अखिल र युवासंघमा नेतृत्वका लागि रडाको
काठमाडौं । एमालेका दुई शक्तिशाली भ्रातृ संगठन अनेरास्ववियु र युवासंघ नेपालमा अहिले नेतृत्व परिवर्तनको चर्को बहस सुरु भएको छ । अनेरास्ववियु अध्यक्ष नवीना लामा र युवासंघ अध्यक्ष राजीव पहारी दुवै जना क्रमशः संघीय संसद् र प्रदेश संसद्को सदस्य बनेपछि उनीहरू दुवैलाई नेतृत्व छाड्न दबाब मात्रै परेको छैन, उनीहरूपछि ती संगठको नेतृत्व कसले लिने भन्नेमा पनि निकै ठूलो माथापच्ची सुरु भएको छ ।
अनेरास्ववियुमा लामापछि नेतृत्वका लागि उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामासँगै सुनीता बरालले पनि इच्छा देखाएकी छन् । महासचिव ऐन महर र सचिव सुदेश पराजुलीले पनि अध्यक्षका लागि आ–आफ्नो लबी सुरु गरेका छन् । एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको टिमबाट २२औं महाधिवेशनमा विजयी भएका आचार्य, बर्तौला, लामा, बराल र महरले अध्यक्षमा दाबी गरेपछि त्यहाँभित्र पनि थप उपगुट देखिएपछि कसले बाजी मार्ने भन्ने दौड सुरु भएको छ ।
२२औं महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट अध्यक्षसँगै उपाध्यक्ष र महासचिवमा कोही पनि विजयी भएका थिएनन् । त्यसकारण पनि नेपाल समूहबाट अहिले सबैभन्दा बढी सचिव पराजुलीले अध्यक्षका लागि दाबी गरेका छन् । नेपाल समूहबाट विजयी भएका सचिवहरू ओसिम आलम, आरती लामालगायतले अहिले अध्यक्ष होइन, महासचिवको मात्र दाबी गरेका छन् ।
ओली समूहबाट विजयी सचिवहरू समिक बडाल, आरसी लामिछाने, मकर खड्का, कोषाध्यक्ष झपिन्द्र खत्रीलगायतले पनि अहिले महासचिवको दाबी गरेका छन् ।
सात दाबेदारमध्ये को सिनियर ?
अनेरास्ववियुमा अहिले अध्यक्षको दाबी गर्ने सातमध्ये सबैभन्दा सिनियर आचार्य नै हुन् । उनी चितवनमा सम्पन्न १८औं महाधिवेशबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका हुन् । त्यो निर्वाचनमा बर्तौला पराजित भएका थिए ।
बर्तौला, महर, लामा, पराजुली सबै पोखरामा सम्पन्न १९औं महाधिवेशबाट केन्द्रीय कमिटीमा आएका हुन् । बराल भने पोखरा महाधिवेशपछि मनोनीत भएकी हुन् । त्यसअघिसम्म उनको कुनै चर्चा नै थिएन ।
२०औं महाधिवेशनमा सचिवालय भनेका उनीहरू २१औं महाधिवेशनमा भने फरकफरक जिम्मेवारीमा रहे । आचार्य कोषाध्यक्ष निर्वाचित भए भने बर्तौला सचिव र महर उपाध्यक्ष निर्वाचित भए । बराल सचिवालय मै थन्किइन् । लामा केही समय अर्कै पार्टीमा लागे । २२औं महाधिवेशनमा महर एक तह घटुवा भएर महासचिव निर्वाचित भए भने आचार्य र बर्तौला उपाध्यक्ष बने । लामा पनि पछि अनेरास्ववियुमै फर्किए र उपाध्यक्ष बने । बरालचाहिँ छलाङ मार्दै सचिवालयबाट एकैचोटि उपाध्यक्ष बनिन् । पराजुली पनि सचिवालय सदस्यबाट सचिव बने ।
यस्तो छ घले दौड ?
कार्यकर्ताभन्दा नेता बढी बन्ने रोग लागेको अनेरास्ववियुमा अहिले गुटको मात्रै होइन, ‘म भए राम्रो अरू भए खराब’ भन्ने अर्को महारोगले गाँजेको छ । नेताको नाम भजाएर नेतृत्व हात पार्ने खेलोमेलोको दौडधुप अहिले हेर्न लायक बनेको छ । यस्तो दौडमा महर निकै अघि देखिएका छन् । अहिले महरका नाममा ‘केपी ओलीको रहर अध्यक्षमा ऐन महर’ भन्ने पेज नै तयार भएको छ । निकै सक्रिय त्यो पेज महरले नै सञ्चालन गर्न लगाएको अरू नेताहरूको आरोप छ । ‘हाम्रा केही साथीको निकै राम्रो दौडधुप सुरु भएको छ,’ एक पदाधिकारीले भने, ‘कतिपय साथीहरूले त हाम्रो पार्टी अध्यक्षको रहर नै प्रकट भएको भन्दै नक्कली पेज चलाउन थाल्नुभएको छ ।’
उनले थपे, ‘हाम्रो सम्माननीय प्रधानमन्त्री पार्टी अध्यक्ष केपी ओलीलाई त्यस्तो रहर गर्ने फुर्सद छ जस्तो मलाई लाग्दैन । उहाँ हामी सबैको अविभावक हुनुहुन्छ । देश बनाउने अभियानमा लाग्नुभएका उहाँले घरमा भएका धेरै बच्चामध्ये एउटा अलिक बढी चकचके भयो एउटा चकलेट दियो भने मान्ला कि भनेर चकलेट दिनुभयो होला, अब त्यसैलाई उहाँ मेरो मात्रै अविभावक भनेर कुदेर कहाँ हुन्छ ?’ उनले संगठन विधि र विधानले चल्ने पनि प्रस्ट पारे । ती नेताले लामो योगदान गरेर आएकाहरूलाई पन्छाएर टपक्क टिप्ने कुरा सम्भव नभएको दाबी गरे । ‘तल झरेर पनि क्रस गरेर पनि पद लिने तर्क उपयुक्त होइन,’ उनले भने, ‘यो संगठनमा गरिएको डिस्टर्ब हो ।’
कसको पक्षमा को ?
सात अध्यक्षका दावेदार मध्ये अहिले सातै जना सकेसम्म आफू नै अध्यक्ष बन्नुपर्ने लबिङमा छन् । पदाधिकारी र सचिवालय सदस्यहरूले पनि कसलाई समर्थन गर्नेभन्दा पनि आफू कति सुरक्षित भन्ने गणितमा समय बर्बाद बनाएका छन् ।
लामा अध्यक्ष निर्वाचित भएको केही महिनापछि गुटभित्रै विभाजन भएपछि लामाको पक्षमा उपाध्यक्षहरू आचार्य र लामासँगै सचिवहरू मकर खड्का, कोषाध्यक्ष झपेन्द्र खत्री लागेका थिए । उपाध्यक्ष बर्तौलासँगै बराल अनि महासचिव महर एक ठाउँमा थिए । सचिवहरू लामिछाने र बडाल पनि महरकै पक्षमा थिए ।
लामा समूह माधव नेपाल समूहसँग नजिक भएपछि अखिलको राजनीति झन रोचक बनेको थियो । पछिल्लो समय बर्तौलाले समेत आफ्नै गुट बनाएपछि महरको गुटलाई खुलेर समर्थन गर्नेमा बराल र बडाल मात्र रहे । लामिछाने पनि त्यति धेरै खुलेनन् ।
१४६ केन्द्रीय कमिटीमा अहिले ६२ सदस्यीय सचिवालय रहेको छ । सबैले आ–आफ्नो पक्षमा पल्लाभारी रहेको भने पनि अवस्था त्यस्तो छैन ।
अखिलमा उपेन्द्र काण्ड
पछिल्लो समय अखिलभित्र उपेन्द्र शाही काण्डले पनि निकै चर्को रूप लिएको छ । अखिलभित्रै ‘माफिया’को छवि बनाएका सचिवालय सदस्य शाहीले विभिन्न बहानामा पैसा असुलेको भन्दै संगठनले कारबाही गरेको थियो । उनले भर्नाको नाममा धेरैको लाखौं पैसा खाएको भन्दै संगठनमा उजुरी परेपछि अखिलले उपाध्यक्ष बर्तौलाको संयोजकत्वमा छानबिन कमिटी नै बनाएको थियो । त्यही कमिटीले कारबाही गरेको केही महिनापछि फेरि उनको कारबाही फिर्ता भएपछि त्यहाँ पनि निकै ठूलो पैसाको खेलोमेलो भएको अखिल वृत्तमा चर्चा छ ।
नविनाले बर्तौला छान्दा सुनीता ठुस्किइन्
महरको सबैभन्दा नजिक देखिएकी उपाध्यक्ष बराल सकेसम्म आफू अध्यक्ष बन्ने नभए महरलाई अध्यक्ष बनाएर आफू महासचिव बन्ने दाउमा छिन् । देश दौडाहामा पनि निकै अघि देखिएकी बराल पनि प्रधानमन्त्री ओलीकै समर्थनमा आफू शक्तिशाली बनेको भ्रम छर्दै हिँडेकी छन् ।
तर, अध्यक्ष लामाले उनलाई भन्दा बर्तौलालाई बढी महŒव दिएपछि राजधानीमा केही दिनअघि आयोजित एक कार्यक्रममा उनले चर्तिकला नै देखाइन् । एउटा विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष लामासँगै, बर्तौला र बराल पनि सहभागी थिए । लामाले कार्यक्रममा अध्यक्षता आफूले नगर्ने भन्दै बर्तौलालाई बनाएपछि उनी रातोपिरो भएर कार्यक्रम नै बहिष्कार गरेर हिँडेकी थिइन् । उनले लामाले बर्तौलालाई अघि बढाएको अरोप नै लगाएकी थिइन् ।
युवा संघमा पनि त्यस्तै रोइलो
समानन्तर कमिटीको चेतावनी
एमालको अर्को भ्रातृ संगठन युवासंघको रोइलो पनि अनेरास्ववियुको भन्दा फरक छैन । ६ महिनाभित्र महाधिवेशन गर्ने सर्तमा कार्यवाहक अध्यक्ष बनेका राजीव पहारीले अध्यक्ष सम्हालेकै तीन वर्ष भइसकेको छ । तर, अहिलेसम्म उनले युवा संघ छाड्ने संकेत गरेका छैनन् । सांसद भइसक्दा पनि यो र त्यो बहाना बनाएर पहारी कुर्सीमा टाँसिएपछि अहिले युवा संघमा उनलाई हटाउन मोर्चाबन्दी नै सुरु भएको छ । पहिलोपटक यही वैशाख ३ गतेबाट सुरु केन्द्रीय कमिटी बैठकले पहारीलाई बिदा गर्ने निश्चितजस्तै देखिएको छ । तर, उनी भने अझै पनि लिसोजस्तै टाँसिएका कारण इन्चार्जसमेत हैरान भएका छन् । त्यसो त च्यासलमा जारी बैठकमा इन्चार्ज महेन्द्र पाण्डेले पहारीले युवासंघ नछाड्ने संकेत गरेपछि एक महिनाको समय माग गरेका थिए । तर, उनको मागलाई सबैले विरोध गरेपछि पाण्डे थप पीडामा परेका छन् ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम प्रयास भइरहेका बेला एमालेको युवा भ्रातृ संगठन युवासंघ नेपालभित्र अध्यक्ष राजीव पहारीको राजीनामा विवाद चर्किएको छ ।
सोमबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पहारीले तत्काल राजीनामा दिएर बिदा लिने कि महाधिवेशन गरेर ? भन्नेमा सोमबारको बैठकमा विवाद देखिएपछि मंगलबार बस्ने गरी बैठक स्थगित भएको थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीकै उपस्थितिमा पूर्वअध्यक्ष महेश बस्नेत र निरु पाललगयातले दबाब दिएर अध्यक्ष पहारीलाई महाधिवेशन नै नगराई राजीनामा गराउन खोजेको भन्दै उपाध्यक्ष दिलु पन्त र सचिव नरेश शाहीलगायतको समूहले बैठकमा विरोध जनाएका थिए । विवादबीच एमाले पोलिटब्यूरो सदस्य तथा युवासंघ इन्चार्ज महेन्द्रबहादुर पाण्डेले केन्द्रीय कमिटी बैठक बीचैमा स्थगित भएको घोषणा गरेका थिए ।
पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपालनिकट रहेका पन्त र शाहीको समूहले महाधिवेशन नै नगराई पहारीको बिदाइ भए समानान्तर कमिटी बनाउने तयारी गरेका छन् । ‘संघका पूर्वअध्यक्षहरूले पार्टी अध्यक्ष र इन्चार्जलाई समेत मुछेर विधि र पद्धतिबाहिर गएर वर्तमान अध्यक्ष पहारीलाई बिदा दिने र महाधिवेशन नगराई आफूअनुकूलको अर्को अध्यक्ष बनाउने तयारी गर्नुभएकाले षड्यन्त्रमूलक योजना हामी मान्दैनौं,’ उपाध्यक्ष पन्तले भनिन्, ‘एक महिनाभित्र तत्काल महाधिवेशनको निर्णय भएन भने हामी अन्याय सहँदैनौं, समानान्तर कमिटी बनाउँछौं ।’
केन्द्रीय कमिटी बैठककै बीचमा पहारी समूहको प्रतिष्ठानमै, पूर्वअध्यक्ष बस्नेत र पाल समूहमा रहेका उपाध्यक्ष रमेश पौडेल र महासचिव किरण पौडेल समूहको पशुपति प्लाजा र नेपालनिकट पन्त र शाही समूहको अर्याल होटलमा छुट्टाछुट्टै बैठक भएको थियो । पहारी समूहमा चन्द्र लामा, हिदम लामा र रमेश आचार्यलगायत छन् । संघ स्रोेतका अनुसार आइतबार राति प्रधानमन्त्री ओलीले अध्यक्ष पहारीलाई बोलाएर एक महिनाभित्र महाधिवेशन गराएर बिदा लिन निर्देशन दिएका थिए । तर, सोमबार बिहान पूर्वअध्यक्ष बस्नेत र पाललगायतको उपस्थितिमा भएको सहमतिपछि पहारीलाई चालू बैठकमै राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्न निर्देशन आएको स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply