कमरेड आजादलाई सम्झिँदा
स्कुलमा पढ्दाखेरिको मेरा सहपाठी, कम्युनिस्ट आन्दोलनका सहयात्री र एउटै पार्टीमा लामो समयसम्म सँगै काम गरेका कमरेड ऋषिराज देवकोटा ‘आजाद’को विषयमा एउटा स्मृतिग्रन्थ प्रकाशित हुने कुरा सुनेर मलाई अत्यन्त खुसी लाग्यो । कुनै समयमा नेपालको कम्युनिस्ट आन्दोलनमा चर्चामा आएको, तर यहाँसम्म आइपुग्दा झन्डै विस्मृतिको गर्भमा धकेलिन लागेको इतिहासको एउटा नायकको सम्झनालाई पुनः स्मरण गराउनु हामी सबै बाँचेकाहरूको कर्तव्य हो । उहाँको स्मृतिमा एउटा सानो टिपोट नै लेखेर भए पनि सहयोग गर्न पाएकोमा मलाई थोरै सन्तुष्टि मिलेको छ ।
सहपाठीका रूपमा ‘आजाद’
उहाँको औपचारिक नाम ऋषिराज देवकोटा हो । तर, नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँ ‘आजाद’का नामले बढी परिचित हुनुभयो । ‘आजाद’ उहाँको पार्टीको नाम हो, गुप्त नाम । भूमिगत पार्टीमा लामो समयसम्म काम गर्ने सिलसिलामा उहाँ यस नामबाट परिचित हुनुभएको थियो । आजाद र मेरो भेट संवत् ०१७ सालमा सिन्धुलीगढीमा भएको थियो । त्यतिखेर जिल्लाको एक मात्र हाईस्कुल ‘कमला सहिद हाईस्कुल’ सिन्धुलीगढीमा सञ्चालित थियो । पछि पञ्चायती शासकहरूले ‘सहिद’ शब्द हटाएका थिए । सिन्धुलीको सिद्धेश्वर निम्न माध्यमिक स्कुलमा ६ कक्षा सकेर ७ कक्षामा पढ्न म गढी गएको थिएँ । ऋषिजी पनि त्यहीं पढ्नु हुँदोरहेछ । हामी एउटै कक्षामा पढ्न थाल्यौं । ऋषिजीको घरायसी आर्थिक स्थिति कमजोर भएको हुनाले उहाँ अर्कैकोमा भात पकाउने र भाँडा माँझ्ने काम गरेर पढिरहनुभएको थियो । ऋषिजी सानै उमेरदेखि टुहुरो हुनुहुन्थ्यो । उहाँलाई हजुरआमाले हुर्काउनु र बढाउनुभएको थियो । मलाई ठन्डी लागेर केही बिसन्चो भएको थाहा पाएपछि मेरी आमा काखकी सानी बहिनीलाई च्यापेर वर्षाको भेलमा गढी आइपुग्नुभयो ।
म त्यसबेला स्कुल गएको थिएँ । आमाले मलाई सँगै नलिईकन जान मान्नुभएन । त्यसपछि मेरो पढाइ छुट्यो । करिब एक वर्ष म घरमै बसें । अर्को वर्ष हामी महोत्तरीको गौशालामा परिवारसहित बस्न गयौं र म त्यहाँको त्रिभुवन हाईस्कुलमा कक्षा ८ मा भर्ना भएँ । अर्को वर्ष सदरमुकाम, सबै कार्यालयसहित कमला हाईस्कुल पनि सिन्धुलीमाढीमै सारियो र हामी फेरि गौशालाबाट सिन्धुली नै फर्कियौं । यसरी फेरि कक्षा ९ देखि ऋषिजी र म सँगै पढ्न थाल्यौं । हामीले ०२१ सालमा त्यसै हाईस्कुलबाट एसएलसी पास ग¥यौं । त्यसपछि काठमाडौं आएर म त्रिचन्द्र कलेजमा साइन्स विषय लिएर पढ्न थालें भने ऋषिजी आर्टस् पढ्न थाल्नुभयो । केही समय हामी कमलपोखरीमा एउटै कोठामा बसेका थियौं ।
कमरेडका रूपमा ‘आजाद’
म जुनबेला त्रि–चन्द्र कलेजमा पढ्दै थिएँ, त्यतिखेर उक्त कलेज राजनीतिक गतिविधिको केन्द्रमा थियो । पार्टीहरूमाथि प्रतिबन्ध लागेको थियो र सबै पार्टीले आफ्ना गतिविधि विद्यार्थीहरूमार्फत नै सञ्चालन गरिरहेका थिए । त्रि–चन्द्र कलेज नेपालको सबैभन्दा ठूलो र सम्मानित कलेज मानिन्थ्यो । व्यक्तिगत रूपमा मेरो राजनीतिक सोचको निर्माण त्यहीँबाट भयो । म वामपन्थी विचारतिर त्यहीँबाट आकर्षित र प्रभावित भएँ । मैले कम्युनिस्ट साहित्यको थोरबहुत अध्ययन पनि यही परिस्थितिमा गरें । म के निष्कर्षमा पुगें भने गाउँमै गएर प्रत्यक्ष किसान आन्दोलनमा सहभागी नभईकन, किसान आन्दोलन नउठाईकन र सशक्त कम्युनिस्ट पार्टी निर्माण नगरिकन नेपालमा आमूल परिवर्तन गर्नु सम्भव छैन । मैले यही कुरा मेरो विश्वासिलो साथी ऋषिजीसँग राखें । उहाँको पनि यस्तै प्रकारको सोच रहेछ । केही दिन हामीबीच छलफल भयो । अन्तमा हामी आफ्नै जिल्लामा गएर काम गर्ने निष्कर्षमा पुग्यौं । त्यसपछि उहाँ आफ्नै गाउँ खुर्कोटमा निम्न माध्यमिक विद्यालय खोल्ने अभियानमा लाग्नुभयो । स्थानीय साहु, पञ्चहरू खुलेरै यसका विरुद्ध उत्रिए । तल्लो वर्ग भने ऋषि देवकोटाको नेतृत्वमा स्कुल खोल्न कस्सिएरै अघि बढे । यसका साथै अन्य राजनीतिक गतिविधिहरू पनि अघि बढे । ऋषिजी त्यस विद्यालयका संस्थापक प्रधानाध्यापक बन्नुभयो । केही वर्षपछि उहाँ सिन्धुली जिल्लाकै भीमानमा बसाइँ सर्नुभयो । त्यहाँ पनि फेरि उहाँ स्कुल खोल्ने र सुकुम्बासी आन्दोलन सञ्चालन गर्ने आदि काममा संलग्न हुनुभयो । त्यतिबेलासम्म हामी कम्युनिस्ट पार्टी निर्माणको काममा निकै अघि बढिसकेका थियौं । ऋषिराज देवकोटा ‘आजाद’ जब हामी नेपाली समाजको रूपान्तरण र आमूल परिवर्तनका लागि कम्युनिस्ट पार्टी अनिवार्य सर्त हो भन्ने कुरा गहिरोसँगले बुझ्न सक्ने अवस्थामा पुग्यौं, हामी विभिन्न पार्टीका विषयमा जानकारी राख्ने प्रयत्नमा लाग्यौं । हामीले आफ्नो अध्ययन र छलफललाई निकै तीव्रता दियौं । अन्तमा हामी के निष्कर्षमा पुग्यौं भने विद्यमान कुनै पनि कम्युनिस्ट पार्टी सही छैनन्, त्यसैले हामीले नयाँ कम्युनिस्ट पार्टी बनाउनुपर्दछ । यसका निमित्त हामीले सिन्धुली जिल्लाबाटै सुरु गर्ने सोच बनायौं र ‘नेपाल कम्युनिस्ट पार्टी, सिन्धुली जिल्ला समिति’ बनायौं । त्यही पार्टीको नेतृत्वमा हामीले संघर्ष सञ्चालन ग¥यौं । यसका साथै हामीले खासगरी त्यतिखेरको जनकपुर अञ्चलका जिल्लाहरूमा सम्पर्क अघि बढायौं । यस प्रकार, क्रमशः हामीले ‘नेकपा, जनकपुर अञ्चल समिति’ निर्माण ग¥यौं । उता २०२८ सालदेखि भारतको ‘नक्सलवाडी आन्दोलन’को प्रत्यक्ष प्रभावबाट ‘झापा आन्दोलन’ सुरु भयो । त्यसको केही वर्षपछि नै अर्को धारको प्रतिनिधित्व गर्ने ‘केन्द्रीय न्युक्लस’ पनि गठन भयो । हाम्रो ‘झापा आन्दोलन’का नेताहरू र चौथो महाधिवेशन सम्पन्न गर्न बनेको ‘केन्द्रीय न्युक्लस’का नेताहरूसँग पनि वार्ता र छलफलहरू भए । हाम्रो जिल्ला समितिमा झापा आन्दोलन र केन्द्रीय न्युक्लसमध्ये कुन पक्षलाई समर्थन गर्ने भन्ने विषयमा ठूलो बहस भयो । अन्तमा यो कुराको निर्णय गर्न पार्टीको सिन्धुली जिल्ला सम्मेलन बोलायौं । भूमिगत रूपमा रातभरि चलेको जिल्ला सम्मेलनले अन्तमा न्युक्लसलाई समर्थन गर्ने निर्णय लियो र चौथो महाधिवेशनमा सहभागी हुन ऋषिजी र मलाई प्रतिनिधि पठाउने निर्णयसमेत ग¥यो । हामीे २०३१ सालको वर्षामा आयोजित चौथो महाधिवेशनमा सहभागी भयौं । आपसी सल्लाहअनुसार नै उहाँ वैकल्पिक केन्द्रीय सदस्य चुनिनुभयो, जिल्ला सेक्रेटरीको जिम्मा मैले लिएँ । चौथो महाधिवेशनले एउटा ऐतिहासिक आवश्यकता पूरा गरेको हुनाले पार्टीमा प्रारम्भमा अत्यन्त राम्रो एकता थियो । त्यसबीचमा पार्टीको नेतृत्वमा किसान आन्दोलन, वर्ग संघर्ष र संगठन विस्तारका कामहरू तीव्र रूपमा अघि बढे । तर, केही वर्षमै उक्त पार्टीका शीर्ष नेताहरू एमबी सिंह र निर्मल लामाका बीचमा खिचलो बढ्दै गयो र पार्टी गुटहरूमा विभाजित हुन पुग्यो । क. आजाद दुवै पक्षसँग असन्तुष्ट बन्दै जानुभयो । उहाँ अर्कै ‘क्रान्तिकारी केन्द्र’ बनाउने सोचमा लाग्नुभयो । मैले पार्टीभित्रै बसेर गलत प्रवृत्तिका विरुद्ध संघर्ष गरौं र पार्टी नेतृत्वलाई सच्याउने र रूपान्तरण गराउने प्रयास गरौं, पार्टी चाहिँ नफुटाऔं भनेर पटकपटक अनुरोध गरें । तर, उहाँले नेकपाको केन्द्रीय समितिबाट नेपाली क्रान्तिका अभिमन्यु भनेर राजीनामा दिएको र ‘क्रान्तिकारी कम्युनिस्ट केन्द्र’ निर्माण गरेको कुरा एउटा पर्चा प्रकाशित गरेर जानकारी गराउँदै पार्टीबाट अलग हुनुभयो । उहाँलाई राजीनामा फिर्ता लिएर पार्टीमै कार्यरत रहन पनि अनुरोध गरियो । तर, उहाँले त्यो अनुरोधलाई स्वीकार गर्नुभएन । संगठन निर्माणकै सन्दर्भमा उहाँ सिन्धुली आउनुभएको बेला दुस्मनले उहाँलाई गिरफ्तार ग¥यो र उहाँको कायरतापूर्वक हत्या ग¥यो । यस प्रकार, नेपाली क्रान्तिको एउटा नायकको भौतिक रूपमा अन्त्य भयो । तर, क. आजादले गरेका क्रान्तिकारी कामहरू अझै पनि नेपाली जनता र विशेषतः सिन्धुलीका जनताले बिर्सिएका छैनन् । मलाई लाग्छ, क. ऋषिराज देवकोटा ‘आजाद’ नेपाली कम्युनिस्ट आन्दोलनका साझा सहिद हुनुहुन्छ । उहाँलाई त्यसै अनुसार सम्मान गरिनुपर्दछ ।
(आगामी २०७५ फागुन १२ गते विमोचन हुने ‘ऋषिराज देवकोटा ‘आजाद’ ः नेपाली क्रान्तिका अभिमन्यु’ नामक पुस्तकभित्र समाविष्ट यो संस्मरण हामीले साभार गरेका हौं ।)
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply