जनक्रान्तिको मूल्यांकन
००६ साल असोज अर्थात, १९४९ सेप्टेम्बर १५ का दिन कलकत्तामा भारतीय कम्युनिस्ट पार्टीका नेता अयोध्याप्रसाद सिंहको उपस्थितिमा पुष्पलाल, मनमोहन, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय र तुल्सीलाल रहेको नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय संगठन कमिटीको गठन गरिएको थियो । त्यसै दिन नेकपाको घोषणापत्र पनि जारी गरिएको थियो ।
तुल्सीलालले २००६–०७ सालमा काठमाडौं, भक्तपुर, ललितपुरमा नेकपाको सम्पर्क र संगठन विस्तारमा सक्रितापूर्वक काम गर्नुभएको थियो । जनतामा भित्रभित्रै राणा शासनविरुद्ध जागृति बढ्दै थियो । ००७ कात्तिक २१ श्री ५ त्रिभूवन स–परिवार भारतीय दूतावास पसी भारतको शरणमा गएपछि कात्तिक २२ गते नै नाबालक ज्ञानेन्द्रलाई श्री ५ घोषणा गरी राजगद्दीमा राणाहरूले बसालेका थिए । भारतकै दबाब र सहयोगमा कात्तिक २६ श्री ५ त्रिभुवन गोकर्ण हवाइअड्डाबाट हवाइजहाजमा दिल्ली पुगेका थिए । राजा त्रिभुवनले देश छाडेर राणा शासनविरुद्ध खडा भएको खबर देशभरि सनसनी फैलियो । नेपाली कांग्रेसले यही मौकाको उपयोग गरी राजा त्रिभुवनलाई पुन: देश फर्काएर प्रजातन्त्र ल्याउन राणा शासनविरुद्ध सशस्त्र जनक्रान्तिको घोषणा गरेको थियो । ००७ कात्तिक २४ गते हिमाल एयरवेज कम्पनीको हवाइजहाजबाट नेपालको विभिन्न ठाउँमा राणा सरकारको विरोधमा पर्चा छरेको र त्यसै दिन क्रान्तिकारीहरूले वीरगञ्जमा हमला गरेर ३५ लाख सरकारी खजाना लुटेका थिए । प्रजातन्त्रवादी क्रान्तिकारी नेता थिरबम मल्ल वीरगञ्जमा त्यसै दिन सहिद भएका थिए ।
२००७ मंसिर–पुस–माघ तीन महिनाका बीचमा नेपालको विभिन्न ठाउँमा राणा सरकारको विरुद्ध जनविद्रोह भएको थियो । उता दिल्लीमा राजा–राणा र कांग्रेसका प्रतिनिधिहरू जम्मा भई नेहरुको रोहवरमा सम्झौता भएको थियो र ००७ माघ १ गते (१४ जनवरी १९५१)दिन युद्धविरामको घोषणा भएको थियो । ४ फागुन २००७ दिन दिल्लीबाट राजा त्रिभुवन फर्किए र २००७ फागुन ७ गते शाही घोषण गरे । उक्त शाही घोषणामा राजा त्रिभुवनले नेपाली जनतासमक्ष कबुल गरेको थिए–हाम्रा प्रजाको शासन अबउप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकाले’ त्यही शाही घोषणाले श्री ३ मोहनशमशेरको नेतृत्वमा १० सदस्य मन्त्रीमण्डल गठनको घोषणासमेत गरेको थियो ।
नेपाली जनताको राणा शासन अन्त्यको चाहना शोषण उत्पीडन अन्त्य गर्ने चाहना पूरा नभएको अवस्थामा प्रजातन्त्रवादीहरू समेत प्रतिकृयावादीहरुसँग दिल्लीमा सम्झौता गरेको हुँदा नेपाली कांग्रेसभित्र पनि असन्तुष्टिहरु थिए । नेपाल कम्युनिस्ट पार्टी र के आई सिंह नेतृत्वमा नेपाल प्रजातन्त्र पार्टीले दिल्लीे सम्झौताको विरोध गरेका थिए । तुल्सीलाल पनि त्यसबखत दिल्ली सम्झौताको विरोधमा हुनुहुन्थ्यो । दिल्ली सम्झौता विरोधी भएको कारण उहाँलाई भारत सरकारले पक्राउ गरी मोतीहारी र भागलपुर जेलमा ५ महिना राखेको थियो ।
आज आएर २००७ सालको जनक्रान्तिको मूल्यांकन गर्दा राजनीतिक परिवर्तन सुधार केही देखिए पनि राणाको सट्टा राजा बलियो भएको देखियो । संविधान सभाको निर्वाचन गराउने बचन पूरा नगरिएको, आर्थिक सामाजिक परिवर्तन नभएको, शोषण–उत्पीडन र अन्याय कायम नै रहेको देखियो । तथ्य सत्य यही नै हो । २००८ सालमा नेकपामाथि प्रतिबन्ध लागेको थियो । पछि २०१२ सालमा टंकप्रसाद आर्चाय प्रधानमन्त्री भएपछि प्रतिबन्ध हटाइएको थियो । २०१२ सालमा पार्टीमाथि प्रतिबन्ध हटेपछि तुल्सीलाल फेरि खुला भएर जनता माझ जानुभएको थियो ।
(पूर्वमन्त्री शाक्य तुल्सीलाल स्मृति प्रतिष्ठानका सभापति हुन् ।)
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply