एकता टुंग्याउने शीर्ष नेताको कसरत आज सचिवालय बैठक
काठमाडौं । केन्द्रीय एकता सम्पन्न भएको झन्डै चार महिना पुग्न लाग्दासमेत तल्ला कमिटी र जनसंगठनमा एकीकरण हुन नसक्दा असन्तुष्टि बढ्न थालेपछि नेकपाका शीर्ष नेताहरूले गम्भीर गृहकार्य अघि बढाएका छन् ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालले द्विपक्षीय र त्रिपक्षीय गृहकाय तीव्र बनाएका छन् । एकीकरण कार्यदलहरूको प्रस्तावमा सर्वसम्मति नभएकाले शीर्ष नेताहरूले एकीकरण छिटो टुंग्याउन नयाँ विधि, प्रक्रिया र मापदण्डको खोजी गर्दै गृहकार्य जारी राखेका छन् । केन्द्रीय सचिवालय र स्थायी समितिमा एकीकरणसम्बन्धी कार्यदलको प्रस्तुत गर्नुभन्दा पहिल्यै विधि र प्रक्रियाको गृहकार्य गर्ने जिम्मेवारी दोस्रो तहका नेताहरूलाई दिइएको छ । उच्च स्रोतका अनुसार महासचिव विष्णु पौडेलसहित सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी समिति सदस्यद्वय जनार्दन शर्मा र वर्षमान पुनले विधि र प्रक्रिया तय गर्न गृहकार्य गरिरहेका छन् । केही दिनअघि उनीहरूले कुपण्डोलस्थित समिट होटलमा दुई चरण छलफल गरेका थिए, जहाँ पूर्वएमाले र पूर्वमाओवादी केन्द्रले चुनावी तालमेलका लागि सिट बाँडफाँट टुंगो लगाएका थिए । भदौ अन्तिमतिर अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जानुअगावै एकीकरण टुंग्याउने नेकपाको योजना छ ।
दोस्रो तहका नेताहरूको गृहकार्य जारी रहँदा यसबीचमै अध्यक्षद्वय ओली र प्रचण्डले लगातार छलफल जारी राखेका छन् । प्रचण्डको भारत भ्रमणको अघिल्लो दिनको छलफलमा वरिष्ठ नेता नेपाल पनि सहभागी थिए । प्रचण्डको भारत भ्रमणकै बेला अध्यक्ष ओली र नेपालबीच पनि छलफल भएको थियो । गृहकार्य धेरै अघि बढेकाले एकता टुंगो लगाउन बुधबार केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । दुई अध्यक्षबीच सोमबारको छलफलपछि पार्टी सचिवालय बैठक बोलाउने समझदारी भएको हो । सचिवालयका लागि पार्टी एकता, अध्यक्ष प्रचण्डको भारत भ्रमण एजेन्डा राखिएका छन् । यसअघि २४ भदौमा सचिवालय बैठक बोलाउने समझदारी भए पनि गृहकार्य नपुगेको भन्दै औपचारिक आह्वान गरिएको थिएन ।
प्रदेश र जिल्ला कमिटी तथा जनसंगठनसम्बन्धी एकीकरण कार्यदलले समयमै प्रतिवेदन बुझाएका छैनन् भने कतिपय सिफारिस प्रतिवेदनमाथि विवाद छ । तल्ला कमिटी र जनसंगठन एकीकरण कार्यदलले सिफारिस गरेको प्रतिवेदनलाई जस्ताको तस्तै पारित गर्दा विवाद चर्किने देखिएपछि अध्यक्षद्वय ओली र प्रचण्डले वरिष्ठ नेता नेपालसँग पनि परामर्श गरिरहेका छन् । असन्तुष्टहरूले केन्द्रीय कार्यालयमा धमाधम उजुरी हालेपछि विधि, प्रक्रिया र मापदण्डका आधारमा प्रदेश र जिल्ला अध्यक्ष तथा सचिव चयन गर्नुपर्ने नेतृत्वमाथि दबाब छ ।
एकीकरणमा ढिलाइसँगै असन्तुष्टि बढ्दै जाँदा यसअघि दुई पटक तोकिएको केन्द्रीय सचिवालय र स्थायी समिति बैठक स्थगित गरिएको थियो ।
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply