पत्रकारलाई चुनावी रन्को
काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको मिति आउन दुई साता मात्रै बाँकी रहँदा पत्रकारका संगठनहरू चुनावी जोडघटाउ र तालमेलको गृहकार्यमा व्यस्त छन् ।
महासंघको २५औं महाधिवेशन आगामी ४ र ५ भदौमा काठमाडौंमा हुँदै छ । प्रादेशिक संरचनाको नयाँ विधानअनुसार ११ पदाधिकारीसहित ५२ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशनले निर्वाचित गर्नेछ । जसअनुसार अध्यक्षसहित खुला उपाध्यक्ष, महिला उपाध्यक्ष र महासचिव निर्वाचित हुनेछन् । त्यस्तै, ६ सचिवतर्फ खुला, मधेसी, जनजाति, महिला, समावेशी र एसोसिएट छन् भने एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।
सात प्रदेशमध्ये प्रत्येक प्रदेशबाट संयोजक र सहसंयोजकसहित दुई केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । उपत्यका र प्रतिष्ठानबाट पनि २÷२ जना केन्द्रीय सदस्य चुनिनेछन् । त्यस्तै, जनजाति, अल्पसंख्यक, दलित र पिछडिएको क्षेत्रबाट समेत प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य चुनिनेछन् । प्रदेशहरूबाट महिला कोटामा पनि केन्द्रीय सदस्यहरू निर्वाचित हुनेछन् । आकांक्षीहरूले लबिङका लागि दौडधुप तीव्र पारेका छन् । महाधिवेशनमा १५ सय १० केन्द्रीय सभासद्ले नयाँ नेतृत्व चुन्नेछन् ।
महासंघको ६० वर्षको इतिहासमा दुई कार्यकाल एमालेनिकट प्रेस चौतारी नेतृत्वको वाम गठबन्धनले नेतृत्व गर्दै आएको छ । शिव गाउँले र महेन्द्र विष्ट नेतृत्वको कार्यकालमा महासंघको नयाँ भवन निर्माण, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष निर्माण, श्रमजीवी पत्रकार कल्याणकारी कोषको स्थापना, पत्रकार दुर्घटना विमा, पत्रकारहरूको क्षमता अविृद्धि तालिमलगायत थुप्रै नयाँ काम सम्पन्न भएका छन् । त्यसकारण महासंघको चुनावी संघारमा चौतारीले सार्ने नेतृत्वको पक्षमा माहोल सिर्जना हुँदै गएको छ ।
अहिलेसम्म चौतारीका तर्फबाट वरिष्ठ पत्रकार तीर्थ कोइराला, पूर्वअध्यक्षहरू बालकृष्ण चापागाईं, गगन विष्ट, राजेन्द्र अर्याल, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा र वरिष्ठ पत्रकार तथा सामुदायिक रेडियोका अभियन्ता रघु मैनाली अध्यक्षको चर्चामा छन् । कोइरालाले श्री सगरमाथा दैनिक, कान्तिपुर टेलिभिजनलगायत एक दर्जनजति मिडियाको सम्पादकीय नेतृत्व सम्हालिसकेका छन् । नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्षसमेत रहेका कोइरालालाई चौतारीका साथै सबै वामपन्थी निकट पत्रकार संगठनको साझा उम्मेद्वारका रूपमा हेरिएको छ । उनलाई लोकतान्त्रिक खेमाका पत्रकारहरूलेसमेत सम्भावित नेतृत्वका लागि रुचाएको बताइन्छ ।
चौतारीका तर्फबाट अघि सारिने अध्यक्षका सन्दर्भमा एमाले केन्द्रिय प्रचार विभाग र प्रेस चौतारीको पदाधिकारी तहमा औपचारिक÷अनौपचारिक छलफल अघि बढिरहेको छ । अध्यक्षबाहेक पदाधिकारीहरूको आकांक्षीका सूचीका बारेमा पनि छलफल बढेको बताइन्छ । संगठनको नीति र सिद्धान्त आत्मसात् गर्ने, व्यावसायिक छवि भएकाहरूलाई उम्मेदवारमा चौतारीले प्राथमिकता दिएको बताइन्छ । चौतारीभित्र जितको पहिलो आधार संगठनकै मत भएकाले संगठनलाई पु¥याएको योगदान, समानुपातिक न्यायोचित वितरणलगायतका पक्षलाई ध्यान दिएर निर्णय हुनुपर्ने जोडदार आवाज उठेको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरले प्रेस चौतारीसँग अघिल्लोपटक भएको समझदारीलाई आधार बनाउँदै सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्दआचार्यलाई अध्यक्षको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ । काठमाडौंसहित साताओटै प्रदेशका ८० प्रतिशत जिल्लाहरूमा भएको निर्वाचनमा कांग्रेस निकट प्रेस युनियनसँग तालमेल गरेको प्रेस सेन्टरले केन्द्रीय अध्यक्षमा भने अघिल्लोपटक चौतारीसँग भएको समझदारी कार्यान्वयन हुनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएको छ । कांग्रेसनिकट प्रेस युनियनबाट दाङका पत्रकार विपुल पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै, युनियनका पूर्वअध्यक्ष समीरजंग शाह, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, रामजी दाहाल, रामप्रसाद दाहाललगायत चर्चामा रहेका छन् । उनीहरूमध्ये प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास जित्नेले टिकट हत्याउने सम्भावना रहेको युनियन वृत्तमा चर्चा छ । केसीले आफूबाहेक अरू कोही पनि प्रतिस्पर्धा गर्न लायक नभएकाले दुईपटक पराजित भए पनि तेस्रोपटक टिकट पाउनुपर्ने भन्दै सबैभन्दा बढी दौडधुप गरिरहेको बताइन्छ ।
महाधिवेशन नजिकिँदै गर्दा तीनवटै प्रमुख संगठनले आपसी तालमेलका विषयमा पनि आन्तरिक, द्विपक्षीय, त्रिपक्षीय र सामूहिक छलफल चलाइरहेका छन् । महासंघमा सबैभन्दा बढी केन्द्रीय सभासद् प्रेस चौतारीबाट निर्वाचित भएका छन् । ६ सय केन्द्रीय सभासद् जितेर पुनः पहिलो संगठनका रूपमा स्थापित चौतारीले प्रेस युनियन, प्रेस सेन्टरलगायत सबै संगठनलाई मिलाएर महासंघलाई साझा चरित्रको संगठन बनाउनुपर्ने प्रस्ताव गरेको छ । चौतारीले आफ्नो नेतृत्व स्वीकार गरिए केन्द्रिय सभासद् संख्याका आधारमा पदाधिकारीको संख्या भागबन्डा गरी केन्द्रीय सदस्यहरूमा निर्वाचन गर्न सकिने सहमतिको बटमलाइन प्रस्तुत गरेको अध्यक्ष गणेश बस्नेतले बताए । एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराई स्वयंले महासंघको साझा चरित्रलाई स्थापित गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिँदै स्वयंले पहल लिइरहेका छन् । चौतारीपछि करिब ४ सय ९० पार्षद् संख्यासहित प्रेस युनियन दोस्रो र करिब २ सय २५ पार्षद्सहित प्रेस सेन्टर तेस्रो स्थानमा छन् । सबै संगठनबीच तालमेलको सम्भावना नभए द्विपक्षीय, त्रिपक्षीय तालमेलका लागि चौतारी र युनियन, चौतारी र सेन्टर, युनियन र सेन्टरबीच पनि छलफल चलिरहेको छ । चौतारीले अन्य साना संगठनहरू क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार संघलगायत सबैलाई मिलाएर अघि बढ्नुपर्ने धारणासमेत अघि सारेको छ । चौतारीले नेतृत्व पाए युनियन र सेन्टरले महŒवपूर्ण पद महासचिव र उपाध्यक्षमध्ये रोजेर लिनसक्ने र अन्य पद पनि सहमतिका आधारमा मिलाउन सकिने सम्भावना भए पनि सामूहिक छलफल परिणामउन्मुख हुन सकेको छैन ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply