राष्ट्र बैंकको डरलाग्दो तथ्य खुलासा
शन्तराम बिडारी
कुन बैंकमा कति जोखिम ?काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरूमा जोखिम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंकहरूलाई मर्जर तथा एक्विजिसनमा जान तीव्र दबाब दिएको छ । बैंकहरू आफ्नो धरातलिय यर्थाथताभन्दा पनि प्रतिस्पर्धात्मक बजारको रणनीतिअनुसार आक्रामक ढंगले अघि बढ्दा जोखिम उन्मुख हुन पुगेका हुन् । हुँदा जोखिम बढेको राष्ट्र बैंकको निष्कर्ष छ ।
बैंकिङ अन्यभन्दा धेरै नै संवेदनशील व्यवसाय हो । यो सर्वसाधारणको निक्षेप संकलन गरेर चलेको हुन्छ । त्यसैले बैंकिङ क्षेत्रले ठूलो जोखिम लिएको हुन्छ । त्यसकारण बैंकहरूले जोखिम व्यवस्थापनमा बढीभन्दा बढी ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । बैंक डुब्यो भने आम सर्वसाधारणको निक्षेप पनि डुब्ने खतरा भएकाले संसारभर नै बैंकिङका नियमहरू निकै कडा पारिएका हुन्छन् । जोखिममा आधारित पुँजीको परिकल्पना गरेर मात्र संसारभरको बैंकिङ प्रणालीमा लगानी गर्ने गरेको पाइन्छ । पछिल्लोपटक एकातिर बैंकहरूलाई हिँजोका दिनमा भन्दा व्यापार र नाफा बढाउने तीव्र दबाब छ । यस्तो अवस्थामा बैंकहरूले बढी जोखिम लिन खोज्छन् । जुन व्यापारिक दृष्टिकोणले स्वाभाविक पनि हो । सारमा बैंकहरूले पैसाको व्यवसाय गर्छन् । सर्वसाधारणबाट निक्षेप उठाउँछन् । र, सर्वसाधारणलाई नै ऋण लगाउँछन् । तर, बैंकहरूलाई एउटा सीमाभन्दा बढीको जोखिम नलिन नियामक राष्ट्र बैंकले निगरानी गरिरहेको हुन्छ ।
पछिल्लोपटक राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार ग्लोबल आईएमई, सेन्चुरी र एनसीसीमा बढी जोखिममा रहेको पाइन्छ भने स्टान्डर्ड चार्टर्ड, एसबीआई र नेपाल बैंकमा कम जोखिम रहेको उल्लेख छ । राष्ट्र बैंकका अनुगमनले बैंकहरूमा जोखिम बढेको देखिएको भन्दै केही बैंकलाई विभिन्न शीर्षकमा क्यापिटल चार्ज लगाएका चार्ज लगाएको बताइएको छ । राष्ट्र बैंकले विभिन्न किसिमका जोखिममा लगाएको क्यापिटल चार्ज ४–५ प्रतिशत हुनु भनेको राम्रो हो अर्थात् एकदमै कम जोखिम छ भनिएको हो तर त्योभन्दा बढी जोखिम हुनु भनेको राम्रो होइन अर्थात निकै बढी जोखिम छ भनिएको हो,’ एक बैंकरले भने, ‘बढी जोखिम लिने बैंकलाई थप बिजनेश गर्न कठिन हुन्छ । थप बिजनेस गर्न नसकेपछि नाफा बढाउन सकिँदैन । अनि नाफा बढाउन नसकेपछि लगानीकर्तालाई दिने प्रतिफल पनि बढ्दैन ।’
जोखिमका विषयमा राष्ट्र बैंकले विभिन्न ११ शीर्षकमा बैंकहरूलाई क्यापिटल चार्ज लगाउन सक्छ । यसरी राष्ट्र बैंकले लगाएको क्यापिटल चार्ज बैंकहरूले पुँजीकोष अनुपात गणना गर्दा जोड्नुपर्छ । यसरी जोड्दा बैंकहरूको पुँजी अनुपातमा नकरात्मक असर गर्छ । बैंकहरूले वित्तीय विवरण प्रकाशित गरेरसँगै तथ्यांकहरू सार्वजनिक गर्नुपर्ने हुन्छ । उक्त तथ्यका आधारमा राष्ट्र बैंकको सुपरीवेक्षण विभागले अनसाइट र अफसाइट अध्ययन गरेर जोखिम व्यवस्थापन गर्न दिएको निर्देशनअनुसार जोखिमको व्यवस्था गरेको रिपोर्ट पनि उल्लेख गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकका अधिकारीहरूका अनुसार क्यापिटल चार्ज जति कम भयो उति कम जोखिम हो । सामान्यतया ५ प्रतिशतसम्म क्यापिटल चार्जलाई धेरै जोखिम भन्न नमिल्ने र ७ प्रतिशतभन्दा बढी क्यापिटल चार्ज भएको संस्थामा जोखिम बढी छ भनेर विश्लेषण गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । बैंकहरूले २०७७ असार मसान्तसम्मको प्रकाशित गरेको बासल डिस्कोलजरबाट प्राप्त तथ्याङ अनुसार आधा दर्जनभन्दा बढी बैंकले बढी जोखिम लिएको देखिन्छ । अर्थविद् डा. चन्द्रमणि अधिकारी बैंकहरूमा जोखिम बढेको भन्दै जोखिम न्यूनीकरणका लागि बिग मर्जर गराउने नीति लिनुपरेको बताउँछन् । थोरै पुँजीका कारण सानो जोखिम आउँदा नै बैंकहरूले ठूलो समस्यामा पर्न सक्ने भन्दै २०७२ साउन ५ गतेको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूको न्यूनतम चुक्ता पुँजी ४ गुणाले बढाएर ८ अर्ब रुपैयाँ पु¥याउने नीतिगत व्यवस्था गरिएको थियो । अहिले सबै बैंकले तोकिएको चुक्ता पुँजी पु¥याइसकेका छन् । यद्यपि बैंकहरूको जोखिम भने घट्न सकेको छैन । जोखिम न्यूनीकरण गर्दै नेपाली बैंकहरू बलियो भएर विकसित देशहरूमा शाखा स्थापना गरी कारोबार गर्न सक्ने हैसियतमा पुगून् भनेर बिग मर्जर गराउन खोजिएको बताइएको छ । बैंकहरूमा जोखिम बढेपछि वित्तीय क्षेत्र संकटमा नपरोस् भनेर मर्जरमा जान दबाब दिनुपरेको राष्ट्र बैंक सुपरिभिजन विभागका एक निर्देशकले बताए । राष्ट्र बैंकको अन साइड र अफ साइड इन्स्पेक्सन्सका आधारमा सबैभन्दा बढी जोखिम ग्लोबल आईएमइ, सेन्चुरी बैंक र एनसीसी बैंकमा देखिएको छ । यी दुबै बैंकलाई राष्ट्र बैंकले विभिन्न तीन शर्षकमा ९–९ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत र बजारलाई पर्याप्त सूचना नदिएको शीर्षकमा ३ प्रतिशत गरी कुल ९ प्रतिशत क्यापिटल चार्ज लगाएको हो । त्यसैगरी राष्ट्र बैंकले एनसीसी बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ५ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ४ प्रतिशत गरी जम्मा ९ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । राष्ट्र बैंकले सेन्चुरी बैंकलाई सन्तोषजनक रूपमा सम्पत्ति दायित्व व्यवस्थापन नगरेको भन्दै १ प्रतिशत, सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ४ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजकन नभएको भन्दै ४ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । राष्ट्र बैंकका अनुसार स्ट्यान्डर्ड चार्टर्ड, एसबीआई र नेपाल बैंकमा सबैभन्दा कम जोखिम छ । यी बैंकलाई कुनै पनि शीर्षकमा क्यापिटल चार्ज लगाइएको छैन । त्यसैगरी, राष्ट्र बैंकले नबिल, हिमालयन, बैंक अफ काठमान्डु, कुमारी, नेपाल बंगलादेश, सनराइज, प्राइम र कृषि विकास बैंकलाई विभिन्न शिर्षकमा गरी कुल ८–८ प्रतिशतका दरले क्यापिटल चार्ज लगाएको छ । राष्ट्र बैंकले हिमालयन बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ५ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत गरी कूल ८ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।
त्यसैगरी, नविल बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत र बजारलाई पर्याप्त सूचना नदिएको भन्दै २ प्रतिशत गरी कुल ८ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । त्यस्तै, बैंक अफ काठमान्डुलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन सन्तोषजनक नभएको भन्दै १ प्रतिशत, सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ४ प्रतिशत गरी ३ शीर्षकमा ८ प्रतिशत क्यापिटल चार्ज लगाएकोछ । त्यसैगरी, कुमारी बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ४ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ४ प्रतिशत गरी दुई शीर्षकमा ८ प्रतिशत क्यापिटल चार्ज लगाएको हो । त्यस्तै, नेपाल बंगलादेश बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ५ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत गरी दुई शीर्षकमा ८ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । त्यसैगरी, सनराइज, प्राइम र कृषि विकास बैंकलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन सन्तोषजनक नभएको भन्दै १ प्रतिशत, सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ४ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत गरी तीन शीर्षकमा ८ प्रतिशत क्यापिटल चार्ज लगाएकोछ । यसैगी राष्ट्र बैंकले सिद्धार्थ बैंकलाई विभिन्न तीन शीर्षकमा ७ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ४ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत क्यापिटल चार्ज लगाएको हो । त्यस्तै राष्ट्र बैंकले इन्भेस्टमेन्ट, प्रभु, लक्ष्मी र सिटिजन्स बैंकमा बराबर जोखिम रहेको औंल्याएको छ । राष्ट्र बैंकले यी चार बैंकलाई विभिन्न शिर्षकमा ६ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन सन्तोषजनक नभएको भन्दै १ प्रतिशत, सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत, प्रभु बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रिया सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । त्यसैगरी, लक्ष्मी बैंकलाई समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत र बजारलाई पर्याप्त सूचना नदिएको भन्दै ३ प्रतिशत र सिटिजन्स बैंकलाई समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत र बजारलाई पर्याप्त सूचना नदिएको भन्दै ४ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । त्यस्तै एनआईसी एसिया, एनएमबि, एभरेस्ट र मेगा बैंकमा बराबर जोखिम रहेको बताएको छ । राष्ट्र बैंकले यी तीन बैंकलाई विभिन्न शिर्षकमा गरी कुल ५ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । एनआईसी एसियालाई बजारमा पर्याप्त सूचना नदिएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत क्यापिटल र एनएमबी बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै ३ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । एभरेस्ट बैंकलाई सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै २ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।
त्यसैगरी, मेगा बैंकलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन सन्तोषजनक नभएको भन्दै ३ प्रतिशत र समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । यता सानिमा र माछापुच्छ«ेमा बराबर जोखिम रहेको देखिएको छ । राष्ट्र बैंकका नजरमा सानिमा र माछापुच्छ्रे बैंकमा उस्तै प्रकृतिका र बराबर जोखिम रहेको छ । यी दुवै बैंकलाई राष्ट्र बैंकले सञ्चालन जोखिम व्यवस्थापनका लागि नीति र अभ्यासको अभाव भएको भन्दै २ प्रतिशत, समग्र जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू सन्तोषजनक नभएको भन्दै २ प्रतिशत गरी कूल ४ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । यस्ता तथ्यले बैंकिङ क्षेत्रमा निराशाको संकेत गरे पनि राष्ट्र बैंकले बेलैमा कडाइ गरे समस्या नहुने जानकारहरू बताउँछन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply