नेकपाका सबै नेता–कार्यकर्ता भ्रमण वर्षका स्वयंसेवक
नेपाल भ्रमण वर्ष कुनै सरकार, मन्त्री वा मन्त्रालय विशेषको मात्र जिम्मेवारी होइन । यो साझा राष्ट्रिय अभिभारा हो । यसलाई सरकारले पनि, दलहरूले पनि र सिंगो समाजले पनि यो साझा राष्ट्रिय अभिभारा हो भन्ने रूपमा बुझ्नुपर्छ । र, यसलाई त्यही रूपमा सम्पादन र सम्पन्न गर्नुपर्छ । भ्रमण वर्ष २०२० लाई सफल पार्ने जुन राष्ट्रिय अभिभारा छ, यो अभिभाराको एउटा महत्वपूर्ण अंगका रूपमा जिम्मेवारी निर्वाह गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यस पार्टीसँग सम्बद्ध तमाम जनसंगठनहरू प्रतिवद्ध छन् ।
हामीले भ्रमण वर्ष २०२० यसकारण आयोजना गरेका छौं कि नेपालमा पर्यटकहरू एकचोटि आउँछन्, घुम्छन्, फर्केर जान्छन् । यसका लागि होइन । भ्रमण वर्ष २०२० मा आउने प्रत्येक विदेशी पाहुनाले वा पर्यटकले यो सन्देश लिएर जाऊन् कि नेपाल एकचोटि गएर पुग्ने पर्यटकीय गन्तव्य होइन । पटकपटक गइरहनुपर्ने, गइ नै रहनुपर्ने, त्यस्तो आकर्षक पर्यटकीय गन्तव्य हो, प्राकृतिक सम्पदाका दृष्टिकोणले सांस्कृतिक सम्पदाका दृष्टिकोणले र समाजको विविधताका दृष्टिकोणले, हरेक दृष्टिकोणले नेपाल निरन्तर गइरहनुपर्ने पर्यटकीय गन्तव्य हो भन्ने सन्देश संसारभरि पुग्न सकोस् । २०२० मा आउने पर्यटकहरूले संसारभरि त्यस प्रकारको सन्देश दिन सकून् भन्ने पनि हाम्रो अपेक्षा हो ।
हाम्रो समाजमा एउटा राम्रो मान्यता, संस्कार र संस्कृति छ । हामी अतिथिलाई देवता मान्छौं । अतिथि देवो भव भन्ने हाम्रो मान्यता छ । त्यसकारण, जब हामी भ्रमण वर्षमा आउने पर्यटकहरूलाई राम्रो व्यवहार गर्छौं, राम्रो आतिथ्य दिन्छौं र उनीहरूलाई नेपाल पनि राम्रो छ, नेपाली पनि राम्रा छन्, नेपालको संस्कृति पनि राम्रो छ, यहाँको भूगोल पनि राम्रो भन्ने अनुभूति दिन सक्दा मात्र हामीले उनीहरूलाई अविछिन्न आकर्षित गरिरहने र आकर्षणको दायरालाई फराकिलो पार्न सकिने गुन्जायस हुन्छ । त्यस अर्थमा अतिथि देवो भव भन्ने सांस्कृतिक मान्यताअनुरूपको आचरण सम्पूर्ण नेपालीले प्रदर्शन गर्नुपर्छ । त्यसका निम्ति हामी राजनीतिक दलहरूले, दलनिकट जनवर्गीय संगठनहरूले स्रोत व्यक्तिको भूमिका निभाउनुपर्छ । जहाँसम्म नेपाल कम्युनिस्ट पार्टीको सन्दर्भ छ, राजधानीको दशरथ रंगशालामा आयोजना हुने भ्रमण वर्षको उद्घाटन समारोहलाई भव्य बनाउन मन्त्रालयले प्रस्तुत गर्ने अपेक्षा हाम्रा तर्फबाट अधिकतम सीमामा पूरा गरिनेछ । कस्तो प्रकारको अपेक्षा हो ? हजारको हो कि ? दसौं हजारको हो कि ? लाखको अपेक्षा हो कि ? कस्तो प्रकारको उपस्थितिको अपेक्षा मन्त्रालयले गर्छ, त्यस प्रकारको उपस्थिति जुटाउन नेकपा र यससँग सम्बद्ध जनसंठनहरू प्रतिबद्ध भएर लाग्नेछन् ।
राजधानीमा मात्र होइन, अरू प्रादेशिक तहमा आयोजना गरिने उद्घाटन समारोहमा पनि हामीले तदनुकूलको उपस्थिति जुटाउन भूमिका निर्वाह गर्नेछौं । त्यसका अतिरिक्त यो भ्रमण वर्षको सिंगो अवधिभरि नेकपाका अध्यक्षसहितका सबै नेता, सबै कार्यकर्ता, सबै सदस्य, पार्टीनिकटका जनवर्गीय संगठनहरू तिनका नेता, कार्यकर्ता र सदस्यहरू अवैतनिक स्वयंसेवका रूपमा क्रियाशील रहने प्रतिबद्धता पनि म व्यक्त गर्छु । यो समस्त पार्टी शक्तिलाई अवैतनिक स्वयंसेवकका रूपमा परिचालित गर्ने हक मन्त्रालय र मन्त्रीज्यूलाई म हस्तान्तरण गर्न चाहन्छु । शब्दमा मात्र यो राष्ट्रिय अभिभारा हो भनेर पूरा हुँदैन । राष्ट्रिय अभिभारा हो भने, त्यो अभिभारा पूरा हुने हिसाबले काम र व्यवहार हुनुपर्छ ।
हामी भ्रमण वर्ष २०२० लाई भ्रमणको आरम्भ र अन्त्यको वर्षका रूपमा मात्र मनाइरहेका छैनौं । नेपाल संसारकै एउटा आकर्षक पर्यटकीय गन्तव्य हो भन्ने मान्यताको आधार स्थापना गर्ने र आउने वर्षहरूमा पर्यटकको चाप अरू बढाउने बलियो आधार निर्माण गर्ने उद्देश्यका साथ भ्रमण वर्षको आरम्भ गर्दै छौं । भ्रमण वर्षसँग जोडेर हामीले गर्नुपर्ने धेरै कुरा छन् । खासगरी, पर्यटकीय पूर्वाधारको विषय छ । पर्यटकहरूको आकर्षणका निम्ति हामीले सोच्नुपर्ने विभिन्न विधामा ध्यान दिनुपर्नेछ । उदाहरणका लागि प्राकृतिक सौन्दर्यको कुरा गर्ने हो भने डोल्पामा से–फोक्सुन्डो ताल छ । त्यो तालको किनारामा गएर हेर्दा एउटै निष्कर्ष निस्कन्छ, यो प्रकृतिले यो पृथ्वीमा यति सुन्दर सृष्टि पनि गरेको रहेछ । प्रकृतिले यो पृथवीमा से–फोक्सुन्डोभन्दा सुन्दर सृष्टि गर्न अरू केही जानेकै छैन, सायद जान्दैन होला भन्ने अनुभूति हुन्छ । त्यस्तै सुन्दर तालहरू हामीसँग छन् । त्यो त एउटा मात्र ताल हो, यस्ता अरू दर्जनौं ताल छन्, जहाँ पर्यटकहरू मनमुग्ध हुन सक्छन् । मानिसले अरू धेरै सुन्दर चिजहरूको सृष्टि गर्न सक्लान् तर सगरमाथा अरू कसैले बनाउन सक्दैनन् । हामीसँग सगरमाथा छ । अरू धेरै चीज बनाउन सक्लान् तर मानव जातिले यो पृथ्वी रहेसम्म अर्को लुम्बिनी बनाउन सक्दैनन् । गौतम बुद्धको अर्को जन्मभूमि बनाउन सक्दैनन् । संसारमा अर्बौंको संख्यामा बौद्धधर्मीहरू छन्, त्यो जनसंख्यालाई एकचोटि आएरै छाड्ने गन्तव्यका रूपमा हामीले लुम्बिनीको पूर्वाधार विकास गर्नुपर्ने हुन्छ । जातीय, भाषिक, सांस्कृतिक दृष्टिकोणले पनि हामी धनी छौं भन्ने सन्देश पनि हामीले दुनियाँसामु पस्कन सक्नुपर्छ ।
पूर्वाधार निर्माणको सन्दर्भमा विमानस्थलहरूको निर्माण, त्यसको सञ्चालन र व्यवस्थापनमा मन्त्रालयको ध्यान गएको मैले पाएको छु । निर्माण हुँदै गरेका योजनाहरूलाई शीघ्र सम्पन्न गर्ने, निर्माणको चरणमा जान लागेका निजगढजस्ता विमानस्थलहरूलाई अघि वढाउने प्रकारको मन्त्रालयको कोसिस सराहनीय छ । पोखरा विमानस्थल समयमै सकिँदैछ । जहाँसम्म भैरहवा विमानस्थलको कुरा छ, त्यसलाई हामीले सुरुमा क्षेत्रीय स्तरका अन्तर्राष्ट्रिय विमानस्थल नै भन्यौं । पहिलो फेजकोे काम सकेसँगै हामी दोस्रो फेज काम सुरु गर्दैछौ । एकै दिन पहिलो फेजको उद्घाटन र दोस्रो फेजको शिलान्यास । हामीले करिब पाँच सय बिघा थप जमिन अधिकरण गरेका छौं । अधिकरणको अन्तिम चरणमा पुगेको छ । इन टु इन ट्याक्सी वे बनाउने कुरा छ । अत्यन्तै आधुनिक, आजको दुनियाँको आधुनिक सेवासहितको टर्मिनल भवन निर्माण गर्ने र अहिले बनिरहेको टर्मिनल भवनलाई आन्तरिक टर्मिनल भवनमा रूपान्तरण गर्नेलगायत अरू संरचना निर्माण गर्ने गरी मन्त्रालयका तर्फबाट पहलकदमी भइरहको छ । त्यो अझ तीव्रताका साथ अगाडि बढोस् भन्ने मेरो सुझाव छ । निजगढ हाम्रो राष्ट्रिय गौरबको, राष्ट्रिय प्राथामिकताको, राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय आवश्यकताको विषय छ । निजगढको सन्दर्भमा प्रकट हुने कुनै पनि प्रकारका नकारात्मक अभिव्यक्तिहरूसँग हामी सम्झौता गर्न सक्दैनौं । त्यसकारण, निजगढलाई अगाडि बढाउने जुन तत्परता मन्त्रालय र मन्त्रीज्यूले प्रदर्शित गर्नुभएको छ, त्यसलाई म मुक्तकण्ठले प्रशंसा पनि गर्न चाहन्छु । र, सबै प्रकारका व्यवधानहरूलाई पन्छाउदै निजगढ शीघ्र आरम्भ गर्ने बिन्दुमा पुग्नेछ भन्ने लाग्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिक सुविधाम्पन्न वा बुटिक विमानस्थलतर्फ लैजाने विषय छँदैछ । पर्यटकहरूलाई राम्रो सुविधासम्पन्न होटलहरू पनि चाहिन्छन् । अहिले विमानस्थलहरू बनिरहेका छन् तर होटलहरू छैनन । उदाहरणका लागि भैरहवा विमानस्थल बनिरहेको छ तर त्यहाँ तारे होटलहरू छैनन् । निजी क्षेत्रलाई पनि विमानस्थलहरू जस्ता पूर्वाधारहरूसँग जोडिएर होटललगायतका अरू पर्यटकीय पूर्वाधार निर्माण गर्न उत्साहित गर्नुपर्ने हुन्छ ।
(मंसिर १९ मा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा व्यक्त विचार)
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply