ओली बरु छोड्न तयार तर नझुक्ने

चीन भ्रमणको गृहकार्य
काठमाडौंं । आफ्नो स्वास्थ्यका बारेमा सबभन्दा बढी जानकारी बिरामीलाई नै हुन्छ । सरकारको स्वास्थ्यका बारेमा पनि प्रधानमन्त्रीलाई बढी थाहा हुने नै भयो । त्यही भएर होला, गठन भएको डेढ महिनामै सोमबार प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारको दिनगन्ती सुरु भइसकेको भन्दै सत्तामा बस्न लोभ नभएको बताउनुभएको छ ।
गैरसरकारी संस्था महासंघको कार्यक्रममा प्रधानमन्त्री ओलीबाट आएको उक्त अभिव्यक्तिले उहाँ भारतसँग नझुक्ने बरु सत्ता छोड्न तयार भएको सन्देश सार्वजनिक भएको छ । लामो समयदेखि राजनीतिको केन्द्र भागमा रहेर देश, विदेश सबै बुझेको, प्रशासनदेखि विकाससम्मका सपना बनाएको नेता भएका कारण ओलीलाई प्रधानमन्त्री हुनासाथ केही चामत्कारिक काम गर्न सक्छु भन्ने परेको थियो । प्रधानमन्त्री हुनुभन्दा पहिला भेट्ने नेता कार्यकर्तालाई पनि उहाँले त्यही अनुसारको विश्वास दिलाउने गर्नुभएको थियो । तर, जब उहाँ प्रधानमन्त्री बन्ने अवस्था आयो, तब दक्षिणी छिमेकीको चालमा उहाँलाई जुनसुकै हालतमा पनि रोक्न खोजिँदा नै सत्तामा पुगेर पनि केही गर्न दिँदैनन् कि क्या हो भन्ने परिसकेको थियो । झन् भारतले नांगै भएर नाकाबन्दी नै लगाइदिएपछि त प्रधानमन्त्री ओलीलाई निल्नु न ओकल्नु भएको छ ।
प्रधानमन्त्री ओलीको स्वभाव अनुसार उहाँ झुक्नुहोला, थर्काएर काम लिउँला भन्ने कसैले नसोचे पनि हुन्छ । मन पगालेर विश्वास जित्दा टोले गुण्डा हुँ भनेर गर्व गर्ने महेश बस्नेतदेखि निरु पाल, अजय क्रान्ति जस्ता नाम सुन्दा पनि दुर्गन्ध आउने पात्रसम्मलाई मन खोलेर दिन पछि नपर्ने प्रधानमन्त्री ओलीले मन नपर्दा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम जस्ता हस्तीलाई पनि वास्ता नगरेको कुरा नजिकबाट थाहा पाएकाहरू भारतले जतिसुकै दबाब दिए पनि उहाँ कुनै हालतमा झुक्ने हुने छैन भन्नेमा ढुक्क छन् ।
औपचारिक र अनौपचारिक अनेक प्रकारका प्रयायसका बाबजुद भारतले डेढ महिनायता भारतले कुनै सकारात्मक संकेत नदेखाएपछि प्रधानमन्त्री ओली अब भारतले आफूलाई सहयोग गर्दैन भन्नेमा करिब–करिब ढुक्क जस्तै देखिएको स्रोतले जानकारी दिएको छ । सोमबार राति प्रधानमन्त्री ओलीसँग भेटेको एक स्रोतले बुधबारसँग भन्यो, ‘मैले देखे, भेटे अनुसार प्रधानमन्त्री ओली तनावमा बस्ने मानिस होइन । तर, अहिले तनावमा रहेको देखियो । उक्त स्रोतसँग ओलीले मुखै फोडेर भन्नुभयो, मप्रति जनताका धेरै आशा छन्, अरूले गर्न नसकेको काम केपी ओलीले गर्छ भन्ने भरोसा छ । तर, मेरा हातगोडा बाँध्ने कोसिस भएको छ ।’
नेपालले संविधान जारी गरेपछि आफ्ना कुरा नमानेको भन्दै आक्रोशित भएको भारतसँगको सम्बन्ध सहज बनाउन प्रधानमन्त्री ओलीले दिल्लीमा रहेका आफ्ना पुराना मित्रहरूलाई समेत परिचालन नगर्नुभएको होइन । उहाँको वचन टार्न नसकेर भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली काठमाडौँमै पनि आउनुभएको थियोा । उहाँसँग कुरा हुँदा प्रधानमन्त्री ओली उत्साहित पनि हुनुभएको थियो । तर, भारत पुगेर उहाँले पनि केही काम गर्न सक्नुभएन । प्रधानमन्त्री हुनासाथ भेट्न आएका भारतीय राजदूत रणजीत रायसँग ओलीले खुला दिलले कुरा गर्दै आफू पहिलो भ्रमण भारतमै गर्न इच्छुक रहेको र त्यसको व्यवस्था मिलाउन अनुरोध गर्नुभएको थियो । रायले उक्त कुरा आफ्नो च्यानलबाट लेखेर भारतीय विदेश मन्त्रालयमा पनि पठाए । तर, ओलीप्रति अनावश्यक दुश्मनी बोकेर बसेका त्यहाँका अधिकारीहरूले बीचैमा उक्त प्रस्ताव तुहाउने गरी सार्वजनिक गरिदिए । उनीहरूका प्रवक्ता विकास स्वरुपले पत्रकार सम्मेलन आयोजना गरेर भने, ‘नेपालका प्रधानमन्त्रीले हाम्रा राजदूतसँग आफू भारत आउन चाहेको कुरा बताउनुभएको छ ।’ कूटनीतिमा यस्तो भन्नुलाई ‘हामी तपाईंलाई स्वागत गर्न तयार छैनौँ’ भनेको हो भन्ने बुझ्न प्रधानमन्त्री ओलीलाई गाह्रो भएन । आफ्नो खुट्टामा उभिएर समानतामा आधारित सम्बन्ध राख्छौँ भन्दा पनि भारतले पेलेको पेल्यै गर्दा प्रधानमन्त्री ओलीलाई अप्ठेरो परेको छ ।
दुई महिनादेखि जारी नाकाबन्दीले जनजीवन अस्तव्यस्त बनेको छ । आयातमा आधारित नेपालको अर्थतन्त्र शून्य स्थितिमा पुगेको छ । खाद्यान्नको अभाव सिर्जना भएको छ, कालोबजारी असाध्यै मौलाएको छ । सीमामा तस्करीले विकराल रूप लिएको छ । तराईमा दुई चार सय मानिस जम्मा भएर गर्ने आन्दोलनले सिंगो देशलाई अस्तव्यस्त बनाएको छ । एम्बुलेन्समा आक्रमण हुँदा, बिरामी मारिँदा, गाडीमा आगो लगाउँदासमेत सरकारले एकजना मानिस गिरफ्तार गर्न सकेको छैन । काठमाडौँमा हुने वार्ताहरू औपचारिकतामा सीमित भएका छन् । यस्तो बेलामा प्रतिपक्षी कांग्रेसले आफ्नै पालामा सिर्जित संकटबाट फाइदा लिने प्रयास सुरु गरेको छ । त्यसका लागि सत्तामै रहेका साना दलसँग समेत उसले सम्पर्क बढाएको छ । ‘ओलीको सरकारबाट समस्या समाधान हुँदैन, तपाईंहरू पनि बद्नाम हुनुहुन्छ, तीन महिना यत्तिकै रहन्छ, त्यसपछि नयाँ सरकार बनाउनुपर्छ’ भन्दै शेरबहादुर देउवाका तर्फबाट दूतहरू परिचालन भइसकेको सूचना प्रधानमन्त्री ओलीसमक्ष पनि पुगेको छ ।
नेपालको सिंगो अर्थतन्त्र नै पेटोलियम पदार्थमा आधारित रहेछ भने पनि फरक पर्दोरहेनछ भन्ने अनुभव यतिबेला भएको छ । तेल नहुने हो भने दैनिक जनजीवन यति कष्टकर होला भन्ने अनुमानै गरिएको थिएन । विकास निर्माणका कामसमेत ठप्प हुन पुगेका छन् । यही स्थिति रहने हो भने मुलुकको आर्थिक बृद्धिदर शून्य प्रतिशतभन्दा पनि तल झर्ने आँकलन सरकारी निकायहरूले नै गरेका छन् । यस्तो स्थितिमा धेरै दिन मुलुक रहिरहने अवस्था छैन । त्यही भएर मुलुकमा केही गर्न नसक्ने स्थितिमा प्रधानमन्त्री ओली यत्तिकै टाँसिएर बस्ने मनस्थितिमा नरहेको देखिन्छ ।
चीनसँग पनि असन्तुष्ट
उता, भारतले घाँटी अँठ्याएको बेला नेपालीलाई उदार मनले सहयोग गर्न अग्रसर देखिएको चीनबाट पनि पर्याप्त मात्रामा सहयोग प्राप्त हुन नसकेको प्रधानमन्त्री ओलीको विश्लेषण छ । पेटोलियम पदार्थ ल्याउनका लागि चाइना पेट्रोसँग एमओयूमा हस्ताक्षर भए पनि विस्तृत विवरण उल्लेख भएको व्यापार सम्झौता हुन सकेको छैन । कहिले स्थानीय करको विषय त कहिले कहाँसम्म पुर्याउने भन्नेबारेमा कुरा मिलेन भन्दै त्यसमा पनि ढिलाइ भइरहेको छ । यही मौका पारेर आपूर्तिमन्त्री गणेशमान पुनलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कमाउनमा प्रयोग गरेको सूचना पनि बालुवाटार पुगेको छ । व्यापारीको पछि लागेर हङकङ र बेइजिङ पुगेका मन्त्री पुनले कहाँ लगेर फसाउने हुन् भन्ने त्रास पनि बालुवाटारमा छ । स्रोतले भन्यो, ‘नेपाल संकटमा परेको बेला सानातिना कुरा अल्झाएर चीनबाट पनि तेल ल्याउन ढिला भएकोमा प्रधानमन्त्री असन्तुष्ट देखिनुहुन्छ ।’
चीन भ्रमणको तयारी
यसैबीच, भारतसँग सम्बन्ध सहज बनाउने प्रयास जति गर्दा पनि सफल हुन नसकेपछि प्रधानमन्त्री ओलीका सामु तत्काल चीन भ्रमण गर्ने एक मात्र विकल्प देखा परेको छ । त्यस विकल्पलाई उपयोग गर्दै चीनसँगको सम्बन्ध थप मजबुत बनाउन प्रधानमन्त्रीका तर्फबाट पहल सुरु भएको छ । प्रधानमन्त्री ओलीका व्यक्तिगत रूपमा समेत प्रशंसक र मित्र रहेका चिनियाँ राजदूत ऊ चुन्ताईसँगको भेटमा भ्रमणका बारेमा कुराकानी भएको र उक्त खबर बेइजिङ पुगिसकेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, बेइजिङबाट खबर आउनासाथ चीन जाने गरी गृहकार्यसमेत सुरु भइसकेको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply