नारी शक्तिको विजय !
या देवी सर्व भूतेषु शक्ति रूपेण संस्थिता,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नम: नम: !
भर्खरै दसैं सकिएको छ । लगत्तै तिहार, लक्ष्मी पूजा आउँदै छ । यो पर्व पनि मूलत: देवीलाई नै पूजा गर्ने पर्व हो, लक्ष्मीका रूपमा । यसपालिको दसैं अगाडिपछाडि दुई महिला राष्ट्रको सर्वोच्च स्थानहरूमा (राष्ट्र प्रमुख र सभामुखजस्तो गरिमामय पदहरूमा) निर्वाचित भएका छन् । यी दुई नारी प्रतिनिधि पात्र हुन् । यो समाजमा अबदेखि नारीको स्थान पुरुषभन्दा तल छैन र हुनुपर्दैन भन्ने कुराका प्रमाण हुन् यी † यो नेपालकै इतिहासमा पहिलो घटना भएको छ । राष्ट्रप्रमुखमा विद्यादेवी भण्डारी, सभामुखमा ओनसरी घर्ती मगर । दुवै वामपन्थी आन्दोलनमा विशेष भूमिका खेलेर आएका र प्रत्यक्ष अप्रत्यक्ष जीवनका विविध समस्यासागै संघर्षमा अगाडि बढेका महिलाहरू हुन् । जीवनमा सबैका आफ्नै किसिमका परिवेश, कथाव्यथा हुन्छ नै, यी दुई महिलामा पनि झट्ट हेर्दा भिन्दाभिन्दै उमेर र परिवेश देखिन्छ । तर, दुवै नै नेपाली माटो र संस्कृतिमा हुर्केका नारीशक्ति हुन्, यो स्थान हासिल गर्न ती दुवैले जीवन मरणको संघर्ष लडाइँमा समेत होमिएर आएका छन् । सबभन्दा पहिले त ती दुवै पात्रमा फेरि एकपल्ट हार्दिक बधाई छ, यो सम्पूर्ण आकाशको †
सबैलाई थाहा छ, नेपालको परम्परामा नारी पूजित छन् । यो वर्षजस्तै हरेक वर्षको दसैं तिहारमा यो प्रस्ट रूपमा नै प्रकट भएर आएको छ । नारी शक्ति विना पुरुषको मात्र समाज यहाँसम्म अगाडि बढ्न सक्थ्यो र † नारीको करुणामयी व्यवहारविना कसरी समाज सृष्टिको सम्भव हुन्छ र † यो पनि प्रस्ट छ, त्यसैले त्यो बेलाका विद्वान्हरूले नारी रूपलाई देवीका रूपमा पूजा आराधना गर्दा ‘या देवी सर्वभूतेषु माता रूपेण संस्थिता…, सँगै ‘करुणा रूपेण संस्थिता’, त्यस्तै ‘शान्ति रूपेण’, लक्ष्मी रूपेण आदि रूपमा स्तुति गर्छन् ।
यसरी जुगदेखि नै देशमा सनातन पूजाआजामा समेत नारी शक्तिको सम्मान गर्ने संस्कृति रहेको भए पनि जानाजानी नै पितृसत्ताको चर्को हावी पनि रहँदै आयो हाम्रो समाजमा । कानुनी रूपमा समान भइसकेर पनि नेतृत्व तहमा पुग्दा पुरुष शक्तिले नै एकलौटी शासन गर्न छोडेनन् । शक्ति देवीहरूलाई बोल्न नसक्ने मूर्तिमा सीमित बनाइदिएको थियो । अब एकाएक केही समयको बिचमा महिलाको स्थानमा अत्यन्तै ठूलो परिवर्तन आएको छ । मान्छेले चाह्यो भने यहाँजस्तै परिवर्तन पनि सम्भव छ है भन्ने कुरा पनि देखाइदिएको छ यो समयले । महिला आन्दोलनको इतिहासमा होस् या परम्परागत संस्कृतिमा आएको एउटा उल्लेखनीय फड्को हो यो †
आजको यो महिलाले देशका प्रमुख स्थानमा विजयी हुनु भनेको यो समयले दिएको एउटा ठूलो अवसर र प्राप्ति पनि हो । महिला जातिले प्राप्त गरेको राजनीतिक इतिहासको दिग्विजय नै हो । जुन दसैंको वरिपरि आएर प्राप्त हुन आएको छ, नवदुर्गा, भगवती, काली महाकालीको आराधना गर्ने समयमा । अवश्य नै यो एउटा संयोग मात्र हो । यसको पछाडि धेरै कुराहरू जोडिन्छन् । सबैको चर्चा गर्न सम्भव छैन यहाँ ।
समाज विकासक्रमलाई नै हेर्दा पनि राजनीतिक रूपमा ज्यादै छिटोछिटो परिवर्तन भइरहेको समय छ । ज्यादै चुनौतीपूर्ण संक्रमण काल पनि हो यो । दसैं अगाडिको अघिल्लो संपूर्ण आकाशमा मात्र लेख्नुपरेको थियो, अझै आधा आकाशमा नीलो छाउन सकेको छैन भनेर । संविधान बनेलगत्तै बनेको नयाँ मन्त्रिमण्डलमा सुरुमा एक महिलाको नाम पनि देखिएको थिएन । केही दिनपछि बल्ल (रेखा शर्मा) एकजनाको नाम देखियो मन्त्रिमण्डलमा ।
सधैंभरि पुरुषका निम्ति सुरक्षित विशिष्ट स्थानहरूमा पुरुषहरूले त्याग गर्नु र महिलालाई चुनिनु र मान्यता दिने कुरा पनि साधारण कुरा त पक्कै होइन । यो ऐतिहासिक उदारताका निम्ति यसपालिका मान्यवर पुरुषहरूको पनि सराहना गर्नैपर्छ । यसपालिको यो महिलाको विजय भनेको अर्को हिसाबले आधा आकाशको मात्र विजयी नभएर सम्पूर्ण आकाशकै विजय हो †
मातृ जातिलाई कसरी आधा आकाश मात्र भन्न मिल्छ र, जब नारी अर्को आधा आकाश पुरुषहरूलाई जन्म दिने हुर्काउने सबै जिम्मेवारीसँगै शक्ति भएको जाति हुन्
भने † यी कुरा त यो ‘सम्पूर्ण आकाश’को यो सानो कुनाले पनि उठाउँदै आएको कुरा हो † यस अर्थमा यसपालि यसको एउटा अभियान पूरा भएको छ । दुई दशकभन्दा बढी त सम्पूर्ण आकाशमा मात्र नै उठाउँदै आएको विषय हो, नारी शक्ति र समानताको कुरा । आज यो सफलता देख्न पाउँदा अवश्य नै व्यक्तिगत रूपमा पनि खुसी थपिएको अनुभूति छ, यो स्तम्भकार स्वयंलाई पनि ।
मान्छेको भावना र क्षमता हत्तपत्त बाहिर देखिँदैन । महिला प्रमुखले के गर्छन् भन्ने प्रश्न अझै सुन्नमा आउँछ ।
वास्तवमा त्यो आफ्नो शक्ति क्षमता प्रदर्शन गर्ने मौका नै पनि पहिले कहाँ पाएको थियो र ? अबको यो पहिलो अवसर पक्कै पनि चुनौतीपूर्ण छ नै, यसमा पनि यथोचित ध्यान पुग्ने नै छ । आशा गरौं, विश्वास गरौं, सम्पूर्ण पुरुषहरूलाई जन्माउने हुर्काउने सक्षम महिलामा राज्य चलाउन सक्दैन भन्ने कुरा आफैं सत्यमा आधारित कुरा होइन नै । राजनीतिक शक्तिको होडबाजीले जन्माएको प्रश्न हो यो । यो साथै अर्को एउटा प्रश्न पनि उठिरहेको छ यतिबेला, ज्ञान शिक्षा डिग्रीका कुराहरूलाई लिएर । अवश्य नै यी सबै कुराको आफ्नै महत्त्व र मान्यता हुन्छ नै समाजमा । तर, जीवनका सम्पूर्ण कुरा किताबी ज्ञानले, कागजमा सीमित डिग्री र प्रमाणपत्रले मात्र समाधान गर्न सक्दैन । समाज विकासमा पढेर भन्दा पनि परेर धेरै कुराको अनुभवले विकास उन्नति प्रगति भएको सत्यतथ्यलाई पनि बिर्सन मिल्दैन ।
यो बेला देशमा अन्य नयाँ संकटहरू पनि देखा परिरहेको छ । नाकाबन्दी यथावत् छ, तर सबै समस्यासंग समाधानको बाटो पनि हुन्छ भन्ने मन्त्रलाई यहीबेलाका घटनाहरूले देखाउँदै पनि छन् । वैकल्पिक ऊर्जाहरूको खोजीनीतिसँगै धमाधम सम्भावनाका ढोकाहरू पनि खुल्दै छन् । जीवन अगाडि बढ्नलाई नै हो, जीवनोपयोगी ऊर्जा शक्तिलाई उचित ढंगले परिचालन गर्न सके हाम्रो सुन्दर देश अझै झकमक भएर चम्किनेछ । जब महिलाको उचित शक्तिलाई देशले देखिसकेको छ भने अब त साँच्चै नै देशले उन्नति प्रगति र विवेकको बाटो समाइसकेको छ । अरू सुधार गर्नुपर्ने, परिमार्जन गर्ने कुरा त सधैं नै समय सँगसँगै आउने कुरा हुन् । यस्तो कुरा त एकपल्ट गरेर सकिने कुरा होइन ।
यस पटकको यो सम्पूर्ण आकाश सम्पूर्ण महिलामा समर्पण छ । आफूसँग बोक्दै आएको आधा आकाशमाथि न्याय नपुगेर जुन हीनताबोध बोक्नुपरेको थियो युगौंदेखि, यो बन्धन आज तोडिएको छ । राष्ट्रप्रमुखमा महिलाको ऐतिहासिक विजयमा सबैमा हार्दिक बधाई तथा शुभकामना †
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply