कोभिड महामारीकै बीच फेरिए विमानस्थलका मुहार
बुधवार डेस्क
काठमाडौं । कुनै समय एउटा ठट्यौली चल्ने गथ्र्यो, ‘विदेशबाट आउने जोकोही व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ सुरुमा हाच्छ्यँु गर्छ ।’ विमानस्थलको सरसफाइ, अस्तव्यस्तालाई इंगित गरेर यस्तो ठट्यौली चलाउनेहरू अहिले त्यहाँ देखिएको परिर्वतनबाट आश्चर्यचकित हुन्छन् । केही गर्ने इच्छाशक्ति छ भने असम्भव केही हुँदो रहेनछ भन्ने उदाहरण अहिले नेपालका विमानस्थलले फेरेको मुहारले नै प्रस्ट गरेको छ ।
कोभिड–१९ का कारण मुलुकमा लामो समय बन्दाबन्दी रहे पनि विमानस्थलका काम एक दिन पनि रोकिएनन् । जसको परिणाम अहिले त्रिभुवन विमानस्थलमा जाने जोकोहीले अनूभूति गर्न सक्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भटराईको हुटहुटी, निरन्तरको अनुगमन, दबाब र निर्देशनका कारण अहिले त्रिभुवन विमानस्थल, जनकपुर विमानस्थल, गौतम बुद्ध विमानस्थल, पोखरालगायत विमानस्थलको स्वरूप नै परिवर्तन भएको छ । कोभिड–१९ महामारीले विश्वमै सन्त्रास छाइरहेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थललगायतका यी सबै विमानस्थलमा पूर्वाधार निर्माणको काम भने रोकिएन । जसको परिणाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग विस्तारको काम सकियो । साबिकको ३ हजार मिटर लामो धावनमार्ग विस्तार गरी थप ३ सय मिटर बनाइएको छ । धावनमार्ग छोटो हँुदा जहाजलाई सुरक्षित उडान अवतरण गर्न केही कठिनाइ भइरहेको थियो । लकडाउनकै समयमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एक हजार ५ सय क्षमताको ‘डिपार्चर हल’ निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । यही बीचमा वाइडबडी जहाज राख्न मिल्ने क्षमताका ककपार्किङ वे’ थपिएको छ । यसले गर्दा आकाशमा जहाज होल्ड हुने अवस्थामा कमी ल्याएको छ । त्यस्तै समानान्तर ‘ट्याक्सी वे’ निर्माण तथा विमानस्थलको उत्तरतर्फ थप २२ वटा जहाज क्षमताका पार्किङ स्थल बनाउने काम पनि भएका छन् । यी सबै संरचना, सेवा र सुविधाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति का साथै देख्दा पनि आकर्षक भएको छ ।
त्यस्तै जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य पनि सकिएको छ । गत सोमबार संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले नयाँ भवनको औपचारिक उदटन गरेका छन् । आधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै जनकपुर विमानस्थलको पाँच दशक पुरानो टर्मिनल भवन विस्थापित भएको छ । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको छ ।
कोभिड–१९ को असरबीच लुम्बिनी र पोखरा दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले उल्लेख्य प्रगति हासिल गरेका छन । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत सम्पन्न भएको छ । कोभिड–१९ को असर देखिनुपहिला ८५ प्रतिशत काम सम्पन्न भएको थियो । त्यस्तै, कोभिडअगाडि ५० प्रतिशत मात्रै काम सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण ६५ प्रतिशत सकिएको छ । भैरहवा विमानस्थल निर्माणको काम गत वर्ष नै सम्पन्न गर्ने सरकारको लक्ष्य थियो । तर, कोभिड–१९ का कारण ढिलाइ भएर आगामी फागुनसम्ममा सञ्चालन गर्ने लक्ष्य सरकारले लिएको छ । कोरोनाकै कारण समयमा निर्माण गर्न नसकेपछि विमानस्थलको पुनः ठेक्का अवधि डिसेम्बरसम्मका लागि थप गरिएको छ । ३ हजार मिटर लामो रनवे निर्माण टर्मिनल भवन निर्माणलगायत अधिकांश काम सम्पन्न भइसकेका छन् । अहिले चिनियाँ र केही थाई जनशक्ति नआएकाले मात्र काम केही पर धकेलिएको छ । कोभिडका कारण रोकिएका ती जनशक्ति आएको ९० दिनभित्र सबै काम सम्पन्न हुने बताइएको छ । मन्त्री भट्टराईले गत शनिबार मात्र उक्त विमानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेर चाँडो काम सक्न निर्देशन दिएका छन् ।
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुनसम्म सम्पन्न गर्ने लक्ष्य छ । धावनमार्गको काम सम्पन्न भइसकेको छ भने १४ वटा भवन निर्माण सम्पन्न गरेर फिनिसिङ काम सुरु भएको छ ।
प्रमुख तीन विमानस्थलमा के–के भयो ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा यात्रु चाप व्यवस्थापन गर्न विमानस्थल विस्तार तथा स्तरोन्नतिको कार्य भइरहेको छ । यसका साथै यसलाई बुटिक एयरपोर्टका रूपमा रूपान्तरण गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ । विमानस्थलको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत धावनमार्ग तथा ट्याक्सी मार्गको विश्वमा प्रचलित आधुनिक प्रविधि तथा सामग्रीको प्रयोग गरी पुनरुद्धार गर्ने कार्य सम्पन्न भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार कार्य तथा सेन्टरलाई लाइट जडान गर्ने कार्य सम्पन्न भई सञ्चालनमा आएको छ । दक्षिणतर्फ थप दुईओटा वाइडबडी जहाज पार्किङ गर्न मिल्ने गरी अन्तर्राष्ट्रिय एप्रोन निर्माण सम्पन्न भई हाल पाँचवटा वाइडबडीस्तरको जहाज पार्किङ गर्न सकिने भएको छ । विमानस्थलको धावनमार्गको दक्षिणतर्फ ३ सय मिटर विस्तार गरी रनवे तथा सेफ्टी एरिया निर्माण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय प्रस्थानतर्फ टर्मिनल भवन सेटरलाइज्ड हल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने पुराना संरचना हटाइएको छ । आन्तरिक टर्मिनल भवनको आगमन क्षेत्रमा ब्यागेज ह्यान्डलिङ सिस्टम जडान भई सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय प्रस्थान कक्षको चेकइन एरियामा इनलाइन ब्यागेज स्क्रिनिङ प्रणाली जडान गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै, क्यानोपी थप गरी अन्तर्राष्ट्रिय टर्मिनलको क्षेत्र विस्तार गर्ने कार्य प्रारम्भ भएको छ । आन्तरिक विमानस्थलतर्फ पार्किङ स्थल तथा ट्याक्सी वे मा कालोपत्रे स्तरीकरण को काम सम्पन्न भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन विस्तारकार्य करिव ७०÷६५ प्रतिशत सम्पन्न भएको छ । बुटिक विमानस्थलको अवधारणाअनुरूप टर्मिनल भवनको बाहिरपट्टि सिलिकन पेन्टिङ, बगैंचा निर्माण, आगमन हलको भुइँतलामा तलतर्फ कलात्मक मूर्तिहरू तथा आगमन क्षेत्रको बाहिर बुद्धको आकर्षक ठूलो कलात्मक मूर्ति राखिएका छन् ।
गौतम बुद्ध अन्तर्राष्टिय विमानस्थल
काठमाडौं उपत्यकाबाहिरको पहिलो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा निर्माणाधीन यस विमानस्थलको ९३ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । चालु मुआब्जा वितरणतर्फ लागत अनुमान करिब २३ अर्ब ५९ करोडमध्ये २१ अर्ब ४६ करोड भुक्तानी भइसकेको छ । यही डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अगाडि बढिरहेको भए पनि कोभिडका कारण चीन, थाइल्यान्डलगायत मुलुकबाट आउनुपर्ने दक्ष जनशक्ति आउन नसकेकाले निर्माण अवधि केही समय लम्बिने भएको छ । अरू सबै काम करिब सम्पन्न भइसकेको र ती कामदार आए उनीहरू आएको ९० दिनभित्र सम्पूर्ण काम सकिने आयोजनाले जनाएको छ ।
यहाँ ३ हजार मिटर लम्बाइको धावन मार्ग, ट्याक्सी–वे एवं एप्रोनको सिभिल निर्माणतर्फको कार्य सम्पन्न भई विद्युतीकरण र सिएनएस उपकरण जडानसम्बन्धी कार्य चालु छ । त्यस्तै, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन एवं कन्ट्रोल टावरसम्बन्धी कार्यको संरचना निर्माणतर्फको कार्य सम्पन्न भई हाल उपकरण जडान एवं फिनिसिङसम्बन्धी कार्य चालु रहेको छ । फायर भवन, भित्री तारबार एवं नाला बनाउने कार्यहरू अन्तिम चरणमा पुगेको छ । धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने लिंक टयाक्सी वेको निर्माण कार्य सम्पन्न भएको छ । विमानस्थल आयोजना आईटी भवन उत्तरतर्फ कार पार्किङ एरियामा कालोपत्रे गर्ने, कार पार्किङ स्ट्रिट लाइट केबलले आउट गर्ने, आईटी भवनदेखि प्रशासनिक भवन, सेक्युरिटी भवन, आन्तरिक कार पार्किङको उत्तरसम्म ह्युम पाइपले आउट गर्ने कार्य सम्पन्न भएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
मुलुकको विश्वप्रसिद्ध पर्यटकीय सहर पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तोकिएको समय सन् २०२१ नै सम्पन्न गर्ने गरी कार्य अघि बढाइएको छ । आव २०७६÷७७ सम्म यस आयोजनाको भौतिक प्रगति ६१ प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत रहेको छ । आल समग्र आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाका लागि आवश्यक पर्ने थप जग्गा अधिग्रहणसम्बन्धी प्रारम्भिक कार्य सम्पन्न भएको छ । यो विमानस्थलमा टर्मिनल भवन, एसी टावर, ह्यांगर निर्माण गर्ने काम सकिएको छ । एक्सेस रोड, कार पार्क एरिया, टर्मिनल एरिया सडकको सब बेस र बेस कोर्सको काम पनि पूरा भएको छ भने टर्मिनललगायत सबै भवनमा वाटर प्रुफिङ, डेकोरेसन, फिनिसिङका काम सकिएको छ ।
सम्बन्धित समाचार
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- आजबाट छठ पर्व सुरु
- ६८ यात्रु बोकेको यतीको जहाज पोखरामा दुर्घटनाग्रस्त
- पर्यटन पुर्वाधारका क्षेत्रमा क्रान्ति नै भएको छ
- पर्यटन बजार मर्न नदिने आन्तरिक पर्यटकले हो : मन्त्री भट्टराई
- धमाधम मुहार फेर्दै विमानस्थल
- विराटनगर विमानस्थल सुधारका लागि त्रिपक्षीय सम्झौता
- लुम्बिनी गुरुयोजनाको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न
Leave a Reply