आईजीपीको अस्वस्थ दौड सुरु
काठमाडौं । नेपाल प्रहरीको २६औं आईजीपी नियुक्तिका लागि अहिल्यैबाट दौड सुरु भएको छ । यसअघि भएको विभिन्न चलखेल र कोपभाजनका घटना राम्ररी सेलाउन नपाउँदै फेरि भावी आईजीपीका दौडमा रहेका वरिष्ठ प्रहरी अधिकारीहरू आफ्नो पक्षमा मिडिया क्याम्पेन गराउन थालेका छन् ।
हालका आईजीपी प्रकाश अर्यालसहित सबै एआईजीले आगामी चैत २८ मा ३० वर्षे सेवा हदका कारण अवकाश पाउँदै छन् । वरीयतामा अगाडि रहेका डीआईजीहरू गणेश केसी, केदारमानसिंह भण्डारी र रमेश भट्टराईले पनि ३० वर्षे सेवाहदका कारण चैत २८ मै अवकाश पाउँदै छन् । उनीहरू आइजीपी अर्यालका ब्याचमेट हुन् ।
अध्यादेशमार्फत ३० वर्षे सेवाहद हटाएर केही वर्ष जागिर लम्बाउने खेलमा लागेका १६ एआईजीहरूको सपना अब पूरा नहुने देखिएको छ । उनीहरूको अवकाशपछि सरकारले नेपाल प्रहरीको २६औं आईजीपी नियुक्ति गर्नेछ । अब नियुक्त हुने आईजीपीको दाबेदारमा चर्चित अनुहारहरू छन् । डीआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की भावी आईजीपीका दाबेदार हुन् ।
खरेल भलिबल खेलाडीका रूपमा २०४५ फागुन १ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने २०४६ माघ २९ मा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए । सोही मितिमै प्रहरी निरीक्षकका रूपमा खनाल र कार्कीसमेत नेपाल प्रहरीमा सेवाप्रवेश गरेका थिए । इन्सपेक्टरदेखि एसएसपीसम्म कहिल्यै दोस्रो नभएका खरेल देउवा सरकारले गरेको डीआईजी बढुवामा दोस्रो नम्बरमा धकेलिएका छन् भने दोस्रो नम्बरमा रहेका खनाल वरीयताको पहिलो नम्बरमा आएका छन् । खनाल र खरेल एसएसपी बढुवा हुँदा २०६८ चैत २७ को बढुवामा छुटेका कार्की झन्डै डेढ वर्षपछि अर्थात् २०७० साउन ४ मा एसएसपीमा बढुवा भएका थिए ।
गत साउन महिनामा भएको डीआईजी बढुवाभन्दा अगाडि वरीयताको १७औं नम्बरमा रहेका कार्की डीआईजी हुँदा भावी आईजीपीको प्रतिस्पर्धीका रूपमा तेस्रो वरीयतामा आएका छन् ।
एसपी हुँदासम्म खासै चर्चामा नरहेका कार्की महानगरीय अपराध महाशाखाको प्रमुख भएपछि एकाएक चर्चामा आएका अधिकृत हुन् । गुन्डानाइके दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर गरेका उनले महाशाखामा हुँदा थुप्रै अपराधको सफल अनुसन्धान गरेका थिए । हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख रहेका उनी गुन्डानाइके समीरमान बस्नेतलाई पक्राउ गरेपछि पछिल्लो समय चर्चाको शिखरमा छन् ।
एसपीका रूपमा काठमाडौंको प्रहरी प्रमुख, धनुषाको प्रहरी प्रमुख, एसएसपीका रूपमा तत्कालीन अञ्चल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका खनाल नेपाल प्रहरीमा स्मार्ट प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । कुख्यात भारतीय अपराधी बब्लु दुबे पक्राउदेखि गुन्डानाइके कुमार घैंटेको इन्काउन्टरलगायतका सयौं ठूला अपराधहरूको सफल अनुसन्धान गरेका खनाल पनि व्यावसायिक अफिसर मानिन्छन् । हाल महानगरीय ट्राफिक महाशाखाको प्रमुख रहेका खनालले उपत्यकाको जाम हटाउन र सडकबत्ती राख्न व्यापक पहल गरिरहेका छन् । वरीयताको दोस्रो नम्बरमा रहेका खरेल पनि एक व्यावसायिक अधिकृत हुन् । भ्रष्टाचार र अपराधविरुद्ध खुलेरै बोल्ने उनी दुईपटक काठमाडौंको प्रहरी प्रमुख भएर काम गरिसकेका छन् ।
एसपीका रूपमा कास्कीको प्रहरी प्रमुख हुँदा पोखराको गुन्डागर्दीलाई शून्यमा झारेका उनी प्रहरीका एक आइडल अधिकृत मानिन्छन् । काठमाडौंको गुन्डागर्दीदेखि पर्सामा हुने तस्करीको सञ्जाल तोड्न सफल उनी हाल प्रहरी मुख्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् । इन्सपेक्टरदेखि एसएसपीसम्म पहिलो नम्बरमा आएको अधिकृतलाई देउवा सरकारले अन्यायपूर्ण तरिकाले दोस्रो नम्बरमा पु¥याएको थियो ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply