‘मिल्क होलिडे’ रोक्न शीघ्र कदम

काठमाडौं उपत्यका, तराईका समथर फाँटदेखि उच्च हिमाली भेगहरूमा उत्पादित विविध कृषिजन्य पदार्थहरूको ठूलो बजार हो । सर्वज्ञात नै छ, काठमाडौंको जनघनत्वले नै देशका विभिन्न भू–भागहरूमा उत्पादन भएका वस्तुहरूलाई काठमाडौंसम्म आउने आधार प्रदान गरेको हो । पछिल्लो समयमा भने काठमाडौं वरिपरिका जिल्लाहरूबाट कृषिजन्य उत्पादनहरू आउने क्रम बढेको छ र उपत्यकाबासी उपभोक्ताहरूलाई छेउछाउकै जिल्लाका उत्पादनहरूले धान्दै आइरहेको छ । अझ, त्यसमा देशभरि उत्पादन हुने दूध तथा दुग्धजन्य पदार्थहरूको करिब ७० प्रतिशत बजार त काठमाडौं नै रहँदै आएको छ, अहिलेसम्म ।
गत वैशाखमा आएको भूकम्पपछि भने काठमाडौं उपत्यकामा दूध तथा दुग्धजन्य पदार्थहरूको बिक्रीमा र्हास आयो । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी–निर्देशक बाबुकाजी पन्त त्यतिबेलाको स्थिति केलाउँदै भन्छन्–‘वैशाख १२ गतेको भूकम्पले काठमाडौं उपत्यकालगायत वरिपरिका जिल्लाहरूलाई बढी क्षति पुर्यायो । भूकम्पपछि काठमाडौं छाड्नेहरूको लर्को नै लाग्यो । काठमाडौंमा चहलपहलशून्य भएपछि दूधको बिक्री स्वात्तै घट्यो ।’ भूकम्प आउनुअघि सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दैनिक १ लाख ४० हजार लिटर दूध बिक्री गर्दै आएको थियो तर भूकम्पपछि भने दैनिक बिक्री ५० हजार लिटरमा खुम्चियो । ‘निजी क्षेत्रका दुग्ध उद्योगहरूले दैनिक २ लाख लिटरजति बेच्थ्यो तर भूकम्पपछि भने १ लाख लिटर पनि बिक्री हुन सकेन ।’ भूकम्पले दुग्ध उद्योगमा पुर्याएको क्षतिबारे अझ प्रस्ट पार्दै पन्तले भने ।
भूकम्पपछि धेरै असर पुर्याएको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखाजस्ता जिल्लाबाट दूध उत्पादन र संकलन हुने क्रम घटे पनि अरू जिल्लाहरूमा भने उत्पादन भइरह्यो र त्यसलाई दुग्ध उद्योगहरूले उठाइरहे । बजारमा माग कम भए पनि त्यसरी संकलन गरिएका दूधलाई फ्याटरहित धूलो दूध र मख्खन बनाएरै दुग्ध उद्योगहरू सञ्चालित रहे । त्यस कारण, धूलो दूध र मख्खन ठूलो परिणाममा मौज्दात रहेको हुँदा निजी तथा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले किसानबाट दूध खरिद नगरी मौज्दात रहेको धूलो दूध र मख्खन मिसाएर दूध तयार पार्न लागिरहेको हो कि भन्ने आशंकामा दुग्ध उत्पादक किसानहरू र बोर्डसमेत रहेका छन् । कार्यकारी–निर्देशक पन्त भन्छन्– ‘धूलो दूध र मख्खन मौज्दात रहेको हुँदा मिल्क होलिडेको सम्भावना बढेको छ । तर, हामी मिल्क होलिडे हुन नदिन तात्कालिक र दीर्घकालीन योजना बनाएर अघि बढ्ने पक्षमा रहेका छौं ।’
अहिले करिब ३ लाख परिवार दुग्ध व्यवसायमा संलग्न छन् । तर, मिल्क होलिडे हुँदा ठूलो संख्याका किसान–परिवार मर्कामा पर्ने देखिन्छ । मिल्क होलिडे हुन नदिन तत्कालीन स्थितिमा के–के गर्नुपर्ला त ? पन्त भन्छन्– ‘दैनिक १ लाख लिटर धूलो दूधको पाउडर बनाउने क्षमता रहेको चितवनको धूलो दूध कारखाना अहिले बन्द हुन पुगेको छ । त्यो कारखाना बन्द भएपछि यो समस्या उत्पन्न भएको हो । मिल्क होलिडे हुन नदिनका लागि बन्द अवस्थामा रहेको त्यो दूध कारखानालाई सरकारले सहुलियत दिएर चलाउनुपर्छ ।’ त्यस बाहेक, अर्को विकल्प पनि बोर्डले अघि सारेको छ । त्यो हो, छिमेकी मुलुक भारतको पटनामा केही समयका लागि दूध बिक्री गर्नु । तर, त्यसमा एउटा समस्या के देखिएको छ भने पटनामा नेपालमा भन्दा ५ रुपियाँ ९६ पैसा सस्तो छ, दूध । पन्त भन्छन्– ‘सरकारले किसानबाट तीन महिनासम्म सहुलियत दिएर दूध खरिद गरी पटनामा बेच्न सक्छ । हिसाबै गर्दा पनि सरकारले साढे दुई करोडभन्दा बढी सहुलियत दिनु पर्दैन । किसानको हित सोच्ने हो भने यति रकम सरकारका निम्ति ठूलो पनि होइन ।’ विगतमा पनि नेपालमा बढी दूध उत्पादन हुँदा पटनामा बेच्ने गरिएको र पटनामा बढी हुँदा नेपालले किन्ने गरेको प्रसंग उल्लेख गर्दै पन्तले भने– ‘हामीले दैनिक करिब ४० हजार लिटर दूध पटनामा पठाउन अभ्यास गरिरहेका छौं । मिल्क होलिडे हुन नदिन योजति अरू राम्रो विकल्प तत्काललाई अरू छैन । यो विषयमा हामीले सरोकारवाला सबैसँग परामर्श गरिसकेका छौं ।’
यी त तत्काल उब्जिएका समस्यालाई निदान गर्ने उपायहरू मात्र हुन् । तर, दीर्घकालीन रूपमा मिल्क होलिडे हुन नदिन के गर्न सकिन्छ त ? पन्त भन्छन्– ‘अब दैनिक ५० हजार लिटरको धूलो दूध बनाउने र ५० हजार लिटर बराबरकै बेबी फुड कारखाना नखोली दीर्घकालीन रूपमा मिल्क होलिडेको समस्यालाई रोक्न सकिँदैन । हामीले यस्तो प्रस्ताव बनाएर मन्त्रालयमा पठाउने तयारी गरिरहेका छौं ।’ तर, अहिले मिल्क होलिडेको सम्भावना बढे पनि नेपाल दूध उत्पादनमा भने अझै आत्मनिर्भर हुन नसकेको पन्तको कथन छ । उनी भन्छन्– ‘एउटा व्यक्ति स्वस्थ रहनका लागि दैनिक २ सय ५० ग्राम दूध तथा दुग्धजन्य पदार्थ प्रयोग गर्नुपर्छ । तर, नेपालको जनसंख्यालाई आधार मानेर हेर्दा अझै दैनिक १७ हजार लिटर दूध हामीलाई नपुग्ने देखिन्छ । तथापि, हाम्रो आर्थिक स्थितिले गर्दा आवश्यकता अनुरूप हामीले दूध प्रयोग गरिरहेका छैनौं ।’
०६८, चैतमा चार वर्षका लागि बोर्डको कार्यकारी–निर्देशकको पद सम्हालेका पन्तले लामो समय दुग्ध क्षेत्रको अध्ययनमा नै बिताएका छन् । ०१९ सालमा गोरखाको छेपेटारमा जन्मिएका पन्तले कृषि क्याम्पस, रामपुरबाट बीएस्सी गरेदेखि नै जागिरे जीवन सुरु गरेका हुन् । ०४९ देखि ०५४ सम्म दुग्ध विकास संस्थानमा प्राविधिक अधिकृतको रूपमा प्रवेश गरेका उनले बोर्डमा भने ०५८ सालमा वरिष्ठ अधिकृतको रूपमा सेवा प्रवेश गरेका हुन् । केही वर्ष सीताराम गोकुल मिल्क र डेनिडाको प्रोजेक्टमा समेत काम गरेका उनी ०६८ मा बोर्डको उपकार्यकारी–निर्देशक रहिसकेका हुन् । दुग्ध क्षेत्रको समष्टिगत विकास र विस्तार गर्ने कार्यमा भूमिका खेल्दै आएको बोर्डमा करिब डेढ दशकको अनुभव सँगालिसकेका पन्तले सरकारी स्वामित्व रहेको डीडीसी, १ हजार ८ सय २५ सहकारी दुग्ध उद्योग र साना, ठूला र मझौला गरी करिब ६ सयजति निजी दुग्ध उद्योगहरूको समन्वय गर्ने निकायको रूपमा रहेको बोर्डलाई अहिले कुशलतापूर्वक हाँकिरहेका छन् । ०६३ सालमै बोर्डको निमित्त कार्यकारी–निर्देशक भइसकेका पन्तले अहिले देखा पर्न थालेको मिल्क होलिडेको समस्याप्रति इंगित गर्दै भने–‘आगामी दिनमा नेपालमा दुग्ध उत्पादन झनै बढ्ने देखिन्छ । त्यसले मिल्क होलिडेको समस्या झनै निम्त्याउने स्पष्ट छ । मिल्क होलिडे हुन नदिन दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्ने पक्षमा हामी उभिएका छौं ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply