गुलियो बेच्नेको तीतो हर्कत
काठमाडौं । उच्च गुणस्तरका बिस्कुट, कुकिज र पव उत्पादन गर्दै आइरहेको खजुरीको कम्पनीले केही मजदुरलाई निष्कासन र निलम्बन गरेपछि विवाद चर्किन पुगेको छ । केही मजदुरहरूले युनियन गठन गरेपछि सो कम्पनीले ती मजदुरहरूलाई निष्कासन र निलम्बन गरेको थियो ।
ललितपुरको चापागाउँमा अवस्थित सो कम्पनीले लामो समयदेखि बिस्कुटलगायत तयारी खाजाहरूको उत्पादन गर्दै आइरहेको छ । चितवन र हेटौंडामा समेत कारखाना रहेको सो कम्पनीले चापागाउँस्थित कारखानामा करिब तीन सय महिलालाई रोजगारी दिएको छ । सो कारखानामा काम गर्ने मजदुरहरू अधिकांश महिला छन्, सुपरभाइजर र जनशक्ति प्रबन्धक मात्र पुरुष । सो कारखानामा ओमनाथ महर्जन, रामनाथ महर्जन, जगन्नाथ महर्जनलगायत दाजुभाइको लगानी रहेको छ ।
पछिल्लो समयमा भने सो कारखानामा कार्यरत मजदुरहरूले आफ्नो हक, हित र सुविधाका लागि युनियन गठन गरेका थिए । केही मजदुरले अखिल नेपाल औद्योगिक मजदुर संघ (खजुरिको) गठन गरेर क्रियाशीलता देखाउँदै आएका थिए । तर, मजदुरहरूले युनियन गठन गरेपछि व्यवस्थापनले भने केही समयदेखि कुनै निहुँ बनाएर युनियनमा आबद्ध मजदुरहरूलाई निष्काशन र निलम्बन गर्ने तयारी भित्रभित्रै थालिरहेको थियो ।
करिब डेढ महिनाअघि भने सो कम्पनीले युनियनको कारखाना एकाइका उपाध्यक्ष विष्णुमाया स्याङ्तान, सचिव सपना सुन्दास, सहसचिव मेनुका घिमिरे र सदस्य कौशिला परियारलाई निष्काशन गरेको थियो । उनीहरूलाई कारखानामा कुनै जानकारी नगराई बिदामा बसेको आरोप लगाएर निष्कासन गरेको थियो । बिनाजानकारी बिदामा बसेको आरोप लगाएर ती मजदुरहरूलाई निकाले पनि ६ महिनामा एक दिन गयल भए पनि त्यसबारे व्यवस्थापनलाई जानकारी दिन सकिने व्यवस्था ऐनमा नै उल्लेख छ । तीन दिनभन्दा बढी बिनाजानकारी गयल भए मात्र निष्कासन गर्ने अधिकार व्यवस्थापनलाई रहन्छ । तर, निष्कासित मजदुरहरूलाई भने त्यही निहुँ पारेर निष्कासन गरिएको छ । अहिले निष्कासनमा परेका चारैजना मजदुरले श्रम अदालतमा मुद्दा दायर गरिसकेका छन् ।
यसैगरी, सो कम्पनीले एकाइका अध्यक्ष शीतल श्रेष्ठ र एकजना साधारण सदस्यलाई पनि निलम्बन गरेको छ । उनीहरूलाई युनियन गठन गरेको आरोपमा निलम्बन गरिएको हो । हरेक दुई÷दुई वर्षमा मजदुरहरूको तलब र सुविधा वृद्धि गर्नुपर्ने भएको हुँदा सो कम्पनीले मजदुरहरूको तलब र सुविधा वृद्धि गरेको दुई वर्ष पुग्नै लाग्दा मजदुरहरूको निष्कासन र निलम्बन गरेको हो । युनियनले सामूहिक सौदाबाजी गर्न कमिटी गठन गर्ने बेला अध्यक्षलगायत मजदुरलाई निष्कासन र निलम्बन गरेर तलब र सुविधा बढाउनेतिर व्यवस्थापनले भाँजो हाल्न खोजेको बताइन्छ । युनियन हुँदा आफूहरूलाई अप्ठ्यारो पर्ने ठानेर व्यवस्थापनले त्यस्तो अप्रिय कदम चालेको मजदुरहरूको आरोप रहेको छ ।
निष्काशित र निलम्बित मजदुरहरूलाई पुनर्बहाली गर्न मजदुर संगठनहरूले व्यवस्थापनलाई सात दिनको म्याद दिएको थियो । तर, सात दिन गुज्रिसक्दा पनि व्यवस्थापनले मजदुरहरूलाई पुनर्बहाली नगरेको बताइन्छ । अब भने मजदुरहरूले कारखाना नै ठप्प पारेर आन्दोलनमा उत्रिने तयारी गरिरहेका छन् । मजदुरहरूले आन्दोलन गर्ने तयारी गरेपछि व्यवस्थापनले भने मजदुरहरूलाई धम्क्याउँदै ‘जागिर खाने मन छ भने खुरुखुरु काम गर्ने, होइन भने जे मन लाग्छ, त्यही गरे हुन्छ’ भन्दै आएको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply