अन्योलले डोलिडार नै डामाडोल
काठमाडौं । प्रादेशिक संरचना लागू भइसकेको हुँदा केही सरकारी कार्यालय र विभाग खारेज भइसकेका छन् । तर, अर्बौंको बजेट रहेको स्थानीय पूर्वाधार तथा ग्रामीण कृषि सडक विभाग (डोलिडार) लाई खारेज गर्ने वा राख्ने भन्ने विषयमा अझैसम्म अन्योल देखिएको छ ।
अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको डोलिडारलाई खारेज गरेर सो विभागमा कार्यरत कर्मचारीहरूलाई स्थानीय तहमा पठाउने योजना बने पनि केही व्यक्तिको चलखेलका कारण अन्योल छाउन पुगेको हो । अन्योलकै कारण डोलिडारले आगामी वर्षका लागि बजेट बनाउन सकेको छैन । डोलिडारका कर्मचारीहरू कार्यालयमा जाने र हाजिर गरेर दिन कटाउन बाध्य छन् ।
आगामी जेठमा बजेट आउने भएको हुँदा अहिले सबै सरकारी कार्यालय धमाधम बजेट बनाउन लागिपरेका छन् । तर, डोलिडार रहने वा नरहने भन्नेबारे अन्योल कायमै रहेको हुँदा बजेट बन्न नसकेको हो । त्यसो त अर्थ मन्त्रालयले पनि आगामी वर्षका लागि सरकारी कार्यालयहरूलाई बजेट छुट्ट्याउने क्रममा डोलिडारका लागि बजेट नै नराखिएको कुरा बाहिर आएपछि डोलिडारका कर्मचारीहरूले बजेट बनाउने तत्परता नदेखाएको बताइन थालिएको छ ।
डोलिडारलाई खारेज गरेर त्यहाँ कार्यरत कर्मचारीहरूलाई स्थानीय तहमा पठाउनुपर्ने कुरा पहिलेदेखि नै उठेको हो । तर, संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेशकुमार थपलियालाई अघि सारेर डोलिडारका कर्मचारीहरूले नै डोलिडार खारेज गर्न नहुने लबिइङ गर्दै आएका छन् । डोलिडार खारेज गर्दा कतिपय विदेश दातृ निकायहरूले दिँदै आएको अनुदान र आर्थिक सहयोग रोकिने भएको हुँदा डोलिडारलाई कायम राख्नुपर्ने पक्षमा सचिव थपलिया उभिएको बताइन्छ ।
सचिव थपलियालाई मनाउनेहरूमा डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठ, उपमहानिर्देशक पवनकुमार श्रेष्ठलगायत अरू कर्मचारीहरू सक्रिय रहेका छन् । सो मन्त्रालयका सचिव, उपसचिवहरूले यसअघि वर्षमा ६÷७ पटक विदेश घुम्ने अवसर डोलिडारअन्तर्गतकै विभिन्न आयोजनाबाट पाउँदै आएका थिए । डोलिडारमा सानाठूला गरी २१ वटा आयोजना रहेको हुँदा ती आयोजनाहरूमार्फत मन्त्रालयका सचिव, सहसचिव र उपसचिव तहका कर्मचारीहरूले विदेश घुम्ने अवसर पाउँदै आएका हुन् ।
त्यसो त सिँचाइ र भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत इन्जिनियरहरूले पनि डोलिडार हटाउनुपर्ने विषयमा पहिलादेखि नै लबिइङ गर्दै आइरहेका छन् । डोलिडारका इन्जिनियरहरूलाई स्थानीय तहमा पठाएपछि केन्द्रमा आफूहरूको रजाइँ हुने ठानेर सिँचाइ र भौतिक पूर्वाधारका कर्मचारीहरू डोलिडारका इन्जिनियरलाई स्थानीय तहमा पठाउनुपर्ने पक्षमा लागिपरेका छन् । डोलिडार खारेज नहुँदा सो विभाग आगामी असारदेखि भौतिक पूर्वाधार मन्त्रालयमा गाभिने सम्भावना रहेको छ ।
अहिले डोलिडारको केन्द्रमा मात्रै २६९ इन्जिनियर छन् । त्यस्तै, यसअघि जिल्ला प्राविधिक कार्यालयमा समेत गरी १ हजार २८९ जना कर्मचारी थिए । तर, जिल्लास्थित प्राविधिक कार्यालय खारेज भएको हुँदा जिल्लाका कर्मचारीहरूले अब स्थानीय तहमा गएर काम गर्नुपर्ने हुन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply