भारतीय राष्ट्रपतिको कुराले धेरै नेपालीको चित्त दुखेको छ
० भारतका राष्ट्रपति प्रणव मुखर्जीको हालै सम्पन्न नेपाल भ्रमणलाई कसरी हेर्नुभएको छ तपार्इंले ?
– धेरै लामो समयदेखि राष्ट्रपतिबाट उच्च स्तरको भ्रमण नभएको हिसाबले यस्तो भ्रमण हुनुपर्ने नै थियो । तर, यो भ्रमणलाई अहिले जुन किसिमले चित्रित गरिएको छ, जसलाई एकदमै सफल भ्रमण भनिएको छ । तर, अहिले जुन किसिमको राजनीतिक पृष्ठभूमि छ, त्यसलाई हेरेर भन्ने हो भनेचाहिँ यो उचित समय हो कि होइन भन्ने प्रश्न अवश्य नै उठेको छ । नेपालमा नाकाबन्दीपछिको वातावरणमा यस्तो भ्रमण कत्तिको सफल हुन सक्छ, कत्तिको फलदायी हुन सक्छ र यसले के फल दिन सक्छ भन्ने कुरा सोचनीय नै विषय थियो । तर, अहिलेको सरकारले यसलाई अलि हतारहतारले यो भ्रमणको आयोजना ग¥यो भन्ने लाग्छ ।
० अघोषित कफ्र्यु लगाएरै भ्रमणलाई सफल तुल्याइयो । यो विषयलाई कसरी हेर्नृभएको छ ?
– सुरक्षा व्यवस्था अत्यन्तै रह्यो । त्यो विषयचाहिँ केही आलोच्य नै रह्यो । भारतीय राष्ट्रपतिको भ्रमणका क्रममा नेपालले जुन किसिमको उपलब्धि लिनुपर्ने हो, जुन ढंगको सकारात्मक वातावरण बन्नुपर्ने हो, त्यो वातावरण बन्न सक्ने स्थिति थियो कि थिएन भन्ने कुरा सरकारले पनि सोच्नुपर्ने थियो । हामीमा अतिथिहरूलाई स्वागत गर्ने परम्परा नै रहेको हुँदा अतिथिहरूलाई नराम्रो गर्न खोजेका होइनौं । तर, जनमानसमा भएको स्थितिलाई पनि बुझेर र साथसाथै जनताको सहयोग लिएर यो स्वागत कार्यक्रम गरेको भए हुथ्यो । जनताबाट अलग राखेर जुन किसिमको स्वागत कार्यक्रमहरू राखियो त्यो हेर्दाखेरि नेपाल भारत सहयोग र सम्बन्धलाई यसले कति सहयोग पु¥यायो भन्ने कुरा सोचनीय छ ।
० भारतीय राष्ट्रपतिको यो भ्रमणले मुलुकलाई के–कति फाइदा भएको मान्न सकिन्छ ?
– प्रचण्डजीले पनि हिजै भन्नुभयो कि यो भ्रमणबाट हामीले कुनै फलको आशा गरेका थिएनौं, यसबाट कुनै सम्झौता गर्नलाई, कुनै उपलब्धि हात पार्न यो भ्रमण गरिएको होइन, यो त एउटा सद्भावना भ्रमण मात्र हो । सद्भावना बढाउने मात्र हाम्रो उद्देश्य हो भनेर उहाँबाट आफ्नै मुखले पनि भनिसकेपछि यसबाट कुनै फलको आशा गर्ने त परकै कुरा भयो ।
० नेपालका दलहरू संविधान संशोधन गरी सहमति जुटाएर अघि बढ्नुपर्छ भन्ने खालका सन्देशहरू प्रवाह भएकाले यो भ्रमण विशुद्ध सद्भावना भ्रमणमात्र थियो, राजनीतिक थिएन भनेर कसरी विश्वास गर्ने ?
– भारतको नेपालप्रति जुन किसिमको रबैया रहेको थियो । खासगरी मोदी सरकारको रबैया भनेको नेपालको संविधानबारे अनावश्यक टीकाटिप्पणी गर्ने, नेपालको संविधान कसरी बनाउने, त्यसमा के हुनुपर्छ ? के हुनुहुँदैन ? भन्ने कुराहरू भयो । त्यो रबैया यो भ्रमणमा पनि कायमै रह्यो । मोदी सरकारको एउटा अलंकारिक राष्ट्रपति भएकाले पनि हुन सक्छ भारतीय सरकारको नेपालप्रतिको नीतिमा कुनै परिवर्तन भएको छैन । नेपालको संविधानमा अपुग कुरा हाम्रो आन्तरिक मामिला हो । हामी आफैं यसलाई समाधान गर्छौं । त्यो कसरी गर्ने भन्ने कुरामा कुनै पनि राष्ट्रको सुझाव हामीलाई चाहिँदैन ।
हाम्रो मधेसको समस्या हामी समाधान गर्छौं, मधेसका जनताको पनि हामी समर्थन लिन्छौं
। त्यो अर्कै कुरा हो, त्यसमा कुनै पनि विदेशी हस्तक्षेप हामीलाई स्वीकार्य छैन । त्यो स्वीकार्य छैन भन्ने कुरा प्रस्ट रूपमा सामाजिक सञ्जाल, पत्रपत्रिकाहरू सबैले यो कुरा एकमतले उठाइरहेका छन् । सबैतिरबाट यसो भन्दाभन्दै जुन किसिमको टीकाटिप्पणी, खासगरी भारतका नेताहरूबाट आउने गरेको छ, त्यो त्यति सुपाच्य कुरा होइन । राष्ट्रपतिजस्तो एउटा सम्माननीय व्यक्ति हुनुहुन्छ । उहाँबाट पनि यही टिप्पणी आउँदाखेरि यो मोदी सरकारभन्दा कुनै नौलो कुरा भएन । त्यति उच्च स्तरको भ्रमणमा यस्ता अभिव्यक्तिहरूले अमिलोपन आउनु स्वाभाविकै कुरा भयो ।
० त्यसो भए हामी यो भन्न सक्छौं कि यो भ्रमण तीर्थाटन र आपसी सद्भाव भ्रमण मात्र नभएर यसमा कुनै राजनीतिक इच्छा पनि निहित थियो ?
– नयाँ इच्छा त नभनौं त्यसलाई । तर, पुरानै मोदी सरकारको पुरानै कुराको निरन्तरताको अडान भने यसमा देखियो । नेपालको आन्तरिक मामिलामा टीकाटिप्पणी गर्ने पुरानो रबैयालाई राष्ट्रपतिज्यूले पनि निरन्तरता दिनुभयो । नेपालसँगको सम्बन्ध राम्रो बनाउने उहाँको उद्देश्य त अवश्य नै होला । उहाँ उच्चस्तरको नेता हुनुहुन्छ । भारतको प्रतिष्ठित राजनीतिज्ञ र धेरै भारतीयले मान्ने नै व्यक्तित्व हुनुहुन्छ । सँगसँगै उहाँ राष्ट्रपति पनि हुनुहुन्छ । त्यो हिसाबले उहाँले राजनीतिक टिप्पणी कम गर्नुभएको भए उहाँप्रति अलि बढी सकारात्मक हुने ठाउँ हुन्थ्यो । आफ्नै गरिमा पनि उच्च हुन्थ्यो । मोदी सरकारको उडान उहाँले पनि प्रस्ट ढंगले व्यक्त गरिदिनुभयो । जसका कारण धेरै नेपालीहरूको चित्त दुखेको छ । नागरिक अभिनन्दनहरू भए, थुप्रो ठाउँको भ्रमण गर्नुभयो । तर पनि उहाँ नेपाली जनताको दिलमा चाहिँ बस्न सक्नुभएन । दुःखको कुरा यही छ ।
० अप्रत्यासित रूपमा भएको यो भ्रमणले चीनका राष्ट्रपतिको नेपाल भ्रमण र तत्कालीन ओली सरकारले सुरु गर्न लागेका वाणिज्य सन्धिहरूलाई आलटाल गर्ने खेल हुन थालेको भन्ने पनि एकाथरीको बुझाइ छ नि ?
भारतसँग सम्बन्ध राम्रो पार्दैमा चीनसँग बिगार्नुपर्छ भन्नेचाहिँ छैन । यो दुईवटा अलग–अलग सम्बन्धको कुरा हो । तर, नेपाल सरकारले कस्तो नीति लिने भन्ने कुरा सबैभन्दा महŒवपूर्ण कुरा हो । भारत र चीनलाई हामीले जोडेर हेर्नुपर्छ भन्ने छैन । किनभने भारतसँग हामीले अलग्गै सम्बन्ध राख्छौं र चीनसँग पनि अलग्गै सम्बन्ध राख्छौं । तर, त्यो सम्बन्ध राख्दाखेरि हामीले गर्नुपर्ने भनेको सन्तुलनको नीति हो । हामी दुई ठूला छिमेकीका बीचमा रहेको सानो मुलुक, अहिलेसम्म हामीले सार्वभौमिकता बचाउन सकेका छौं । नेपाल अहिलेसम्म स्वतन्त्र राज्यका रूपमा रहन सक्नुका एउटौ मात्र कारण छ कि मल्लकालदेखि नै कूटनीतिक सन्तुलनमा हामी रहेका छौं । मल्लकालदेखिकै हाम्रो व्यापारिक सम्बन्ध तिब्बतसँग हो । यहाँ काठमाडौंमा त्यतिबेला बनाइएका जुन मन्दिरहरू छन् तिनीहरू मल्लकालमा तिब्बतसँग गरिएका व्यापारबाट भएको ठूलो नाफाबाट बनाइएका मन्दिरहरू हुन् ।
नेपाल त्यतिबेला एउटा समृद्ध देश थियो, किनभने तिब्बतसँग हाम्रो राम्रो व्यापार थियो र त्यो व्यापारमा हाम्रो ब्रिटिस भारतसँग पनि उस्तै सम्बन्ध थियो । मुगल भारतसँग पनि सम्बन्ध थियो । मुगलबाट सामान ल्याएर पनि हामी चीनमा बेच्थ्यौं । यस्तो खालको व्यापारिक सन्तुलन राख्न सकेकाले नै नेपाल समृद्ध र स्वतन्त्र राष्ट्र भएको हो । पृथ्वीनारायण शाहले त दिव्य उपदेशमा केही कुरा भनेरै पनि जानुभयो । तलको बेलायतीहरूसँग होस गर्नु, चीनसंग पनि राम्रो सम्बन्ध राख्नु भन्ने उहाँको कुरा थियो । यस्ताखालका कुरा लगातार नै भइरहेकाले नेपालको एउटा स्वतन्त्र अस्तित्व रहनु र नरहनु भन्ने कुरा यो सन्तुलन राख्न सक्नु र नसक्नुमा भर पर्छ । त्यसकारण, यसलाई मामुली कुरा ठान्नुहुँदैन ।
दुवै देशसँग पञ्चशीलका आधारमा सम्बन्ध हुनुपर्छ । भारतसँग सम्बन्ध राख्नुहुँदैन भन्ने कुरा होइन, एकदम घनिष्ठ सम्बन्ध राख्नुपर्छ, तर चीनसँगको सम्बन्धलाई बेवास्ता गर्नुहुँदैन ।
० नयाँ सरकार बनेपछि यो कूटनीतिक सन्तुलनको कुरा कुन रूपमा पाइएको छ ?
भारतसँग सम्बन्ध बढाउने कुरामा उहाँहरूले जोड दिनुभएकै छ । यो अत्यन्त सकारात्मक कुरा हो । तर, चीनसँग सम्बन्धको जहाँसम्म सवाल अलग्गै राखेर म के भन्छु भने चीनसँगको सम्बन्ध भनेको मल्लकालदेखि नै हो । उसैसँगको सम्बन्धले नेपालको आर्थिक समृद्धि भएको हो । मल्लकालमा यदि तिब्बतसँगको व्यापार नहुँदो हो त यहाँ काठमाडौंका मन्दिरहरू केही पनि बन्दैनथ्यो । चीनसँग एकदम निकट सम्बन्ध उपतबेलादेखि नै थियो । त्यो सम्बन्धलाई यसअघिको नाकाबन्दीको अवस्थालाई हेर्ने हो भने त अहिलेको व्यापार वृद्धि गर्न, यातायात वृद्धि गर्न, नाकाहरू खोल्न, रेल सम्बन्ध राख्न, ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग गर्नलगायतका सबै काम अत्यन्त महŒवपूर्ण सवालहरू हुन् । यी सवालहरू अहिले एक प्रकारले थाती राखेजस्तो भएको छ ।
यो चीनको राष्ट्रपतिको मात्र भ्रमणको सवाल होइन, ओली सरकारका पालामा चीनसँगका जुन सम्बन्धका आयामहरू खोलिएको थियो, त्यसलाई रोकावट गर्नु भनेको नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि नै आँच आउने कुरा हो । एकपछि अर्को काम स्थगित भएको छ । अहिले पनि तिब्बतसँगको वार्ता, प्रोटोकलहरू सही हुन बाँकीलगायतका सम्पूर्ण कामहरू स्थगित भएर पछाडि सर्दै छन् ।
० हाम्रा राष्ट्रपतिहरू भारत जाँदा विमानस्थलमै राष्ट्रपति आएर स्वागत नगरे पनि हाम्रा राष्ट्रपतिबाट त्यसो गरेको देखियो, के यो आवश्यक थियो ?
– यसमा म एउटै मात्र जवाफ दिन के चाहन्छु भने हाम्रा महामहिम राष्ट्रपति पनि लगत्तै भारत जाँदै हुनुहुन्छ । त्यहाँ जाँदा हामी आशा गरौं, जुन स्तरमा अहिले उहाँले स्वागत गर्नुभयो, उताबाट पनि त्यस्तै हुनेछ । त्यतिखेर त्यो पारख हामी गर्छौं । सबै नेपाली जनताले नोटिस गर्नेछ । यदि त्यो भएन भने स्वतः सिद्ध हुन्छ भारतको रबैया के हो भनेर । कूटनीतमा एउटै स्तर हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply