१५ किलो नक्कली सुन काण्ड
काठमाडौं । प्रहरीका राम्रा भनिएका उच्च अधिकारीहरू क्रमशः सुन काण्डमा फस्दै आएका छन् । राम्रो अफिसर मानिएका एसएसपी दिवेश लोहनीले निकै पछि सफाइ पाए । ३३ किलो सुन काण्डको छानबिन प्रकरणमा धेरै प्रहरी संलग्न रहेको भेटियो । अहिले पछिल्लो चरणमा राम्रा भनिएका प्रहरी अधिकृत डीएसपी रञ्जन दाहाल १५ किलो सुन काण्डको शंकाको घेरामा तानिएका छन्् । अहिले प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाको नेतृत्वमा छानबिन समितिसमेत गठन गरेको छ । आखिर कसरी हुन जान्छ यस्ता रहस्यमय सुन काण्ड र किन फस्छन् प्रहरी अधिकारीहरू ? प्रश्न गम्भीर बनेको छ ।
गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो– कमलादीबाट १५ किलो सुनजस्तै देखिने पदार्थ भेटियो । स्कार्पियो चढेर आएका व्यक्ति सुनजस्तै देखिने पदार्थ रहेको झोला फ्याँकेर भागेको सूचना प्रहरीबाटै सार्वजनिक भयो । झोलामा दुई थान चाइनिज पेस्तोलसमेत रहेको पुष्टि भयो । तर, सूचना पाएर पिछा गर्दै जाँदा सुन फ्याँकेर भाग्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिन सकेन । जबकि, ठूलो परिमाणमा सुनजस्तै देखिने पदार्थ फ्याँकेर हिँड्ने सवारीसाधनलाई प्रहरीले आफ्नो मातहतलाई खबर गरेर तत्कालै पक्राउ गर्न सक्थ्यो तर त्यो तत्परता देखाइएन ।
सुरुमा सुन भनिएको यो प्रकरणमा पछि नक्कली सुन काण्डका रूपमा प्रचार ल्याइयो । दरबारमार्ग वृत्तका डीएसपी दाहाललाई जिम्मेवारीबाट हटाइयो । साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन बरामद प्रकरणमा तानिएका डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपीका रूपमा कार्यरत रहेका दाहाललाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटाउँदै प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज तानेको हो ।
प्रहरीकै कमजोरीका कारण अभियुक्त भाग्न सफल भएको, फिल्डमा खटिएका प्रहरीकै मिलेमतोमा बेलैमा घटनाबारे मातहत निकायलाई जानकारी नगराएको, घटनास्थल परिवर्तन गरेकोलगायत कारणले फिल्डमा खटिएका प्रहरी कर्मचारीको मिलेमतोमा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएपछि उनलाई जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतले उल्लेख गरेको छ । बिहीबार नक्कली सुन बरामद प्रकरणमा प्रयोग भएको गाडीसमेत प्रहरीले ललितपुरमा फेला पारेको थियो । सो गाडी ललितपुरको नखिपोटमा भेटिएको प्रहरीले जनाएको थियो । बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी भेटिएको तर उक्त स्कार्पियोको नम्बर प्लेट नक्कली रहेको अनुसन्धानबाट खुलेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले बरामद गरेको भनिएको १५ किलो सुनमध्ये साढे १४ किलो चाँदीमा पहेंलो लेप लगाइएको नक्कली र आधा किलोमात्रै सक्कली सुन पाइएको थियो । उक्त सुनसहित दुईवटा चाइनिज पेस्तोल प्रहरीले बरामद गरेको बताएको थियो । यसअघि नै घटनामा संलग्न भएको आशंकामा चार पक्राउ परेका थिए । पक्राउ पर्नेमा निशेष सखिया, देवान पटेल, विजय पटेल र सन्दीप गुरुङ छन् । गुरुङ ट्याक्सी चालक हुन् भने बाँकी तीनजना नक्कली सुन ओसारपसार तथा बेचबिखनमा संलग्न भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । सुन फालेर भागेपछि उनीहरू तीनजना गुरुङको ट्याक्सीमार्फत पूर्वनवलपरासी हुँदै भारत प्रवेश गर्न लागेका थिए । सुनजस्तो देखिने पदार्थ नियन्त्रणमा लिएर हतारहतार पत्रकार सम्मेलन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले अन्त्यमा भेटिएकामध्ये साढे १४ किलो सुन नक्कली रहेको र त्यसमा आधा किलो मात्रै सक्कली सुन भएको पुष्टि ग¥यो । त्यसबखत गाडीमा आएकाहरू प्रहरीको चेकिङ देखेर गाडीबाट झोला फ्याँकेर भागेको प्रहरीले भनेको थियो । तर, बिहीबारसम्म आइपुग्दा प्रहरीले भनेको घटनास्थल नै गलत भएको अनुसन्धानका क्रममा देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । कमलादीमा झोला फ्याँकेर गाडी भाग्यो भन्ने थियो तर अहिले सुनजस्तो पदार्थ कमलादीमा नभएर सुन्धारामा गाडीबाट फ्याँकेर भागेको बताइएको छ । सुन्धारा डीएसपी दाहालको कार्यक्षेत्रभित्र पर्दैन । सुन बरामद भएको स्थानबारे नै गलत सूचना दिएपछि डीएसपी दाहाल शंकाको घेरामा परेका हुन् ।
प्रहरी स्रोतका अनुसार घटनास्थलको मुचुल्कामा प्रहरीले झोला फ्याँकिएको स्थान सुन्धारा क्षेत्रलाई मानेको छ । प्रहरीले बिहीबार दिउँसो सुन फ्याँकेर भागेको स्कार्पियोलाई ललितपुर नखिपोटमा फेला पारेको हो । बा६च ५५१९ नम्बरको सो स्कार्पियो ललितपुर नखिपोटको बन्दै गरेको एक घरमा त्रिपालले छोपेर राखिएको अवस्थामा फेला पारिएको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत सादा पोसाकका घुमुवा प्रहरीले लुकाएर राखेको एक किलो सुनजस्तो देखिने वस्तु फेला पारेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सादा पोसाकका प्रहरी प्रसन्न श्रेष्ठको आफन्तको घरमा लुकाएको धातु फेला पारेको हो । प्रसन्नका आफन्त उमेश श्रेष्ठको बागबजारस्थित घरबाट उक्त वस्तु फेला परेको हो । यसबाट १५ किलो नक्कली सुन प्रकरण थप रहस्यमयी बनेको छ । महानगरीय प्रहरी परिसरले यो घटना छानबिनका लागि अनुसन्धान समिति गठन गरेको छ । अनुसन्धानले के प्रतिवेदन दिन्छ, त्यो त भविष्यले बताउँछ तर यस्ता प्रकरण प्रहरीभित्र शंकाको घेरामा रहने गरेको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply