तीन नेताको सहकार्यमा नेकपाको भविष्य
काठमाडौं । यही फागुन १० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले फागुन २० बाट रिक्त हुने राष्ट्रियसभाको एक सदस्यमा उपाध्यक्ष वादेवलाई पठाउने सर्वसम्मत निर्णय गरेपछि उत्पन्न तरंगले राजनीतिक बजारमा पार्टी फुट्नेसम्मका टिप्पणी र विश्लेषण सुरु भएका छन् । आफ्नै अध्यक्षतामा बसेको बैठकले गरेको सर्वसम्मत निर्णय पार्टी प्रवक्ताद्वारा सार्वजानिक भइसकेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले नमान्ने भन्दै सचिवालय सदस्यहरूलाई जानकारी गराएपछि नेकपाको भविष्यमाथि ती खालका टिप्पणी हुन अस्वाभाविक पनि थिएन । अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई नै राष्ट्रियसभामा निरन्तरता दिने प्रधानमन्त्री ओलीको एउटा अडान र पार्टीको सर्वसम्मत निर्णय अर्को भएपछि पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने बहस फेरि गर्माएको छ ।
तर, पार्टी एकताको यो २१ महिनाका बीचमा नेकपाभित्र आएको उतारचढाव यो नै पहिलो होइन । कुनै एक नेतालाई कर्नरमा पार्न कहिले को त कहिले को नेतासँग स्वार्थको समीकरण बनाएर समस्याको अस्थायी उपचार गरिँदै आएका थिए । यस्ता स्वार्थका समीकरणमा प्रायजसो वरिष्ठ नेता नेपाललाई कर्नरमा पारिँदै आएको थियो । नेपाललाई कर्नरमा पार्न पार्टीका विधि, विधानलाई समेत मिच्ने काम भए । जसका विरुद्ध नेपालले पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्ने माग गर्दै नोट अफ डिसेन्टसमेत लेखे । तर, नेतृत्वले ती विवादको समाधानका लागि दीर्घकालीन उपचार पद्धति खोजी गरेन न त नेपालको असहमतिप्रति कुनै चासो नै प्रकट ग¥यो । जसको परिणाम पछिल्लो समय तीनै मसिना समस्या बल्झेर ठूलो रूप लियो र पार्टीभित्र एक नेताविरुद्ध सबै एक ठाउँमा उभिनुपर्ने अवस्था सिर्जना हुन पुग्यो । पछिल्लो सबै उतारचढाव र घटनाक्रमहरूले दिएको एउटै सन्देश के हो भने नेकपामा अहिले प्रमुख तीन समूह छन् । ती समूहको नेतृत्व केपी ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरेका छन् । अर्थात् नेकपामा मुख्य तीन नेता छन् ओली, दाहाल र नेपाल । यी तीन नेताको सहमति, सहकार्यमा नै नेकपाको भविष्य निर्भर छ ।
पार्टी एकता भएको २१ महिना भइसके पनि अहिलेसम्म तलका कमिटीहरूको गठनदेखि लिएर मन्त्रिपरिषद् विस्तारसम्म नै किन नहोस् पूर्वएमाले र पूर्वमाओवादी समूह भन्न छाडिएको छैन । स्वाभाविक नै हो, एकता प्रक्रियामा एउटा सिंगो पार्टीको नेतृत्व गरेर आएको हुनाले नेकपामा दाहाललाई अस्वीकार गरेर जाने स्थिति पक्कै पनि छैन । त्यसो गर्नु भनेको पार्टीलाई फेरि विभाजनतिर लैजानु नै हो । जहाँसम्म साबिक एमालेको कुरा छ, अध्यक्ष ओली र वरिष्ठ नेपालको झन्डै बराबरको स्थिति हो । नवौं महाधिवेशनमा ५४ मतले ओली अध्यक्षमा निर्वाचित भएका हुन् । फरक त्यत्ति हो । त्यसपछि भएका जिल्ला अधिवेशनमा नेपाल समूहकै वर्चस्व हुँदै आयो । तर, यो बीचमा तीनैजना नेताको बराबरको यो अवस्थालाई नेतृत्वले बुझ्न सकेन । दुई नेता मिलौं, एकजनालाई त ह्याकुलाले पेलिहालिन्छ नि भन्ने गरी नजरअन्दाज गर्ने काम भयो । यति हँुदा पनि वरिष्ठ नेता नेपालको भूमिका कहिल्यै पनि नेतृत्वलाई चिढ्याउने, फटाउने खालको भएको पाइएन । राजनीतक रूपमा आफू पीडित भएर पनि पार्टी एकतामा खलल नपुगोस् भन्ने कुरामा नै बढी सचेत भएको देखियो । त्यसो नहँुदो हो त आफ्ना नोट अफ डिसेन्टका कुरा अस्तिको केन्द्रीय कमिटी बैठकमा पनि राख्न सक्थे । तर, उनले एउटा परिस्थिति बन्यो भने ठिकै छ नि त भनेर संयम र लचकता देखाए । तर कुनै नेताको संयमलाई कमजोरी ठान्ने नेतृत्वको अर्को कमजोरी थियो ।
सबै नेताले सबैको महŒव बुझेकै हुनुपर्छ । बुझ्नुपर्छ । त्यसमा मात्र नेकपाको उज्ज्वल भविष्यको प्रतिबिम्ब देख्न सकिन्छ । नेकपाको भविष्य सुन्दर हुनु भनेको नेपालीको भविष्य सुन्दर हुनु हो, मुलुक समृद्ध बन्नु हो । किनभने, समृद्ध नेपाल र सुखी नेपालीको सपना नेकपा नेतृत्वको सरकारसँग जोडिएको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply