कार्यदलको प्रतिवेदनले मत्थर पार्ला त नेकपा विवाद ?
काठमाडौं । विभाजनको तहमा पुगेको पार्टीलाई एकता र सहमतिको दिशामा अघि बढाउन नेकपाको स्थायी समिति बैठक बोलाइएको छ । बहुमत नेताहरूको अलग्गै बैठक सम्पन्न गर्ने तहसम्म चुलिएको विवाद मत्थर पार्दै पार्टीलाई सहमति र एकतासहित अघि बढाउन आगामी भदौ २६ मा बैठक बोलाइएको हो ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको बैठकलाई एकता र सहमतिको बैठक बनाउने विषयमा सोमबार छलफल गरेका छन् । दुवै अध्यक्षलाई गत भदौ १८ को सचिवालय बैठकले सहमति र एकताको प्रस्ताव गृहकार्य गर्ने जिम्मेवारी तोके पनि उनीहरूले ल्याउने प्रस्तावले पार्टीभित्रको समस्या समाधान गर्ने हो कि होइन त्यो भने प्रतीक्षाको विषय बनेको छ ।
पार्टी विवाद समाधान गर्न गठित महासचिवव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले १७ पृष्ठको ५२ बुँदे सुझाव बुझाइसकेको छ । कार्यदलले समग्र समस्या समाधान गर्ने विषयमा कुनै ठोस प्रस्ताव नगरे पनि नीतिगत विषयहरूलाई मात्रै उठान गरेकाले मूलतः ओली र प्रचण्डबीच कार्यदलको प्रतिवेदनमै आधारित भएर कस्तो ठोस सहमति हुन्छ, त्यस आधारमै नेकपा पुन ः एकता र सहमतिसहित अघि बढ्ला कि नबढ्ला भन्ने विषय निर्धारण हुने बताइन्छ । त्यसैले पनि नेकपाको लाखौं पंक्तिले अहिले पार्टी स्थायी समिति बैठकमा हुने छलफल र त्यसले गर्ने निर्णयको प्रतीक्षा गरिरहेको छ ।
पार्टीभित्रका कुनै पनि समस्या अहिलेसम्म समाधान भएका छैनन् । विगतमा पनि समस्या औंल्याउने तर मूलतः अध्यक्ष ओली र प्रचण्डले आत्मसात् गरेर कार्यान्वयन नगरेकै कारण पार्टीभित्रको अन्तरविरोध चुलिएर विभाजनकै तहसमम्म पुगेकोमा दुईमत छैन । तर, यसपटक कार्यदल नै बनाएर अलि सार्थक प्रयास भएका कारण पार्टीभित्रको समस्या समाधान हुने आम नेता–कार्यकर्ताहरूको अपेक्षा छ । पार्टीभित्र उठ्दै आएको एक व्यक्ति ः एक प्रमुख जिम्मेवारी लागु गर्ने, गुटबन्दीको कारण पहिल्याउने, पार्टीको मार्गदर्शनमा सबै सरकार सञ्चालन गर्ने, सरकारको काम प्रभावकारी बनाउन पुनर्गठन प्रक्रिया अघि बढाउनेजस्ता महत्वपूर्ण विषयहरूमा कार्यदलले ठोस सुझाव दिएको छैन । वरिष्ठ नेता माधवकुमार नेपालले मूलतः तिनै विषयहरूलाई मूर्त बनाउनुपर्ने सुझाव राखेका छन् । स्थायी समिति बैठक अघि बस्ने सचिवालय बैठकमासमेत शीर्ष नेताहरूले मूलत ः तिनै विषयहरूलाई उठाउने तयारी गरिरहेका छन् । यसरी उठेका विषयहरूलाई स्थायी समितिले सम्बोधन गर्न सके सरकार पुनर्गठन प्रक्रिया अघि बढ्ने र एकताको सन्देशसहित पार्टी र सरकार मिलेर प्रभावकारी काम गर्न सक्ने अवस्था बन्नेछ । यद्यपि, प्रधानमन्त्री ओली अझै त्यसका लागि मानसिक रूपमा तयार भइसकेका छैनन् ।
१० असारबाट सुरु भएको स्थायी समिति बैठक पार्टीभित्र चर्किएको अन्तरविरोधका कारण पटकपटक स्थगित गराइएपछि संस्थागत विधि र प्रक्रिया सुचारु गर्न १३ साउनमा प्रधानमन्त्री निवास बालुवाटारमा बहुमत नेताहरूको बेग्लै स्थायी समिति बैठक बसेको थियो । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालसहित ३१ नेता सहभागी बैठकले प्रधानमन्त्री ओलीले हठ र दम्भ नत्यागे दुर्घटना निम्तिन सक्ने कडा चेतावनीसहितको सन्देश दिएपछि उनी हच्किएका थिए । ओलीको आत्मकेन्द्रित र निरंकुश शैलीविरुद्ध प्रतिवाद गर्ने उद्देश्यले मात्र बैठक आयोजना गरिएकाले धेरै नेताले ओलीले स्थायी समितिलाई इन्कार गर्ने कुरा गलत भए पनि पार्टी विभाजन रोकेर सहमतिका लागि पहल गर्नुपर्ने निष्कर्षसहितको सुझाव दिएका थिए । त्यही सुझावका आधारमा बैठकले ओलीसँग छलफल गरेर सहमतिमा स्थायी समिति बैठक बोलाउने जिम्मेवारी प्रचण्डलाई दिइएको थियो । त्यसपछि ओली–प्रचण्डबीच अनेकौं पटक अनौपचारिक छलफल भएअनुसार विवाद समाधानका लागि सुझाव दिन महासचिव पौडेलको नेतृत्वमा ३० साउनमा ६ सदस्यीय कार्यदल गठन भयो । सुरेन्द्र पाण्डे, जनाद्र्धन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल र भीमबहादुर रावल सदस्य रहेको कार्यदलले ६ भदौमा अध्यक्षहरूको जिम्मेवारी बाँडफाँट, मन्त्रिपरिषद् पुनर्गठनसहितको १७ पृष्ठको प्रतिवेदन ओली र प्रचण्डलाई बुझाएको थियो ।
१० असारमा सुरु भएको स्थायी समिति बैठकमा दुई अध्यक्षको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पाेरेसन सहायता (एमसीसी) र विविध एजेन्डा थिए । दुई अध्यक्षको सम्बोधनपछि प्रधानमन्त्री ओलीको गैरजिम्मेवार शैलीका कारण बैठकको छलफल उनको राजीनामामा केन्द्रित भएको थियो । अधिकांश एजेन्डा छलफलमा थाती नै रहेकाले अब बस्ने स्थायी समिति बैठकमा अध्यक्षहरूको प्रस्तावमै सबै विषयलाई समेटेर छलफल चलाउने तयारी छ ।
महासचिव पौडेलले पनि स्थायी समिति बैठकमा अध्यक्ष ओली र प्रचण्डका तर्फबाट प्रस्तुत हुने सहमतिको ठोस प्रस्तावमा छलफल हुने बताए । ‘पुराना एजेन्डा र नयाँ दुवैखाले विषयवस्तुमा बैठकमा छलफल हुन्छ, पार्टीभित्रको समस्या समाधानका लागि गठित कार्यदलले प्रस्तुत गरेको सुझाव र पछिल्लो सचिवालय बैठकमा आएका धारणालाई समेटेर अध्यक्षहरूले सहमतिको ठोस प्रस्ताव प्रस्तुत गर्नुहुनेछ,’ पौडेलले भने, ‘त्यसका लागि अध्यक्षहरूले आफ्ना तर्फबाट गृहकार्य गरिरहनुभएको छ ।’
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply