विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालनको सन्देश
काठमाडौं । पार्टी र सरकारलाई विधिसम्मत सञ्चालन गर्ने अथक प्रयासमा प्रधानमन्त्री केपी ओली नै प्रमुख बाधक बनेपछि चरम संकटमा पुगेको नेकपाको आन्तरिक राजनीतिलाई निकास दिने उद्देश्यसहित मंगलबार स्थायी कमिटी बैठक बसेको छ ।
गत १० असारयता आठपटकसम्म बैठक स्थगित गरेर सहमतिको प्रयास गर्दा पनि निकास दिनेगरी ठोस प्रस्तावका लागि तयार नहुने र निरन्तर पार्टीलाई पनि बन्धक बनाउने खेलविरुद्ध विधि र प्रक्रियासम्मत ढंगले पार्टी सञ्चालन हुने सन्देश दिनेगरी बैठक बसेको हो । ओलीको अनुपस्थितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सदस्यी स्थायी समितिका बहुमत सदस्य सहभागी भएका थिए ।
बैठक निरन्तर चलाउँदै जाने र त्यही बीचमा सहमतिको कोसिस जारी राख्ने प्रचण्ड–नेपालसहितका नेताहरुको आग्रहलाई समेत ओलीले अन्तिम घडीसम्म इन्कार गरेपछि बैठक केहीबेर बसेर स्थगित भएको छ । पछिल्लो घटनाक्रमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा रहेर ओलीले नियोजित रुपमै पार्टी विभाजनलाई प्रश्रय दिएको थप स्पष्ट भएको छ ।
पार्टीका शीर्ष नेता, स्थायी समितिमा रहेका दोस्रो पुस्ताका नेताहरुलाई एक्लाएक्लै बालुवाटारमा बोलाएर नाडी छाम्ने, समय घर्काउने, शीर्ष नेताहरुबीच अविश्वास खडा हुनेगरी गतिविधि गर्ने ओलीको दाउपेचबाट हैरान भएका नेताहरुले उनको असहमतिमा बैठक राखेर कुनै व्यक्ति विशेषबिना पनि पार्टी र देश सञ्चालन हुन सक्ने सन्देश दिएका छन् । पछिल्लोपटक मंसिरमा अर्ली महाधिवेशनलाई निकास दिने सहमतिको प्रस्तावका रुपमा प्रस्तुत गरेका ओलीले पार्टीको सिद्धान्त र कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्ने भन्दै अहिल्यैदेखि पार्टी विभाजनलाई प्रश्रय दिने प्रयत्न गर्दै आएका छन् । एकता महाधिवेशनसम्म पार्टीको कार्यदिशा समाजवादउन्मुख जनताको जनवाद हुने कुरा पार्टी विधान र राजनीतिक प्रतिवेदनमा उल्लेख छ । तर, महाधिवेशनका लागि वैचारिक बहस खुला नै नभएको अवस्थामा निरन्तर तोकिएका बैठक छल्दै प्रधानमन्त्री ओलीले पार्टी विभाजनलाई प्रश्रय दिँदै आएका छन् । जबकि, महाधिवेशनबाटै निकास दिने हो भने पनि पार्टी बैठकको अध्यक्षता गरेर आफ्ना कुराहरुमार्फत पार्टी नेताहरुलाई ‘कन्भिन्स’ गर्ने कुरामा ओली चुकेका छन् । जसले गर्दा नेकपा यतिबेला निकै गम्भीर मोडमा उभिएको छ ।
ओली आएनन्, नेपाल गएनन्
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि स्थायी समिति तोकिएअनुसार नेताहरु बैठकस्थल जाने तर्खरमा रहेकै बेला ओलीले पार्टी केन्द्रीय कार्यालय सचिवहरुका नाममा एकतर्फी बैठक स्थगनको सूचना सम्प्रेषण गर्न लगाएका थिए । एक घण्टाअगावै दुवै अध्यक्षको हवाला दिँदै बैठक स्थगनको भ्रमपूर्ण सूचना सम्प्रेषण भएपछि बैठक जाने तर्खरमा रहेका थुप्रै स्थायी समिति सदस्य अन्योलमा परेका थिए । तर पनि अपराह्न १२ बजेसम्म ढिलो गरेर भए पनि ओलीनिकट नेताहरुबाहेक अधिकांश नेता बैठकस्थल पुगेका थिए । बहुमत नेता बैठक कक्षमा भेला भएपछि अध्यक्ष प्रचण्डले टेलिफोन गरेर ओलीलाई बैठकस्थल आउन आग्रह गरेका थिए । तर, ओलीले आफू उपस्थित नहुने भन्दै जे मन लाग्छ त्यही गर्नोस् भन्दै कडा जवाफ फर्काएपछि प्रचण्डले जस्ताको तस्तै त्यही अप्रिय जवाफ बैठक कक्षमा रहेका नेताहरुलाई सुनाएका थिए । त्यही बीचमा प्रचण्डले बैठक सुरु गर्ने तर्खर गरेपछि धेरै नेताहरुले एकपटक चार शीर्ष नेताहरुले भेटेरै बैठकमा आउन आग्रह गर्दा उपयुक्त हुने सुझाव दिए । त्यसपछि शीर्ष नेताहरुबीच के गर्ने विषयमा केहीबेर छलफल भएको थियो । तर, वरिष्ठ नेता नेपालले जतिपटक भेट्दा पनि उस्तै शैलीमा पुरानै कुरा दोहोरिने निश्चित रहेकाले भेटका लागि जानुको औचित्य नहुने फरक मत राखेका थिए भने प्रवक्ता श्रेष्ठले पनि नेपालकै कुरामा सहमति जनाएका थिए । तर, स्थायी समितिका सदस्यहरुको सुझाव सुनेर ओलीलाई मनाउन गएका प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल पनि आफू अनुपस्थित हुने जे मन लाग्छ गर्नुस् भन्ने ओलीको अप्रिय सन्देश सुनेर निराश मुद्रामा बैठक कक्ष फर्किएका थिए ।
प्रचण्ड र खनाल फर्किएपछि ४४ मध्ये २९ जना स्थायी समिति सदस्य र दुई आमन्त्रित सदस्य गरी ३१ जनाकोे उपस्थितिमा बैठक सुरु भयो । बैठकको अध्यक्षता गर्दै प्रचण्डले केहीबेर पछिल्लो घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए । बैठकमा ओलीनिकट सचिवालयका नेताहरु विष्णु पौडेल र ईश्वर पोखरेलका साथै गृहमन्त्री रामबहादुर थापा‘बादल’अनुपस्थित भएका थिए । उपाध्यक्ष वामदेव गौतमले भने पार्टी विभाजन हुन सक्ने गम्भीर मोडमा पुगेको भन्दै एकता बचाउन आफूले ६ बुँदे प्रस्ताव तयार पारेको विषयमा केहीबेर ‘ब्रिफिङ’ गरेका थिए । सुवास नेम्वाङसहित ओलीनिकट नौ स्थायी समिति सदस्य बैठकमा अनुपस्थित थिए । त्यस्तै पूर्वमाओवादी समूहका रामबहादुर थापा, मणि थापा र टोपबहादुर रायमाझी बैठकमा अनुपस्थित थिए ।
बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले पार्टीलाई एकताबद्ध बनाउन सबै पार्टीपंक्तिलाई आआफ्नो ठाउँबाट लाग्न आग्रह गर्ने र अहिलेको संकट समाधानको सही बिन्दु पत्ता लगाउन सबै प्रयत्न जारी राख्ने निर्णय गरेको बताए । पार्टीको अर्को बैठक अध्यक्ष ओलीसमेतको सहमतिमा राख्ने गरी निर्धारण गर्ने जिम्मा प्रचण्डलाई दिएको पनि श्रेष्ठले बताए ।
अध्यक्ष ओलीले एकपक्षीय रुपमा हिजोको बैठक स्थगित गरेको सूचना जारी गरेपछि युवा पुस्ताका तीन नेता धनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराईबीच सम्भावित संकट र तत्काल समाधानको उपायबारे छलफल भएको थियो । कृषिमन्त्री भुसालको कार्यकक्ष सिंहदरबारमा भएको सो छलफलमा हिजोको बैठकमा अरु एजेन्डामा छलफल गर्ने तर सरकार र पार्टी कामको समीक्षा नगर्नेगरी बैठक सुचारु गर्ने गरी शीर्ष नेताहरुसँग कुरा गर्ने सहमति भएको थियो । तर, युवा नेताको त्यो प्रयास पनि सफल भएन ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply