भिक्षु भित्र्याउँदा मन्त्री पद चट्
काठमाडौं । ‘कसलाई केको धन्दा, घरज्वाइँलाई खानकै धन्दा’ भन्ने उखान छ दिनअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट बिदा पाएका दीपकचन्द्र अमात्यले चरितार्थ गरेका छन् । गत वैशाख १२ गते महाभूकम्प आएपछि उद्धार कार्यमा सरकारीदेखि सबै निकाय तदारुकताका साथ खटिइरहेका थिए । महाभूकम्पपछि गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीदेखि अरू सबै मन्त्रीहरू भूकम्पपछिको उद्धार, राहत कार्यका कसरी लाग्ने भनेर छलफलमा केन्द्रित थिए । तर, तत्कालीन मन्त्री अमात्यले भने भूकम्पबारे कुनै एजेन्डा नै उठाएनन्, बरु आफ्नो मन्त्रालय मातहतको एउटा कोषमा एक जना व्यक्तिलाई नियुक्ति गर्न प्रस्ताव गरेपछि अरू मन्त्रीहरूले मुखामुख गर्न थाले ।
देशले महाविपत्ति भोगिरहेको बेला त्यसमै केन्द्रित हुनुपर्नेमा तत्कालीन मन्त्री अमात्यले लुम्बिनी विकास कोषको रिक्त उपाध्यक्ष पदमा भिक्षु निग्रोध (सिद्धार्थ महर्जन)लाई नियुक्त गर्ने प्रस्ताव लिएर गएका थिए । उनको प्रस्ताव तत्काल नै पारित भएको थियो । तर, तत्कालीन मन्त्री अमात्यलाई उक्त प्रस्ताव त्यही दिनको मन्त्रिपरिषद्को बैठकमा लैजान त्यति रुचि नभए पनि नेकपा (एमाले)का पूर्वअध्यक्ष झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको दबाबले काम गरेको थियो । चित्रकारले भिक्षु निग्रोधलाई कोषको उपाध्यक्ष बनाउन मन्त्री अमात्यलाई तीव्र दबाब दिएकी हुँदा उनले दबाब सहन नसकेर नियुक्तिको प्रस्ताव लगेका थिए ।
कोषको उपाध्यक्ष नियुक्तिका सवालमा तत्कालीन मन्त्री अमात्य दोहोरो चेपमा समेत परेका थिए । कोषको उपाध्यक्षमा भिक्षु निग्रोधलाई नियुक्त गर्ने तयारी भइरहेको चाल पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल नै आपत्ति जनाएका थिए । उनले भिक्षु निग्रोधलाई नभएर अजयक्रान्ति शाक्यलाई नियुक्त गर्नुपर्ने अडान राखेका थिए । शाक्यलाई नियुक्त नगर्ने हो भने मन्त्री पद त्यागे हुने सन्देश ओलीले अमात्यलाई पठाएका थिए । तर, आफूलाई मन्त्री बनाउन मुख्य भूमिका खेल्ने चित्रकारको दबाब पनि झनै तीव्र थियो । चित्रकारले जतिसक्दो चाँडो भिक्षु निग्रोधलाई उपाध्यक्षमा नियुक्त गर्न दबाब दिइरहेकी थिइन् । अन्तिममा मन्त्री पदको जागिर धरापमा परे परोस्, आफूलाई मन्त्री बनाउन भूमिका खेल्ने चित्रकारकै कुरा स्वीकार्न अमात्य तयार भएका थिए ।
भिक्षु निग्रोधलाई कोषको उपाध्यक्ष बनाउँदा आफू अनुकूलका कामहरू गराउन सकिने अपेक्षास्वरुप चित्रकारले नियुक्तिका लागि दबाब दिएकी थिइन् । मन्त्रीमा अमात्य रहेकै बेला चित्रकारले तीन/चार पटक नै लुम्बिनी क्षेत्रको भ्रमणसमेत गरेकी थिइन् । सूत्रका अनुसार, चित्रकारको ध्यान लुम्बिनी गुरुयोजना क्षेत्रभित्रका तीन तहका तीन वटा होटलहरूमा अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याएर त्यसबाट लाभ लिन सकिन्छ कि भन्नेमा छ । अहिले लुम्बिनी क्षेत्रभित्र सामान्य खालका श्रीलंका पिलग्रिम, मध्यम खालको होटल कासाई र उच्च वर्गलाई लक्षित गरेर खोलिएको होटल होक्के गरी तीन वटा होटल छन् । ती तीन वटै होटललाई फाइभस्टारमा परिणत गर्ने योजनामा चित्रकार लागिपरेकी छिन् । ती होटलहरूलाई फाइभस्टारमा स्तरोन्नति गर्नका लागि विदेशी लगानीकर्ता खोज्ने र त्यसबापत आफूले लाभ हासिल गर्ने ध्याउन्नामा चित्रकार लागिपरेकी हुन् । तर, लुम्बिनी गुरुयोजनाभित्र भने लुम्बिनी क्षेत्रभित्र फाइभस्टार होटल खोल्न पाउने प्रावधान रहेको छैन ।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्रका तीन वटा होटलहरूमा विदेशी लगानीकर्ता खोज्न एमाले पूर्वअध्यक्ष खनाल र कोषका सदस्य–सचिव अजीतमान तामाङ करिब चार महिनाअघि थाइल्याण्डसमेत पुगेका थिए । खनाल र तामाङ थाइल्यान्ड पुगेर आएपछि चित्रकारले उपाध्यक्षमा आफू अनुकूलका मानिस ल्याउने चासो राखेकी थिइन् । त्यसपछि उनी पटक–पटक लुम्बिनीसम्म पुगेकी हुन् ।
यसैबीच, उपाध्यक्षमा भिक्षु निग्रोध नियुक्त भएलगत्तै कोषका सदस्य–सचिव तामाङले उपाध्यक्षलाई लक्षित गर्दै ‘मेरो सोच अनुसार काम गरेनन् भने उनी दुई दिन पनि टिक्न सक्दैनन्’ भन्न थालेको बताइन्छ । तामाङले आफू निकटका कर्मचारीहरूबीच अहिल्यैदेखि नै उपाध्यक्ष विरुद्ध बोल्न थालिसकेका छन् । यसअघिका उपाध्यक्ष कर्म सङ्वो शेर्पाले आफ्नो पदावधि बाँकी छँदै राजीनामा दिनुमा तामाङकै असहयोग रहेको थियो । तामाङले काममा बाधा व्यवधान खडा गरेपछि शेर्पाले दुई वर्षे कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए । करिब २६ महिनाका लागि नियुक्त भएका भिक्षु निग्रोधले भने कोषको गतिविधिप्रति असन्तुष्टि जनाइसकेका छन् । उपाध्यक्षमा नियुक्त भएपछि लुम्बिनी पुगेर स्थानीय होटल र रिक्सा व्यवसायीहरूलाई भेटेका उनले कोषको गतिविधिप्रति असन्तुष्टि जनाएका हुन । आजै एउटा कार्यक्रमको सिलसिलामा थाइल्यान्ड जान लागेका भिक्षु निग्रोधले कोषका कर्मचारीहरूलाई भने थाइल्यान्डबाट फर्किएपछि मात्रै भेट्ने बताएका छन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply