पहिलो शक्ति बन्ने उद्घोषसहित मधेस झ-यो एमाले
काठमाडौं । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बन्ने उद्घोषसहित नेकपा (एमाले) तराईमा परिचालित भएको छ । पार्टीलाई प्रदेश नम्बर २ मा पहिलो शक्तिका रूपमा स्थापित गर्ने संकल्पका साथ अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता तथा पदाधिकारी तराई–मधेसकेन्द्रित भएका हुन् । केन्द्रीय निर्देशनअनुसार एमालेको प्रदेश संगठन कमिटी, जिल्ला, गाउँ र नगरस्तरीय कमिटीहरू तयारीका योजनासहित चुनावमा होमिएका छन् ।
प्रदेश नम्बर २ का आठ जिल्लाका १ सय २७ स्थानीय तहमा निर्वाचन हुँदै छ । त्यसमध्ये कम्तीमा ६० प्रतिशत जित्ने लक्ष्यका साथ तयारीको काम अघि बढेको केन्द्रीय सचिवालयले जनाएको छ । गत १४ असारमा सम्पन्न दोस्रो चरणको निर्वाचनमा तराईका २० मध्ये १२ जिल्लामा बहुमत स्थान एमालेले जितेपछि सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रित दल अत्तालिएका छन् । त्यस्तै परिणाम दोहोरिन सक्ने भयबाट ग्रसित सत्ता पक्ष २ नम्बर प्रदेशलाई प्रतिष्ठाको विषय बनाउँदै मधेसकेन्द्रित दललाईसमेत मिलाउने गरी एमालेविरुद्ध ठूलै मोर्चाबन्दी गर्ने कसरत गरिरहेको छ ।
त्यसो त त्यो परिणामले तराई र पहाड टुक्र्याएर राष्ट्रिय एकता र सामाजिक सद्भाव बिथोल्ने र एमालेलाई मधेसविरोधी शक्तिका रूपमा स्थापित गर्ने एकसूत्रीय एजेन्डा तराईकै जनमतबाट पराजित भइसकेको छ । त्यसैले पराजय पुनरावृत्ति हुने त्रासले गर्दा विदेशी शक्तिको आडमा सत्तापक्ष कांग्रेस र माओवादी केन्द्र २ नम्बर प्रदेशमा एमालेविरोधी मोर्चाबन्दीको कसरतमा छन् । तर ती सबै मोर्चाबन्दीलाई बलियो एकताका साथ पराजित गर्ने एमालेको तयारी छ । एमाले पहिलो हुँदा देश टुक्र्याउने योजना पराजित हुने मात्रै होइन, संविधान संशोधनको एजेन्डा तुहिएर त्यसको मनोवैज्ञानिक असर निश्चितै रूपमा सन्निकट प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचनमा पर्नेछ । त्यसैले पनि विदेशी शक्तिको आडभरोसा, राज्यशक्ति, राज्यका स्रोतसाधनको व्यापक दुरुपयोग गरेरै भए पनि प्रदेश नम्बर २ मा हराउने प्रयास भइरहेको तयारीलाई एमालेले गम्भीरतापूर्वक विश्लेषण गरिरहेको छ ।
यिनै तथ्यलाई गम्भीरतापूर्वक मनन गर्दै एमालेले पार्टी अध्यक्षसहित हेडक्वार्टर नै तराईमा परिचालन गर्ने योजना बनाएको छ । त्यसअनुसार महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिवालयको टिम प्रदेश नम्बर २ मा केन्द्रित भएको छ । महासचिव पोखरेल अहिले पर्साको वीरगन्ज पुगेका छन् । वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अघिल्लो हप्ता वीरगन्जमै पुगेर तयारीसम्बन्धी विभिन्न निर्देशन दिएका थिए ।
पहिलो र दोस्रो चरणको चुनावमा देखिएका केही असन्तुष्टिसमेतलाई ध्यान दिई उम्मेदवार चयनअघि स्थलगत अनुगमन गर्न उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल सचिवहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि तराईमै केन्द्रित छन् ।
एमाले केन्द्रीय सचिवालयका अनुसार महासचिव पोखरेल पर्सा, उपमहासचिव पौडेल बारा, भुसाल रौतहट खटिँदै छन् । त्यसैगरी सचिव विष्ट सर्लाही, भट्टराई धनुषा, आचार्य सप्तरी खटिनेछन् भने सिरहामा ज्ञवाली र महोत्तरीमा गुरुङले जिम्मेवारी सम्हाल्ने बताइएको छ । नेताहरूले स्थलगत अनुगमनका क्रममा जिल्लामा रहेका सबै स्थानीय तहहरूको वस्तुगत अवस्था, पार्टीको पोजिसन, तालमेलको सम्भावना, टिकट दिँदा ध्यान दिइनुपर्ने पक्षलगायत सूक्ष्म अध्ययन गरी प्रतिवेदन तयार पार्ने बताइएको छ । करिब डेढ साताको अध्ययन अवलोकनपछि मात्रै प्रदेश नम्बर २ मा टिकटबारे निर्णय लिने नीति एमालेले लिएको छ । कतिपय स्थानमा अन्य पार्टीबाट प्रवेश गराएर टिकट दिने एमालेको नीति छ ।
त्यसपछि अध्यक्ष ओलीसहित तीन शीर्ष नेताहरू नेपाल र झलनाथ खनालकै कमान्डमा २ भदौबाट तीनवटा समानान्तर केन्द्रीय कार्यालय सञ्चालन गरी चुनाव परिचालन गर्ने एमालेले योजना बनाएको छ । एमालेको सिंगै सचिवालय एक महिना मधेसमै रहनेछ । जनकपुर, सिरहा र र वीरगन्जमा केन्द्रीय कार्यालयसरहकै कार्यालय स्थापना गर्ने र कार्यालयमा वरिष्ठ नेताहरू नै रहने केन्द्रीय सचिवालयले जनाएको छ । शीर्ष नेताहरूले तिनै कार्यालयबाट प्रदेश २ को चुनावलाई हाँक्ने, एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
चुनावको अवधिमा एमालेले तराई मधेसमा विकास हुन नदिने नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसकेन्द्रित दलको षड्यन्त्रसमेत भण्डाफोर गर्दै जनतालाई सचेत पार्ने योजना बनाएको छ । तराईमा अहिलेसम्म पार्टीले गरेको विकास निर्माणका कामलाई तीव्र प्रचार गर्ने, संविधान संशोधनका विषयमा चलाइएको भ्रमको भण्डाफोर गर्दै आवश्यकता र औचित्यका आधारमा संशोधनका लागि तयार रहेको सन्देशसहित मधेस समस्या समाधानको ‘रोडम्याप’समेत प्रस्तुत गर्ने एमालेको तयारी छ । मैथली, भोजपुरी र अवधीसहित तीन भाषामा लेखिएको स्थानीय तहसम्बन्धी पार्टीको चुनावी घोषणापत्र र स्थानीय प्रचार सामग्रीमार्फत एमालेविरुद्ध फैलाइएको भ्रम चिर्ने तयारी छ । तराईमै जन्मिएर संगठन विस्तार गरेको एमालेले अहिलेसम्म त्यहाँको विभेद अन्त्यका लागि गर्दै आएको प्रयास, विकास निर्माणका योजनाका विषयमा प्रकाश पारिने स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बताए ।
२० जिल्लामा टुंगिए एमालेका उम्मेदवार
काठमाडौं । नेकपा (एमाले) ले २० वटा जिल्लामा पार्टीका तर्फबाट जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । स्थायी समिति बैठकले ती जिल्लाहरूमा उम्मेदवारहरूको टुंगो लगाएको हो । जसअनुसार रामेछापको प्रमुखमा पे्रमबहादुर खड्का, उपप्रमुखमा दीपा पाख्रिन, रसुवाको प्रमुखमा कुलप्रसाद भट्ट र उपप्रमुखमा छोपेमा तामाङ छन् । त्यस्तै, मकवानपुरको प्रमुखमा रघुनाथ खुलाल र उपप्रमुखमा भगवती पुडासैनी, भक्तपुरको प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर छन् । डोल्पाको प्रमुखमा शेरबहादुर बुढा निर्विरोध निर्वाचित भइसकेका छन् । सल्यानको उपप्रमुखमा कुलबहादुर गिरी, कालिकोटको प्रमुखमा पे्रमबहादुर शाही र उपप्रमुखमा सरिता आचार्य, जाजरकोटको प्रमुखमा गोरे कार्की र उपप्रमुखमा कमलादेवी शाही छन् । त्यस्तै, हुम्लाको उपप्रमुखमा खगेन्द्र कार्की, सुर्खेतको प्रमुखमा टोपबहादुर राजकोटी र उपप्रमुखमा दीपा मल्ल, मुगुको प्रमुखमा पूर्णबहादुर रोकाय र उपप्रमुखमा कर्णशिला मल्ल छन् । त्यस्तै, खोटाङको प्रमुखमा बबी चाम्लिङ र उपप्रमुखमा गोमा खत्री, इलामको प्रमुखमा गणेश बराल र उपप्रमुखमा चित्रकला बराइली, बझाङको प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा भागिरथी अवस्थी जोशी छन् । त्यस्तै, दैलेखको प्रमुखमा पे्रमबहादुर थापा र उपप्रमुखमा लक्ष्मी शाह, ताप्लेजुङको प्रमुखमा घनेन्द्र मादेन र उपप्रमुखमा देवीमाया नेपाली, सिन्धुपाल्चोकको प्रमुखमा गोपाल तामाङ र उपप्रमुखमा बालकुमारी सापकोटा, धादिङको प्रमुखमा जगन्नाथ नेपाल र उपप्रमुखमा विन्दा नेपाली छन् । त्यस्तै काठमाडौंको प्रमुखमा शिव वैद्य र उपप्रमुखमा सरिता दाहाल र सिन्धुलीको उपप्रमुखमा शंकर बर्मा रहेका छन् ।
फैसलाले जनअभिमतको अपमान
एमालेले चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदानका लागि आदेश दिने सर्वोच्च अदालतको फैसलाले जनताको अभिमतको अपमान गरेको निष्कर्ष निकालेको छ । स्थायी समितिको सोमबारको बैठकले अदालतको फैसलाको समीक्षापछि विशेष प्रस्ताव पारित गर्दै सो निष्कर्ष निकालेको हो ।
फैसला दुःखद भएको भन्दै एमालेले त्यसले भविष्यमा गलत नजिर स्थापित गर्ने आशंका र चिन्ता पैदा गरेकोसमेत जनाएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजालासले भरतपुरमा पुनः मतदान हुने फैसला गरेको थियो । एमालेले फैसला दुःखद भए पनि भरतपुर १९ नम्बर वडाका जनताले पार्टीका तर्फबाट उठाइएका प्रमुखका उम्मेदवार देवी ज्ञवालीलाई जनताले न्याय दिने विश्वास व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply