनि एमाओवादीलाई उपयोग गरेर एमालेलाई ‘देखाइदिने’ खेलमा रहेको एमाले सचिव भट्टराई बताउँछन् । तर, अहिले एमालेले वितण्डा मच्चाउँदैन भनेर उसलाई प्रतिपक्षमा राखेर संविधान बनाइए पनि एमाले–कांग्रेसबीचको तिक्तताले भोलि सडकमा ठाउँ पायो भने त्यसले मुलुकको समृद्विमा ठूलो बाधा खडा गर्ने पनि उनले बताए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply