मधेसमा पनि पहिलो हुने एमालेको निष्कर्ष
सबैको ध्यान प्रदेश नम्बर २ मा
काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन आउन अब ४१ दिन बाँकी छ । तेस्रो चरणअन्तर्गत असोज २ गते तोकिएको २ नम्बर प्रदेशका आड जिल्लाको निर्वाचनलाई सबै राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई जबर्जस्ती मधेसविरोधीका रूपमा चित्रण गर्ने दुष्प्रयास नेपालीकांग्रेस र मधेसकेन्द्रित केही दलले गरेकाले एमालेले सबैभन्दा बढी प्रतिष्ठा यही निर्वाचनलाई बनाएको छ । यसअघि सम्पन्न भइसकेका दुई चरणका निर्वाचनमा दुवैपटक पहिलोशक्ति बनेको एमाले मधेसमा पनि पहिलो शक्ति बन्ने दाबीसहित चुनावी अभियानमा होमिएको छ ।
एमालेले मधेसमै पार्टीको समानान्तर हेडक्वार्टर स्थापना गरेर चुनावी अभियान चलाउने रणनीति बनाएपछि स्थानीय तहको निर्वाचनमा दोस्रो भएको नेपाली कांग्रेस तिलमिलाएको छ । स्थानीय तहको निर्वाचन परिणाममा एमालेसँगको ठूलो अन्तर यही प्रदेश नम्बर २ को निर्वाचनबाटै कम गर्ने चाहना कांग्रेसको छ । त्यो भएरै सकेसम्म राजपालाई बाहिरै राखेर चुनावमा जाने रणनीति उसले अख्तियार गरेको छ । राजमार्गभन्दा उत्तरको भाग एमालेकै पकड रहेको र दक्षिण भागमा कांग्रेस र राजपा प्रतिस्पर्धा गर्दा त्यहाँ पनि एमाले नै पहिलो हुने आशंका कारण कांग्रेस आत्तिएको छ । कांग्रेस राजपालाई सकेसम्म बाहिरै राखेर २ नम्बर प्रदेशमा पहिलो हुने ध्याउन्नमा रहेको छ । त्यसो त एमालेले आफूलाई मधेसविरोधीको नक्कली बिल्ला भिराउने राजपालाई नै पहिलो प्राथमिकतामा राखेर तालमेलको ढोका खुला रहेको संकेत गरेपछि कांग्रेस झन् आतंकित बनेको छ । राजपाले त झन् प्रदेश नम्बर २ को निर्वाचनलाई प्रतिष्ठा बनाउने नै भयो । मधेसको खास एजेन्डा बोक्ने आफैंहरू मात्र भएको र त्यहाँ अरू पार्टीको हैसियत नभएको डिङ हाँकिसकेकाले त्यहाँको चुनाव राजपाका लागि ठूलो प्रतिष्ठाको विषय हुने नै भयो । यही अवस्थथामा चुनावमा जाँदा चुनाव हारियो भने त्यो आत्मघाती हुने देखेरै अहिले राजपाले चुनावमा भाग नलिने अडान राख्दै आएको छ । तर चुनावमा जाँदा राजपाको राजनीति झन् सकिने विश्लेषणसहित राजपाभित्रैका नेताहरू नेतृत्वको अडानविरुद्ध बोल्न थालेका छन् । माओवादी केन्द्र पनि अरू दलसँग तालमेल गरेर भए पनि मधेसमा राम्रो उपस्थिति देखाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा छ ।
तर सबैभन्दा बढी अहिले एमाले नै आक्रामक रूपमा २ नम्बर प्रदेशको चुनावमा केन्द्रित भएको छ । आठवटै जिल्लामा स्थायी कमिटी तहका नेतालाई जिम्मेवारी दिएर मधेसमा पठाइसकेको छ । सबै जिल्लामा एक चरण चुनावी कार्यक्रम पनि गरिसकेको छ । एक चरणको चुनावी अभियानकै दौरानमा धनुषालगायतका स्थानमा राजपाका केन्द्रीय तहका नेता नै एमालेमा प्रवेश गरेपछि एमाले झनै उत्साहित भएको छ । एमालेले मधेसमा राम्रै राजनीतिक हैसियत बनाएका अन्य राजनीतिक दलमा आबद्ध नेतालाई पनि एमालेमा भिœयाउने तयारी गरिरहेको छ । केही नेतासँग भित्रभित्रै कुराकानी पनि गरिसकेको छ । एक चरण मधेस घुमिसकेपछि मधेसमा पनि पहिलो शक्ति बन्ने निष्कर्षमा एमाले पुगेको छ । मेची–महाकाली अभियानका क्रममा सप्तरीमा एमालेको कार्यक्रममा कांग्रेससहितको उक्साहटमा एमालेका नेताहरूलाई एकै चिहान बनाउने उद्देश्यसहित आक्रमण गरेर कार्यक्रम बिथोलेपछि एमालेले प्रदेश नम्बर २ मा पहिलो शक्ति बन्ने उद्घोष गरेको हो । आठ जिल्लाका १ सय २७ तहमध्ये कम्तीमा ६० तहमा जित्ने एमालेको लक्ष्य छ । त्यसका लागि पूरा तयारीका साथ लागेको छ । चुनावी कमान्ड सम्हाल्न एमालेले महासचिव ईश्वर पोखरेललाई बारा र धनुषा, उपमहासचिव विष्णु पौडेललाई पर्सा, अर्का उपमहासचिव घनश्याम भुसाललाई रौतहट, सचिवहरू प्रदीप ज्ञवालीलाई सिरहा र सर्लाही, योगेश भट्टराईलाई धनुषा, पृथ्वीसुब्बा गुरुङलाई महोत्तरी, गोकर्ण विष्टलाई सिरहा र भीम आचार्यलाई सप्तरी खटाएको छ । अघिल्लो सातबाटै आफ्ने कार्यक्षेत्र खटिएका उनीहरू चुनावी कार्यक्रममा व्यस्त छन् ।
नेपाली कांग्रेसका नेताहरू पनि अघिल्ला निर्वाचनमा लागेको चोटमा तेस्रो चरणको निर्वाचनबाट मलम लगाउने ध्याउन्नमा मधेसकेन्द्रित भएका छन् । तर सँगसँगै मधेसमा पहिलो शक्ति नहुने आशंमा कतै कांग्रेस नतृत्वले तेस्रो चरणको निर्वाचन तोकिएको मितिमा नगर्ने पो हो कि भन्ने आशंका राजनीतिक वृत्तमा जीवितै छ ।
यस्तो छ एमालेको रणनीति
पहिलो, सूक्ष्म अध्ययन प्रतिवेदन
प्रदेश नम्बर २ मा पहिलो चरणमा एमालेले बैठक, भेला र प्रशिक्षणमार्फत आन्तरिक तयारीलाई तीव्रता दिइरहेको छ । आन्तरिक तयारीका लागि महासचिव पोखरेलको नेतृत्वमा पदाधिकारी खटाएर जित्ने सुनिश्चित, प्रतिस्पर्धा र कमजोर रहेका स्थानीय तहको पहिचान गर्ने प्रयास गरिरहेको छ । सबै जिल्लाको सूक्ष्म आन्तरिक प्रतिवेदन आइसकेपछि छुट्टै रणनीति तयार गर्ने एमालेको तयारी छ । ‘हामी अहिले पदाधिकारीहरूमार्फत सबै जिल्लाको एक्सरे गरिरहेका छौं, केन्द्रीय कार्यालय सचिव श्रेष्ठले भने, ‘त्यस आधारमा डाइग्नोसिस गरेर उपयुक्त डोजसहितको औषधि लिएर एक्सनमा जान्छौं ।’ साउन मसान्तसम्म आन्तरिक तयारी सकेपछि अर्को चरणको तयारी गर्ने एमालेको योजना छ ।
दोस्रो, खुला प्रचार र आमसभा
२ भदौमा तीन स्थान वीरगन्ज, जनकपुर र सिरहामा छुट्टाछुट्टै समानान्तर केन्द्रीय कार्यालय सुरु गरी अर्को चरणको खुला प्रचार र आमसभा सुरु गर्ने एमालेको कार्यतालिका छ । त्यसक्रममा अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाललगायतको उपस्थितिमा सबै जिल्ला र कतिपय स्थानीय तहमा आमसभा गर्ने एमालेको योजना छ । पहिलो सातासम्म उम्मेद्वारी चयन सकेर आक्रामक प्रचारमा जाने एमालेको योजना छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply