रित्तिएपछि उपेन्द्रसँग गला, दमननाथ सूत्रधार
काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण घोषणा समारोह प्रज्ञा भवन कमलादीमा सोमबार अनौठो दृश्य देखियो । कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानाले डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसँगै हातेसाङ्लोसहित पार्टी एकता घोषणाको खुसियालीमा सहभागी नेता–कार्यकर्ताहरूलाई अभिभावदन गरे । खचाखच हलमा हल्लीखल्ली मच्चियो–ढुंगाना पनि पार्टी प्रवेश गरेका हुन् ? कार्यक्रममा गएर शुभेच्छा प्रकट गर्नु फरक कुरा हो तर एउटै लहरमा भट्टराई र यादवसँग कुम जोड्दै अभिभावदन गरेपछि भने सहभागीहरू आश्चर्यचकित हुनु स्वाभाविकै थियो । त्यसो त पार्टी घोषणा समारोहमा ढुंगानाको पुलक्कित अनुहार टेलिभिजन स्क्रिनमा पनि देखिएको थियो । गत चुनावमा भक्तपुरमा संघीय सांसदको उम्मेदवारसमेत रहेका कांग्रेस नेता ढुंगानाको त्यस्तो गतिविधिबारे अहिलेसम्म उक्त पार्टीले मुख खोलिसकेको छैन ।
नेपालले कष्टसाध्य नाकाबन्दी खेपिरहेका बेला भारतको पक्षमा वकालत गरेको भन्दै ढुंगानाले नेपाली जनताबाट धेरै आलोचना खेपेका थिए । आइएनजिओहरूको पहलमा वर्तमान कम्युनिस्ट सरकार गठबन्धनविरुद्ध आन्तरिक रणनीति बनाउने काममा पनि ढुंगानाको नाम मुछिँदै आएको छ । उनकै पहलमा अन्ततः बाबुरामसँग एकता गर्न उपेन्द्र सहमत भएको बताइएको छ । २०७२ असोज ३ गते संविधान जारी भएकै दिन बहिष्कार गरेर संविधानसभा भवनबाट बाहिरिएका भट्टराई जलाउनुपर्ने पक्षमा उभिएका मधेसकेन्द्रित दलहरूको लहरमा उभिएका थिए । लगत्तै भट्टराईले अब कांग्रेस, एमाले र माओवादीको औचित्य सकिएको घोषणा गर्दै वैकल्पिक शक्ति निर्माणको घोषणा गरे । त्यसक्रममा पूर्वमाओवादीका केही निकटस्थहरू, पूर्वरिटायर्ड कर्मचारी, सामाजिक क्षेत्रमा काम गरेका व्यक्तिहरूसँग मिलेर नयाँ शक्ति पार्टी निर्माण गरेका बाबुराम बल्लतल्ल पछिल्लो चुनावमा एक सिटसहित गोरखाबाट संघीय संसद्मा विजयी बने । तर, तामझामसहित गठन भएको नयाँ शक्तिमा पहिरो जाने क्रम रोकिएन । मिडियामा कहिलेकाहीँ अन्तर्वार्ता दिने, कहिलेकाहीँ लेख लेखेर बौद्धिक विलासिता गर्दा पनि पार्टीको प्रभाव विस्तार नभएपछि मेची–महाकाली पदयात्रातिर लागे । पार्टी फुटाउँदा पनि केही जोर नचलेपछि ढुंगानाकै योजना र सल्लाहमा बाबुरामले उपेन्द्रसँग एकता गरेको बताइएको छ । त्यसो त उपेन्द्रसँग गला मिलाइदिन तिनै ढुंगानाले दुई पटकसम्म सांग्रिला होटल लाजिम्पाटमा मध्यस्थता गरेको बुझिइएको छ । भारतका विश्वासपात्र ढुंगानाले किन भट्टराई र उपेन्द्रलाई मिलाए ? अहिले नेपालको राजनीति यो प्रश्नले गर्माएको छ ।
दुई पार्टी मिलेर संघीय समाजवादी पार्टी नेपाल बनेको छ । उक्त पार्टीमा भट्टराई र यादव दुवै अध्यक्ष छन् । यादव समूहको ६० प्रतिशतमाथि हिस्सा छ । तर, एकता घोषणासभामा समानुपातिक समावेशितासँगै सात प्रदेशको सट्टा ११ प्रदेशको व्यवस्थाका लागि आन्दोलन गर्ने घोषणाले भने दुई पार्टी एकताको असलियत बिस्तारै खुल्न थालेको बताउन थालिएको छ । मुलुकमा सातवटा प्रदेश अर्थतन्त्रले धान्न नसकिरहेका बेला फेरि जातीय पहिचानको मुद्दा उठाएर मुलुकलाई थप चार प्रदेशमा विस्तार गर्ने मुद्दाप्रति आमजनमत आक्रोशित भएको छ । विगतमा मधेसकेन्द्रित दलले जातीय क्षेत्रीय पहिचान फेरेर पार्टीको नामै परिर्वतन गरेर अघि बढिरहेका बेला उनीहरूले पुरानै मुद्दा ब्युँताउन खोजेका छन् । त्यसैले पार्टीहरू एकताबद्ध हुनु राम्रै भए पनि समाजवादी पार्टी गठनलगत्तै विभिन्न आशंकायुक्त प्रश्नहरू उठिरहेका छन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply