महानगरका कर्मचारी सीआईबीको हिरासतमा
काठमाडौं । राजधानी काठमाडौंको महानगरपलिका काठमाडौं महानगरपालिकामा एक भ्रष्ट कर्मचारी नक्कली नागरिकता प्रकरणका केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको हिरासतमा पुगेका छन् । वडा सचिवका हैसियतमा बौद्धमा रहँदा चिनियाँ नागरिकलाई पैसा खाएर नागरिकता दिएको प्रकरणमा उनी पक्राउ परेपछि महानगरका अन्य कर्मचारीको पनि शिर निहुरेको छ ।
आफूलाई चल्तापुर्ता कांग्रेसी र अरूभन्दा अब्बल ठान्ने रामप्रसाद पौडेल त्यसरी नक्कली नागरिकता प्रकरणमा पक्राउ परेका हुन् ।
चिनियाँ नागरिकलाई नेपाली नागरिकता सिफारिस गर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ६ का सचिव पौडेललाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २०७४ कात्तिक १७ गते पक्राउ गरेको हो ।
उनीभन्दा अघिका वडा सचिवद्वय युवराज खनाल र हरिबहादुर कुँवरले पनि धेरै तिब्बती मूलका चिनियाँ नागरिकलाई नागरिकता सिफारिस गरेकाले उनीहरू पनि अनुसन्धानको घेरामा तानिन सक्ने सीआईबी स्रोतले बताएको ।
ठूलो रकम घुस लिएर चिनियाँहरूलाई नागरिकता सिफारिस गर्न पाउने भएकाले महानगरपालिकाको ६ नम्बर वडामा सरुवा हुन वडा सचिवहरूबीच हानथाप चल्ने गर्दछ ।
महानगरपालिकाका अति भ्रष्ट कर्मचारीका रूपमा चिनिएका वडा सचिव पौडेलले ६ नम्बर वडाको वडा सचिव हुँदा चिनियाँ नागरिक कुंगा तेन्जिङ भुटियालाई तेन्जिङ लामाको नाममा वंशजका आधारमा नागरिकताको सिफारिस गरेका थिए । वडाको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कुंगाले नागरिकता लिएका थिए । महानगरपालिकामा कांग्रेसको दबाबमा जागिरमा प्रवेश गरेका पौडेल मुद्दा, पदपूर्ति समिति, सार्वजनिक निर्माण विभागजस्ता आकर्षक ठाउँमा बसी ६ नम्बर वडामा सरुवा भएका थिए । महानगरमा वडा सचिव पदलाई आकर्षक पदका रूपमा लिइन्छ । घरजग्गा, बाटो, स्थानीय कर तथा अन्य सिफारिस गर्न पाउने र त्यसमा चलखेल गर्नुका साथै वडामा आउने बजेट पनि चलाउन पाइने संभावना भएर हरेक कर्मचारीको रोजाइ वडा कार्यालय हुने गरेको छ । पछिल्लो सरुवामा सबैभन्दा आकर्षक ६ नम्बर वडा कार्यालय बौद्धमा आएका थिए । यसलाई महानगरभित्रको पनि ‘हाइलाइट’ स्थान मानिन्छ । ६ नम्बरबाट केही समयअघि मात्र उनको सरुवा ११ नम्बर वडामा भएको थियो । ११ नम्बर वडाबाटै उनलाई प्रहरीले पक्राउ गरेको छ । महानगरको पदपूर्ति समितिमा हुँदा उनले आफ्नै श्रीमती हरिमाया पौडेल घिमिरेलाई चौथो तह खरिदार पास गराएका थिए ।
वडा सचिव पौडेलले दिएको सिफारिसका आधारमा नागरिकता लिएका कुंगाले नेपाली पासपोर्टसमेत लिइसकेका छन् । सीआईबीले कुंगा, पौडेल र नागरिकता बनाउन सहयोग गर्ने कर्मा धिन्डुप घलेलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक कुंगा कपडा व्यापारी हुन् । सीआईबीका प्रमुख डीआईजी पुस्कर कार्कीले यसलाई आफैंले गम्भीरतापूर्वक लिएको बताइएको छ । ४३ वर्षीय पौडेल ताप्लेजुङ ढुंगेसाँघु–१ मौवाखोलामा जन्मिए पनि अहिले अनामनगरस्थित विशाल घरमा बस्छन् ।
पौडेलमाथि सार्वजनिक निर्माण विभागको प्रमुख हुँदा चीन सरकारले दिएका ९८ थान सोलार नै गायब पारेको आरोप छ । सीआईबीको केही दिनको हिरासतपछि पौडेल ७५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । नागरिकता ऐन २०६३ को दफा २१ कुनै पनि विदेशी नागरीकले झूटा विवरण दिई नेपाली नागरिकता प्रमाणपत्र लिए एक वर्षदेखि पाँच वर्ष कैद वा २५ हजार देखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै, सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन वर्ष कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने र नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानीजानी वा बदनियत राखी यस ऐनअन्तर्गत वा यस ऐनविपरीत हुने गरी नेपाली नागरिकताको प्रमाणपत्र दिए त्यस्तो कर्मचारी वा पदाधिकारीउपर प्रचलित कानुनबमोजिम विभागीय कारबाही हुने उल्लेख छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply