कोरोनाको कहरपछि घरजग्गाको कारोबारमा बहार
शन्तराम बिडारी
काठमाडौं । २०७६ चैतयता कोरोना कहरपछि ठप्प हुन पुगेको घरजग्गा कारोबार बिस्तारै उँभो लाग्न थालेको छ । पछिल्ला दिनमा महिना दिनमा हुने घरजग्गा किनबेच हप्ता दिनमै हुन थालेको तथ्यांकहरूले देखाएका छन् । खासगरी मंसिर, पुस र माघलाई घर जग्गा कारोबार बढी हुने अवधिका रूपमा लिइन्छ । यसरी हेर्दा पुस अन्तिम हप्तामा आइपुग्दा दैनिक १० हजार घरजग्गाको फाइल सदर हुन थालेको बताइएको छ ।
कोभिड–१९ को प्रभाव कम भएपछि घरजग्गा कारोबारमा तीव्रता आएको हो । पुस तेस्रो सातापछि २० हजार घरजग्गाको लिखत पास अर्थात् राजीनामा र किनबेच भइसकेको बताइन्छ ।
भूमि व्यवस्थापन विभागका अनुसार पुस १९ देखि २४ गतेसम्म १८ हजार घरजग्गा बैंकमा धितो राखेर ऋण लिएका छन् भने १० हजार बढीले ऋण तिरेर घरजग्गा फुकुवासमेत भएका छन् । विगतको तथ्यांक हेर्ने हो भने यो संख्या एक महिनामा हुने कारोबारको संख्याबराबर हो ।
तर विगतमा दैनिक ६–७ हजारसम्म सेवा बेच्ने विभागले अहिले भने एकै दिन १० हजारभन्दा बढी घरजग्गासम्बन्धी काम सम्पन्न गरेर नयाँ रेकर्ड बनाएको छ । नामसारी, संशोधनलगायत अन्य सेवासमेत जोड्दा एक हप्तामा ५५ हजारभन्दा बढी सेवाग्राहीले सेवा पाएको विभाग स्रोतले बतायो ।
विगतमा भने अन्य समयमा दैनिक औसत ५ हजार र यो समयमा दैनिक ७ हजारसम्म घरजग्गाको काम हुने गरेको विभागको तथ्यांक थियो । यसरी हप्तामा ३० देखि ४० हजार सेवा दिने मालपोत कार्यालयले अहिले भने ५५ हजारभन्दा बढी सेवा दिएको विभागले जनाएको छ । सबैभन्दा बढी कारोबार गर्ने कार्यालयमा झापा, मोरङ, सुनसरी, लगनखेल, भक्तपुर, दाङ, बाँकेलगायत कार्यालयहरू रहेका छन् ।
यी कार्यालयले दैनिक कम्तीमा सयदेखि दुई सयसम्म घरजग्गा किनबेच गराइरहेका छन् । विगतमा मुस्किलले १–२ वटा कार्यालयले मात्रै सयभन्दा बढी घरजग्गा किनबेच गराउने गरेका थिए । उपत्यकामा त लामो समय कुनै पनि कार्यालयले सयभन्दा बढी घरजग्गा किनबेच गराउन सकेका थिएनन् । देशभर कारोबारमा बढोत्तरी आउँदा काठमाडौं उपत्यकामा समेत कारोबारमा दोब्बर वृद्धि भएको छ । विगतमा दैनिक २ देखि ३ सयसम्म घरजग्गा किनबेच हुने उपत्यकामा अहिले दैनिक ४ देखि ५ सय सम्म घरजग्गा किनबेच भइरहेका छन् । उपत्यकामा लगनखेल, भक्तपुर, कलंकी, साँखु र टोखा क्षेत्रमा अत्यधिक घरजग्गा किनबेच भइरहेको विभागको तथ्यांक छ । लगनखेल र भक्तपुरमा दैनिक सयभन्दा बढी घरजग्गा किनबेच हुँदा अन्य कार्यालयले समेत ५० देखि ७० वटा सम्म घरजग्गा किनबेच गराइरहेका छन् । विभागले गत पुस १० गते अनलाइन प्रणाली लागु भएका मालपोत कार्यालयबाट दिने सेवाहरूमा दोहोरो स्रेस्ता राख्नुनपर्ने भन्दै परिपत्र गरेको थियो । उक्त परिपत्रपछि मालपोत कार्यालयले कम्प्युटरमा आधारित भएर सेवा दिँदा सेवा प्रवाह सहज हुनुका साथै छिटोछरितो पनि भएकाले दैनिक कारोबार संख्या बढेको हो । यतिबेला बैंकको ब्याजदर घटेकाले मानिसहरूले जग्गा जोड्न थालेको देखिएको छ । ब्याजदर घटेकै कारण सेयर बजारमा समेत बढोत्तरी आइरहेको र सेयर बजारबाट कमाएको धेरै थोरै पुँजी घरजग्गामा पनि लगानी भएकाले यतिबेला उपत्यकालगायत देशैभरि कारोबार बढेको घरजग्गा व्यावसायीको भनाइ छ । असारताका मूल्य उच्च बिन्दुमा पुगिसकेको काठमाडौंको घरजग्गाको कारोबार कोरोना भाइरस महामारीको धक्कापछि क्रमशः मन्दीको बाटोमा आएको थियो । क्रमशः सहज स्थिति बनेसँगै वित्तीय परिबन्दमा परेकाहरूले घरजग्गाको बिक्री गर्न सुरू गरिसकेको र यो क्रम थप बढ्दै गएकाले समेत कारोबार बढेको हो । बन्दाबन्दी लम्बिँदै जाँदा अर्थव्यवस्थामा निम्तिएको शिथिलताको चोट घरजग्गा क्षेत्रले भोग्न सुरू गरेपछि आर्थिक मन्दी सुरु भएको थियो । ऋण गरेर घरजग्गा खरिद गरेका धनी र लगानीकर्ताले आर्थिक शिथिलताको भार थेग्न नसक्दा बजारमा घरजग्गाको बिक्री चाप सुरु भएको थियो । कतिपय घरजग्गाका कारोबारीहरूका अनुसार भदौपछि घरजग्गा क्षेत्रमा गहिरो मन्दी देखापरेको थियो । आय खुम्चिएका कारण खरिदकर्ता घट्ने तर ऋण व्यवस्थापनका लागि बिक्री गर्न खोज्ने बढ्ने हुँदा यो असन्तुलन थप गहिरिएर गएको हो । उब्जनीयोग्य भूमिको जथाभावी प्लटिङ हुन थालेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन वर्षअघि २०७४ साउनमा जग्गाको कित्ताकाट गर्न रोक लगाएसँगै देशैभरिको जग्गाको कारोबार शिथिल भएको थियो । कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा सिर्जना गरेको अप्ठेरो परिस्थितिले त घरजग्गा कारोबारमा मन्दी नै सुरु गरेको आँकलन गरिएको छ । रेमिटेन्सकै कारण तरलताको सुविधा पाएका र बढीभन्दा बढी नाफाको होडमा रहेका बैंक तथा वित्तीय संस्थाले घरजग्गाका लागि मन फुकाएर ऋण पत्याएपछि घरजग्गाको भाउ तीव्र बनेको अवस्था थियो । ११ चैतमा बन्दाबन्दी सुरू गरिएसँगै देशभरिका मालपोत कार्यालयहरूबाट घरजग्गा किनबेचको कारोबार बन्द भएको थियो । करिब अढाइ महिना बन्द भएको कारोबार १ असारमा खुले पनि मालपोत कार्यालयहरूमा पहिले जस्तो घरजग्गा किनबेच गर्नेको भीड लागेन । काठमाडौंमा बस्नेको संख्या पछिल्ला दुई दशकमा ह्वात्तै बढेका कारण काठमाडौंमा घरजग्गाको कारोबार र मूल्य दुवै अभूतपूर्व रूपमा बढ्दै गएको हो । २०७२ सालको भूकम्पपछि काठमाडौंमा जग्गाको माग र कारोबार घट्ने अनुमान गरिएको थियो । तर, त्यसो भएन । झन् आश्चर्यलाग्दो ढंगले जग्गाको मागसँगै मूल्य बढ्यो । भूकम्पपछि हरेक वर्ष जग्गाको कारोबार र मूल्य दोब्बर बढेको देखिन्छ । कित्ताकाट रोक्ने सरकारको निर्णयपछि भने घरजग्गाको कारोबार स्थिर रह्यो । गएको वर्ष आएको भू–उपयोग ऐनले पनि जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न रोकेपछि जग्गाको आपूर्ति धेरै हुन नपाएकाले अहिलेसम्म कारोबार स्थिर रहेको र केही दिनयता बढेको व्यवसयीहरू बताउँछन् । आर्थिक वर्ष २०७५÷७६ मा करिब ८ खर्ब ७९ अर्ब रेमिटेन्स देश भित्रिएको थियो । कोरोना भाइरसको संक्रमण विस्तार भएर संसारभरि फैलिएसँगै नेपाल आउने रेमिटेन्स घट्न सुरु भइसकेको छ । चैत र वैशाखमा रेमिटेन्स गएको वर्षको यही अवधिको तुलनामा करिब ५५ अर्ब (३८ प्रतिशत) घटिसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाले दिएको ३२ खर्ब ३८ अर्ब ऋणमध्ये करीब दुई तिहाइ अर्थात् २१ खर्ब १७ अर्ब घरजग्गा धितोमा दिइएको छ । ऋणीले ऋण तिर्ने क्षमता गुमाउँदा बैंक तथा वित्तीय संस्थाले घरजग्गा लिलामीमा लैजानुपर्ने बाध्यता हुन्छ । त्यसले, बजारमा घरजग्गाको आपूर्ति बढाउँछ । व्यवसाय सुकेको र आम्दानी घटेर ऋण तिर्ने क्षमता कमजोर भएकाहरूले सुरुमै घरजग्गा बिक्री गर्न थालिसकेका छन् । यो क्रम आगामी महिनाहरूमा बढ्दै जाँदा बजारमा बिक्रीको चाप पर्छ । कारोबार रोकिएपछि घरजग्गा व्यवसायीहरूको पनि ऋण थेग्ने क्षमता कमजोर भइरहेको छ । बैनामाथि बैना लगाएर नाफा कुम्ल्याउने प्रवृत्तिमा लागेका व्यवसायी घरजग्गाको कारोबार खस्किएपछि चरम समस्यामा परिसकेका छन् । व्यावसायिक घरजग्गामा बैंकले लगानी गरेको डेढ खर्बभन्दा धेरै रकममध्ये रु. २० अर्बजति मात्रै जग्गा विकास गर्ने संस्थागत व्यवसायीले उपयोग गरेको बाँकी खुद्रे प्लटिङ गर्नेले चलाएको बताइएको छ । विश्व बैंकले कोरोना भाइरसको संक्रमणका कारण सन् २०२२ सम्मै विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्ने अनुमान गरेको छ । अर्थतन्त्र पुरानै लयमा फर्कन समय लाग्यो भने उपभोक्ताको आम्दानी नबढ्ने भएकाले घरजग्गासहितका ठूलो लगानी चाहिने क्षेत्रमा माग बढ्दैन । पहिले नै रकम जम्मा गरेर बसेकाले किन्न सक्छन्, नत्र समग्र अर्थतन्त्रका हरेक क्षेत्रमा समस्या परेका बेला घरजग्गामा कसैले लगानी गर्दैन । तर केही हप्तायता कारोबार बढेसंगैं अर्थतन्त्र पनि पुरानै लयमा बिस्तारै फर्कंदै जान थालेको आभास भएको छ । घरजग्गाको व्यवसाय खस्किएपछि यसलाई बढाउने खेल पनि नभएको होइन । कित्ताकाट रोकिएका कारण घरजग्गाको कारोबार खस्किएको भन्दै घरजग्गा व्यवसायीले यसलाई खुलाउनुपर्ने पक्षमा लबिइङ गर्दै आएका छन् । व्यवसायीहरूकै स्वार्थमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कित्ताकाट खुलाउन सरकारलाई निर्देशन दिएको थियो । अख्तियारको निर्देशनलाई देखाएर भूमि व्यवस्था मन्त्रालयले कित्ताकाँट खुलाएको थियो । तर फेरि अदालत र संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले हालका लागि नखोल्नू भनिदियो । घरजग्गा कारोबार धेरै हुँदा राजस्वका हिसाबले राज्यलाई फाइदा हुने तर वैधानिक रूपमा दर्ता भएर कारोबार गर्ने एकदमै कम भएका कारण आउनुपर्ने राजस्व पनि नआइरहेको अवस्था छ । अहिले जग्गा कारोबारीमध्ये बिनादर्ता व्यक्तिगत रूपमा कारोबार गर्नेको संख्या करिब ९० प्रतिशत रहेको र यिनले गरेको कारोबारबाट राज्यलाई फाइदा नहुने अवस्था छ । तर पनि घरजग्गा कारोबारबाट निराश हुनु नपर्ने विज्ञहरू बताउँछन् । कोभिडका कारण समग्र अर्थतन्त्रमा असर परेकाले यो क्षेत्रमा पनि असर परेको भए पनि यो लामो समय नरहने विश्वास छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply