सभासद्द्वारा किर्ते
काठमाडौं । आफूलाई पत्तै नभई आफ्नो नामको हस्ताक्षरबाट पार्टीको कुनै कमिटी गठन भएको घोषणा गरिन्छ भने त्यसलाई के भन्ने ? त्यो पनि यसअघि नै सर्वसम्मत रूपमा निर्माण भइसकेको कमिटीको समानान्तर कमिटीका रूपमा !
हो, बर्दिया–काठमाडौं सम्पर्क मञ्चमा यतिबेला यस्तै भएको छ । मञ्चका प्रतिनिधिहरूलाई जानकारी नै नदिई उनीहरूको किर्ते हस्ताक्षर संकलन गरेर बागी कमिटी घोषणा गरिएको छ । आफ्ना नाममा किर्ते हस्ताक्षर गरेर बागी कमिटी घोषणा गरिएपछि मञ्चका प्रतिनिधिहरू यतिबेला आश्चर्यचकित बनेका छन् । उनीहरूले आफूहरूको हस्ताक्षर किर्ते गरेर अवैधानिक काम गरेको भन्दै यस्तो काममा संलग्न हुनेहरूलाई कारबाही गर्न अञ्चल सम्पर्क कमिटी र सम्पर्क समन्वय कमिटीमा उजुरी दिएका छन् ।
मंसिर १९ गते आरआर क्याम्पसमा १०/१५ जना जम्मा भएर १६५ जना प्रतिनिधिको हस्ताक्षर रहेको भन्दै अधिकांशको किर्ते हस्ताक्षर गरी सिर्जना रानाको अध्यक्षतामा मञ्चको समानान्तर कमिटी घोषणा गरेका थिए । उनीहरूले सोको जानकारी समन्वय कमिटीमा बुझाएका छन् । तर, त्यहाँ उपस्थितबाहेक अधिकांशको हस्ताक्षर किर्ते भएको प्रमाणित भएको छ । अधिकांश प्रतिनिधिहरूले हस्ताक्षर त के आफूहरूलाई जानकारीसम्म नभएको बताउँदै अञ्चल र समन्वय कमिटीमा निवेदन दिएका छन् ।
यस्तो किर्ते काममा सभासद् नै संलग्न भएको पाइएको छ । मनोनीत सभासद् लीला रानाको सो कार्यमा संलग्नता भेटिएको हो । आफ्नी छोरी सिर्जनालाई अध्यक्ष बनाउनका लागि उनले पार्टी उपाध्यक्ष वामदेव गौतमकी श्रीमती तुलसा र छोरा हरिशको समेत हस्ताक्षर गराउन सफल भएकी छन् । अञ्चल सम्पर्कका केही उदण्ड कार्यकर्ताले उनलाई साथ दिएका छन् । अञ्चल सम्पर्क कमिटीका उपाध्यक्ष मानबहादुर तामाङ, सदस्यहरू लोकनाथ खरेल र शान्ति गौतम, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य पंकजसिंह राठौरलगायत केही व्यक्तिहरूको सो काममा सक्रियता भेटिएको छ ।
गत असोज २ गते सम्पन्न मञ्चको सम्मेलनबाट मापदण्ड नै नपुगेका र माओवादी कार्यकर्तालाई मञ्चको नेतृत्वमा ल्याउने उनीहरूको तयारी थियो । तर, अध्यक्षमण्डलले उनीहरूका विषयमा परेका उजुरीका आधारमा छानबिन गरी मापदण्ड नपुगेका उम्मेदवारी रद्द गरी २९ गते कपिल ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत रूपमा मञ्चको कार्यसमिति चयन गरेको थियो ।
आफ्नो अभीष्ट पूरा नभएपछि उनीहरूले किर्ते हस्ताक्षरका आधारमा बहुमत निर्माण गरी पुरानो अध्यक्षमण्डल विघटन गरेको घोषणा गर्दै राठौरको अध्यक्षतामा नयाँ अध्यक्षमण्डल निर्माण गरी नयाँ कार्यसमिति चयन गरिएको घोषणा गरेका छन् । तर, उनीहरूको किर्ते कामको भण्डाफोर भएको छ । सभासद् र नेताका परिवार नै किर्ते काममा संलग्न भएको भेटिएपछि बर्दियाली कार्यकर्ता आक्रोशित बनेका छन् ।
लीला सभासद् हुनुपूर्व शिक्षक थिइन् । शिक्षकबाट राजीनामा दिएको भोलिपल्टै उनलाई सभासद् मनोनीत गरिएको थियो । उनकी छोरी सिर्जना पनि अहिले पार्टीकै सिफारिसमा प्रकृति संरक्षण कोषमा करारमा जागिरे छिन् । पार्टीबाट सकेसम्म लाभ पनि लिने र पार्टीहित विपरीत काम पनि गर्दै हिँड्ने यस्तालाई कडा कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ ।
उता, सम्पर्कमा सधैं बबन्डर मच्चाउने तामाङ र खरेल पनि मनोनीत भएर सम्पर्कमा आएका व्यक्ति हुन् । उनीहरूको एमालेमा आबद्धता नै शंकास्पद मानिन्छ । गौतम भने वामदेवकी बहिनी र लक्ष्मण ज्ञवालीकी श्रीमती हुन् । यस्तै उदण्ड गतिविधिका कारण बर्दियामा टिक्न नसकेपछि शान्ति अहिले काठमाडौंमा छिन् । दाजुको नाममा उनको उदण्डता चुलिँदै गएको धेरैको अनुभव छ । दाजु वामदेवको नाम भजाउँदै राजनीतिक तथा आर्थिक लाभ लिन पनि उनी निकै सक्रिय हुने गरेको बताइन्छ । एकपछि अर्को गर्दै अवैधानिक काममा संलग्न भएका उनीहरूलाई हदैसम्मको कारबाही हुनुपर्ने मञ्चका प्रतिनिधिहरूको माग छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply