बहुदलको पक्षमा प्रचार
पुष्पलाल र तुल्सीलालले नेपालमा राजतन्त्र अन्त्य र गणतन्त्र माग गरेका थिए । २०६४ जेठ १५ संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषण गरिसकेको छ । ‘संघीययता’ नमागेको उपहार हामीले पाएका छौं । संघीयतालाई सकारात्मक ढंगले लिएर राष्ट्रियता एकता र अखण्डता सबै जाति, धर्म, संस्कृति र भाषाबीच सद्भाव र एकता बढाएर मात्र अब नेपाली राष्ट्रियता बलियो हुनसक्छ । व्यक्तिगत अहम्ले व्यक्तिवाद जन्माउँछ व्यक्तिवादले व्यक्तिपूजा दलाली–चाकरी खोज्छ । आजका नेताहरू, आजका कम्युनिस्ट क्रान्तिकारीहरूले यसबाट गम्भीर शिक्षा लिन सक्नुपर्दछ ।
तुल्सीलाल र पुष्पलाल दुवैले २०३५ सालमा नै आफूहरूमा जन्मिएको अहम् र व्यक्तिवादी सोचले पार्टीमा ठूलै क्षति, राष्ट्रलाई ठूलै क्षति भएको महसुस गरी पार्टी एकता गर्ने पक्षमा पुगेका थिए । यो लेखकलाई क.तुल्सीलालले भनेका थिए– ‘२०३५ साउन ७ गते कमरेड पुष्पलालको निधनले पार्टी एकताको सपना पूरा हुनसकेन ।’ अन्तिम निष्कर्षमा म भन्छु पुष्पलाल र तुल्सीलाल दुवै इमानदार कम्युनिस्ट हुन् र दुवैले ढिलै भए पनि त्यसैबखत आत्मालोचनासमेत गरेका थिए । आज हामी पुष्पलाल र तुल्सीलालका थुप्रै सकारात्मक सोच, दृष्टिकोणबाट नयाँ बाटो खोज्न प्रेरणा प्राप्त गर्न सक्छौं । कमरेड पुष्पलालको भारतको राजधानी दिल्लीको गोविन्दबल्लभ पन्त अस्पतालमा मुटुको रोग उपचार हुँदाहँुदै निधन भएको थियो । नेपालको राजतन्त्र, निर्दलीय शासकहरू पुष्पलालको लासदेखि डराएर काठमाडौं ल्याउन दिएनन् । पुष्पलालको अस्तु जुलुस काठमाडौंका विभिन्न ठाउँ हँुदै शोभा भगवती पुगेर विष्णुमती नदीमा अस्तु विर्सजन गरिएको थियो ।
पुष्पलालको निधनपछि २०३५/३६ बाट विद्यार्थी किसान–सुकुम्बासीलगायत आम श्रमिक नेपाली जनता–निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध उत्रिए । देशमा बढ्दो महँगी, भ्रष्टाचार, जनताको गास, बास र कपास जस्ता समस्या समाधान गर्नुपर्ने माग लिएर आन्दोलन झन्–झन् तीव्र हुदै थियो । यस्तो अवस्थामा २०३६ को जेठमा राजा वीरेन्द्रले सुधारिएको पञ्चायती व्यवस्था रोज्ने कि बहुदलीय शासन व्यवस्था रोज्ने भनी नेपाली जनतामाझ जनमतसंग्रह गर्ने घोषण गरेका थिए । यसै घोषणासाथ आममाफी पनि घोषण गरेका थिए । त्यसपछि कमरेड तुल्सीलाल १८ वर्षपछि निर्वासित जीवन त्यागी भारत प्रवासबाट नेपाल फर्किएर बहुदलीय शासन व्यवस्थाको पक्षमा देशको विभिन्न ठाउँमा गएर नेपाल कम्युनिस्ट पार्टी बहुदलको पक्षमा रहेको प्रचार गर्नुभएको थियो । त्यसबेला नेकपा टुक्राटुक्रा भएको थियो । नेकपा (तुल्सीलाल समूह), (नेकपा मनमोहन समूह), (नेकपा साहना बलराम समूह), (नेकपा मोहनविक्रम समूह), (चौम समूह) नेकपा(मा.ले), (चन्द्रप्रकाश मैनाली समूह) यो लेखक त्यसबखत नेकपा (माले)मा थियो ।
नेपाल मजदुर किसान संगठन (नाराणयमान बिजुक्छें) रोहित समूह चर्चामा थियो । अर्कोतिर डा. केशरजंग रायमाझीको नेतृत्वमा नेकपाको सोभियत संघ पक्षधर राजावादी समूह पनि चर्चामा थियो । तर, कमरेड मनमोहन अधिकारीले त्यसबखत बीपी कोइरालासँग हामी बहुदल पक्षधर सँगै मिलेर जाऔं भन्ने प्रस्ताव राख्नुभएको थियो । तर, बीपीले इन्कार गर्दे भन्नुभएको थियो– ‘कुन कम्युनिस्ट समूहसँग मिल्ने ? । यो कुरा बीपीसँग भएको कुरा कमरेड मनमोहनले यो लेखकलाई त्यसबखत बताउँदै भन्नुभएको थियो– ‘बडो दु:खको कुरा हामी वामपन्थी एक हुनसकेका छैनौं ।’ २०३७ जेठमा भएको जनमतसंग्रहमा पञ्चायत पक्ष २४ लाख र बहुदल पक्षमा २० लाख मत आएको थियो । २४ लाख मत आए पनि नेपाली जनताको वास्तविक जनमत बहुदलतिर नै थियो । यो मत परिणामलाई नेपाली कांग्रेसले स्वीकार गरेको थियो । जनमत संग्रहको मत परिणामपछि नेपाली राजनीति दुई ध्रुवमा तीव्र रूपले विभाजन हुनथाल्यो । नेकपा (माले) र नेकपा (चौम)ले जनमतसंग्रह धोका हो, यसलाई बहिष्कार गरौं भन्ने नारा दिन उचित थिएन । पछि त्यो समूहभित्र यसै विषयलाई लिएर अन्त्तरविरोध बढेपछि केही मूर्ख नेताहरूको बुद्धि फिर्यो र गल्ती स्वीकार गर्नुभएको थियो ।
यसैबीच, नेकपाबाट टुक्रिएका वामपन्थी कम्युनिस्ट समूहबीच एकताका लागि पहलहरू सुरु भएका थिए । २०३७–३९ बीचमा यो लेखकले आफ्नो समूह नेकपा (माले) भित्र निरंकुश निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गर्न अब बहुदलीय शक्तिहरू मिलेर संयुक्त जनआन्दोलनमा जानुपर्ने अडान राख्दै मनमोहन, तुल्सीलाल, साहना प्रधान, नारायणमान बिजुक्छे (रोहित), मोहनविक्रम, निर्मल लामा आदि सबैलाई कम्युनिस्ट मानी उनीहरूले नेतृत्व गरेको समूहसँग वामपन्थी र कम्युनिस्ट एकताका लागि प्रयत्न गर्नुपर्ने अडान राखेको थियो ।
त्यसबखत नेकपा (माले) मनमोहन, तुल्सीलाल, साहना प्रधानलाई कम्युनिस्ट मान्न इन्कार गर्दथ्यो । माओविचारधारालाई मार्गदर्शक सिद्धान्त नमान्नेहरूलाई कम्युनिस्ट नभन्ने नेकपा (माले)को दृष्टिकोण र अडान थियो । अर्कोतिर मनमोहन, साहना, तुल्सीलाल आदिले पनि नेकपा (माले) उग्रवादी, नक्सलाइट र सीआईडी र व्यक्ति हत्याराहरू भएको पार्टीसँग वामपन्थी कम्युनिस्ट मानी एकता गर्न नसक्ने आफनो नीति रहेको जानकारी यो लेखकलाई गराएका थिए । तर, यो लेखक त्यसबखत नै एक आपस रहेका कमजोरी गल्तीहरू हटाएर नेकपाबाट टुक्रिएका सबै कम्युनिस्ट समूह एक हुनुपर्ने तुरुन्त पार्टी एकता नभए वामपन्थी मोर्चा बनाएर भए पनि एक हुनुपर्ने ‘दबाब’ दिँदै हिँडिरहेको थियो । वामपन्थी एकताका लागि पहल गरिरहेको थियो ।
यसै क्रममा २०४० वैशाख १ गते यो लेखकलगायत २५ जिल्लाका ३५ जना कमरेडहरूले तनहुँ जिल्लाको गाईघाटमा एक भेला गरी वामपन्थी एकता आन्दोलन चलाउने निर्णय गरेका थिए । उक्त दबाब आन्दोलनमा करिब १५० जना साथीहरू सक्रियतापूर्वक लागेका थिए । नेकपाबाट टुक्रिएका सबै वामपन्थी कम्युनिस्ट समूहका नेता–कार्यकर्तालाई एकताका लागि दबाब दिने उद्देश्य लिई मेरो संयोजकत्वमा दबाब आन्दोलन सञ्चालन भएको थियो । वामपन्थी एकता आन्दोलनमा सहभागीमध्ये म र कमरेड नरेश्वर ज्ञवाली २०४१ सालमा भारतको राजधानी दिल्लीको पूर्वी भेगमा पर्ने विनोदनगरमा कमरेड केदारप्रसाद उपाध्याय र भीमप्रसाद उपाध्यायमार्फत प्रथम पटक कमरेड तुल्सीलालसँग भेट भएको थियो । दुई दिन बसेर धेरै विषयहरूमा छलफल गरिएको थियो ।
त्यसबखत मैले कमरेड तुल्सीलालसमक्ष राखेका केही कुराहरू निम्न थिए– ‘अहिले हाम्रो मुलुक नेपाल सामन्त्तवाद–साम्राज्यवादविरोधी संघर्षको चरण छ । यो चरणको कार्यक्रम राष्ट्रिय प्रजातन्त्र, नयाँ–जनवाद, क्रान्त्तिकारी जनवाद, जनवादी कार्यक्रम वा राष्ट्रिय जनवादी कार्यक्रमभन्दा हुन्छ । ‘नाम’मा विवाद नगरौं । तत्कालीन कार्यनीतिक मूल नारा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था अन्त्य र प्रजातान्त्रिक बहुदलीय शासन व्यवस्था स्थापना गर्न संयुक्त जनआन्दोलन जनविद्रोह गर्ने नीति लिँदै आमचुनावद्वारा सार्वभौमसत्ता सम्पन्न संसद् खडा गरी राजाबाट सम्पूर्ण शक्ति जनतामा हस्तान्त्तरण गर्ने काम गरिनेछ । अहिले हामी बहुदल प्राप्तिका लागि नेपालका मजदुर किसान युवा, विद्यार्थी, महिला, उत्पीडित जाति र जनजाति सबै एकजुट भएर कम्युनिस्ट वामपन्थी र कांग्रेसले निर्दलीय पञ्चायती व्यवस्थाको जनविरोधी राष्ट्रघाती कार्यहरूको भण्डाफोर गर्नै नेपाली गरिब जनताका गास, बास, कपास आदि साथै भ्रष्टाचार, महँगी, बेरोजगार कुरीति, अन्धविश्वास संमग्र शोषण, उत्पीडित, दमनको विरुद्ध नेपाली जनतालाई सचेत, जागृत र संगठित गर्दै सम्पूर्ण प्रजातान्त्रिक शक्तिहरू र व्यक्तिहरूलाई संयुक्त जनआन्दोलनमा ल्याउनुपर्दछ । क्रमश:
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply