टिस्टुङ बज्रबाराहीको देवीगण नाच हनुमाढोका दरबारमा
काठमाडौं । मकवानपुरको थाहा नगरपालिकास्थित प्राचीन टिस्टुङ बज्रबाराही क्षेत्रमा १२ वर्षको अन्तरालमा नचाइने देवीगण नाच काठमाडौंमा प्रदर्शन गरिएको छ । उक्त नाच वसन्तपुर दरबार क्षेत्रस्थित कालभैरव मन्दिर पछाडिको चोकमा प्रदर्शन गरिएको हो ।
जीवन्त संस्कृति समाज काठमाडौंको आयोजना, टिस्टुङ बज्रबाराही १२ वर्षे नाच व्यवस्थापन समितिको सहआयोजना र थाहा नगरपालिकाको सहयोगमा यस नाचलाई वसन्तपुरमा प्रदर्शन गरिएको हो । नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी कला र संस्कृतिको प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले उक्त नाच काठमाडौंमा ल्याएर प्रदर्शन गरिएको थाहा–६ का वडाध्यक्ष शशीधर सुवेदीले बताए ।
देवीगण नाचमा श्रीकुमारी, इन्द्रायणी, बाराही, गणेश, भैरवलगायत नाच प्रदर्शन गरएको थियो । टिस्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच लिच्छविकालदेखिकै भएको संस्कृति अभियन्ता एकाराम सिंहले जानकारी दिए । केही वर्षपहिले लोप भइसकेको यो नाच स्थानीयको पहलमा पुनर्जिवित गरिएको हो । त्यसका लागि सबै स्थानीयले सहयोग अभियान चलाएको र आगामी दिनमा पनि सबैको सहयोगमा परम्परालाई निरन्तरता दिने सोच रहेको स्थानीय प्रमोद जोशीले जानकारी दिए ।
यसमा खिं बाजाका विभिन्न सुरतालमा गीतसहित नाच प्रदर्शन गर्ने गरिन्छ । सो नाचमा तत्कालीन राजा समर सेनका छोरा सत्तल सेनको कथा रहेको बताइन्छ । लिच्छविकालीन यस नाचलाई टिस्टुङसहित पालुङलगायत मकवानपुरका नेवार बस्तीहरूमा प्रदर्शन गर्न बाँकी रहेको छ ।
कुनै बेला चन्द्रशमशेरले खर्च अभावमा काठमाडौं ल्याउन बन्द गरेको यो नाच स्थानीयको पहलमा परम्पराको जगेर्ना गर्न र प्रचारप्रसारका लागि काठमाडौं ल्याएर प्रदर्शन गरिएको हो । शनिबार काठमाडौैंको हनुमानढोका परिसरमै ल्याएर प्रस्तुत गरेपछि लोपोन्मुख टिस्टुङ नाचले चर्चा पाउन थालेको छ । १२ वर्षे बज्रवाराही नाचका रूपमा लिइने यो नाच एउटा खटमा दुई रातसम्म नचाइन्छ । गत वैशाख २६ गतेबाट नचाउन सुरु गरिएको यो नाच अहिले विभिन्न टोलमा नचाउने क्रम जारी छ । विभिन्न सातवटा खटमा नचाइने यो नाच तान्त्रिक विधिबाट नचाइन्छ । नाचमा गणेश, कुमारी, इन्द्रायणी, भैरव, बज्रबाराही र बेतालाई प्रस्तुत गरिन्छ भने ९९ जनाभन्दा बढी कलाकारले रातभर प्रस्तुत दिने गर्छन् ।
एक वर्ष देखाइने नाचका लागि २५ लाख रुपैयाँसम्म खर्च हुने अनुमान छ । नाचका सहभागी धामी, बाजागुरु, कलाकार र देवगणलाई प्रदेश सांसद राजेश शाक्यले पूजा तथा फेटा ओढाएर सम्मान गरे । उनले यो परम्पराको जगेर्नाका साथै सांस्कृतिक भाइचार र कलाको आदानप्रदान कार्यक्रम भएकाले उक्त संस्कृति प्रवद्र्धनका लागि सक्दो लागिपर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष तथा थाहा–६ टिस्टुङ निवासी शन्तराम बिडारीले यस्तो परम्पराको व्यापक प्रचार गरी राजधानीनजिकै रहेको टिस्टुङ पालुङलाई मूल प्रवाहमा ल्याउनुपर्ने र सो काममा सञ्चार क्षेत्रमार्फत सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौं महानगरपालिका–२३ का वडा अध्यक्ष मचाराजा महर्जनले टिस्टुङको नाच काठमाडौंमा देखाउन पाएकोमा धन्यवाद दिँदै टोलीलाई स्वागतका साथ आगामी दिनमा पनि सहकार्य गरिरहने प्रतिबद्धता जनाए ।
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply