यिनीहरू फुटाउनमै व्यस्त
काठमाडौं । जनयुद्धका बेला १० वर्ष र माओवादीहरू शान्ति प्रक्रियामा आएपछि करिब १० वर्षसम्म नै एउटै राजनीतिक मोर्चामा काँध मिलाएर हिँडेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’बीच अहिले पानी बाराबारको स्थिति छ । केही दिनअघि विप्लव समूहका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएपछि त झनै कटुता बढेको छ । तर, राजनीतिक रूपमा फरक कित्तामा भए पनि यी दुवै राजनीतिक दलमा आबद्ध लेखक–साहित्यकारहरू भने काँधमा काँध मिलाएर हिँडेका छन् ।
अहिले सबै वामपन्थी दलहरूको साझा संगठन प्रगतिशील लेखक संघ दसौं राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ । तर, लामो इतिहास बोकेको लेखक संघको विकल्पमा अर्कै संगठन खोल्ने कुराले अहिले प्रगतिशील स्रष्टाहरूबीच नौलो तरंग ल्याएको छ । लेखक संघको विकल्पमा अर्कै संगठन खोल्न मोहन वैद्य नेतृत्वको माओवादी पार्टी र वैज्ञानिक समाजवादीको नाममा बेग्लै समूह बनाएर तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अलग्गिएको आहूति नेतृत्वको समूहले भित्रभित्रै बेग्लै लेखक संघ बनाउने तयारी थालेपछि तरंग ल्याएको हो ।
तीन वर्षअघि लेखक संघको नवौं अधिवेशन हुँदा तत्कालीन माओवादी केन्द्रका मातृका पोखरेलले नेतृत्व गर्ने मौका पाएका थिए । त्यसअघि तत्कालीन एमालेका अमर गिरीले लेखक संघको नेतृत्व सम्हालेको हुँदा माओवादी केन्द्रले नेतृत्व गर्न पाएको थियो । तर, पोखरेलले नेतृत्व सम्हाले पनि वैद्य समूहले भने उनको नेतृत्वलाई स्वीकार गरेको थिएन । त्यहीबेला वैद्य समूहले संघको उपाध्यक्षमा राजबहादुर कुँवरलाई पठाएको थियो । तर, उपाध्यक्ष कुँवरले पोखरेलको नेतृत्वलाई सघाउन कुनै भूमिका नखेलेको बताइन्छ । अर्का उपाध्यक्ष रोशन जनकपुरी निष्क्रिय रहे भने कोषाध्यक्ष विजयराज आचार्यले राजीनामा दिए । तर, लेखक संघको कामलाई अघि बढाउन नेकपा र विप्लव समूहमा आबद्ध लेखकहरू भने यो अवधिमा सक्रिय रहे ।
दसौं अधिवेशन नजिकिँदै जाँदा भने वैद्य र आहूति समूहले बेग्लै लेखक संघ गठन गर्ने सोच बनाइरहेको बुझिएको छ । वैद्य समूहका डा. ईश्वरचन्द्र ज्ञवाली, डा. ताराकान्त पाण्डेय, जगदीशचन्द्र भण्डारी र आहूति समूहका आहूति, बलराम तिमल्सिनाहरूले भित्रभित्रै पहल गरिरहेको बताइन्छ । तर, वैकल्पिक प्रलेसको कुरा उठे पनि विप्लव समूहमा आबद्ध उपाध्यक्ष खेम थपलिया र सचिव शोभा दुलाल भने पोखरेल नेतृत्वकै लेखक संघलाई अघि बढाउनुपर्ने पक्षमा उभिएका छन् । अहिले वैद्य र आहूति समूहका लेखकहरू बाउँठिए पनि नेकपा, नेकपा (विप्लव समूह), नेकपा (माले), राष्ट्रिय जनमोर्चा र ऋषि कट्टेल समूहका लेखकहरू भने वैकल्पिक प्रलेसको विरुद्धमा रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply