एआईजीमा दौडधुप सुरु
काठमाडौं । नेपाल प्रहरीको २७औं आईजीपीका रूपमा ठाकुर ज्ञवालीले कार्यभार सम्हालेसँगै रिक्त एआईजीमा दौडधुप सुरु भएको छ । आईजीदेखि एआईजीसम्म एकैचोटि अवकाश भएपछि एक नम्बरका डीआईजी ज्ञवालीलाई सरकारले आईजीमा नियुक्त गरको थियो । यसपछि रिक्त तीन एआईजी पदमा पुग्न डीआईजीहरूबीच प्रतिस्पर्धा सुरु भएको छ ।
रिक्त तीन एआईजी पदका लागि ६ डीआईजी बढुवाको प्रतिस्पधी मैदानमा छन् । त्यसमध्ये आईजी ज्ञवालीको ब्याचबाट तारिणी लम्साल, सूर्य उपाध्याय गरी दुईजनाको नाम वरिष्ठताका आधारमा निश्चितजस्तै भएको छ । यसबाहेक बाँकी एक पदका लागि जुनियर ब्याचबाट अस्वस्थ प्रतिस्पर्धामा डीआईजी विश्वराज पोखरेल पनि मैदानमा उत्रिएका छन् । आफूभन्दा झन्डै एक वर्ष सिनियर डीआईजीलाई उछिनेर पोखरेल २८औं प्रहरी महानिरीक्षक बन्ने सपनामा छन् । अहिले तेस्रो नम्बरको एआईजी हुन सके पाँच महिनापछि आईजी ज्ञवालीसँगै दुई एआईजी अवकाश भएपछि एक्लो उम्मेदवारका रूपमा आईजी बन्ने निश्चित भएको भन्दै उनले दौडधुप अघि बढाएका हुन् । यता डीआईजीको अर्को ब्याचबाट शैलेश थापा वा हरि पालमध्ये एकलाई एआईजी बनाएर २८औं आईजी अहिले नै निश्चित गर्ने तयारीमा रहेको बताइन्छ ।
एआईजीका दाबेदारहरू पाँच महिनापछि अवकाश पाउन लागेका डीआईजीलाई एआईजी बनाएर राज्यलाई भार पार्नुहुन्न भन्दै अहिले नै एआईजी बन्ने दौडमा लागेका छन् । एआईजीका दाबेदारहरूमा लम्साल र उपाध्यायपछि शैलेश थापा क्षेत्री, पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्कीलगायत नै मुख्य प्रतिस्पर्धामा छन् । उनीहरूमध्येबाट तीनजनालाई यही साता एआईजीमा बढुवा गर्ने तयारी भएको बताइन्छ । उता शक्तिको दुरुपयोग गर्दै आफ्नो लटमा एकल बढुवा भएका डीआईजी पोखरेल अहिले एआईजी बन्न नसके आईजी बन्ने सपना तुहिने र एकल बढुवा गर्नुको औचित्य नहुने भन्दै नेताहरूको घर धाउन थालेको बुझिएको छ । प्रहरी निरीक्षक बन्दा ११ नम्बरमा रहेका पोखरेल डीएसपी हुँदा १९ नम्बरमा पुगेका थिए भने एसपी हुँदा पाँच नम्बरमा आएका थिए । महानगरीय प्रहरी परिसरबाट बिचैमा तानिएका उनी आफ्नो स्वार्थका लागि सेटिङ मिलाउन अब्बल अधिकृतका रूपमा चिनिन्छन् । १९ नम्बरमा रहेका तत्कालीन एसपी पोखरेललाई विजयकुमार गच्छादारको निगाहमा तत्कालीन गृह सचिव नवीन घिमिरेले पाँच नम्बरमा एसपी बनाएका थिए । जसमा एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेलको आशीर्वाद रहेको बताइन्छ ।
हाल उनै तत्कालीन गृहसचिव घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख छन् । त्यही पावर लगाएर भने पनि उनी यसपटक जसरी पनि एआईजी नभई नछाड्ने ध्याउन्नमा छन् । यता नेकपाका प्रभावशाली युवा नेता महेश बस्नेतले भने शैलेश थापा क्षत्रीलाई बोकेर हिँड्न थालेका छन् । भक्तपुर घर भएको र आफ्नो घनिष्ठता रहेकाले बस्नेतले थापालाई च्यापेको बताइन्छ । २४औं आईजी नियुक्तिमा विवाद हुँदा काय सम्पादन मूल्यांकन किर्ते प्रकरणमा तत्कालीन डीआईजी नवराज सिलवालविरुद्ध मुद्दा चलाउने वाचा तत्कालीन प्रधानमन्त्री शेरबाहदुर देउवासँग गरेर पोखरेल काठमाडौं परिसर आएका थिए । किर्ते प्रकरणमा तत्कालीन काठमाडौं प्रहरीका प्रमुख रवीन्द्र धानुकले पोखरेलको समेत बयान लिएका थिए । पछि सिलवाललाई मुद्दा चलाउने आधार नभएको भन्दै एसएसपी धानुकले अडान लिएपछि धानुकलाई तानेर पोखरेललाई काठमाडौं परिसरको जिम्मा दिइएको थियो ।
काठमाडौं खासै उपलब्धिमूलक काम केही गर्न नसकेका पोखरेल बालक निसान खड्का अपहरण मुद्दामा एसएमएस काण्डले विवादमा आएपछि परिसरबाट तानिएका थिए । एक वर्षअगाडि काभ्रेमा डीआईजी सुशील भण्डारीको गाडी दुर्घटनामा मृत्यु भएपछि रिक्त एक डीआईजी पदमा पोखरलको बढुवा भएको थियो । उनीभन्दा सिनियर ब्याचका एक दर्जनलाई पछि पार्दै पोखरेलको डीआईजी पदमा अस्वाभाविक उदयको अर्थमा त्यतिबेलै लिइएको थियो । स्रोतका अनुसार डीआईजी पोखरेल आफूभन्दा जागिरमा दुई वर्ष सिनियर तथा डीआईजीमा आठ महिना सिनियरलाई पछि पार्दै एआईजीको दौडमा लागेका छन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply