राष्ट्र्रपतिको चुनावको यस्तो छ भित्री कथा
काठमाडौं । ईश्वर पोखरेल र विष्णु पौडेलले प्रस्ताव गरेझैं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मानेको भए शीतल निवास जाने पालो विद्या भण्डारीसम्म आइपुग्ने नै रहेनछ । पछिल्लो समयमा पार्टीभित्र राम्रो शक्ति आर्जन गरिरहेकी भण्डारी स्वयं पनि सुरुमा आलंकारिक राष्ट्र्रपतिमा गएर राजनीतिबाट सधैंका लागि बिदा हुने कि नहुने भन्नेमा दुविधामा थिइन् । तर, एमालेका शीर्ष नेताहरूका भावी योजनाको प्रत्यक्ष लाभ ५४ वर्षीय भण्डारीले पाएकी छन् ।
माधवले किन मानेनन् ?
सिंहदबारमा बसेको स्थायी समितिको बैठकमा प्रस्ताव गर्नुअघि एमाले महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता नेपाललाई राष्ट्रपतिका लागि अनुरोध गरेका थिए । स्वभावैले कार्यकारी चरित्रका वरिष्ठ नेता नेपालले यसअघि पटकपटक आफू आलंकारिक राष्ट्रपति नहुने धारणा सार्वजनिक गरिसकेका कारण पनि उक्त पदप्रति आफ्नो रुचि नै नभएको बताएका थिए । उनको भनाइ थियो, ‘एक त मेरो स्वभावले पनि शीतल निवासभित्र बसिरहन दिँदैन, दोस्रो अहिल्यै त्यो उमेर पनि भएको छैन । म अझै १० वर्ष सक्रिय राजनीति गर्छु ।’ वरिष्ठ नेता नेपालसमक्ष नेताद्वयले प्रस्ताव राख्नुका पछाडि यस्तो कारण पेस गरेका थिए राष्ट्रपति भनेको देशको एक नम्बर र मर्यादित पद हो । उक्त पदको मर्यादाका लागि तपाईंंजस्तो वरिष्ठ राजनीतिज्ञ जानु उपयुक्त हुन्छ ।
तर नवौं महाधिवेशनमा अत्यन्त प्रतिकूल र असंगठित अवस्थामा पनि जम्मा ५५ मत नपुगेर अध्यक्ष निर्वाचित हुन नसकेका वरिष्ठ नेता नेपाल एक पटक एमालेको नेतृत्व गर्न चाहन्छन् भन्ने उनको सक्रियताले देखाइरहेको छ । नवौं महाधिवेशनलगत्तै दसौं महाधिवेशनको तयारीमा लागेका वरिष्ठ नेता नेपाल पार्टी अध्यक्ष हुने छाडेर शीतल निवास जान चाहेनन् र उक्त प्रस्ताव अस्वीकृत भयो ।
झलनाथले मुख खोल्न सकेनन्
उता एमालेको एउटा बैठकमा बरिष्ठ नेता नेपालले अर्का बरिष्ठ नेता झलनाथ खनालको नाम प्रस्ताव गरेको थाहा भएको छ । तर, त्यतिबेलासम्म दुई वर्षका लागि हो, के राष्ट्रपति हुन जाने भनेर अन्योलमा रहेका खनालले हुादैन, म जान्न भनेका भनेका थिए । त्यसलगत्तै बरिष्ठ नेता नेपालसँग अध्यक्ष केपी ओलीलगायतका नेताहरूले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपति बनाउनेबारेमा कुरा गरिसकेका थिए । खनालपत्नी रविलक्ष्मी चित्रकारले बरिष्ठ नेता नेपाललाई फोन गरेर राष्ट्रपतिमा सहयोग माग्नुअघि नै उनले भण्डारीलाई वचन दिइसकेका थिए ।
दसैंअघि काठमाडौंको गोठाटारस्थित गान्धी स्कुलमा आयोजित कार्यक्रममा नेपालले अब मुलुकले महिला राष्ट्रपति पाउँदै छ भनेर आफ्नो कार्ड सार्वजनिक गरिसकेका थिए ।
यता खनाल निकटहरूले चाहिँ अब पार्टीमा तपाईंको पालो आउने होइन, राष्ट्रपति हुनुपर्छ भनेर लबिङ गरेपछि खनालको मुख रसाएको थियो । ५/६५ वर्ष राष्ट्रपति हुन निश्चित छ भन्दै उनले त्यसपछि पहल गरे पनि ढिला भइसकेको थियो । यद्यपि, उनी आफैंले चाहिँ राष्ट्रपतिका लागि विशेष पहल गरेर कुराकानी भने गरेनन् । नवौं महाधिवेशनका बेला अन्नपूर्ण पोष्टमा अन्तर्वार्ता दिँदै भण्डारी स्वयंले अहिले तटस्थ बसेमा भावी राष्ट्रपति खनाल नै बन्ने वचन दिएको थिइन् । महाधिवेशनमा तटस्थ बनेका खनालले ओलीबाट पनि त्यही अपेक्षा गरेका रहेछन् भन्ने भेउ नेताहरूले त्यतिबेला पाए, जतिबेला बैठकमा अरूभन्दा अघि बढेर उनी स्वयंले अध्यक्ष कमरेडले नै नाम प्रस्ताव गर्नोस् भन्ने प्रस्ताव गरे । बैठकका एक सहभागीले भने । तर, अध्यक्षले भण्डारीको नाम प्रस्ताव गरेपछि चाहिँ उहाँको अनुहारको भाव पूरै परिवर्तन भएको देख्न सकिन्थ्यो ।
उसो त अध्यक्ष ओलीले बैठकअघि वरिष्ठ नेता नेपाललाई भेटेर बैठकमा भण्डारीको नाम प्रस्ताव गर्न अनुरोध गरेका थिए । तर, उनले मैले पहिला यस्तै बैठकमा जेएनको नाम भनिसकेको छु, तपाईं नै प्रस्ताव गर्नुस् भनेका थिए ।
सुवासको पहल ढिलो
जटिल अवस्थामा संविधान बनाउने कामको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका कारण आफूले जिम्मेवारी पाउँला भन्ने पूर्वसभामुख सुवास नेम्वाङको अपेक्षा पनि अनुचित थिएन । महाधिवेशनमा खुलेर ओलीलाई सघाएका कारण र ढिलो नगरी प्रधानमन्त्रीको निर्वाचन गराइदिएका कारण ओलीबाट आफूले पुरस्कार पाउने अपेक्षा पनि उनले गर्ने नै भए । तर, ओलीसामु विद्या भण्डारी र आफ्नो नाम आए विनाविलम्ब विद्याको नाम रोजिन्छ भन्नेचाहिँ उनलाई थाहा रहेनछ । नत्र, विद्याको नाम आएपछि नेम्वाङले पहलै गर्ने थिएनन् ।
एमालेका एक स्थायी समिति सदस्यले भने, नेम्वाङको नाम त आयो, उहाँले इच्छा त देखाउनुभयो तर निकै ढिलो गर्नुभयो । नेम्वाङले अध्यक्ष ओली, वरिष्ठ नेता नेपाललगायतसँग राष्ट्रपतिका लागि आग्रह गरेका थिए तर उनको भाषाचाहिँ यस्तो रहेछ, मैले सफलतापूर्वक संविधान निर्माणको नेतृत्व गरेको छु, एउटा पुँजी निर्माण भएको छ, यो पुँजीलाई कसरी प्रयोग गर्ने ? पार्टीले सोचोस् । त्यति भन्दा एमालेका नेतालाई के पुग्थ्यो र ? उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अन्तिम बैठकमा नेम्वाङको नाम लिएका थिए । पहिलादेखि नै हार्दिक सम्बन्ध नभएका जिल्लावासी झलनाथ खनालले चाहिँ नेम्वाङको नाम लिने कुरै भएन भने पहिल्यै ओलीसँग विद्याको नाममा राजी भइसकेका कारण नेपाल पनि बोल्ने कुरा भएन । यसरी नेम्वाङको नाममा खास छलफलै भएन ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- दिल्लीमा देउवाको दौडधुप
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
Leave a Reply