पृथकतावादलाई सहन सकिन्न : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा जारी गतिविधिप्रति संकेत गर्दै राज्य टुक्र्याउने कोसिस भइरहेको खुलासा गर्नुभएको छ । बालुवाटारमा सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई हेरेर बस्न नसकिने दृढता व्यक्त गर्नुभएको छ । ‘पृथकतवादी चिन्तन, अभ्यास, प्रयास र व्यवहार भइरहेका छन्’– प्रधानमन्त्री ओलीले दिवाभोजअघि पत्रकारहरूसँग भन्नुभयो– ‘त्यसका लागि आगजनी, हत्या, हिंसा प्रयोग भइरहेको छ ।’ उहाँले भन्नुभयो– ‘हामी त्यसरी जान दिने पक्षमा छैनौं, त्यसरी जान मिल्दैन भनेका छौं । हामी संयम, सहमति र संवादबाट समस्याको समाधान चाहन्छौं ।’
नत्र संविधान जारी हुने थिएन
मधेसी दलहरूलाई दुई चार दिन नकुरेर हतारमा संविधान जारी गरियो भन्ने भनाइका प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘दिन तोकेर दृढ निश्चयका साथ अघि नबढेको भए संविधानसभाबाट संविधान बन्दैनथ्यो, देश अर्को दिशामा जान्थ्यो ।’ संविधानसभाबाट संविधान बन्न नदिनका लागि अनेक कोसिस भएको बुझेका कारण नै आफूहरूले असोज ३ गते नै संविधान जारी गरेको उहाँले दोहोर्याउनुभयो । उहाँको भनाइ थियो– ‘एक साता नकुरेर संविधान जारी गरियो भनेको सुन्छु । अघिल्लो संविधानसभा चार वर्षसम्म केही नगरी समाप्त भयो, पछिल्लो संविधानसभामा पनि झन्डै दुई वर्ष छलफल नै भयो । अझ पनि छलफल गरिएन, रातारात पारित गरियो भनिन्छ ।’
नेपाल उदार कि अनुदार ?
नयाँ संविधानले नागरिकताका बारेमा अनुदार व्यवस्था गरेको भन्ने भनाइको पनि प्रधानमन्त्री ओलीले खुलेर आलोचना गर्नुभयो । ‘देश सानो छ, जनसंख्या थोरै छ, यस्तो देशमा संविधान जारी भइसकेको तीन महिनाको अवधिमा १ हजार ७५ जनाले वैवाहिक अंगीकृत नागरिकता पाइसके । के यो सानो संख्या हो ? विवाह गरेको भोलिपल्ट हातमा नागरिकता थमाइदिँदा पनि नेपाललाई अनुदार भन्ने ?’×– प्रधानमन्त्री ओलीको प्रश्न थियो– ‘यसलाई उदार भन्ने कि अनुदार ?’
संविधानमा नलेखिनुपर्ने कुरा लेखिएको छ
प्रधानमन्त्री ओलीले अहिलेको संविधानमा नलेखिनुपर्ने कुरा धेरै रहेको बताउनुभयो । ती के–के हुन् भन्ने नखुलाएरै उहाँले भन्नुभयो– ‘संविधानमा नलेखिनुपर्ने कुरा धेरै लेखिएको छ । ती देख्दादेख्दै पनि त्यसमा मैले आफ्नो बुद्धिमा चाबी लगाएर दराजमा राखेको छु र सोही अनुसार बोल्ने गरेको छु ।’
प्रधानमन्त्री ओलीले संविधानमा मौलिक हकका बारेमा केही भ्रम रहेको उल्लेख गर्नुभयो । संविधानको धारा ३१ देखि ४७ सम्म मौलिक हकले भरिएको उल्लेख गर्दै तर ती सबै आवश्यक नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो– ‘विशेष प्रबन्धहरू मौलिक हक होइनन्’– उहाँले उदाहरण दिनुभयो– ‘जस्तो– आरक्षण मौलिक हक होइन ।’
तीन एजेन्डा : सुशासन, शान्ति–सुरक्षा र विकास
प्रधानमन्त्री ओलीले आफू जटिल अवस्थामा जिम्मेवारी सम्हाल्न आइपुगेको उल्लेख गर्दै केही गर्छु भनेरै योजनाहरू अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘म आउँदा हाहाकार थियो, नाकाबन्दी थियो, भूकम्पका कारण अकल्पनीय अवस्था थियो, आन्दोलन थियो । तर, मैले सम्हाल्ने कोसिस गरेको छु ।’
सुशासन, शान्ति–सुरक्षा र विकास गरी आफ्ना तीन एजेन्डा रहेको पनि उहाँले खुलाउनुभयो ।
आफ्ना योजनालाई उडाएको आक्रोश
प्रधानमन्त्री ओलीले केही दिनयता भन्ने गरेका तीनवटा विषयको चर्को आलोचना भइरहेको छ । बिना योजना भाषण गरेको भन्दै हावाबाट बिजुली निकाल्ने, काठमाडौंमा मेट्रो चलाउने र घर–घरमा ग्यास लाइन जोड्ने योजनाको विरोध भइरहेकोमा प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गर्नुभयो । ती तीनैवटा योजना सम्भव रहेको र आफूले गृहकार्यसमेत सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘१९६८ चन्द्रज्योति आयोजना बनेयताको १ सय ५ वर्षमा जम्मा ७ सय ७० मेगावाट विद्युत् निकालिएको छ । अब एक वर्षमा त्यसभन्दा दोब्बर बिजुली निकालेर देखाउँछु भन्दा मलाई हावादारी भनेर नपुगेर प्रधानमन्त्री अलि बिरामी रहेछ कि क्या हो भनेर उडाइयो ।’ उहाँले थप्नुभयो– ‘तर म एक वर्षभित्र देशबाट लोडसेडिङ हटाउँछु, जलविद्युत्मा अलि समय लाग्छ । त्यही भएर वैकल्पिक व्यवस्थाका बारेमा गृहकार्य गरिरहेको छु ।’ सौर्य ऊर्जा, तातोपानी भएका ठाउँमा जिओथर्मल र हावाबाट बिजुली निकाल्नेबारे अध्ययन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
काठमाडौंमा मेट्रो रेल सम्भव रहेको र फोहोरबाट ग्यास निकाल्ने, प्राकृतिक ग्यासको उत्खनन् गर्ने अनि घर–घरमा ग्यास लाइन जोड्ने योजनाले समय लिए पनि लागू गराएरै छाड्ने उहाँले बताउनुभयो । ‘मैले काम गर्छु भन्दा अस्ति घरमा चितुवा पस्दा मेट्रो हेर्न आयो कि क्या हो भनेर उडाइयो, चितवनमा गैंडा बारीमा पस्दा ग्यास लाइन हेर्न आयो होला भनेर उडाइयो । के यी दुनियाँमा कतै नभएका योजना हुन् ? के यी असम्भव छन् ?’
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
Leave a Reply