युवा संघको विवादमा एमाले मौन
काठमाडौं । नेकपा (एमाले)को प्रभावशाली जनसंगठन युवा संघ नेपालले समानान्तर गतिविधि अघि बढाउँदा पार्टी भने मौन बसिरहेको छ । यसबीचमा पार्टीका धेरै पटक स्थायी समिति बैठक बसिसकेका छन् तर पनि युवा संघको विवाद समाधान गर्नेबारे कुनै छलफल नभएपछि पार्टीकानेताहरूले नै सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरिरहेका छन् ।
नेताहरूले समस्या समाधानका लागि पहल गर्नुको सट्टा यसअघि भएका अलग–अलग कार्यक्रममा सहभागिता जनाई आ–आफ्नो गुटलाई प्रोत्साहन गरेका थिए । पोलिटब्युरो सदस्य यमलाल कँडेलले हिजो फेसबुकमा पोस्ट गर्दै यस मामिलामा पार्टीले हस्तक्षेप गर्नुपर्ने धारणा राख्नुभएको छ । दुवै समूहले यही चैत ७ र ८ गते समानान्तर कार्यक्रम राखेका छन् । अध्यक्ष निरुदेवी पाल समूहले हैटौंडामा परिषद् बैठक तथा दिलकुमारी पन्त समूहले काठमाडौंमा राष्ट्रिय कार्यकता भेला राखेका छन् र आवश्यक तयारी अघि बढाएका छन् । पाल समूहले केन्द्रीय कमिटी बैठक पनि त्यसको अघिल्लो दिनका लागि डाकेको छ । दुवै समूहले भेला तयारीको गतिविधि तीव्र पारेपछि प्रचार–प्रसार जोडतोडले गरिरहेका छन् । पाल समूहको भेलाको उद्घाटन अध्यक्ष केपी ओलीले गर्ने बताइएको छ भने पन्त समूहको भेलाको उद्घाटन वरिष्ठ नेता माधव नेपालले गर्ने बताइएको छ । दुवै समूहले आ–आफ्नो कार्यक्रमलाई आधिकारिक दाबी गरिरहेका छन् । विवाद कायमै रहे केन्द्रीय कमिटी समानान्तरसम्म बन्न सक्ने सम्भावना रहेको बताइन्छ । उद्योगमन्त्री बनेपछि महेश बस्नेतले कार्यबाहक अध्यक्ष पाललाई केन्द्रीय कमिटीको बैठक नै नबोलाएर पूर्ण अधिकारसहितको केन्द्रीय अध्यक्ष बनाउनुभएको थियो । केन्द्रीय कमिटी बैठकले मात्र पदाधिकारी हेरफेर गर्नसक्ने विधानमा व्यवस्था भए पनि स्थायी समिति बैठकबाट अध्यक्ष चयन गरिएको भन्दै दिलु समूहले असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ ।
असन्तुष्टको आवाजलाई बसेर मिलाउने भन्दा पनि पेलेर समाधान गर्नेतर्फ संस्थापन पक्ष लागेपछि विवाद बढ्दै गएको बताइन्छ । हेटौंडामा आयोजना गरिएको परिषद् बैठकमा आमन्त्रण गर्न महासचिव राजीव पहारी वरिष्ठ नेता नेपालको निवास कोटेश्वर पुग्दा उनलाई नेता नेपालले हप्काएर पठाएको बुझिएको छ । ‘यसरी समानान्तर गतिविधि गरेर हुन्छ, तत्काल बसेर मिलाउनूस्, अन्यथा राम्रो सन्देश जाँदैन’– नेपालले यसो भन्दा महासचिव पहारीले दुवै दुवैपक्षलाई मिलाउन कसरत गरिरहेको जानकारी दिनुभएको थियो । संघ स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा रजत महोत्सव मनाउने तयारी गरिरहेका बेला संघको विवादले देशैभरिका कार्यकताहरू निराश भएका छन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply