बुद्ध जन्मस्थलबारे भ्रम निवारण
मैले दक्षिण कोरियाका लागि राजदूतको कार्यभार सम्हालेको थिइनँ, दक्षिण कोरियासँग सम्बन्धित काममा हात हाल्नुपरेको थियो । व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी (एक्स्पो) आयोजना गर्न कोरियाले प्रतिस्पर्धा गरिरहेको रहेछ । त्यससम्बन्धी निर्णय गर्न फ्रान्समा मुख्यालय भएको संस्था– ब्युरो इन्टरनेसनल डेस एक्सपोजिसन (बीआईई) मा मतदान हुँदो रहेछ, जसको नेपाल सदस्य नै बनेको रहेनछ । हामीलाई लामो समयदेखि सघाइरहेको र घनिष्ठ सम्बन्ध भएको कोरियालाई लागेछ– नेपाल सदस्य भएको भए त हामीलाई मत दिने थियो !
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाका स्वकीय सचिव सुवर्ण श्रेष्ठले कोरियाली दूतावासका अधिकारीलाई मेरो घरमै लिएर आउनुभयो । उनीहरूले मलाई सबै कुरा व्याख्या गरेर सहयोगका लागि अनुरोध गरे । बीआईईको सदस्य बन्न नेपालले २ हजार युरो तिर्नुपर्दो रहेछ । सदस्य मुलुकको मत आफूतिर तान्न प्रतिस्पर्धी मुलुकले विभिन्न प्रस्ताव पनि गर्दा रहेछन् ।
प्रदर्शनी कहाँ आयोजना गर्ने भनेर निर्णय गर्न र त्यसका लागि पेरिस पुगी मतदान गर्न त्यस्तै आठ–दस दिन मात्र बाँकी रहेकाले दौडधुप नगरी नेपालबाट त्यो काम सम्भव थिएन । नेपालले मत नदिएसम्म कोरियाले नजित्ने अवस्था भएकाले उनीहरू हामीसँग धेरै नै आशावादी थिए । किनभने, अर्को प्रतिस्पर्धी ट्युनिसियासँग हाम्रो सम्बन्ध नभएकाले स्वाभाविक रूपमा दक्षिण कोरिया रोजाइमा पर्छ भन्ने उनीहरूलाई थाहा थियो ।
व्यापारसँग सम्बन्धित प्रदर्शनी आयोजना गर्ने यति ठूलो अन्तर्राष्ट्रिय संस्थाको सदस्य नहुनु हाम्रो भूल थियो । त्यसकारण, म आफैं यसमा लागें । त्यसको सदस्य बन्न चारवटा मन्त्रालयले निर्णय गर्नुपर्ने रहेछ । अर्थ मन्त्रालयले पैसा दिनुपर्ने, परराष्ट्र मन्त्रालयले हुन्छ भन्नुपर्ने, कानुन मन्त्रालयले कुनै कानुनी बाधा छैन भन्नुपर्ने र उद्योग तथा वाणिज्य मन्त्रालयबाट हस्ताक्षर गर्न प्रतिनिधिमण्डल जानुपर्ने ।
मैले परराष्ट्रमन्त्री सहाना प्रधानलाई भेटेर ठाडै भनें, ‘यो त हामीहरूको ठूलो बेबकुफी हुँदैछ । एउटा अन्तर्राष्ट्रिय संस्थाको कैयौं वर्षदेखि सदस्य बनिरहेका छैनौं ।’ हुँदाहुँदा कतिसम्म गाईजात्रा भएको रहेछ भने नेपालले एकपटक कार्यकारीका लागि उम्मेदवारी दिएछ । भाग लिन त जुनसुकै देशले पनि पाउँथ्यो । तर, सदस्य नभएकाहरूको मताधिकार हुँदैनथ्यो । सदस्य नभएका कारण हाम्रो उम्मेदवारी रद्द भएर बेइज्जती हुँदासम्म पनि हामी सदस्य बनेका रहेनछौं । मैले जोड दिएँ, ‘यो काम हाम्रो हो, गर्नैपर्छ ।’
एकैपटक नियुक्त भएका हामी राजदूतहरूलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बालुवाटारमा बोलाउनुभएको थियो । मैले प्रधानमन्त्री कोइरालालाई भनें, ‘जम्मा २ हजार युरोका कारण हामी एउटा अन्तर्राष्ट्रिय संस्थाको सदस्य हुनबाट वञ्चित छौं । त्यसमा आर्थिक कारोबारसम्बन्धी कुरा हुन्छन् ।’ उनले राजदूत भएर जान लागेका आफ्ना परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेलाई सोध्नुभयो, ‘के हो यो सुरेश ?’ उहाँले पनि यो हुनुपर्ने कुरा हो, गल्ती भएको छु भन्नुभयो । परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले कुरा सुन्नुभएको रहेछ । पछि म आफैं विभिन्न मन्त्रालयमा दौडिएँ र निर्धारित समयभित्रै नेपाल त्यस संस्थाको सदस्य बन्यो र कोरियालाई मद्दत पुग्यो ।
यस कामबाट म कोरिया नजाँदैदेखि कोरियालीहरू मसँग खुसी भए । मलाई एक दिन दक्षिण कोरियाका राजदूत नाम साङ जुङले सोल्टीमा खाना खान बोलाएर भन्नुभयो, ‘तपाईंलाई कुन रङको गाडी मन पर्छ, भन्नुहोला । कोरियामा हाम्रा तर्फबाट एउटा गाडी उपहार दिन्छौं ।’ थपमा नेपाल सरकारलाई पाँचवटा गाडी दिने पनि जानकारी गराउनुभयो । त्यो कुरा कोरियामा हाम्रो दूतावासलाई जानकारी गराउँदा त्यहाँका कर्मचारीले ‘हामी यहाँ अलग्गै किन्छौं, छवटै गाडी नेपाल पठाइदेऊ’ भनेछन् । उनीहरूले प्राप्त भएको गाडी नराखेर कोरियामा गाडी किन किन्न खोजेका होलान्, कुरा बुझिहालिन्छ ।
दक्षिण कोरियाको नियम के छ भने रात परेपछि वा कार्यालय समयबाहेकको समयमा त्यहाँ पुग्ने राजदूतलाई स्वागत गर्न परराष्ट्रका अधिकारी विमानस्थल पुग्दैनन् । म चढेको जहाज २७ डिसेम्बर २००७ को राति १ बजे पुग्ने भएकाले शिष्टाचार अधिकारी नआउने र आफू मात्रै विमानस्थलमा आउने खबर हाम्रो नियोगका उपप्रमुख यादव खनालले गरिसक्नुभएको थियो । तर, सायद यहाँबाट कोरियाली राजदूतले विशेष खबर गरेकाले होला, उनीहरू पनि आए । कूटनीतिसम्बन्धी पहिलो शिक्षा मलाई के प्राप्त भयो भने मित्रहरूको संवेदनशीलता बुझ्न सक्ने हो भने आफ्नो मुलुकलाई धेरै फाइदा हुन्छ ।
मैले आजीवन राजनीति गरें, जेलनेल भोगें, चुनाव लडें, लेखपढमा लागें । तर पछि राजदूत नियुक्त हुनुको एउटा पृष्ठभूमि छ ।
सन् २००४ मा राजा ज्ञानेन्द्रले नेपाली कांग्रेस फोडेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका बेला मलाई मन्त्रिपरिषद्मा जान भनिएको थियो । मसँग विष्णु पौडेलले प्रस्ताव गर्दा मैले ‘ज्ञानेन्द्रका निगाहमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको सरकारमा जानु नै गलत हो’ भनेर केन्द्रीय कमिटीमा ‘नोट अफ डिसेन्ट’ लेखेको स्मरण गराएर फुत्किन कोसिस गरेको थिएँ । उहाँले ‘त्यो तपाईंले कमिटीमा राखेको कुरा हो, केन्द्रीय कमिटीले निर्णय गरेपछि जाँदा फरक पर्दैन, कसैको फोन आयो भने हुन्न नभन्नुहोला’ भनेर सम्झाउनुभएको थियो । नभन्दै राति महासचिव माधवकुमार नेपालले फोन गरेको कलर आइडीमा देखेँ । भोलिपल्ट मन्त्रिपरिषद् विस्तार हुने सुनिरहेको थिएँ । मलाई लाग्यो, पक्का त्यही सोध्न फोन गर्नुभएको होला । मैले घरमा भनें, ‘फोन उठाएर सुतिसक्यो भन्देऊ ।’ उहाँले ‘भोलि बिहान आठ बजेसम्म जसरी पनि सम्पर्क गर्न भन्नू’ भन्ने सन्देश छाड्नुभयो । ९ बजे मन्त्रीहरूको नाम तय गर्न स्थायी समितिको बैठक रहेछ । मैले बिहान सम्पर्क गरिनँ । एकैचोटि दिउँसो २ बजे मन्त्रीहरूको नाम घोषणा भएपछि पार्टी कार्यालय गएर माधवकुमार नेपाललाई धन्यवाद दिँदै भनें, ‘कमरेड, तपाईंले मलाई धेरै दिन खोज्नुभएको थियो तर मेरो पोल्टैमा अटाएन ।’
सन् २००७ मा सहाना प्रधान परराष्ट्रमन्त्री भएपछि एक दिन मैले अशोक राईलाई भनेँ, ‘मलाई मन्त्री हुने कुनै रहर छैन, राजदूत पाए जान्छु । यसमा कुनै छक्कापन्जा गर्नुपर्दैन ।’ उहाँले ककसलाई के भन्नुभएछ, एक दिन सहाना प्रधानले फोन गरेर ‘तपाईंको व्यक्तिगत विवरण (बायोडाटा) तुरुन्त चाहियो’ भन्नुभयो । शीतल निवासमा गएर विवरण बुभसएँ । सायद पार्टीको नेतृत्व तहमा यसबारे कुराकानी भयो होला, केही दिनपछि दक्षिण कोरियाका लागि राजदूतमा मेरो नाम घोषणा भयो ।
मेरो बुबा मातृकाप्रसाद कोइराला दुईपटक प्रधानमन्त्री भइसकेपछि सन् १९६१ मा अमेरिकाका लागि राजदूत हुनुभएको थियो । सन् १९५१ मा नेपालमा पहिलो गैरराणा अर्थात् जनताका छोराका रूपमा प्रधानमन्त्री बन्नुभएका उहाँलाई दोस्रोपटक सन् १९५४ मा राजा त्रिभुवनले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । राजा महेन्द्रको १५ डिसेम्बर १९६० को सैनिक ‘कुुपछि उहाँलाई थुनामा राखियो । पछि राजा महेन्द्रका तपसर््बाट ‘म छाडिदिन्छु तर अमेरिकाका लागि राजदूत भएर जानुपर्छु भनेर बुबालाई थुनामुक्त गरिएको थियो । अर्थात् बुबा नेपालमा नरहनुहोस् भन्ने उहाँको चाहना थियो । संयुक्त राष्ट्रसंघ र अमेरिकाका लागि राजदूत भएकाले बुबा न्युयोर्क र वासिङ्टनमा आधा–आधा समय बस्नुहुन्थ्यो । त्यसबेला म पञ्चायती व्यवस्थाका विरुद्धमा संघर्षमा लागेकाले भारत निर्वासित थिएँ । राजदूत भएर करिब दुई वर्ष त्यहाँ बस्दा दक्षिण भियतनाममा बौद्धधर्मीमाथि अत्याचार भयो भनेर छानबिन गर्न संयुक्त राष्ट्रसंघबाट पाँच सदस्यीय टोली गठन गरेर पठाइँदा त्यसमा बुबा पनि हुनुहुन्थ्यो । पछि मलाई भियतनामका लागि गैरआवासीय राजदूत बनाइएछ । त्यसअघि भियतनामलाई म्यान्मारले हेर्ने गथ्र्याे । कस्तो संयोग– बुबा राजदूत हुनुभयो, म पनि भएँ । बुबा भियतनाम पुग्नुभयो, म पनि पुगें !
रघुजी पन्तले श्रममन्त्री भएका बेलामा दक्षिण कोरियासँग श्रम सम्झौता गरेर राम्रो काम गर्नुभयो । त्यतिबेलासम्म दलालहरूले गरिब नेपालीबाट ठूलो रकम कुम्ल्याउने गरेका थिए । त्यो सम्झौता भएपछि ईपीएस परीक्षा उत्तीर्ण गरेर नेपाली कामदारले सरकारमार्फत दक्षिण कोरिया जान पाए । चाहेर पनि यत्तिकै कसैलाई लैजान नसक्ने गरी त्यो प्रणाली बनाइएको छ ।
विद्यार्थीहरू पढ्न कोरिया जान्छन् । अमेरिकीजस्तै दक्षिण कोरियालीको दक्ष जनशक्ति आफ्नो देशमा आउँछ भने सहजै दिने नीति छ । कोरियामा श्रमिकहरूको पहिलो ब्याच म हुँदा सुरु भएको हो । अहिले कोरियाबाट अर्बौ रुपैयाँ रेमिट्यान्स आउँछ ।
दक्षिण कोरियामा रहँदा मैले नेपालको हितमा अर्को एउटा उल्लेखनीय काम गरेको छु । कोरियाका पाठ्यपुस्तकमा ‘बुद्ध भारतमा जन्मेका हुन्’ भनेर लेखिएको थियो । बौद्धमार्गी त्यस देशका पाठ्यपुस्तकमा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भनेर लेखाउन मैले धेरै मिहिनेत गरें।
एक दिन दक्षिण कोरियाका लागि भारतीय राजदूत स्कन्द तयालसँग कुनै देशको राष्ट्रि«य दिवसका उपलक्ष्यमा आयोजित सन्ध्याकालीन ककटेल पार्टीमा एक कोरियाली वृद्धले सोधे– ‘साँच्चै भन्नुस् त, शाक्यमुनि बुद्धको जन्म कहाँ भएको हो ?’ मुसुक्क हाँसेर मतिर हेर्दै भारतीय राजदूत तयालले भन्नुभयो– ‘बुद्ध नेपालमा जन्मेका हुन् । तर हामीले हाइज्याक ग¥यौं !’
बंगलादेशका राजदूत साहिदुल इस्लामलाई मसँग कुनै बौद्ध समारोहमा कोरियालीहरूले दुई शब्द बोल्न भन्दा उहाँले भन्नुभयो, ‘गौतम बुद्ध नेपालमा जन्मेका हुन्, हाम्रो देश बंगलादेशमा पनि बुद्ध धर्मका ठूला आचार्य र प्रचारक दीपंकर घोष जन्मेका हुन् ।’
यसै सन्दर्भमा मैले एउटा पत्र दक्षिण कोरियाका राष्ट्र«पतिसमक्ष पे्रषित गरेको थिएँ
महामहिम ली म्युङ बक
राष्ट्रपति गणतन्त्र कोरिया
महामहिम
अत्यन्तै विनम्रतापूर्वक तपाईंको ध्यान म भगवान् बुद्ध शाक्यमुनिको जन्मस्थलबारे रहेको तथ्यगत सत्यप्रति आकर्षित गर्न चाहन्छु, जुन कैयौं वर्षदेखि र कैयौं विद्वानको तथ्यगत गल्तीमा विद्यमान छ ।
म लाखौं विश्वासीका भावनाको महŒव र उच्च विश्वासप्रति सचेत रहँदै मौका पाउँदा सत्य र तत्पश्चात् यसलाई सच्याई पाउन विनम्र निवेदन गर्दछु । शाक्यमुनि गौतम बुद्धको जन्म लुम्बिनी नामक स्थानमा भएको थियो, जो आज नेपालमा छ । यो स्थान गणतन्त्र भारतको सिमानाभन्दा २० माइल वा ३२ किलोमिटर उत्तरमा पर्छ र बुद्धसम्बन्धी यो तथ्य धरतीमा छ ।
आज पनि लाग्दैछ, कैयौं व्यक्ति अझै पनि बुद्धको जन्मस्थल कुन देशमा पर्छ भन्दा भ्रमपूर्ण उत्तर दिन पुग्छन् । बुद्धको जन्मस्थलबारे यस्तो भ्रम हुने निम्न कारण बताउन सकिन्छ –
१७औं शताब्दीमा ब्रिटेनद्वारा भारतको औपनिवेशीकरण प्रारम्भ भयो र यस शासनको अन्त्य सन् १९४७ मा भयो । भारतको औपनिवेशीकरणका साथ ब्रिटिस इतिहासकारहरूले अङ्गे्रजी भाषामा भारतको इतिहास लेख्न थाले । यी अङ्गे्रजी इतिहासमा ‘बुद्ध भारतमा जन्मेका हुन्’ भनी लेखियो ।
यो गल्ती कुनै गलत नियत राखी गरिएको थिएन । १७औं, १८औं र १९औं शताब्दीमा लुम्बिनीको भूभाग र स्थल उनीहरूलाई थाहा थिएन । शताब्दीयौंसम्म यो स्थल विशाल घना जङ्गलले ढाकेको थियो, जुन पाँच सय माइल वा आठ सय किलोमिटर लामो र १६ देखि १९.२ किलोमिटर चौडा थियो ।
शाक्यमुनिको जीवनका चार पवित्रतम स्थल (१) लुम्बिनी–जन्मस्थल, (२) बोधगया–ज्ञानप्राप्ति स्थल, (३) सारनाथ–प्रथम उपदेश प्रवचनस्थल र (४) कुशीनगर–महानिर्वाण स्थल हुन् ।
ब्रिटिस इतिहासकारहरू लुम्बिनी छाडी अरू सबै तीन प्रमुख स्थान भारतमा हुँदा सम्भवत त्यसैले गर्दा यो गलत निष्कर्षमा पुगे होलान्– चौथो तर सबैभन्दा पवित्र महत्वपूर्ण बुद्धको जन्मस्थल पनि भारतमै छ ! यस्तो उनीहरूले लुम्बिनीको ठीक भौगोलिक स्थिति नजानीकन लेख्न पुगे ।
प्रसिद्ध मौर्य सम्राट अशोक आफ्ना आध्यात्मिक गुरु उपगुप्तका साथ इसाको जन्मभन्दा २ सय ४९ वर्षपूर्व त्यो स्थलमा तीर्थाटन गर्न पुगे । उनले त्यस स्थानमा पत्थरको स्तम्भ खडा गर्न लगाए, जसमा यो स्पष्ट रूपले शील अंकित गरिएको थियो– ‘हिदो जुद्ध जाते शाक्यमुनि’(यहीँ शाक्यमुनि जन्मनुभएको थियो ।) यो ढुङ्गाको स्तम्भमा अशोकद्वारा अङ्कित गर्न लगाइएको अभिलेख आज पनि जस्ताको तस्तै छ र जन्मस्थलबारे यसले अकाट्य प्रमाण प्रस्तुत गर्दैछ । यो ब्राह्मी अक्षर र पाली भाषामा लेखिएको पाठको अनुवाद निम्नलिखित छ –
‘आफ्नो राज्यारोहणको २० वर्षपछि देउताहरूका प्यारा सम्राट प्रियदर्शी आफैं उपस्थित हुनु भई यस स्थलको पूजा गर्नुभयो । किनभने, शाक्य जातिका मुनि बुद्धको जन्म यहीँ भएको थियो । उहाँले ढुङ्गाको पर्खाल र पत्थरको स्तम्भ आफ्नो भ्रमणको स्मृतिमा खडा गर्न लगाउनुभयो । किनभने, भगवान् बुद्धको जन्म यहीँ भएको थियो ।’
तीनजना प्रसिद्ध चिनियाँ तीर्थालु त्सेङ तपाईं (चौथो शताब्दी इसापश्चात्), पस–सीएन (पाँचौं शताब्दी इसापश्चात्) र ह्युएन त्साङ (सातौं शताब्दी इसापश्चात्)ले लुम्बिनीको विस्तृत वर्णन गरेको पाइन्छ । पश्चिम नेपाल कर्णालीका राजा रिपु मल्ल सन् १३१२ मा यहाँ आएका थिए र उनले पनि आफ्नो भ्रमणलाई यो अशोक स्तम्भमाथि अंकित गर्न लगाएका थिए ।
पछि लुम्बिनी स्थल र बुद्धको सम्बन्ध ओझेल पर्दै गयो र नाम लुम्बिनीबाट विस्तारै रम्मिनदेई र त्यसपछि रूपन्देही (जिल्लाको वर्तमान नाम) मा परिवर्तन हुँदै गयो ।
सन् १८८७ मा त्यसबखतका कमान्डर इन चिफ खड्गशमशेरलाई पदबाट बर्खास्त गरी पश्चिमको पाल्पा भन्ने ठाउँमा निर्वासनमा पठाइयो । उनले सुने, ‘समथर तराईको घना जंगलका रूखहरूमाझ एउटा मानव–निर्मित स्तम्भ छ । खड्गशमशेरले त्यो स्तम्भको चारैतिरका रूख काटेर सफा पार्न र त्यसमुनिको माटो खन्न लगाए । खन्नेहरूले त्यहाँ भग्नावशेषहरू र धेरै प्राचीन समयको स्थल भेटाउँदै गए । यो समाचार तत्कालीन नाम–युनाइटेड प्रोभिन्स (यूपी) को राजधानी लखनउ, भारतसम्म पुग्यो । ब्रिटिस भारतका एक प्रख्यात पुरातत्वविद् डा. एलाई फुरेई त्यस स्थलमा पुगे । उनलाई ब्राह्मी लिपि र पाली भाषाको राम्रो ज्ञान थियो । उनले बडो सजिलै त्यो प्राचीन स्तम्भमा अंकित अक्षर पढेर अनुवाद गरे । पीसी मुखर्जी नामक अर्का सुप्रसिद्ध भारतीय पुरातŒवविद्ले त्यहाँ उत्खनन गरे र जन्मस्थलका साथै वरपरका प्राचीन भग्नावेशको समेत पहिचान गरे ।
यसप्रकार बल्ल पस्ेरि सन् १८ढ६ मा बुद्धको जन्मस्थलले प्रसिद्धि पायो र सर्वमान्य रूपले पुन पुष्टि प्राप्त ग¥यो । तर, त्यस विकासभन्दा पहिले नै ब्रिटिस इतिहासकारहरूका पुस्तक संसारका धेरै देश र धेरै भाषामा अनुवादित भई प्रचलित भइसकेका थिए, जो ब्रिटिसहरूद्वारा लेखिन पुगेका गलत सूचनामा आधारित थिए ।
यी उत्खननहरू र प्राप्त पुष्टिहरूपश्चात् संसार दुईवटा विश्वयुद्धको सिकार भयो । फलस्वरूप मान्छेहरूको ध्यान अन्य कुरातिर लाग्यो । विश्वयुद्धपछि पनि स्वतन्त्रता–संग्रामहरू र गृहयुद्ध संसारका धेरै भागमा चलिरहे ।
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ–थान्तको लुम्बिनी तीर्थाटन लुम्बिनीको विकासको आधुनिक इतिहासमा एउटा कोसेढुंगा साबित भयो । सन् १९७० मा उहाँले संयुक्त राष्ट्रसंघको संलग्नतामा लुम्बिनीको विकासलाई सहयोग गर्न १५ देश सदस्य भएको एउटा अन्तर्राष्ट्रिय समिति नै बनाउनुभयो ।
कोरिया महाबोधी समाज गुम्बा (गणतन्त्र कोरिया), शान्तिस्तुप र सोक्यो मन्दिर (जापान), चिनियाँ गुम्बा, भियतनाम गुम्बा, विशाल कमलस्तूप (जर्मनी), महाबोधी समाज कलकत्ता (भारत), कोग गुम्बा, ध्यानकेन्द्र (म्यान्मार), लिन्हसन गुम्बा (प्रसन्स), कम्बोडियाको गुम्बा र अरू देशले पनि लुम्बिनीमा स्थल बनाएका छन्, जो लुम्बिनी विकास गुरु योजनाअन्तर्गत रहेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले १ नोभेम्बर २००८ मा लुम्बिनी पुगेर भन्नुभयो, ‘म यो भगवान् बुद्धको पवित्र जन्मस्थलोको सौन्दर्य र गहिरो महत्वले भावविभोर भएँ, त्यो राजकुमार, जो सारा सुखसुविधा परित्याग गर्दै संसारका कठिन वास्तविकताको खोज गर्दै संसारका सबैभन्दा ठूला धर्महरूमध्ये एउटाको संस्थापक भए ।’
७ नोभेम्बर २०११ मा ब्रिटिस म्युजियमले यसको पुरानो लेख र अभिलेख सच्यायो । ब्रिटिस म्युजियम हरेक वर्ष ६ करोड मान्छेले हेर्छन् । त्यसैले यो सच्याउने काम नेपालका लागि धेरै महŒवपूर्ण छ । ब्रिटिस म्युजियमको सान्दर्भिक पर्खालमा लेखिएको कुरा यस्तो छ, स्पष्ट पार्ने भावनाका साथ ब्रिटिस म्युजियम अस्पष्ट नभई र सही भई यस विषयमा भन्छ, ‘बुद्ध लुम्बिनीमा जन्मेका हुन्, जो नेपालमा छ ।’
सियोलमा कोरियाली भाषा पढ्न र बोल्न सक्ने भएका धेरै नेपालीहरूले नेपालको प्रथम आवासीय राजदूत भएर मेरो आगमनपछि केही पुस्तक विशेषगरी कोरियाली विद्यालय र कलेजका पाठ्यपुस्तक पुस्तक पढेर तिनमा शाक्यमुनिको जन्मथलोबारे भ्रमपूर्ण सूचना भएको कुरा बताए ।
महामहिमलाई मेरो विनम्र अनुरोध छ, कोरियाली बालबालिका र कलेज जाने विद्यार्थीलाई शाक्यमुनि बुद्धको जीवनको त्यो सत्य जान्न पाउने अवसर दिइनुपर्छ, जुन सत्य महामहिम बान की मुन र हजारौं कोरियालीहरूलाई ज्ञात छ ।
मेरो सियोलमा नेपालको प्रथम आवासीय राजदूतका रूपमा कार्यकाल २७ डिसेम्बर २०११ मा सकिँदैछ । बिदा हुने बेला हामी नेपाली भन्ने गर्दछौं, ‘यदि मैले कुनै गल्ती गरेको वा गल्ती बोलेको भए महामहिमले मलाई क्षमा गर्नुहोला ।’
म यो सुन्दर देशमा माया गर्ने र दयालु मन भएका मानिसहरूमाझ चार वर्ष बसें । मनमा कोरियाको मायाका यी स्मृति लिएर म मेरो देश जानेछु । म सधैं जहाँसुकै र जुनसुकै व्यक्तित्वमा रहे पनि सधैं कोरियाको एउटा विश्वासी मित्र भएर रहिरहनेछु ।
(कमलप्रसाद कोइराला)
गणतन्त्र कोरियाका लागि नेपालका राजदूत
मैले नेपाली राजदूतको हैसियतले कोरियाका राष्ट्रपतिलाई लेखेको त्यो पत्रको एउटा प्रति एसियन जर्नालिस्ट एसोसिएसन (एजेए) का संस्थापक अध्यक्ष ली साङ की र अर्को सियोलस्थित कान्तिपुरका लागि संवाद पठाउने देवेन्द्र सम्बाहाम्फेलाई दिएँ । कान्तिपुरमा समाचार छापिएपछि दक्षिण कोरियाको सबैभन्दा प्रचलित अंगे्रजी दैनिक कोरिया टाइम्सका काठमाडौंस्थित संवाददाता अनिल गिरीले समाचार पठाउनुभएछ । त्यो अङ्गे्रजी दैनिकले प्रथम पृष्ठमा नै प्रमुखताका साथ समाचार छाप्यो– ‘नेपालका राजदूतले गणतन्त्र कोरियाका राष्ट्रपतिलाई बुद्ध नेपालमा जन्मेको बताएका छन् र कोरियाका पाठ्यपुस्तक त्रुटिपूर्ण रहेकाले सच्याउन अनुरोध गर्दछु भनी पत्र पठाएका छन् ।’ सायद राष्ट्रपतिका सचिवले मेरो पत्र तुरुन्तै पेस नगरेकाले हो कि अखबारमा त्यो छापिएपछि राष्ट्रपतिले सोधेर हो– दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयबाट हाम्रो राजदूतावासमा फोन आएछ– आजै तुरुन्तै पहिले पठाएको पत्रको ठ्याक्कै उही पत्र फेरि मैले सही गरेर पठाउनुप¥यो । मेरा डीसीएम राजाराम बर्तौलाले भन्नुभयो, ‘त्यो पत्र केही टिप्पणी लेखेर सचिवले राखिदियो होला । अब अखबारहरूमा यो प्रमुखताका साथ छापिएपछि राष्ट्रपतिले खोइ त्यो चिट्ठी भनेर सोधे होलान् ! त्यसैले सचिवले टिप्पणी लेखेको पहिलो पत्र लुकाएर ठ्याक्कै उहीका उही मागेका हुन् कि ?’ हामीले तुरुन्तै त्यसैबखत फेरि त्यो पत्र पठाइदियौं । दक्षिण कोरियाका राष्ट्रपति संवैधानिक नभएर प्रत्यक्ष मतदानबाट निर्वाचित कार्यकारी हुन्छन् र उनको संवैधानिक हैसियत अमेरिकी राष्ट्रपतिभन्दा पनि बढी शक्तिशाली हुन्छ । सायद उनले दक्षिण कोरियाका शिक्षा र संस्कृति मन्त्रालयलाई यस विषयमा राय पेस गर्न आदेश गरेजस्तो लाग्छ ।
यस्ता कुराहरू सुनिए, सुनाइए पनि । कूटनीतिक विषय हुँदा तुरुन्तै कुनै जानकारी दिइँदैन । तर, सोचेभन्दा धेरै चाँडै केही दिनपछि नै दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयको कुरा आयो । यसपटकका पाठ्यपुस्तक छापेर वितरण भइसके । आगामी वर्ष कोरियाली विद्यालय र कलेजका पाठ्यपुस्तक सच्याएर प्रकाशित हुनेछन् ।
सन् २०१३ मा अस्टे«लियास्थित बुद्धको जन्मस्थलबारे भ्रम निवारण गर्न गठित अन्तर्राष्ट्रिय संस्थाद्वारा त्यसबखतका नेपालका संस्कृतिमन्त्री रामकुमार श्रेष्ठको हातबाट मलाई एउटा प्रशंसापत्र राष्ट्रिय सभागृहमा समारोह गरी प्रदान गरियो । जसमा लेखिएको छ, ‘तपाईंले दक्षिण कोरियाका पाठ्यपुस्तक सच्याउने काममा पाएको सफलता हाम्रो आन्दोलनमा एउटा कोसेढुंगा हो ।’ त्यसअघि पनि मलाई खुसी लागेको थियो, हत्तपत्त राजदूतहरूलाई उनीहरूको कामका लागि धन्यवाद नपठाउने हाम्रो परराष्ट्र मन्त्रालयले मलाई धन्यवाद दिँदै पत्र पठाएको थियो ।
कोरियालीहरूले राजदूतभन्दा पनि उनीहरूको एउटा संस्था कोइकामार्फत कामहरू गर्थे । एकपटक परराष्ट्रमन्त्री उपेन्द्र यादव कोरिया गएका बेला त्यहाँका विदेशमन्त्री यु म्युङ ह्वानले १० मिनेटका लागि भेट दिनुभयो । भेट्दा उहाँले भन्नुभयो, ‘तपाईंका जति कुरा छन्, कोइकामा राख्नुस्, उनीहरू काठमाडौंमै छन् । उनीहरूले विस्तृत प्रतिवेदन पठाउँछन् ।’ तस्बिर खिचेर हामीलाई बिदा गरिदिनुभयो ।
मन्त्री यादव काठमाडौं–तराई द्रूतमार्गका लागि जानुभएको थियो । त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कोरियालीहरूले उहिल्यै बनाइसकेका थिए । त्यसबेला कोरियालाई दिएको भए नेपाललाई अर्बौं रुपियाँ पसइदा हुने थियो । सन् २००५ मा नै यो कुरा भएको थियो र सन् २०१० सम्ममा सकिसक्ने योजना थियो । यहाँ समस्या के छ भने आफ्नो हित हेरिन्छ र काम नै अघि बढाइँदैन । त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो लिनुभएको थियो । तर, के भएर हो, बीचैमा हरायो । कोरियालीहरूसँग निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि ब्लुप्रिन्ट छ ।
एसियामा अरू मुलुकलाई सहायता दिने देश जापान र कोरिया मात्र छन् । उनीहरूले आफ्नो आम्दानीको निश्चित प्रतिशत दिनुपर्छ । त्यस तहमा भारत र चीन पनि पुगेका छैनन् । साथै, कोरियासँग सबैभन्दा सस्तो प्रविधि छ । उनीहरू भन्थे, ‘हामीले आफ्नो काम गरिसक्यौं । ती मेसिनहरू हाम्रा निम्ति प्रयोगमा छैनन् । त्यो सामान काम लाग्ने भएकाले हामी सस्तोमा दिन्छौं ।’
एकपटक मैले कोरियालीहरूलाई सोधें, ‘तपाईंहरू काठमाडौंबाट निजगढ जाँदा पनि ५५ मिनेट, निजगढबाट काठमाडौं आउँदा पनि ५५ मिनेट नै भन्नुहुन्छ । जबकि, निजगढबाट आउँदा त उकालो पर्छ । अनि, एउटै समयमा कसरी सम्भव हुन्छ ?’ उनीहरूले भने, ‘कोरियाको बाटो देख्नुभएको छ– उकालो आयो कि सुरुङ बनाइदिन्छौं, ओरालो आयो कि पुल हालिदिन्छौं । अनि बराबर भइहाल्छ नि ।’
दक्षिण कोरियामा ५ सयभन्दा बढी नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनरत छन् । त्यहाँका २ सय ८० विश्वविद्यालयमध्ये जुनसुकैमा पनि पढ्न सकिन्छ । नेपालीहरूको बढी ध्यान अमेरिका र अस्ट्रेलियातिर छ । जबकि, कोरियामा हरेक विषयमा उच्चस्तरको पढाइ हुन्छ ।
दक्षिण कोरियाको समाज पुँजीवादी छ । उनीहरूले विदेश नीति र व्यापारलाई जोडेका छन्, मन्त्रालयको नाम नै मोपसट (मिनिस्ट्री अफ फरेन अफेयर्स एन्ड टे«ड) छ । निर्यातमुखी नभई देशको उन्नति हुँदैन भन्ने उनीहरूको मान्यता छ । हाम्रोमा सुरुदेखि नै गलत अभ्यास भयो । कुनै बेला चामल निर्यात हुन्थ्यो तर भारतले सस्तो चामल उत्पादन गर्न थालेपछि उल्टै उतैबाट आउन थाल्यो । जमिन बाँझो छ । नाफा नभएपछि किसानको छोरो खेती गर्दैन, खाडी मुलुकतिर जान्छ ।
कोरियामा राजदूतलाई असाध्यै पुलपुल्याउँछन् । त्यति ठूलो अर्थतन्त्र भएको कोरियामा मन्त्रीहरू जम्मा नौजना छन् । त्यसैले कुनै समारोह भयो भने पाँच–सात जना राजदूतलाई बोलाएर मञ्चमा राख्छन्, पार्टी दिन्छन् । राष्ट्रपतिसँग चाहिँ राजदूतहरूले वर्षमा दुईपटक समूहमा भेट गर्न पाउँछन् ।
कोरियामा बसेपछि अनुभव भयो– नेपालीहरू असाध्यै घुलमिल गर्न सक्छन् । पाकिस्तान र बंगलादेशबाट जाने मुस्लिमहरू धर्मकर्ममा धेरै समय दिन्छन् । शुक्रबार उनीहरूले नमाजलाई समय दिनैपर्ने, आइतबार छुट्टी भइहाल्छ । नेपालीलाई केही मतलब छैन, जुनसुकै दिन पनि काम गर्छन् । खानपिनमा पनि तिनीहरूलाई हलाल चाहिन्छ, नेपालीलाई जे भए पनि हुन्छ । नेपाली राई, लिम्बु, तामाङ, शेर्पा, लामा, गुरुङ आदिको कोरियालीहरूसँग नाक–नक्सा कता–कता मिल्छ ।
दक्षिण कोरियामा डेढ सयको हाराहारीमा नेपाली रेस्टुराँ होलान् । हरेक सहरमा एउटा ठूलो नेपाली रेस्टुराँ छ । उनीहरूले राम्रो कमाइ गरेका छन् । कतिपयले त त्यहाँको अनुभव लिएर नेपालमा पस्र्केपछि कोरियाली रेस्टुराँको राम्रो व्यापार गरेका छन् ।
कोरियाको एउटा नकारात्मक पक्ष भनेको मदिरा हो । राति सँगसँगै सुतेका हुन्छन्, बिहान उठ्दा त एउटा साथी मरेको हुन्छ । चिसो ठाउँ छ, मदिरा सस्तोमा पाइन्छ । दिनभर काम गरेर थाकेपछि टन्न खाएर बाहिरै अलपत्र पर्दा हिउँले कठ्यांग्रिएर मर्ने घटना हुन्छन् ।
हामीले कोरियासँग लिने मुख्य फाइदा रोजगारी नै हो । मैले माथि नै उल्लेख गरें, नेपालका लागि कोरिया रोजगारीको आकर्षक गन्तव्य भएको छ । यसलाई बढाउँदै जाँदा हामीकहाँ भित्रिने रेमिट्यान्ससँगै सीपको पनि विकास हुन्छ ।
अभ्यासमा कुटनीतिः राजदूतहरुको अनुभव पुस्तकबाट
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply