केरुङबाट पाइपलाइन आउला ?
काठमाडौं । आखिर संकटकै बेला उपायहरू निस्किँदा रहेछन् । नयाँ संविधान पारित भएको २४ घन्टा नबित्दै दक्षिणतिरका छिमेकी भारतले अघोषित रूपमा नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा व्यवधान खडा गरेपछि उत्तरी छिमेकी चीनसँग पेट्रोलियम पदार्थ ल्याउन बाध्य तुल्याइयो । सुरुमा अनुदानस्वरूप चीनले १३ लाख लिटर इन्धन दिने टुंगो गरेसँगै चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्नेबारे दुई देशबिच सम्झौतासमेत हुन पुगेको छ ।
अब नेपाल आयल निगम र पेट्रो चाइनाबिच भएको सम्झौताले मूर्त रूप लिने क्रमसँगै अरू नयाँ उपायहरू पनि निस्किएका छन् । नेपाललाई दीर्घकालीन रूपमै इन्धन आपूर्ति गर्ने हिसाबले चिनियाँ पक्षले नेपालको सीमावर्ती आफ्नो भूभाग केरुङबाट नुवाकोटको पिपलटारसम्म पाइपलाइन बिछ्याउनेतिर चासो राखेका छन् । अनुदानस्वरूप केरुङमा आएको इन्धन लिन गएका सरकारी अधिकारी र निगमका टोलीलाई चिनियाँ पक्षले प्रस्ताव राख्दै भनेका थिए, ‘तपाईंहरू तयार हुनुभयो भने हामी एक वर्षभित्रै पाइपलाइन बिछ्याउन तयार छौं । तपाईंहरू सरकारबाट निर्णय गराउनोस्, हामी तुरुन्तै काम थाल्नेछौं ।’
चिनियाँ पक्षले राखेको पाइपलाइनको प्रस्तावप्रति निगम सकारात्मक रहेको बताइन्छ । निगम कर्मचारी संघका अध्यक्ष देवीप्रसाद न्यौपाने भन्छन्, ‘नेपाल र भारतका निगमबीच ४० वर्षदेखि व्यापारिक सम्बन्ध रहँदै आएको छ । तर, नाकाबन्दी लगाएपछि केही खटपट हुनपुग्यो । यस्तो स्थितिमा कुनै अरू छिमेकीले पाइपलाइन बिछ्याउने प्रस्ताव राख्छ भने त्यसलाई हामीले सकारात्मक रूपमालिएर कार्यान्वयन गराउने दिशातिर अघि बढ्नुपर्छ ।’
यदि, चिनियाँ पक्षले राखेको पाइपलाइनको प्रस्तावलाई मूर्त रूप दिने हो भने त्यो छोटो अवधिमै सम्पन्न हुने बताइन्छ । अहिले चीनको केरुङदेखि पीपलटारसम्म पाइपलाइन बिछ्याउँदा ४९ किलोमिटर मात्रै बिछ्याउनुपर्ने हुन्छ । त्यो दूरी भनेको केही महिनाअघि रक्सौल–अमलेखगन्ज पाइपलाइनको दूरीभन्दा १० किलोमिटर मात्रै बढी हो । रक्सौल–अमलेखगन्ज पाइपलाइनको दूरी ३९ किलोमिटर रहेको छ र उक्त पाइपलाइनसम्बन्धी प्रसंग उठेको २५ वर्षपछि मात्रै केही महिनाअघि सम्झौता भएको हो । तर, केरुङ–पिपलटार पाइपलाइनका लागि नुवाकोटको विदुर नगरपालिकामा अवस्थित पिपलटारमा भने निगमले अमलेखगन्जमा जस्तै ठूलाठूला डिपो बनाउनुपर्ने हुन्छ । केरुङदेखि पिपलटारसम्म पाइपलाइन बिछ्याउँदा सबभन्दा बढी इन्धन खपत हुने काठमाडौं उपत्यकाका लागि छोटो र सर्वसुलभ रूपमा इन्धन भित्रिने मार्ग त्यही नै हुने देखिन्छ । किनकि, पीपलटारदेखि काठमाडौंसम्मको दूरी ६५ किलोमिटरभन्दा बढी रहेको छैन ।
अहिले केरुङबाट नेपालमा पेट्रोलियम पदार्थ भित्र्याउँदा बाटोको खराब अवस्थाले गर्दा लक्ष्यअनुरूप इन्धन भित्रिने सम्भावना नरहेको बताइन्छ । सरकारले केरुङबाट दैनिक १२ हजार लिटर पेट्रोलियम पदार्थ ल्याउने लक्ष्य लिए पनि बाटोका कारण सम्भव नहुने स्थिति रहेको छ । न्यौपाने भन्छन्, ‘अहिले बाटोको अवस्था र क्षमताले गर्दा लक्ष्यअनुरूप इन्धन भित्र्याउन सकिने स्थिति छैन ।’ बाटोकै कारण केरुङबाट दैनिक ६ देखि ९ हजारभन्दा बढी पेट्रोलियम पदार्थ भित्र्याउन नसकिने निगम सूत्रले बतायो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply