दुग्ध क्षेत्रलाई उँभो लगाउने संकल्प

दुग्ध विकास संस्थानका उत्पादनहरू मन नपराउने सायदै कोही होलान् । संस्थानद्वारा उत्पादित हरेक दुग्धजन्य पदार्थहरू काठमाडौं महानगरदेखि ग्रामीण भेगसम्मै रुचाइनेमा पर्दछन् । हुन पनि, संस्थानप्रति आम उपभोक्ताको विश्वास यति समृद्ध छ कि, संस्थानका उत्पादनहरू आँखा चिम्लेर किन्न हिच्किचाउँदैनन् ।
तर, आम उपभोक्ताको रोजाइमा संस्थानका हरेक उत्पादनहरू परे पनि अहिले पनि संस्थानले ४७ करोड नोक्सानी बेहोर्नुपरिरहेको छ । करिब अढाई महिनाअघि संस्थानको अध्यक्षमा नियुक्त भएका खिमबहादुर थापा भने व्यवस्थापनको दृढ इच्छाशक्ति हुने हो र सञ्चालक समितिले राम्ररी नेतृत्व गर्ने हो भने संस्थानले बेहोरिरहेको घाटालाई पूर्ति गर्न धेरै वर्ष नलाग्ने बताउँछन् । थापा भन्छन्– ‘हामीमा इच्छाशक्ति हुने हो भने २/३ वर्षमा नै संस्थालाई नाफामुलक बनाउन सकिन्छ । संस्थानलाई नाफामा पुर्याउन धेरै मिहिनेत गर्नै पर्दैन । किनकि, यसको लोगो नै काफी छ र सुव्यवस्थित रूपले बजारीकरण गर्न सकियो भने अहिले बेहोरिरहेको घाटा पूर्ति गर्न धेरै समय लाग्दैन ।’
थापाले संस्थानको अध्यक्ष पद सम्हाल्दा भूकम्पको असर क्रमश: घट्दै गइरहेको थियो । असार १४ गते अध्यक्षमा नियुक्त हुनुअघि उनले संस्थानको नेतृत्व गर्न उपयुक्त हुन्छ कि हुँदैन, आफ्ना निकटका साथी र अग्रजहरूसँग उनले सम्वाद चलाएका थिए । संस्थानभित्र हुने अनेक चलखेलले जिम्मेवारी लिँदा विवादमा तानिने हो कि भन्ने भय उनमा व्याप्त थियो । तर, जिम्मेवारी लिएपछि सुधार्न सकिने सम्भावना देखेपछि उनले अध्यक्ष पद स्वीकारेका थिए । उनी भन्छन्– ‘म जाँदा संस्थान आर्थिक रूपले कमजोर थियो । मैले संस्थालाई सबल बनाउन के गर्न सकिन्छ भनेर छलफल चलाएँ र आफ्नो योजना पनि अघि सारेँ ।’ उनले थपे–‘मैले अध्यक्ष पद सम्हाल्दा थुप्रै चुनौतीहरू थिए । त्यतिबेला दुग्ध उत्पादन बढी र खपत भने कम भइरहेको थियो । निजी दुग्ध उद्योगहरूले पनि किसानहरूबाट दूध उठाइरहेका थिएनन् । भूकम्पको असर दुग्ध उद्योगमा टड्कारो रूपमा परिरहेको थियो ।’
भूकम्पपछि दूध तथा दुग्धजन्य पदार्थहरूको बिक्रीमा र्हास आउनु स्वाभाविकै थियो । तर, संस्थान र निजी दुग्ध उद्योगहरूले भने त्यतिबेला संकलन गरेका दूधबाट धूलो दूध बनाउने र मख्खन निकालेर राख्ने काम गरे । थापाले त्यतिबेलै दूध बढी उत्पादन हुने भदौदेखिको मौसममा मिल्क होलिडे हुने सम्भावना आँकलन गरिसकेका थिए । उनी भन्छन्– ‘त्यतिबेलै हामीले भारतको पटनामा दूध पठाउन सकिनेबारे छलफल गरेका थियौं । किनकि, दूध बढी उत्पादन हुने मौसममा मिल्क होलिडे हुने सम्भावना व्यापक थियो । हामीले त्यही बेलादेखि गरेको पहलले अहिले सार्थक रूप लिएको छ ।’ मिल्क होलिडेको मारमा किसानहरू नपरून् भनेर सरकारले तीन महिनाका लागि संस्थानलाई अनुदान दिएर पटनामा दूध निर्यात गर्न थालेको छ अहिले । पटनामा दूधको मूल्य प्रतिलिटर ५ रुपियाँ ९६ पैसा सस्तो पर्ने भएको हुँदा त्यति रकम बराबरको अनुदान दिएर अहिले दैनिक ३० हजार लिटर दूध भारत निर्यात भइरहेको छ । थापा भन्छन्– ‘मिल्क होलिडेको समस्या नआओस् भनेर नै हामीले किसानसँग दूध खरिद गरेर पटना पठाएका हौं । तर, निजी दुग्ध उद्योगहरूले किसानको दूध खरिद गरेन भने मिल्क होलिडेको सम्भावना अझै रहन सक्छ ।’
त्यसो त, अध्यक्ष भएपछि थापाले संस्थानका उत्पादनहरूलाई व्यवस्थित रूपले मार्केटिङ गर्नेतिर पहल सुरु गरेका छन् । भन्छन्– ‘अब हामीले मार्केटिङमा विशेष रूपमा जोड दिन थालेका छौं । निजी क्षेत्रसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको हुँदा हामीले मार्केटिङमा विशेष ध्यान दिनुपर्ने देखिएको छ ।’ अध्यक्ष भएयता तत्कालीन समस्याहरूलाई कुन रूपमा सम्बोधन गर्ने भन्नेमा केन्द्रित भए पनि अब भने उनी केही दीर्घकालीन कामलाई मूर्त रूप दिन लागिपरेका छन् । भन्छन्–‘०६१ सालमा पोखरामा रहेको हाम्रो आयोजना निजीकरण गरिएपछि पश्चिमाञ्चलका १६ जिल्लासँग हाम्रो सम्पर्क टुट्यो । गण्डकी, धौलागिरि र लुम्बिनीका पहाडी जिल्लाहरूसँग सम्बन्ध टुटेपछि त्यसले हामीलाई ठूलो असर पुर्यायो । अब भने हामीले पोखरामा पुन: आयोजना सुरु गर्न लागेका छौं । उक्त आयोजनाका लागि हामीले ४ करोड बजेट पनि छुट्याइसकेका छौं ।’
पोखरामा दुग्ध आयोजना प्रारम्भ गर्ने कार्यसँगै काठमाडौंको लैनचौरमा रहेको केन्द्रीय कार्यालयलाई त्यही रूपमा विस्तार गर्ने योजना पनि रहेको छ । र, केन्द्रीय कार्यालय विस्तार र व्यवस्थित गर्ने हेतुले लैनचौरमा रहेको चिज आयोजनालाई ललितपुरको खुमलटारमा सार्ने तयारी भइरहेको छ । त्यसका लागि संस्थानले ५ करोड बजेट छुट्याइसकेको छ । थापा भन्छन्– ‘विराटनगरमा रहेको धूलो दूध कारखानालाई विविधिकरण गर्ने तयारीमा पनि हामी लागेका छौं । त्यो आयोजनाबाट निकट समयमै डेरी ह्वाइटनर उत्पादन गर्न थालिरहेका छौं । त्यसका निम्ति सरकारले पनि १ करोड रुपियाँ बजेट छुट्याइसकेको छ ।’
०२५ सालमा स्याङ्जाको श्रीकृष्णगण्डकी गाविसमा जन्मिएका थापा मूलत: राजनीतिककर्मी हुन् । ०३९ सालमै अखिलको राजनीति सुरु गरेका उनले ०४९ सालमा काठमाडौंमा स्थायी रूपमा बसोवास गर्न थाले पनि जिल्ला र अञ्चलसँगको सम्पर्कलाई भने टुटाउन चाहेनन् र पछिल्लो समय एमालेको गण्डकी अञ्चल सम्पर्क मञ्चको दुई कार्यकाल अध्यक्ष भएर चलाए । ०४४/४५ सालतिर पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दादेखि नै राजनीतिक रूपमा सचेत र क्रियाशील रहेका उनले जीवनमा अरू पेसा, व्यवसायलाई अँगाल्नुभन्दा पनि राजनीतिलाई नै सर्वोपरी ठान्दै अघि बढ्न रुचाए । मिलनसार, मृदुभाषी र उत्तिकै जिम्मेवारीबोध पनि भएका थापाले आफ्नो दुई वर्षे कार्यकालमा संस्थानलाई उँभो लगाउन हर प्रयत्न गर्न चाहेका छन् । भन्छन्– ‘मुलुकलाई दूग्धजन्य पदार्थहरूमा आत्मनिर्भर बनाउन सकिने प्रसस्तै सम्भावनाहरू छन् । अहिले हामीले संस्थालाई त्यही रूपमा सञ्चालन गरिरहेका छौं ।’ उनलाई के विश्वास पनि छ भने, संस्थानलाई केही व्यवस्थित तुल्याउन सकियो भने माथि उठ्न धेरै समय लाग्दैन । उनी भन्छन्– ‘हामीप्रति आम उपभोक्ताको ठूलो विश्वास छ । हाम्रो ब्रान्ड पनि राम्रो छ । तर, थोरै मात्र व्यवस्थित गर्न सक्यौं भने हामी बजारमा अब्बल नै रहन सक्छौं । र, हाम्रो गुणस्तरीय उत्पादन नै हामीप्रतिको विश्वसनीयता हो भन्ने मलाई लाग्छ ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply