दुई ढुंगेलबीच रोचक भिडन्त
काठमाडौं । सरकारले गठन गर्न लागेको राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पद हत्याउन एकै जिल्लाका दुई ढुंगेलबीच रोचक प्रतिस्पर्धा सुरु भएको छ । रामेछाप जिल्लाको पकरबास गाविसका कैलाश ढुंगेल र माधव ढुंगेल नाताले दाजुभाइसमेत हुन् । तर, भाइभाइका छोरा यी दुई दाजुभाइबीच भने उक्त पद हत्याउन निकै रोचक प्रतिस्पर्धा सुरु भएको हो ।
नाताले कैलाश दाइ हुन् भने माधव उनकै काकाका छोरा भाइ हुन् । यी दुई दाजुभाइले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठन हुन लागेको परिषद्को उपाध्यक्ष पदमा आवेदन दिएका छन् । पार्टीको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य तथा बागमती अञ्चल इन्चार्जमा पराजित कैलाश पार्टी राजनीतिमा माधवभन्दा वरिष्ठ हुन् । उनी २०५४ सालको स्थानीय निर्वाचनपछि रामेछाप जिविसका पूर्वसभापतिसमेत हुन् । तर, अखिलका पूर्वअध्यक्ष माधवले पार्टी महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा जितेपछि यी दुई दाजुभाइबीच अध्यक्ष केपी ओली (संस्थापन पक्ष) गुटनिकट रहेर नेता बन्न ‘शीतयुद्ध’ चलिरहेको रामेछापका एमाले नेता–कार्यकर्ता चर्चा गर्छन् । सोही कारण उपाध्यक्ष पदमा बाजी मार्न दाजुभाइले नै आवेदन हालेको चर्चा एमाले पार्टी कार्यालय, धुम्बाराहीदेखि चियापसलमा समेत चर्चा–परिचर्चा हुन थालेको छ । पार्टीको एउटै कार्यक्रममा दुई दाजुभाइबीच जम्काभेट र आतिथ्य ग्रहणका क्रममा कैलाशले अपमानित महसुस गर्ने गर्थे ।
दुई ढुंगेल दाजुभाइबाहेक परिषद् उपाध्यक्षका लागि अन्य तीन जनाको पनि आवेदन परेको छ । अनेरास्ववियुका पूर्वनेता तथा पार्टी विदेश विभागकापूर्वसदस्य योगेन्द्र शाही, युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडेल र युवा संघकै पूर्वउपाध्यक्ष सरोज दिलु विश्वकर्माले पनि आवेदन दिएका छन् । ढुंगेल दाजुभाइको दौडधुपसँगै पौडेल र विश्वकर्माले पनि प्रधानमन्त्री निवास बालुवाटारदेखि युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डललाई प्रभाव पार्न लबिङ तीव्र पारेका छन् । पार्टीमा पटकपटक गुट फेरिरहने विश्वकर्मा पछिल्लो पटक उपाध्यक्ष्ँ वामदेव गौतमनिकट मानिन्छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई आवेदनका लागि प्रेरित गर्दै नेताको ढोका चहार्न बाध्य तुल्याउनेहरूले नै प्रतिस्पर्धाका लागि आवेदन हालेको भन्दै माधव ढुंगेल र युवा संघकै पौडेललाई कटाक्ष गर्दै आक्रोश पोखेका छन् । आफू योग्य, सक्षम र भिजनरी भएकाले कार्यदलले उपाध्यक्षमा सिफारिस गर्ने विश्वास गर्दै उनले कटाक्ष गरेका हुन् ।
उता, ढुंगेल दाजुभाइले पनि लुकामारी गर्दै प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबारदेखि मन्त्रालयसम्म लबिङ तीव्र पारेका छन् । विराटनगरमा विद्यार्थी राजनीति गर्दादेखि आफ्नो ‘लिगेसी’ प्रधानमन्त्री ओलीसँग रहे पनि राजदूत बनाउने वचन पूरा नगरेको भन्दै कैलाशले गुटका नेताहरूमार्फत ‘लबिङ’ गरिरहेका छन् । माधव भने आफूले युवाको प्रतिनिधित्व गर्ने, दुईदुई विषयमा मास्टर डिग्री गरेको कानुनी ज्ञानसमेत रहेको दाबी गर्दै लबिङ गरिरहेका छन् । युवा तथा खेलकुद मन्त्रालयले १५ दिन म्याद राखेर आवेदन माग गरेको थियो । सूचना प्रकाशित गरेर आवेदन मागे पनि थोरै संख्यामा मात्रै आवेदन परेको हो । त्यस्तै, परिषद् सदस्यका लागि महासचिव ईश्वर पोखरेलमार्फत झन्डै एक दर्जनले बायोडाटा बुझाएका छन् । युवा परिषद् ऐनअनुसार ७५ ओटै जिल्लामा जिल्ला परिषद् गठन हुनेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply