जानेबेलामा बालुवाटारमा किचलो
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले पुगनपुग १९ महिना बिताएर बालुवाटार छोड्ने दिन आइसक्दा पनि आफ्नो किचन क्याबिनेट मिलाउनै सकेनन् । भिन्नाभिन्नै मिसन बोकेर बालुवाटारमा भेला भएका सल्लाहकार र निजी सचिवहरूको झमेला उनले सोमबारसम्म पनि बेहोर्नुपर्यो ।
दुई महिनाअघि प्रेस सल्लाहकार बनाइएका प्रतीक प्रधानले सोमबार राजीनामा दिएको दुई घन्टा नबित्दै सामाजिक सल्लाहकार विजन पन्तले पनि राजीनामा दिए । प्रधानले वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि राजीनामा दिएको उल्लेख गरेलगत्तै उनले ‘रिपब्लिका’ दैनिक प्रकाशित एक लेखलाई लिएर भारतीय पक्षबाट आपत्ति प्रकट भएको समाचार सार्वजनिक भयो भने पन्तले ‘नयाँ पत्रिका’ दैनिकमा लेखेको त्यही विषयको लेखप्रति आपत्ति भएको कुरा पनि सार्वजनिक भयो । यी दुवै कुरामा सत्यता नभएको होइन । तर, त्यसभन्दा बढी कोइरालाको किचन क्याबिनेटमा देखा परेको किचलोले काम गरेको थाहा भएको छ । स्रोतका अनुसार, आफ्ना कति सल्लाहकार छन् र ती के–के काम गर्छन् भन्ने पनि प्रधानमन्त्री कोइरालालाई मतलब छैन । न उनीहरूको कहिल्यै बैठक बस्छ न त कामको रिपोर्टिङ नै हुने गर्दछ । प्रधानमन्त्रीकै समूहमा रहेको एक स्रोतले बुधबारसँग भन्यो– ‘यस्तो अवस्थामा सबैले मौकाको फाइदा उठाउनेमा मात्रै ध्यान दिएको पाइन्छ । त्यही क्रममा एउटाको अर्कासँग बोलचाल नहुने स्थिति समेत छ ।’
प्रधानमन्त्रीका अरू सल्लाहकार भए पनि मुख्य निर्णयमा अवैतनिक सल्लाहकार बनेकी अमेरिकी नागरिक मृदुला कोइरालाले भूमिका निर्वाह गर्ने गरेकी छन् । उक्त स्रोतले भन्यो– ‘पहिला चिरञ्जीवी नेपालले प्रधानमन्त्रीलाई दुरुपयोग गरे । अहिले मुख्य रूपमा मृदुला र त्यसपछि स्वकीय सचिव रमेश भण्डारीले दुरुपयोग गरिरहेका छन् ।’ सल्लाहकार समूह र सचिवालय साह्रै भद्रगोल भयो, कोही कसैको नियन्त्रणमा रहेन, कसैले पनि प्रधानमन्त्रीलाई सहयोग गरेन भन्ने भएपछि एकपटक सबैले राजीनामा दिने कुरा उठेको थियो । प्रशासनिक सल्लाहकार बाबुरामआचार्यले ‘हामी सबैको यहाँ कामै छैन, सबैले राजीनामा दिऔँ अनि आवश्यकताका आधारमा प्रधानमन्त्रीले फेरि नियुक्त गर्नुहुन्छ’ भन्ने प्रस्ताव राख्दा सबैले पहिला ठीक छ भने तर राजीनामा दिऔँ न त भन्दा आचार्य चाहिँ एक्लै परे । चित्त नबुझे पनि केही नबोल्ने प्रधानमन्त्री कोइरालाको स्वभावका कारण सल्लाहकार समूहबीच खासै समन्वय पनि नभएको र काम पनि नभएको स्रोतले बतायो । स्रोतले भन्यो– ‘समूहमा कुरा नगर्ने, आफ्नो कुरा कसैलाई सेयर नगर्ने प्रधानमन्त्रीज्यूको बानी रहेछ । त्यस्ता मानिसलाई सल्लाहकार नै चाहिँदनथ्यो ।’ उक्त स्रोतले थप्यो– ‘हुन त त्यही कोठे राजनीतिका कारण संविधान आउन सक्यो । विशेष कुरा केपी ओली र अलिअलि प्रचण्डजीबाहेक उहाँले कसैसँग सेयर गर्नुभएन र चुहिन पाएन । त्यही कारण संविधान निर्माण प्रक्रियामा पनि सजिलो भयो ।’
आइतबार बिहान परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईको विशेष सक्रियतामा सल्लाहकारहरूको बैठक आयोजना गरिएको थियो । त्यसमा भट्टराईले प्रधान र पन्तको लेखका कारण भारतसँगको सम्बन्धमै खलल पुगेको, प्रधानमन्त्री अप्ठेरोमा परेको, आफूलाई भारतीय पक्षबाट बारम्बार त्यसका बारेमा सोधिएको जस्ता कुरा गर्दै राजीनामा गर्न सुझाव दिएका थिए । स्रोतका अनुसार, त्यस बैठकमा पनि प्रधानमन्त्री कोइरालाले यसबारेमा केही भनेनन् । जानेबेलामा कसैलाई राजीनामा दिन किन लगाउने ? अब १०–१५ दिनको कुरा त हो भन्ने प्रधानमन्त्रीको चाहना थियो । तर, उनै भट्टराईले लगातार वकालत गरेपछि सहन नसकेर दुवैजनाले राजीनामा दिएको बालुवाटार स्रोतले बतायो ।
सम्बन्धित समाचार
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
Leave a Reply