बुद्ध जयन्तीमा विदेशमै मस्त
काठमाडौं । आजको तीन दिनपछि बुद्ध जयन्ती मनाउने तयारी भइरहेको छ । तर, बुद्ध जयन्तीको तयारीमा लाग्नुपर्ने बेला लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी भने विदेश सयरमा मस्त छन् ।
बुद्ध जयन्तीको तयारीमा तीव्रतापूर्वक लागिपर्नुपर्ने बेला उपाध्यक्ष त्रिपाठी भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग भियतनामको भ्रमणमा रहेका छन् । लुम्बिनीमा बसेर बुद्ध जयन्तीका लागि तयारी गर्नुपर्ने बेला उपाध्यक्ष त्रिपाठी भियतनाम भ्रमणमा गएपछि लुम्बिनीमा गर्ने भनिएको बुद्ध जयन्तीको तयारीसमेत लथालिंग हुन पुगेको छ ।
कोषको अध्यक्ष पनि नरहेको र नयाँ सदस्य–सचिवको नियुक्ति प्रक्रिया पनि रोकिएका बेला बुद्ध जयन्तीको तयारीका लागि उपाध्यक्ष त्रिपाठी लुम्बिनीमा नै बस्नुपर्ने हुन्थ्यो । कोषको अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको केही महिनापहिले हेलिकप्टर दुर्घटनामा निधन भएपछि नयाँ मन्त्री नियुक्त भएका छैनन् भने सदस्य–सचिवमा नियुक्त भएका विष्णुप्रसाद ढकालविरुद्धको मुद्दा पुनरावेदन अदालत पाटनमा विचाराधीन अवस्थामा रहेको छ । जिम्मेवार व्यक्तिहरू नभएको बेला उपाध्यक्ष त्रिपाठीले बुद्ध जयन्तीको तयारीमा आफूलाई लगाउनुपर्ने बेला प्रधानमन्त्रीसँगै विदेश भ्रमणमा गएपछि समस्या उत्पन्न भएको बताइन्छ ।
त्यसो त नेपालमा छँदा पनि उपाध्यक्ष त्रिपाठी लुम्बिनीमा भन्दा काठमाडौंमा नै धेरै समय बस्दै आएका छन् । उनको ध्यान लुम्बिनी गुरुयोजनाको काम कसरी समयमा नै सिध्याउनेमा भन्दा पनि आफू प्रमुख रहेको क्यानडाको एउटा संस्थाबाट कसरी बजेट झार्ने भन्नेमा नै केन्द्रित रहेको बताइन्छ । क्यानडाको एउटा संस्थाले लुम्बिनी गुरुयोजनाभित्र विहार निर्माण गरिरहेको छ र त्यो संस्थाको नेपाल प्रमुखमा उपाध्यक्ष त्रिपाठी नै रहेका छन् । त्यस्तै, सदस्य–सचिवको निर्णय पनि लामो समयदेखि रोकिएको छ । तत्कालीन मन्त्री अधिकारीको समयमा ढकाललाई सदस्य–सचिव नियुक्त गरे पनि उनको नियुक्तिविरुद्ध अदालतमा मुद्दा परेपछि अहिलेसम्म त्यो मुद्दा किनारा लागेको छैन । मुद्दा नटुंगिएको हुँदा सदस्य–सचिव नियुक्तिको प्रक्रिया त्यत्तिकै अल्झिन पुगेको छ । कोषमा नयाँ सदस्य–सचिवको नआइसकेको र उपाध्यक्षले पनि समय दिन नसक्दा लुम्बिनी गुरुयोजनाका कामहरू लथालिंग बन्न पुगेको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply