पार्टी एकता नहुँदै खुइल्याउने खेल सुरु हतारो एकतामा माओवादीको ‘बार्गेनिङ’
काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताको अन्तिम तयारीको सन्देशले देशभरका कार्यकर्तामा उत्साह छाइरहेकै बेला दुवै पार्टीका प्रतिस्पर्धी नेताहरू भने एकअर्काको पोलापोल र नेतृत्व खुइल्याउने खेलमा लागेका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण (२३–२५ फागुन) अगावै पार्टी एकताको तयारीका लागि राजनीतिक र सांगठनिक कार्यदलले तयारीकै काममा लागिरहेका नेताहरू नेतृत्व खुइल्याउने र एकअर्काको पोलापोलको खेलमा लागेका हुन् । यस्तो खेलमा विशेषतः माओवादी केन्द्रका नेताहरू बढी सक्रिय छन् । एकीकृत पार्टीमा ‘स्पेस’ खोज्दै प्रभाव जमाउन खोजिरहेका उनीहरू प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रिझाउन नियमित बालुवाटार र खुमल्टार धाइरहेका छन् ।
पछिल्लो प्रसंग संगठन तथा विधान कार्यदलको हो । गत बिहीबार बिहानदेखि शनिबार बिहानसम्म दुई दिन दुई रात लगातार समय खर्चिएर कार्यदलका चार जना सदस्यले गोकर्ण रिसोर्टमा एकीकृत पार्टीको विधान मस्यौदालाई करिबकरिब अन्तिम रूप दिए । त्यस काममा मन्त्री नबनेका एमाले नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा सहभागी थिए । कार्यदलका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित मन्त्रीहरू व्यस्त रहँदा कार्यदलको काम नै अस्तव्यस्त बनेकाले नेताहरूले छिटो कार्यसम्पादन गर्न एकान्त स्थान रोजेको थिए । जहाँ उनीहरूबीच आन्तरिक कुरादेखि पोल खोलाखोलसमेत भयो । ७७ वटाको प्रारम्भिक मस्यौदामा काटकुट गरेर थपघट गर्न मिलाउन तर्क गर्नैप¥यो । त्यसक्रममा माओवादीतर्फबाट एक जना मात्र सहभागी भएका नेता शर्मालाई कार्यदलमा रहेका अन्य प्रतिस्पर्धी नेताहरू वर्षमान पुनदेखि मन्त्री बनेका कृष्णबहादुर महरा र शक्ति बस्नेतको कुरा काट्न सहज भयो । एमाले नेताहरूले जब कुनै दफा मिलाएर पास गर्न खोज्यो तब शर्माले कहिले महरा त कहिले पुनको नाम लिएर उनीहरूले किचलो गर्ने, अध्यक्ष प्रचण्डलाई घेराबन्दी गरेर अप्ठ्यारो पार्ने भन्दै कुरा काटिरहन्थे । शर्माको निरन्तरको यस्तो शैली देखेपछि एमाले नेताहरूले निष्कर्ष निकाले, माओवादीभित्र समकालीन नेताहरूबीच नीति–सिद्धान्तको होइन, तल्लो स्तरकै प्रतिस्पर्धा रहेछ । त्यसो त कार्यदलले एकीकृत पार्टीमा केन्द्रदेखि वडाभन्दा तल प्रारम्भिक तह (पहिलेको गाउँ विकास समितिको वडा) सम्म कमिटी निर्माण गर्न सकिने १० तहको सांगठनिक संरचना टुंगो लगाएको छ । प्रवास कमिटीहरूलाई पार्टी कमिटीको रूपमा मान्यता नदिने, जनसंगठनको एकता गर्दा नाम संक्षिप्त बनाउनेदेखि केन्द्रीय कमिटीभन्दा तल राष्ट्रिय प्रतिनिधि परिषद्को व्यवस्था गर्नेसम्मको विषय टुंगो लगाएका छन् । तर, केन्द्रीय कमिटी सदस्यसहित कार्यकारी पदमा उठ्न ७० वर्ष पार गरेको हुन नहुने, केन्द्रीय कमिटीसहित सबै तहका कमिटीको संख्या कति हुनेजस्ता केही महŒवपूर्ण सवाल भने टुंगो लगाउन सकेको छैन । संख्याका विषयमा प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूकै चासो रहेकाले संगठन र विधानसम्बन्धी कार्यदलले संख्या खाली राखेरै प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ । त्यसबारे पार्टी एकता संयोजन समितिले नै अन्तिम टुंंगो लगाउने एक नेताले बताए ।
उता, अन्तरिम राजनीतिक प्रतिवेदन लेखन समितिले पनि एकीकृत पार्टीको अन्तरिम दस्तावेज लगभग तयार पारेको छ । अन्तरिम कालका लागि मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहने, जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई महाधिवेशनसम्म छलफलबाट टुंगो लगाउने, अन्तरिम कालका लागि जनताको बहुदलीय जनवादको अन्तरवस्तुलाई कार्यक्रमका रूपमा स्वीकार गर्ने, झापा आन्दोलन, २०४६ को जनआन्दोलन, जनयुद्ध, २०६२÷६३ को जनक्रान्तिले हासिल गरेका परिणामलाई उपलब्धिका रूपमा स्वीकार गर्नेजस्ता आधारभूत विषयमा सहमति गरी अन्तरिम राजनीतिक प्रतिवेदन करिब टुंगो लगाएको हो । बुधबार (आज) बस्ने बैठकबाट प्रतिवेदन टुंगो लगाउने तयारी छ ।
यसैबीच, प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकतालाई अन्तिम रूप दिने तयारीले तीव्रता पाएसँगै माओवादीले भने यही हतारको मौकामा एकीकरणमा सम्मानजनक हैसियत भन्दै ‘बार्गेनिङ’को विषय बनाउन खोजेको विश्लेषण गर्न थालिएको छ । तत्काल एकता गरेर भारत भ्रमण गर्दा शक्तिशाली नेताका रूपमा बेग्लै सकारात्मक सन्देश प्रवाहित हुने निश्चित भएका कारण प्रधानमन्त्रीको मनोविज्ञान बुझेर एकता ५०÷५० को संख्यामा हुनुपर्ने सर्त अघि सारेको छ । अन्तिम घडीमा प्रचण्ड स्वयंले अघि सारेको यस्तो सर्तलाई धेरै गम्भीर रूपमा लिइएको छ । चुनावमा ६०÷४० को अनुपातमा सिट बाँडफाँट, मुख्यमन्त्री चयनदेखि राष्ट्रिय सभाको चुनावमा ७०÷३० को अनुपातमा सिट बाँडफाँट टुंग्याउन मञ्जुर गरेको माओवादी केन्द्रले अन्तिम घडीमा ५०÷५० को अनुपातचाहिँ कमजोर मनोविज्ञानका साथ एकतापछि बलियो उपस्थितिमा रहने चाहनाबमोजिम ‘बार्गेनिङ टुल्स’का रूपमा आएको टिप्पणी गर्न थालिएको छ । एकता जुन दलको जति शक्ति र सामाथ्र्य छ त्यस आधारमा हुने हो । चुनावमार्फत कसको कति शक्ति र सामथ्र्य परीक्षण भइसकेको मात्र होइन, माओवादीको सांगठनिक अवस्था कस्तो छ भन्ने बाहिर उजागर भइसकेको परिप्रेक्ष्यमा ५०÷५० को सूत्र कतै अन्तिम घडीमा एकता भाँड्ने उद्देश्यले ल्याइएको त होइन भन्ने गम्भीर आशंका पनि गरिएको छ । माओवादीले साँच्चै यस्तै प्रस्ताव राख्यो भने एकता लम्बिने मात्र होइन, नहुने खतरासमेत देखिन्छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply