तारा गाउँलाई चम्काउने लक्ष्य
प्रायजसो, काठमाडौं उपत्यका उकुसमुकुसपूर्ण नै हुन्छ । धुवाँ, धूलो, मानिसहरूको चाप र कोलाहलमय वातावरण काठमाडौंको परिचय नै बनिसकेको छ । यस्तो माहोलबाट केही समयका लागि मन बहलाउन चाहनेहरूका निम्ति नगरकोट एउटा उपयुक्त थलो हो । आज नगरकोटमा सहरका मानिसहरू जति बाक्लो रूपमा आउ–जाउ गर्छन्, तर तीन दशकअघि भने त्यस्तो कल्पना गर्न सकिँदैनथ्यो ।
कुनै बेला, नगरकोट निर्जन, सुनसान र फुंग उडेको काठमाडौं उपत्यकाको पूर्वी भेगको एउटा डाँडा मात्रै थियो । तर, सुविधासम्पन्न होटल र लजहरू खुल्न थालेपछि भने नगरकोटको मुहारै फेरियो । सुरुमा तारागाउँ विकास समितिले होटल सञ्चालनमा ल्याएपछि क्रमश: निजी क्षेत्रले पनि होटलहरू खोल्न थाले । होटल खुलेपछि बढेको विदेशी र आन्तरिक पर्यटकहरूको चहलपहलसँगै स्थानीय उत्पादनहरूले बजार पाउन थाल्यो र जनताको आयस्तर पनि उकासिन थाल्यो । र, ग्रामीण पर्यटनको जग बस्ने सिलसिला सुरु भयो ।
करिब चार दशकअघि ग्रामीण पर्यटनको विकास र समुत्थानलाई जोड दिँदै सरकारले गठन गरेको तारागाउँ विकास समितिको केही समयअघि मात्रै नेतृत्व सम्हाल्न आइपुगेका पर्यटन व्यवसायी नारदकुमार लुइँटेलले उक्त समितिलाई नयाँ स्वरुप र दृष्टिकोणसहित अगाडि बढाउने संकल्प उमारेका छन् । स्थापनाकालमा संकल्प गरेअनुरूप ग्रामीण पर्यटनको विकासमा थप उत्साहका साथ लाग्ने गरी समितिलाई क्रियाशील तुल्याउने पनि लुइँटेलको सोच रहेको छ । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको विकास समितिबारे उनी भन्छन्– ‘विभिन्न समस्याहरू झेल्दै आएको यो संस्थालाई अब नाफामूलक संस्थाको रूपमा विकास गर्ने गरी योजनाहरू बनाएको छु । यो संस्थालाई ग्रामीण पर्यटनको विकासमा टेवा पुर्याउने संस्थाको रूपमा अगाडि बढाउने छु ।’ हुन पनि ०३४ सालमा स्थापना भएको उक्त समितिले आफ्नो उद्देश्यमा यी शब्दहरू प्रस्टैसँग उल्लेख गरेको थियो–‘नेपाली सौन्दर्य, कला र संस्कृतिको बढीभन्दा बढी समन्वय गरी पर्यटनलाई गुणस्तरीयता दिने र उनीहरूको बसाइ अवधि लम्ब्याउने र स्थानीय जनसहभागितामा ग्रामीण पर्यटनको माध्यमद्वारा विभिन्न समुदायको विकास गरी नेपाली जनताको जीवनस्तर
उकास्ने छ ।’
चार वर्षका लागि समितिको अध्यक्षमा नियुक्त भएका लुइँटेलले अहिले सदस्य–सचिवको जिम्मेवारी पनि सम्हालिरहेका छन् । उनी भन्छन्–‘मेरो कार्यकालमा तारागाउँलाई ग्रामीण पर्यटन प्रवद्र्धनको मियो संस्थाको रूपमा विकास गर्नेछु ।’ त्यसका लागि उनले दीर्घ र अल्पकालीन योजनाहरूसमेत बनाइसकेका छन् । पर्यटन व्यवसायमा बटुलेका अनुभवहरूलाई तारागाउँको सिंगो विकास र प्रवद्र्धनमा लगाउने उनले संकल्प लिएका छन् । भन्छन्– ‘विगतदेखि नै यसले सामुदायिक होमस्टे सञ्चालन, तालिम र त्यसको प्रवद्र्धनमा कामहरू गर्दै आइरहेको छ । त्यसलाई निरन्तरता दिँदै यो संस्थालाई समय साक्षेप रूपमा चुस्त र गतिशील बनाउनेतिर मेरो प्रयत्न रहनेछ ।’
त्यसो त, तारागाउँ थुप्रै समस्याहरूबीच उभिएको संस्था हो भन्दा फरक नपर्ला । ग्रामीण पर्यटनकै विकास गर्ने हेतुले ककनीमा २८ रोपनी जग्गा र एउटा रिसोर्ट, नगरकोटमा करिब ६ रोपनी जग्गा र एउटा रिसोर्ट, पोखरामा १८ रोपनी जग्गा र एउटा रिसोर्ट र फेवा रेस्टुरेन्ट र काठमाडौंको मुटु मानिने न्यूरोडमा रमागृह नामक भवन तारागाउँलाई सरकारले दिएको थियो । र, बौद्धमा अवस्थित ३ सय ४ रोपनी जग्गामध्ये केही जग्गामा निर्माण भएको ह्यात रिजेन्सी होटलमा पनि तारागाउँको १०.१५ प्रतिशत सेयर रहेको छ । तिनै होटलहरू, भाडामा लगाइएको भवन र सेयरबाट आएको नाफाबाटै ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहे पनि होटलहरू व्यवस्थित रूपमा नचल्दा र सेयरबापतको रकम पनि शून्यमै रहेको हुँदा तारागाउँको अवस्था खस्किँदै गएको हो ।
अहिले त ७१ जना कर्मचारी घटेर ४० जनामा सीमित हुनपुगेको छ भने कर्मचारीको तह पनि ११ तहबाट घटेर सातौं तहमा झरेको छ । अध्यक्ष लुइँटेल भन्छन्–‘पञ्चायतकालमा यो संस्था गठन भएको हुँदा बहुदल आएपछि यसलाई हेर्ने दृष्टिकोण फरक रह्यो । र, सरकारले पनि यसको विकासमा खासै ध्यान दिएन र यो संस्था माथि उठ्न सकेन । सरकारको दृष्टिमा यो संस्था बोझ बन्न पुगेपछि क्रमश: ओरालो लाग्नुभन्दा अरू विकल्प रहेन ।’ बहुदल आएपछि तारागाउँलाई राजनीतिक भर्तीकेन्द्र बनाइयो । पर्यटन बुझेका मानिसहरूको नियुक्ति हुन सकेन । र, हरेक मन्त्री परिवर्तन भएसँगै समितिका मानिसहरू पनि फेरिए । लुइँटेल भन्छन्–‘पर्यटन बुझेका मानिसहरूले नियुक्ति नपाएपछि तारागाउँले जुन–जुन होटलहरुमा लगानी गरेको थियो, ती ती होटलहरुबाट समुचित प्रतिफल आउन सकेन । त्यसपछि यो संस्था धरासायी हुँदै गयो ।’ त्यसो त, कुनै समय तारागाउँले नेशनल ट्ेरडिङबाट सामानहरु ल्याएर पनि बेच्थ्यो । ट्ेरडिङबाट ल्याएर सामानहरु बेचुन्जेलसम्म संस्थाको स्थिति खस्किएको थिएन । लुइँटेल भन्छन्–‘नेशनल ट्ेरडिङबाट चिनी, सिमेन्टजस्ता सामानहरु ल्याएर बेचुन्जेलसम्म राम्रै थियो तर भ्याट लागू भएपछि यो संस्थाले सामानहरु बेच्न छाड्यो । हाम्रो उद्देश्य ग्रामीण पर्यटनको प्रवद्र्धन भए पनि संस्थालाई टिकाउन ती सामानहरू बेच्ने गरेका थियौं, आफ्नो कार्यक्षेत्रमा नपरे पनि सामानहरू बेच्ने गरेका थियौं । तर सामानहरू बेच्न छाडेपछि भने हाम्रो आम्दानीको मुख्य स्रोत नै बन्द भयो । र, आम्दानी सुकेपछि ग्रामीण पर्यटनलाई प्रबद्र्धन गर्ने कुरा त्यत्तिकै सेलायो ।’
नेपालमा ठूला होटल भित्रियोस् भनेर ह्यात रिजेन्सी होटल खोल्नका लागि तारागाउँले जग्गा भाडामा दिनुका साथै १७ करोड रुपियाँ लगानी पनि गर्यो । तर, लगानी गरेअनुरूप उक्त होटलले समुचित प्रतिफल नदिएपछि अहिले उनलाई त्यतिखेर जग्गा भाडामा दिँदा र लगानी गर्दा आफूहरू केही लचिलो भएको महसुस हुँदैछ । उनी भन्छन्–‘हामी लचिलो भएकै कारण ह्यातबाट प्रतिफल पाउन सकेनौं ।’ बौद्धस्थित ३ सय रोपनीमध्ये आधामा त ह्यात होटल नै सञ्चालनमा रहेको छ । ह्यातलगायत होटलहरूले नाफा नदिए पनि न्युरोडमा रहेको रमागृहले भने राम्रै आम्दानी दिइरहेको छ । भन्छन्–‘रमागृहले नाफा त दिइरहेको छ तर भवन जीर्ण भइसकेको हुँदा कहिले ढल्ला भन्ने त्रास पनि उत्तिकै छ ।’
०३६ सालमा सर्लाही, हरिवनमा जन्मिएका लुइँटेल अहिले पनि पर्यटन व्यवसायमा सम्बद्ध छन् । उनले सक्सेस ट्राभल्स एन्ड टुर्स सञ्चालन गरिरहेका छन् । राष्ट्रिय पर्यटन व्यवसायी संगठनको सचिवालय सदस्यसमेत रहेका उनले विगतमा विभिन्न कलेजहरूमा प्राध्यापनसमेत गरेको अनुभव सँगालेका छन् । तारागाउँको नेतृत्व लिएपछि त्यसकै विकासमा दिनरात सोचमग्न लुइँटेलले तारागाउँलाई नयाँ ढंगले अघि बढाउने सोचिसकेका छन् । र त भन्छन्–‘होटलहरूको थोरै स्तरोन्नति गरेर पारबिन्दुमा पुर्याउने लक्ष्य मैले लिएको छु ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply