एमाले नेतृत्वको सामूहिक हत्या प्रयास
काठमाडौं । नेकपा (एमाले) ले तीनजनाको ज्यान जाने गरी सोमबार सप्तरीको राजविराजमा भएको घटनाको दोषी मधेसी मोर्चा भएको बताएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले राजविराज घटना मधेसी मोर्चासम्बद्ध मानिसहरूको जघन्य आपराधिक प्रवृत्ति र कामको कारणबाट भएकाले यसबाट उत्पन्न सम्पूर्ण परिणामको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्ने बताएको हो । सभा सम्पन्न भएर अभियानमा सहभागी पार्टीका नेता र कार्यकर्ताहरू राजमार्गतर्फ प्रस्थान गर्न लाग्दा घेरा हालेर आक्रमण गरेर एमाले नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयाससमेत भएको एमालले जनाएको छ ।
महासचिव ईश्वर पोखरेलद्वारा हस्ताक्षरित वक्तव्यमा सुुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सप्तरी जिल्ला प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई फिर्ता बोलाउने गृह प्रशासनको निर्णयले अझ आशंका बढाएको उल्लेख गरिएको छ । सुरुदेखि नै गृहमन्त्रीले अभियानप्रति प्रदर्शन गरेको आपत्तिजनक रबैया र भूमिकाको पृष्ठभूमिमा हेर्दा गृहमन्त्री निधिले यसको जवाफदेहिताबाट उन्मुक्ति पाउने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘जनताको व्यापक सहभागिताका साथ अगाडि बढिरहेको अभियानमा यही २३ गते राजविराजमा संयुक्त मधेसी मोर्चासम्बद्ध उद्दण्ड मानिसहरूले बाधा–अवरोध सिर्जना गरी विध्वंसपूर्ण घटना गराएका छन् । अभियान झापाबाट मोरङ हुँदै सुनसरीको इनरुवामा आइपुग्दा मधेसी मोर्चाका उच्छृंखल मानिसले अभियानमा संलग्न गाडीमा ढुंगा प्रहार गरेका थिए । तर पनि हामी संयमका साथ अगाडि बढ्यौं । अभियानप्रति लाखौं जनताले देखाएको सहभागिता र ऐक्यबद्धताबाट अत्तालिएकाहरूले सप्तरीसम्म आइपुग्दा अभियानमा हिँडिरहेका गाडीमा जुत्ता हान्ने, कालो झन्डा देखाउने, कार्यक्रमस्थलमा आक्रमण गर्न खोज्नेजस्ता क्रियाकलाप गरे । तर पनि हाम्रो पंक्तिले संयम नै प्रदर्शन ग¥यो ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अभियानका कार्यक्रमको तयारीको सिलसिलामा मधेसी मोर्चासम्बद्ध मानिसहरूले फागुन २१ गतेदेखि नै राजविराजमा नेकपा (एमाले) का कार्यकर्ताहरूमाथि आक्रमण गर्ने, तुल–ब्यानर च्यात्ने, सामान लुट्नेजस्ता क्रियाकलाप गरेका थिए । त्यसो नगर्न र लोकतन्त्रमा शान्तिपूर्ण एवं वैधानिक रूपमा आफ्ना विचारहरू राख्ने, सभा–सम्मेलन आयोजना गर्ने, संगठन बनाउनेजस्ता संविधान प्रदत्त अधिकार र कानुनी शासनको सम्मान गर्न हामीले मधेसी मोर्चाका केन्द्रीय तथा स्थानीय नेताहरूलाई समेत आग्रह गरेका थियौं । नेकपा (एमाले) को अभियानमा कुनै पनि किसिमको बाधा–व्यवधान हुन नदिन सरकार र प्रशासनलाई समेत आग्रह गरेको थियौं । संविधान, विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मानवअधिकारका मान्यताअनुरूप देशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले शान्तिपूर्ण अभियान चलाउँदा त्यसलाई बिथोल्न धम्की दिने, रोक्नका लागि त्रास फैलाउने, नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, उनीहरूलाई कालोमोसो दलेर अपमान गर्ने, सवारीसाधन तोडफोड गर्ने, ठाउँ–ठाउँमा विस्फोटक पदार्थ राखेर आतंक सिर्जना गर्ने, कार्यक्रममा सहभागी नहुनका लागि घर–घरमा पुगेर धम्क्याउनेजस्ता निन्दनीय कामहरू मधेसी मोर्चाका कार्यकर्ता भनिनेहरूबाट भए । कार्यक्रमस्थलमा पुग्ने बाटोका विभिन्न स्थानमा बमसमेत राखिएकोमा सुरक्षाकर्मीहरूले निष्क्रिय पारेका थिए । स्थिति सामान्य होस् भन्ने आशयका साथ हामीले पूर्वनिर्धारित राजविराजको रंगशालामा सभा गर्ने र राजविराज प्रवेश गर्ने बाटोसमेत परिवर्तन गरेका थियौं । तर, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा अभियानअन्तर्गत शान्तिपूर्ण सभा भइरहेको समयमा मधेसी मोर्चासम्बद्ध मानिसहरूले बाहिरबाट ढुंगा हान्ने, गालीगलोज गर्ने, अमर्यादित नाराबाजी गर्ने र सुरक्षाकर्मीहरूमाथि ढुंगा, लाठी र पेट्रोल बम प्रहार गर्नेजस्ता आततायी कार्य गरे । सभा सम्पन्न भएर अभियानमा सहभागी पार्टीका नेता र कार्यकर्ताहरू राजमार्गतर्फ प्रस्थान गर्न लाग्दा घेरा हालेर आक्रमण गरेर नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयाससमेत गरियो । यो नेपालको कुनै पनि भागमा कुनै पनि व्यक्ति र संगठनले शान्तिपूर्र्ण रूपमा सभा–सम्मेलनलगायतका गतिविधि गर्न पाउने नैसर्गिक अधिकारमाथिको निकृष्ट हमला हो । अभियानमा सहभागी नेकपा (एमाले) का कतिपय कार्यकर्ताहरू ढुंगा लागेर घाइते भएका छन् र ५० भन्दा बढी गाडीमा क्षति पुगेको छ र आधा दर्जन मोटरबाइकमा आगो लगाइएको छ । यसो गर्नेहरूले सभ्य समाज, लोकतान्त्रिक मूल्य र मानवअधिकारका मान्यताको खिल्ली उडाएका छन् । उनीहरूको त्यस्तो क्रियाकलापको परिणाम मोर्चाको राजविराजमा तीनजनाको ज्यान गएको छ र कतिपय घाइते भएका छन् । राजविराज घटना मधेसी मोर्चासम्बद्ध मानिसहरूको जघन्य आपराधिक प्रवृत्ति र कामको कारणबाट भएकाले यसबाट उत्पन्न सम्पूर्ण परिणामको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्छ ।’
फागुन २४ गते फेरि मधेसी मोर्चासम्बद्ध मानिसहरूले राजविराजमा अभियानको सभास्थलमा सप्तरी र सिरहाको लहानमा नेकपा (एमाले) का पार्टी कार्यालय, सप्तरी स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी गरेको तथा धनुषामा एमालेका पार्टीका नेता–कार्यकर्तालाई जिल्ला खाली गर्न धम्की दिइएको, रौतहटमा एमालेका कार्यकर्तालाई कालोमोसो दलेको भन्दै विज्ञप्तिमा यो सबै नेपाली जनताबाट निर्वाचित सार्वभौम संविधानसभाले बनाएको नेपालको संविधानलाई कार्यान्वयन हुन नदिने, देशमा सामाजिक सद्भाव, एकता, शान्ति, स्थायित्व र विकास हुन नदिने, नेपाली जनतालाई आफ्नो भाग्य–भविष्यको फैसला आफैं गर्न नदिने षड्यन्त्र भएको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘लोकतन्त्रमा अपरिहार्य निर्वाचनको स्थितिलाई बिथोल्दै बाह्य चलखेल निम्त्याउने र देशका राजनीतिक दलहरूका बीच द्वन्द्व सिर्जना गर्ने दुराशयबाट राजविराजको निन्दनीय घटना गरिएको छ । मधेसी मोर्चासम्बद्ध दलहरूले संस्थागत रूपमै खुलेआम उक्त प्रकारको क्रियाकलाप गर्नुका साथै हाम्रो शान्तिपूर्ण र अनुशासित कार्यक्रममाथि आक्रमण गर्ने कामलाई हामीले गम्भीर रूपमा लिएका छौं । राजनीतिक, सैद्धान्तिक र कार्यक्रमिक रूपले कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकेपछि र जनताको साथ नपाउने भएपछि तथा तराई–मधेसमा फैलाइएका भ्रम नेकपा (एमाले) ले यस अभियानमार्फत चिर्छ भन्ने त्रासले सुनियोजित रूपमा राजविराज घटना मञ्चन गराइएको छ र मानिसहरूको ज्यान लिइएको छ । शान्तिपूर्ण कार्यक्रम बिथोल्न प्रयोग क्रम हुने क्रममा भएको मानवीय क्षतिको सम्पूर्ण जवाफदेही मोर्चा नै हुनुपर्दछ ।’ एमालेले यस्ता आततायी घटनाको निष्पक्ष रूपमा छानबिन गरी तथ्य–सत्य सार्वजनिक गर्न राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
नेपालको संविधान र लोकतान्त्रिक व्यवस्थाअनुरूप ०७४ साल वैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा भइसकेको र ०७४ साल मंसिर महिनासम्म प्रादेशिक र केन्द्रीय निर्वाचन भइसक्नुपर्ने स्थितिलाई बिथोलेर देशलाई अन्योल, अनिश्चय, द्वन्द्व र संकटमा धकेल्ने दुराशयका साथ नेकपा (एमाले) को शान्तिपूर्ण कार्यक्रममा आक्रमण गरिएको एमालेले जनाएको छ । ‘यस्तो दुराशययुक्त कुकृत्यमा पर्दा हाल्न नेकपा (एमाले) का कार्यकर्ताहरूले मधेसी मोर्चाका मानिसहरूलाई ढुंगा हानेको र नेकपा (एमाले) का कारण घटना भएको जस्ता दुष्प्रचारको हामी खण्डन गर्दछौं । राजविराज घटना नेपाली समाजको सद्भाव र एकतालाई ध्वस्त गर्दै देशलाई संकटपूर्ण बनाउने सुनियोजित षड्यन्त्र हो भन्ने कुरा तथ्य र घटनाक्रमले स्पष्ट पारिसकेका छन् । राजविराजलगायतका स्थानमा आगजनी, ढुंगामुढा गर्ने, पार्टी कार्यालयमा आगो लगाउने, राजनीतिकर्मीहरूलाई धम्क्याउँदै उनीहरूको अधिकारमा प्रहार गर्नेजस्ता कानुन र मानवअधिकारविरोधी कार्यमा संलग्न हुनेहरूलाई कानुनको दायरामा ल्याउन तथा शान्ति–सुरक्षाको स्थिति कायम गर्दै जनताको जीउधनको सुरक्षा सुनिश्चित गर्न नेकपा (एमाले) नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ । राजविराज घटनाको यथार्थ छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न सरकार एवं राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गर्दछौं । राजनीतिक दलका शान्तिपूर्ण कार्यक्रममा आक्रमण गर्ने कार्यलाई गम्भीर रूपमा लिन र यस्ता क्रियाकलापको निन्दा र भत्र्सना गर्न हामी देशका सबै जिम्मेवार राजनीतिक दलहरूलाई आह्वान गर्दछौं । देशको समग्र राजनीतिक स्थितिको गम्भीर विश्लेषण तथा राजनीतिक समीक्षापश्चात् नेकपा (एमाले) ले विभिन्न समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा यथोचित समयमा सार्वजनिक गर्नेछ,’ वक्तव्यमा भनिएको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply