मन्त्रीको बोलीले कर्मचारीमा आक्रोश
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अहिले सर्वत्र छाइरहेका छन् । पूर्ववर्ती सुशील कोइराला नेतृत्व सरकारको बेला सामान्य प्रशासन मन्त्रालय सम्हालिसकेका पण्डितले तत्कालीन समयमा डीभी र पीआरवाला कर्मचारीहरूमाथि कारबाही गर्न कदम चालेपछि उनको सर्वत्र प्रशंसा गरिएको थियो ।
दोस्रोपटक सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका पण्डितले यसपटक पनि कर्मचारी वृत्तमा सुधार ल्याउन प्रयत्न त थालेका छन् । तर, उनको कदमलाई लिएर कर्मचारीहरू आक्रोशित बन्न थालेका छन् । खासगरी, मन्त्रिपरिषद्ले निर्णय नै नगरेका विषयहरू सञ्चारमाध्यमहरूमा बोलेर मन्त्री पण्डितले आफूलाई हलुका तुल्याउने मात्र होइन, कर्मचारीहरूको मनोबल गिर्ने गरी अभिव्यक्ति दिन थालेपछि उनी विवादमा पर्ने सम्भावना बढ्दै गएको छ ।
पछिल्लो समय स्वैच्छिक अवकाश लिन चाहने कर्मचारीका विषयमा उनले बोलेका कुराले कर्मचारीहरूबीच खैलाबैला मात्र मच्चाएको छैन, अधिकांश कर्मचारी उनीप्रति रुष्टसमेत बन्न पुगेका छन् । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले कर्मचारीहरूका निम्ति स्वैच्छिक अवकाशको प्याकेज घोषणा गरेपछि अहिलेसम्म ९ हजार ६ सय ९६ जना कर्मचारीले स्वैच्छिक अवकाश लिन निवेदन दिइसकेका छन् । सम्भवतः आगामी चैत १२ गते यो विषयको छिनोफानो लाग्नेछ ।
तर, मन्त्री पण्डितले शारीरिक र मानसिक रूपले अस्वस्थ भएका कर्मचारीबाहेक अरूले स्वैच्छिक अवकाश लिन नपाउने उर्दी जारी गरेपछि स्वैच्छिक अवकाश लिन चाहने कर्मचारीहरूको अवस्था के हुने हो भन्नेबारे अन्योल बढ्न पुगेको छ । पूर्ववर्ती देउवा सरकारले कर्मचारीहरूको स्वैच्छिक अवकाशसम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित गरी त्यसको अन्तिम टुंगो लाग्न गइरहेको छ । स्वैच्छिक अवकाशसम्बन्धी अन्तिम टुंगो लाग्ने बेला मन्त्री पण्डितले सबै कर्मचारीलाई अवकाश नदिने भनेपछि अन्योल बढ्न पुगेको हो ।
मन्त्री पण्डितले विभिन्न सञ्चारमाध्यमहरूमा स्वैच्छिक अवकाशबारे बोल्दै हिँडे पनि सोसम्बन्धी निर्णय भने मन्त्रिपरिषद्बाट पारित भइसकेको छैन । मन्त्रिपरिषद्बाट पारित नै नभएको विषयमा मन्त्री पण्डितले किन बोल्दै हिँडिरहेका छन् ? अहिले कर्मचारीहरू नै चकित परेका छन् । तर, स्वैच्छिक अवकाशका विषयमा मन्त्री पण्डितले अड्चन ल्याउन खोजे त्यसलाई जवाफ दिन नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन संघले पहल चाल्ने संकेत दिएको छ । मन्त्री पण्डितले स्वैच्छिक अवकाश रोक्न खोजे अदालत जाने तयारीसमेत कांग्रेसनिकट कर्मचारी संघले गरिसकेको सूत्रको दाबी छ ।
यसैगरी, नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कर्मचारीहरूलाई होच्याएर बोलेकोमा पनि कर्मचारीहरू रुष्ट बनेका छन् । मन्त्री पुनले केही दिनअघि कर्मचारीहरूलाई निर्देशन दिने क्रममा कर्मचारीहरूलाई मुख धोएर आउन निर्देशन दिएपछि कर्मचारीहरू असन्तुष्ट बनेका हुन् । मन्त्री पुनले कर्मचारीहरू फोहोरी हुन्छन् भन्ने आशयका अभिव्यक्ति दिएपछि त्यसले कर्मचारी वृत्तमा तरंग ल्याएको थियो ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply