टेलिकमको कवाडीमा ठूलै ‘डिल’
काठमाडौं । छाउनीस्थित नेपाल टेलिकम परिसरमा रहेका कवाडी उपकरण बिक्री सम्बन्धमा खोलिएको टेन्डरमा ठूलो आर्थिक चलखेल सुरु भएको छ । ब्याट्रीलगायत अन्य उपकरणजन्य कडाडी सामान उठाउन टेलिकमको वायरलाइन तथा ग्रामीण सेवा निर्देशनालयले टेन्डर आह्वान गरेकोमा कम रकम बोलकबोल गर्ने कम्पनीलाई ठेक्का दिने चलखेल सुरु भएको बताइन्छ ।
सबै विवरण प्राप्त भइसकेर पनि ‘अब एकदुई दिनमा मात्र टुंगिने’ भन्दै टेलिकमका कर्मचारीहरूले आर्थिक डिलिङ सुरु गरेको टेलिकम स्रोतले जानकारी दिएको छ । सो सूचनापछि नौवटा कम्पनीहरूले आवेदन पेस गरेका थिए । त्यसमध्ये पहिलो नम्बरमा बढी रकम दाबी गर्ने कम्पनी श्री स्क्रेप बाई एन्ड सेल हो । उसले ७ करोड रुपैयाँ कबोल गरेको छ भने दोस्रो बढी अंक दाबी गर्ने कम्पनी कुलायन ब्याट्री उद्योग लिमिटेड हो । उसले ६ करोड ११ लाख ७४ हजार दाबी गरेको छ । त्यसैगरी, तेस्रो बढी रकम दाबी गर्ने देपुता इन्जिनियरिङ कम्पनी हो । उसले ५ करोड ७१ लाख रुपैयाँ कबोल गरेको छ । जसका सञ्चालक राजकुमार अग्रवाल हुन् । सरकारलाई करिब डेढ करोड रुपैयाँ फाइदा हुने देख्दादेख्दै अग्रवाललाई नै टेन्डर दिने गरी काम अघि बढाउनुमा आर्थिक चलखेलले काम गरेको बताइएको छ ।
अग्रवाललाई नै टेन्डर पार्ने गरी प्रबन्ध मिलाउन टेन्डर फर्मको १० नम्बर पानामा दफा ६ को ‘ख’ र ‘ग’मा नयाँ बुँदा थप गरी ब्याट्री कम्पनी आफ्नै भएको हुनुपर्ने र ३ वर्षमा ७ करोडको कारोबार देखाउनुपर्ने सर्त राखिएको बताइएको छ । पछिल्लोपटक यसरी थपिएको सर्त अग्रवालका लागि हेरेर थपिएको टेलिकम स्रोतले बतायो ।
त्यसो त ब्याट्रीमा सिसा मात्र हुन्छ भनेर त्यो डिस्पोजलका लागि ब्याट्री उद्योग नै चाहिन्छ भन्ने सर्त थपिए पनि त्यो तर्क वैज्ञानिक नभएको बताइएको छ । ब्याट्रीभित्र पनि प्लास्टिक, कागज र अन्य केमिकलसमेत हुने र ब्याट्री कारखाना आफ्नै नहुनेले अन्य ब्याट्री कम्पनीसँग सहकार्य गरेर पनि डिस्पोजल गर्न सक्नेछ । तर, यो कुरालाई नजर अन्दाज गरी नयाँ सर्त थपिनुमा ठुलै आर्थिक डिल भएको स्रोतको दाबी छ ।
अग्रवालको टेलिकमलगायत अन्य क्षेत्रसँग लामो समयदेखिको सेटिङ रहेकाले उनले नै सो टेन्डर हात पार्न विभिन्न चलखेल गरिरहेको थाहा भएको छ । टेलिकमका कर्मचारीहरू पनि उनको प्रलोभनमा परेकाले सो ठेक्कामा विभिन्न सर्त तथा बुँदाहरू थपेरै पनि अग्रवाललाई नै दिने र उनलाई सो ठेक्का मिलाउन नसकेमा ठेक्का नै रद्द गर्ने योजनामा रहेको बुझिएको छ । स्मरणीय छ, अग्रवाललाई नै सो ठेक्का मिलाउन नसकेका कारण यसअघि २०७० र २०७४ सालमा गरी दुईपटक नै रद्द भइसकेको छ ।
टेलिकमको आन्तरिक मूल्यांकनमा सो पुरानो ब्याट्रीको मूल्य २ करोड २८ लाख रुपैयाँ कायम गरिएको थियो । तर, त्यति मूल्य हुँदाहुँदै पनि ७ करोड रुपैयाँ तिर्न तयार हुने पक्षलाई टेन्डर दिएर राजस्व बढाउनुपर्नेमा पुन अग्रवाललाई दिने गरी गृहकार्य अघि बढाइएको छ ।
पछिल्लो समय गोरखापत्र दैनिकमा टेलिकमको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयमार्फत एउटा सूचना जारी भएको थियो । जसमा साढे २ करोडको लिलामका लागि ७ करोड रुपैयाँको कारोबार गरेको विवरण बुझाउनुपर्ने सर्त उल्लेख गरिनुका साथै ब्याट्री कारखानाको सिफारिससमेत ल्याउनुपर्ने सर्त राखिनुले बदनियत प्रस्ट भएको बताइएको छ ।
सो टेन्डर प्रक्रियामा राजकुमार अग्रवाल नामका व्यक्तिलाई पूर्वयोजनाअनुसार टेन्डर पार्न खोजिएको आरोप छ । त्यसका लागि नियममै नभएका सर्तहरू विनियममा थप गरी सर्तबन्दी गरेको बताइएको छ । स्मरणीय छ, टेलिकममका यस्ता कवाडी सामानहरूमा करोडौंको घोटाला हुँदै आएको छ । टेलिकमका कवाडी सामानहरू सेटिङ मिलाएर टेन्डर लिने र करौंडो रकम कमिसन बाँड्ने रैथाने समूह टेलिकममा पहिलेदेखि नै रहेको बताइन्छ ।
सो ठेक्कामा यी तीनबाहेक जगदम्बा ब्याट्री उद्योग प्रालि गौर, सेल ट्रोनिक सोलुसन प्रालि, आईएमएस कन्सल्टेन्सी प्रालि, ओमश्री शक्ति टे«डर्स, भृगु कन्ट्रक्सन र स्टार मेटलले आवेदन दिएका छन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply