सहकारीमा अढाई दशकको अनुभव

एघार दिनसम्म, अफ्रिकी मुलुक केन्याको सहरीदेखि ग्रामीण क्षेत्रहरूमा घुम्दा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष ऋषिराज घिमिरेले धेरै नयाँ ज्ञान बटुले । केही दिनअघि मात्रै, केन्याबाट फर्किएका घिमिरेले केन्यामा मोबाइल बैंकिङबारे ज्ञान र अनुभव सँगाल्न पाए । नेपाल राष्ट्र बैंकले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा क्रियाशील केही शीर्षस्थ व्यक्तिहरूलाई केन्याको मोबाइल बैंकिङ सञ्चालन र मूल्य शृंखला वित्तीय प्रणालीबारे अध्ययन भ्रमण गराउन लगेको थियो । घिमिरे भन्छन्– ‘केन्याका असी प्रतिशत जनताले मोबाइलबाट बैंकिङ कारोबार गर्दा रहेछन् । त्यहाँका निरक्षरहरूले पनि मोबाइलबाटै बैंकिङ कारोबार गरेको देख्दा त्यस्तो प्रणाली हामीले पनि भित्र्याउन सक्छौं भन्ने लाग्यो ।’
केन्यामा सफल मानिएको मोबाइल बैंकिङ र मूल्य शृंखला वित्तीय प्रणालीलाई नेपालमा लागू गराउन के गर्न सकिन्छ त ? घिमिरे भन्छन्– ‘अब चाँडै नै केन्याबाट विज्ञहरूलाई बोलाउने तयारी भइरहेको छ । केन्याका सहकारी तथा बैंकिङ क्षेत्रका केही विज्ञहरूलाई बोलाएर उनीहरूका अनुभव हामी नेपालका सहकारीकर्मीहरूबीच राख्नेछौं । र, नेपालका दूरसञ्चार क्षेत्रका विज्ञहरूसँग छलफल गरेर उक्त प्रणालीलाई कसरी लागू गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्नेछौं ।’ एक वर्षअघि नेफ्स्कुनको अध्यक्षमा निर्वाचित भएका घिमिरेले विदेशको अनुभवलाई आफ्नै देशमा कसरी लागू गराउने भन्नेमा चिन्तन पोख्ने गरेका त छन् नै । त्यसबाहेक, देशैभरिका बचत तथा ऋणको कारोबार गरिरहेको सहकारी संस्थाहरूलाई एकीकृत प्रणालीमा लैजानेतिर पनि उत्तिकै प्रयत्न गरिरहेका छन् । उनी भन्छन्– ‘अहिले जति पनि बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू छन्, तिनीहरू अब एउटै छातामुनि उभिनु आवश्यक भइसकेको छ । एकीकृत प्रणालीमा लैजाँदा सबै सहकारीहरूको रङ र लोगो एउटै हुनुपर्ने र केन्द्रीय संघको नीतिअनुरूप चल्नुपर्ने हाम्रो मान्यता रहेको छ ।’ त्यसो हुँदा अहिले हरेक सहकारीले आफँै नियम बनाई ऋण लगानी गर्ने र जथाभावी ब्याजदर तोक्ने क्रम बन्द हुन्छ र सबैतिर एउटै ब्याजदर कायम हुने अवस्था सिर्जना हुन पुग्छ । घिमिरे भन्छन्– ‘हामीले लागू गर्ने खोजेको एकीकृत साकोस प्रणालीप्रति मन्त्रालय र विभाग पनि सकारात्मक रहेको छ । र, अहिले विनियम पनि उक्त कुरा उल्लेख गर्ने तयारी भइरहेको छ । हामीले आउँदो आर्थिक वर्षदेखि नै उक्त प्रणाली लागू गर्ने तयारी गरिरहेका छौं ।’ देशभरिका सहकारी संस्थाहरूको छाताको रूपमा स्थापित नेफ्स्कुनको बिजारोपण पञ्चायतकालमै भएको थियो । तत्कालीन समयमा, साझा केन्द्र लिमिटेडका अध्यक्ष थिए– भोजराज घिमिरे । उनलाई राजाले नै नियुक्त गरेका थिए । घिमिरे अध्यक्ष रहेकै समय थाइल्यान्ड, क्यानडा र आयरल्यान्डबाट सरकारी प्रतिनिधिहरू आएर भेटे । तिनीहरूले घिमिरेलाई सुझाव दिँदै भने– ‘तपार्इंहरूले देशका जनताले स–साना बचत गर्ने सहकारी बनाउनु आवश्यक छ ।’ तत्कालीन समयमा जनताले सहकारी खोल्न पाउँदैनथे । त्यही भएर, साझा केन्द्र लिमिटेडअन्तर्गतका कर्मचारीहरूले समूह बनाएर बचत तथा ऋणको कारोबार गर्न थाले । ०४५ सालमा साझा स्वास्थ्य सहकारी संस्थाको प्रशासकीय अधिकृतका रूपमा कार्यरत घिमिरे ती दिनहरूलाई स्मरण गर्दै भन्छन्– ‘त्यतिबेला साझा प्रकाशन, साझा बिक्री भण्डार, साझा यातायात, साझा पसल सेवाभित्र काम गर्ने कर्मचारीहरूबीच बचत तथा ऋणको कारोबार गर्ने समूह बन्यो ।’ सुरुमा उक्त समूहको आफू सदस्य रहेको बताउँदै उनले भने– ‘मैले त्यतिबेला महिनामा ५० रुपियाँ जम्मा गर्दथेँ । हाम्रो तलब नै ४/५ सयभन्दा बढी थिएन, त्यतिबेला ।’ सोही वर्ष यूएसडी, क्यानडा नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूको संघ चाहिने आवश्यकता औंल्याउँदै काठमाडौंमा एउटा गोष्ठी आयोजना गरेको थियो । त्यही गोष्ठीपछि ०४५ सालमा भोजराज घिमिरेको अध्यक्षतामा राष्ट्रिय बचत तथा ऋण सहकारी समूह संघ गठन भयो । त्यही संघ नै ०५० सालमा नेफ्स्कुनको रूपमा परिणत हुनपुगेको हो ।
सहकारी ऐन त ०४८ सालमा आएको हो । तर, सहकारी ऐन आउनुअघि नै उक्त संघको निर्वाचन हुँदा घिमिरेले त्यसको लेखा समितिको सदस्यको जिम्मेवारी पाइसकेका थिए । उनी भन्छन्– ‘०४८ सालमा आएको सहकारी ऐनलाई एसियाकै प्रजातान्त्रिक ऐनको रूपमा लिइन्छ । ऐन आएपछि सहकारी क्षेत्रमा सम्भावनाको निकै ठूलो ढोका खुल्यो ।’ ०५० सालमा नेफ्स्कुनको रूपमा परिवर्तित भएपछि कैलाशभक्त प्रधानांग त्यसको अध्यक्षमा निर्वाचित भए भने उनी चाहिँ सञ्चालकमा नियुक्त भए । ०५३ मा संघको महासचिव बनेका घिमिरेले ०५६ मा भने संघबाट बाहिर रहे । उनी भन्छन्– ‘त्यतिबेला मेरो जागिर साझा स्वास्थ्यमा नै रहेको थियो । मैले साझामा रहँदा पनि संघमा भने स्वयम्सेवीको रूपमा काम गरिरहेको थिएँ ।’ तर, ०६४ मा भने उनी उपाध्यक्षमा निर्वाचित भए र लगातार दुई कार्यकाल उपाध्यक्ष भएपछि ०७० देखि भने अध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । वि.सं.२०१० कात्तिक १४ गते रामेछाप जिल्लाको बाबियाखर्कमा जन्मिएका घिमिरेले नौसम्मको अध्ययन स्थानीय गौरीशंकर माध्यमिक विद्यालयबाट पूरा गरे पनि एसएलसी भने पाटन हाइस्कुलबाट पूरा गरेका हुन् । पाटन क्याम्पसबाट बीए उत्तीर्ण गरेपछि भने उनले तीन वर्षसम्म गौरीशंकर हाइस्कुलमा अध्यापन गरे । पछि, अध्ययनको सिलसिलामा पुन: काठमाडौं आएर अर्थशास्त्रमा एमए गरेपछि भने उनले साझा स्वास्थ्य सहकारी संस्थामा प्रशासकीय अधिकृतका रूपमा प्रवेश गरे । पाँच वर्षसम्म महाप्रबन्धकको सफल जिम्मेवारी सम्हालेपछि एक दशकअघि नै साझा स्वास्थ्य सहकारी छाडेका उनी अहिले २ हजार ३ सय १० वटा सहकारी संस्था आबद्ध नेफ्स्कुनलाई गति दिइरहेका छन् ।
नेपालको सहकारी आन्दोलनलाई अढाई दशकदेखि नियालिरहेका घिमिरे यो अवधिमा सहकारी क्षेत्रले मारेको छलाङलाई कुन रूपमा लिइरहेका छन् त ? भन्छन्– ‘यो अवधिमा सहकारीकै कारण ग्रामीण तहमा वित्तीय पहुँच व्यापक हुनपुगेको छ । बैंकको मुख देख्न नसकेका ग्रामीण क्षेत्रका जनताले पनि सहकारीकै माध्यमद्वारा स–साना पुँजी लगानी गरेर व्यवसाय गर्न सक्ने भएका छन् । मूलत: सहकारीले वित्तीय पहुँच र पुँजी निर्माणमा उल्लेख्य भूमिका खेलेको छ ।’ त्यस्तै, सामाजिक सद्भाव कायम राख्न पनि सहकारीले भूमिका खेलेको बताउँदै उनले भने– ‘सहकारीकै कारण ग्रामीण क्षेत्रमा राजनीतिक मतभेद र सम्पन्न र विपन्नबीचको खाडल पुरिएको छ ।’ तर, पछिल्लो समयमा सहरकेन्द्रित बचत तथा ऋणहरूले गरेको बदमासीलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे पनि नेफ्स्कुनले धेरै नै चासो राखिरहेको छ । घिमिरे भन्छन्– ‘पछिल्ला दिनहरूमा केही पारिवारिक सहकारी बने र मानिसहरू कमाउने मेलोमा लागे । यसले गर्दा राम्रा सहकारीहरू पनि बदनाम हुन पुगे । तर, सहकारी क्षेत्रमा भित्रिएको धमिलोपनलाई संग्ल्याउन हामीले कडा कानुन ल्याउनुपर्ने माग गरेका छौं र हामीले धेरै नै मिहिनेत गरेर त्यस्तो ऐन निर्माण गरेका छौं र त्यो ऐन चाँडै नै आउन पनि लागेको छ ।’ सहकारी क्षेत्रमा देखिएका विकृतिहरूलाई हटाउनेतिर नेफ्स्कुनले पहल गरिरहेकोतिर इंगित गर्दै घिमिरेले बताए– ‘कतिपय सहकारीहरू अञ्जानमै चलाइरहेका छन् । र, कतिपयले चाहिँ जानी–जानी गलत काम गरिरहेका छन् ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply