वामदेव तानातानले निम्त्याएको कचिंगल

काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई चिढ्याउन नचाहने नेकपाका शीर्ष नेताहरूको दाउपेच र उनकै हठका कारण राष्ट्रियसभामा मनोनयन गर्ने तयारी विवादको भुमरीमा परेको छ । पछिल्लो निर्वाचनमा बर्दिया–२ बाट पराजित भएपछि संसद प्रवेशका लागि निरन्तर कसरत गरिरहेका गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने विषय धेरै ठूलो विषय थिएन ।
पार्टीको नेतृत्व तहमा रहेर लामो समय काम गरिसकेका अनुभवी नेतालाई राजनीतिक जीवनको उतराद्र्धतिर सम्मानका लागि माथिल्लो सदनमा लैजाने एजेन्डामा अध्यक्ष केपी ओली र प्रचण्डदेखि वरिष्ठ नेता माधवकुमार नेपालसम्म सकारात्मक थिए । तर, जब उनले आफ्नो आकांक्षालाई संविधान संशोधनमार्फत प्रधानमन्त्री बन्नेसम्मको ढोका खुलाउनुपर्ने हठ राखेर शीर्ष नेताहरूलाई बाध्य बनाउन खोजे, तब त्यसबाट उनी स्वयं विवादको भुमरीमा मात्र परेनन्, त्यसले नेकपाभित्रै किचलो उत्पन्न गराउनेदेखि राष्ट्रिय राजनीतिलाई पनि तरंगित पारेको छ ।
जनमतमा अस्वीकृत भइसकेको व्यक्तिका लागि संविधान नै संशोधन गरेर प्रधानमन्त्री बनाउने ढोका खोलेर लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाउँदै अपमान गर्न खोजिएको भन्दै जनमत विपक्षमा देखिएपछि लामो राजनीतिक जीवनयात्राका क्रममा आर्जन गरेको गौतमको प्रतिष्ठामाथि फेरि आघात पुगेको छ । गौतमको आकांक्षा पूरा गर्ने उद्देश्यले गठित कार्यदलले नै काम गर्न नसक्ने अवस्था आएपछि उनको महŒवाकांक्षामाथि तुषारापात हुने सम्भावना बढेर गएको छ । यद्यपि, गौतम स्वयं त्यस विषयमा मौन रहँदै आएका छन् ।
शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रियसभामा लैजानेगरी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए । दाहाललाई त्यो प्रस्ताव राख्न उचाल्ने काम स्वयं गौतमले गरेका थिए । स्रोतका अनुसार गौतमले ‘खोइ त मेरो प्रस्तावबारे के हुन्छ’ भनेपछि दाहालले बैठकमा यो विषय प्रवेश गराएका थिए । पार्टीका उपाध्यक्ष, संगठन विभाग प्रमुख मात्र होइन, नवौं महाधिवेशनमा अध्यक्ष र त्यसअघि संसदीय दलको नेता बनाउने एउटा महŒवपूर्ण सारथिबारे अर्का अध्यक्षले त्यसरी प्रस्ताव राख्दा अध्यक्ष ओलीले विरोध गर्न सकेनन् । त्यसो त ओली स्वयंले पनि संविधान संशोधन नगर्ने सर्तमा गौतमलाई राष्ट्रियसभामा ल्याउन चाहेकै थिए । गत १८ पुसमा बसेको सचिवालय बैठक, जसले अर्का नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभभामा चुनाव लडाउने निर्णय गर्दा पहिले गौतमलाई नै प्राथमिकता दिएर ओलीले प्रस्ताव गरेका थिए । तर, त्यो बैठकमा गौतमले प्रधानमन्त्री बन्ने अवस्थामा मात्र आफू सांसद बन्ने अडान राखेका थिए । अर्का अध्यक्ष प्रचण्डले विश्वास गर्नेमध्येका नेता भएकाले एक कदम अघि बढेर संविधान संशोधनसम्बन्धी कार्यदलको समेत प्रस्ताव गरेका थिए । पछिल्ला दिनमा गौतमप्रति धेरै सकारात्मक रहेका वरिष्ठ नेता नेपालले कार्यदलप्रति समर्थन मात्र जनाएनन्, राष्ट्रियसभामा गौतमको आवश्यकता औंल्याए । त्यसो त अध्यक्ष ओलीको कार्यशैलीका सन्दर्भमा नेता नेपाल र गौतमको ‘टोन’ लामो समयदेखि मिल्दै आएको छ । त्यही कारण कार्यदल बन्यो पनि । नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवास नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाए पनि यो विषय गोप्य राख्ने समझदारी बनेको थियो । तर, कार्यदल गोप्य राख्ने र अवस्था मात्र बुझ्ने पूर्व समझदारीविपरीत सरकारमा समेत रहेका सचिवालयकै एक नेताले नियोजित रूपमै उक्त सूचना बाहिर चुहाएपछि आइतबार बेलुकीबाटै नकारात्मक माहोल बन्न थाल्यो । विश्वस्त स्रोतका अनुसार यो सूचना चुहाउने काम ईश्वर पोखरेलले गरेका थिए । जबकि, यसअघि पनि तिनै नेताले गौतमलाई अघि बढ्न नदिने उद्देश्यसहित सचिवालय बैठकका त्यस्तै प्रकारका सूचना लिक गरेर नकारात्मक माहोल खडा गर्न भूमिका खेल्दै आएका थिए । तर, वरिष्ठ नेता नेपाल पार्टीभित्रको पूर्वसमझदारीप्रति प्रतिबद्ध थिए, त्यसकारण सोमबार बिहानै नेता नेपालले कार्यदलबारे छलफल गर्न नेम्वाङ र देवकोटालाई आफ्नो निवास कोटेश्वर बोलाए पनि । तर, नेम्वाङले कार्यदलमा बस्न ठाडै अस्वीकार गरे । एउटा व्यक्तिका लागि संविधान संशोधन गर्ने विषय अनुचित भएको भन्दै उनले आफू त्यसमा सहभागी नहुने स्पष्ट पारे । ‘एउटा व्यक्तिका लागि देशको संविधान संशोधन गर्ने प्रक्रियामा म सामेल हुन्नँ, मेरो अनुरोध छ, यस्तो विषयको अगुवाइ गरेर तपाईं पनि कलंक नबोक्नुस्,’ नेता नेपाललाई नेम्वाङको सुझाव थियो । नेम्वाङको अडानपछि कार्यदल अलपत्र परेको छ । नेम्वाङको भनाइलाई साथ दिँदै पूर्वमाओवादी समूहबाट प्रतिनिधित्व गर्ने प्रचण्डनिकट देवकोटा पनि पछि हटेपछि नेपालले त्यस विषयलाई पार्टी बैठकमा राख्ने तयारी गरेका छन् ।
गत निर्वाचनमा बर्दियाबाट पराजित गौतमले प्रतिनिधिसभा सदस्य बन्न पटकपटक कोसिस गरे पनि असफल हुँदै आएका थिए । तर, राष्ट्रिय सभामा भए पनि सांसद बन्ने आकांक्षा नत्यागेपछि नेकपाको नेतृत्व उनलाई ल्याउन सहमत भएको थियो । तर, उनले राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन पाउनुपर्ने हठ नत्यागेपछि भने कार्यकर्तापंक्ति र जनमानसमा गौतमको विरोध भइरहेको छ । पार्टी सचिवालय तहबाटै सूचना लिक गराएर नियोजित षड्यन्त्र भएपछि सम्भवतः संसद् यात्राको उनको प्रयास असफलता उन्मुख भएको छ ।
बर्दिया–२ बाट उनी कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग ७ सय ५३ मतान्तरले पराजित भएका थिए । अनपेक्षित पराजयलगत्तै नेता गौतमले आफूविरुद्ध पार्टीिभत्रैबाट अन्तर्घात भएको र त्यसलाई विस्तृतमा समयक्रममा खुलासा गर्ने बताउँदै आएका थिए । केही दिनपछि बालकोटस्थित निवासमै पुगेर उनले अध्यक्ष ओलीसमक्ष अन्तर्घातको छानबिन गरेर दोषीमाथि कारबाहीको माग पनि गरे । प्रदेश कमिटीले बैजनाथ चौधरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएर केही स्थानीय नेता–कार्यकर्ताको बयान पनि लियो तर छानबिन पूरा भएर दोषीमाथि कारबाही नहुँदै गौतमले सांसदका लागि निरन्तर कसरत गर्दै आएका थिए ।
पार्टीमा उपाध्यक्ष तथा संगठन विभाग प्रमुखको महŒवपूर्ण जिम्मेवारीपछि थप महत्वकांक्षी बनेका उनले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई मनाएर राष्ट्रियसभामा जाने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने योजनाअनुसार अघि बढ्न खोजे । बहुमत नेताको साथ रहेको विश्वासमा रहेका गौतमले पार्टीमा सर्त राखे– राष्ट्रियसभाका सांसदले पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन गरिनुपर्ने । तर गत २९ मंसिरदेखि ७ पुससम्म चलेको सचिवालय बैठकले गौतमकोे प्रस्तावमाथि सामान्य छलफल गरेर संविधान संशोधनको प्रस्ताव अस्वीकार गरेको थियो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply