सामान्यका कर्मचारीहरूको बिन्दास टुर
काठमाडौं । सिंगो मन्त्रालयलाई नै रित्तो तुल्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू विदेश भ्रमणमा निस्किएका छन् । एक हप्ताको अवधिमा सो मन्त्रालयका ४७ कर्मचारी विदेश गइसकेका छन् भने यो वर्षभित्र करिब २ सय कर्मचारी विदेश जाने सूचीमा चढेका छन् ।
सो मन्त्रालयका ६ सहसचिवमध्ये तीन जना अहिले विदेशमै छन् । अरू तीन जना सहसचिव पनि विदेश गएका सहसचिवहरू फर्किएपछि विदेश जाने तयारीमा छन् । कर्मचारीहरू पालैपालो विदेश भ्रमणमा जाने क्रम बढे पनि ‘सुशासन कायम गर्न सक्षम’ ठानिएका मन्त्री लालबाबु पण्डितले पनि कर्मचारीहरूको विदेश भ्रमणप्रति कुनै चासो देखाइरहेका छैनन् ।
गएको आइतबार मात्रै सहसचिव रुद्रसिंह तामाङको नेतृत्वमा आठ जना कर्मचारी फिलिपिन्स उडेका थिए । फिलिपिन्समा आयोजित एउटा कार्यक्रममा भाग लिन एक हप्ताका निम्ति ती कर्मचारीहरू गएका हुन् । त्यसो त मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव तामाङ धेरैपटक विदेश भ्रमण गर्ने कर्मचारीमा गनिन्छन् । यसअघि काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत हुँदा उनले एक वर्षमा २८ पटकसम्म विदेश गएर रेकर्ड नै कायम गरेका थिए । सहसचिव तामाङसँगै मन्त्री पण्डितको निजी सचिव रमेश अधिकारी पनि फिलिपिन्स गएका छन् ।
केही दिनअघि नै मन्त्रालयका सहसचिव भूपाल बरालको नेतृत्वमा १८ कर्मचारी दक्षिण कोरिया उडेका छन् । सहसचिव बरालसँगै जानेहरूमा शाखा अधिकृतद्वय खिलराज राई र रवीन्द्र थापा पनि छन् । राई त यस्ता भाग्यमानी कर्मचारी हुन्, चीन घुमेर फर्किएलगत्तै उनी कोरियाका लागि उडेका छन् । राई एक हप्ताअघि मात्रै चीन भ्रमण सिध्याएर आएका हुन् ।
केही कर्मचारी चीन घुमेर आएको एक हप्तापछि नै अर्का सहसचिव पुरुषोत्तम नेपालको नेतृत्वमा अर्को टोली केही दिनअघि नै चीनतिर उडिसकेका छन् । सहसचिव नेपालको नेतृत्वमा २१ कर्मचारी चीन गएका छन् । अहिले तीन जना सहसचिवको नेतृत्वमा ठूलो संख्यामा मन्त्रालयका कर्मचारीहरू चीन, फिलिपिन्स र कोरिया गएर फर्किएपछि अरू कर्मचारी पनि विदेश जाने तयारीमा छन् । यो वर्ष मात्रै करिब २ सय कर्मचारी विदेश जाने तयारीमा लागेका छन् ।
कर्मचारीहरू विदेश भ्रमणमा जाने क्रम बढेपछि प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जानबाट रोक लगाएका थिए । तर, सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू भने विदेश भ्रमणको मापदण्डबिनै आफूखुसी विदेश उडिरहेका छन् । मन्त्रालयका अरू कर्मचारीहरूले विदेश भ्रमणको मापदण्ड बनाउन पटकपटक ताकेता गरे पनि उच्च तहका कर्मचारीहरूले भने मापदण्ड नबनाई विदेश उड्न रुचि देखाउँदै आएका छन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply