पार्टी स्थापनाको दिन कार्यविभाजन टुंग्याउने तयारी
काठमाडौं । करिब ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाको बाँकी काम पार्टी स्थापना दिवससम्म टुंग्याउनेगरी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहकार्य गरिरहेका छन् । २२ अप्रिल अर्थात् वैशाख ९ नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ऐतिहासिक दिन हो । त्यही अवसर पारेर एकतासँग जोडिएका सबै काम टुंगो लगाउनेगरी अध्यक्षद्वयले गृहकार्य अघि बढाएका हुन् ।
पार्टी एकतापछि ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन हुन सकेको छैन । २८ जना नेताहरूले प्रदेश कमिटीको पदाधिकारीको जिम्मेवारी पाए पनि केन्द्रीय कमिटी बैठकको आयोजनासमेत नहुँदा बाँकी नेताहरू बेरोजगार छन् । प्रदेश कमिटीहरूको एकता सम्पन्न भए पनि जिल्ला कमिटी, प्रवास कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी र सम्पर्क मञ्चहरू तथा भ्रातृ संगठनहरूको एकता सम्पन्न भएका छैनन् । यी सबै काम प्याकेजमै टुंग्याउने गरी गृहकार्य भइरहेको भनिए पनि आमकार्यकर्तापंक्ति नेतृत्वले नै दाउपेच गरिरहेको बुझाइमा रहेकाले अझै आश्वस्त हुन सकेका छैनन् । यद्यपि, अध्यक्ष ओली र दाहालले यसबीचमा सचिवायभित्र पनि चारजना सिनियर नेताहरूसँग बेग्ला–बेग्लै छलफल सुरु गरेका छन् । एकता प्रक्रिया टुंग्याउन पहिले कमिटीबाट विधि, प्रक्रिया र मापदण्ड बनाएर छलफल गर्नुपर्नेमा दुई अध्यक्षले नेताहरूलाई बेग्लाबेग्लै बोलाएर छलफल गर्दा एकीकरण प्रक्रियामा योगदान, वरिष्ठता, योग्यता–क्षमताको मूल्यांकन हुनेमा आशंका उब्जाएको छ । यसबीचमै अध्यक्षद्वयले सचिवालय सदस्य वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलसँग छलफल गरेका छन् । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि दुवै नेताले छलफल गर्ने तयारी गरेका छन् ।
गत सोमबार वरिष्ठ नेता नेपाललाई बोलाइए पनि अस्वस्थताका कारण उपस्थित हुन सकेनन् । साबिक कमिटीहरूको एकीकरणमा अधिवेशनबाट निर्वाचित भएर आएका ‘सिनियर’हरूलाई पन्छाएर जुनियरलाई जिल्ला नेतृत्वमा ल्याउने प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिँदै आएका छन् । निश्चित विधि, प्रक्रिया र मापदण्डका आधारमा जिल्ला, जनसंगठनको एकता टुंग्याउनुपर्नेमा उनको जोड छ । नेपालको प्रस्तावलाई वरिष्ठ नेता खनालसहित वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले साथ दिँदै आएका छन् ।
एकता र नेताहरूको कार्यविभाजन टुंगो नलाग्दा दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारले प्रभावकारी कार्यसम्पादन गर्न सकेको छैन । तीनवटै तहमा पार्टी र सरकारबीच खाडल सिर्जना भएको छ । लाखौं नेता–कार्यकर्ता असंगठित रूपमा बेरोजगार बनेका छन् । पार्टीका शीर्ष तहकै नेताहरूले कुनै जिम्मेवारी नपाएको भन्दै सार्वजनिक कार्यक्रमहरूमा अभिव्यक्ति दिन थालेका छन् । समयमै एकता सम्पन्न नहुँदा पार्टीभित्र अनुशासनहीनताले अराजकता मौलाउँदै गएको छ । यसले एकतापछिको निकै ठूलो उत्साह र सपनाको तुषारातपात मात्र गरेको छैन, पार्टीलाई नै शिथिलीकरणको दिशामा धकेलेको छ ।
ब्रेकर
गाँठो जहाँ परेको छ, त्यहीँ फुकाउनुस् ः गौतम
केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले गाँठो जहाँ परेको छ, त्यहीँ फुकाएर छिटो एकता सम्पन्न गर्न सुझाव दिएका छन् । अध्यक्ष ओली र प्रचण्डले एकताका विषयमा सुझाव लिन बोलाएको पछिल्लो छलफलमा नेता गौतमले त्यस्तो सुझाव राखेका हुन् । पार्टी एकता निश्चित विधि, प्रक्रिया र मापदण्डका आधारमा मात्र सम्पन्न हुनुपर्ने, त्यसो नहुँदा आफ्नो असहमति रहने जानकारी गराउँदै गौतमले जिल्ला, जनसंगठन, प्रवास एकीकरणबारे दुई अध्यक्षले तयार गरिरहेको सूचीबारे प्रश्न उठाएका थिए । ‘एकताको गाँठो जहाँ परेको छ, पहिले त्यहीँ फुकाउनुस्, मबाट कुनै समस्या हुँदैन,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले त तपाईंले धेरै सहयोग गरेको हुँ तर परिणाममा मलाई धोका मात्र भयो, पार्टीलाई विधि र प्रक्रियासम्मत ढंगले सञ्चालन गर्नेबाहेक अरू मेरो धारणा छैन ।’ गौतमले वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश पदाधिकारी चयनदेखि नै असहमति राख्दै आएको र अहिले पनि विधि–प्रक्रियामा प्रश्न उठाउँदै आएकाले पहिले उनीसहित दुई अध्यक्ष बसेर सूची टुंग्याउन सुझाव दिएका थिए । आफूसहित अन्य नेताहरूलाई बोलाएर छलफल गर्नुको औचित्य नभएको भन्दै गौतमले वरिष्ठ नेता नेपालको सहमति हुँदा आपत्ति नहुने धारणा राखेका थिए ।
‘पहिले उहाँ (नेपाल) सँग बसेर छलफल गर्नुस्, म, ईश्वर पोखरेल, विष्णु पौडेललगायतलाई बोलाएर छलफल गर्नुको कुनै औचित्य छैन । विधि, प्रक्रिया र मापदण्डअनुसार टुंग्याउँदा मेरो सहमति नै छ,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले पहिले माधव नेपालसँग सहमति गर्नुस्, गाँठो फुक्छ । बेकार अरूलाई बोलाएर नेता नेपाललाई इरिटेड किन गराउनुहुन्छ ?’ गत ३० फागुनमा अध्यक्ष ओलीले प्रचण्डसहित नेपाल, खनाल र गौतमसँग छलफल गरेका थिए । उक्त बैठकमा पनि पहिले वरिष्ठ नेता नेपाललाई मनाउन सुझाव दिएको स्मरण गर्दै समय व्यतीत गर्नेभन्दा पनि समस्याको गाँठो फुकाउनेतिर केन्द्रित हुन सुझाव दिएका थिए ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply